१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

बौद्ध स्तुपमा तेमाल जात्रा

तामाङ समुदाय बिहीबार तेमाल जात्रा मनाउँदै बाैद्ध स्तुपमा। तस्बिरः केशव थाेकर

कोही लामा गुरु सनाई, ढोल, झ्याम्टा बजाएर पूजा गर्दैछन् त कोही घण्टी बनाउँदै छन्।

भक्तजनले स्तुपको गर्व भागको चारैतिर बत्ती बाल्दै परिक्रमा गर्दै छन्। कोही बौद्धलाई ढोगिरहेका छन्। बिहीबार बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको बौद्ध स्तुपमा तामाङको तेमाल जात्राको दृश्य हो यो।

तेमाल जात्रामा उक्त स्तुपको चारैतिर पितृको नाममा मलम पूजा गरेका थिए। भक्तजनले बत्ती बाल्दा बौद्धस्तुप नै झिलिमिली बनेको थियो। कोटेश्वरका सुकुमाया तामाङले बत्ती बालेर बौद्ध स्तुपको दर्शन गर्न जात्रामा आएको बताइन्। ‘तेमाल जात्राको लागि कोटेश्वरबाट आएँ। बौद्धमा बत्ती बालेर पूजा गरेको छु,’ उनले भनिन्, ‘यो बेला बौद्ध स्तुपमा बत्ती बालेर पूजापाठ गर्दा इच्छाएको कुरा पूरा हुने विश्वास छ।’

उनका अनुसार तेमाल जात्रा विशेषगरी तामाङले मनाउँछन्। जात्रामा आफन्तसँग भेटघाटगरी मिठो परिकार खाने गरिन्छ। जात्राकै दिन गाउँघरमा पनि पूजा गरिन्छ। जात्राको बेला दिवंगत पितृको स्मरणमा बत्ती बाली लामागुरुद्वारा ङोवा (पूजापाठ) गर्ने गरिन्छ। जात्राको बेला बौद्धमा बत्ती बाल्दा धनसम्पतिको फलिफाप तथा सुस्वास्थ्य हुने विश्वास रहेको उनले बताइन्। तामाङ समुदायको महत्वपूर्ण पर्व तेमाल जात्रामा मेला भर्न बौद्धमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। जात्रामा विदेशीको समेत सहभागिता रहेको थियो। जात्रा देखेर विदेशी पर्यटक मख्ख देखिन्थे। जात्रामा रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण गरिएको थियो।

स्वयम्भू पुराणका अनुसार विपस्सी बुद्धले काठमाडौँ उपत्यकामा आएर आजकै दिन कमलको फूल रोपेको प्रसंग छ।

परापूर्वकालदेखि चलिआएको तेमाल जात्राको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व रहेको बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समितिका संयोजक चन्द्र लामाले बताए। ‘यो पर्वको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ,’ उनले भने, ‘यो तामाङ समुदायको मूल जात्रा हो। यो जात्रालाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ। त्यसैले यो कहिलै बिर्सन नहुने जात्रा हो।’

उनका अनुसार चैत पूर्णिमाको एक दिनअघि बौद्धमा सुरु भएर जात्राको भोलिपल्ट बिहानै बालाजुको बाइसे धारामा नुहाएर स्वयम्भूमा  दर्शन गरी यो जात्राको बिसर्जन गरिन्छ। कथन अनुसार पर्वमा दिवंगत आत्माको लागि चिर शान्तिको कामना गरिन्छ। यो गर्दा पितृको बुद्धत्व प्राप्त हुने, राम्रो ठाउँमा जन्म लिने, र आत्मालाई शान्ति मिल्ने विश्वास रहेको उनी बताउँछन्। जात्रामा एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहेको उनले बताए। उनका अनुसार सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायत जिल्लाबाट भक्तजन आएका थिए। ‘जात्राको बेलामात्रै बौद्धको गर्व भागमा भक्तजन जान पाउँछन्,’ उनले भने, ‘त्यहाँ एक सयभन्दा बढी बत्ती बाल्नको लागि माटोको भाडा राखेका छौँ। त्यही ठाउँमा भक्तजनले बत्ती बालेर बौद्ध स्तुपको दर्शन गरी पितृलाई सम्झेका छन्।’ उनका अनुसार केही वर्षअघि बौद्धमा रातभर पनि जात्रा लागेको थियो। तर, धेरै जनगुनासो आएकाले यस वर्ष शान्ति सुरक्षालाई ख्यालमा राखी राती ८ बजेसम्म बौद्ध स्तुपको माथि मन्डलामा भक्तजनलाई जान दिएको थियो।

बौद्धको मुनि भने शुक्रबार सम्मनै जात्रा लाग्ने छ। यसको लागि सुरक्षा व्यवस्था चुस्त पारिएको उनले बताए।

जात्रा सुरु भएकोबारे यकिन नभए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवंगत आत्माको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता दिएको जनविश्वास छ।
 

प्रकाशित: ६ वैशाख २०७६ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App