‘काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ कुन हो भनेर सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकी काठमाडौं धेरैं बिग्रिएको छ। पुर्खाले सिर्जेका सम्पत्ति तहसनहस पारिएको छ।’
तपाईँको बुझाईमा सहर भनेको के हो ?
सानो छँदा सहरलाई अलि फरक तवरले बुझिन्थ्यो– सहरमा पढेलेखेका मानिस बस्छन्। ती मानिस धनी र ज्ञानी हुन्छन्। सहरको पर्यावरण सफा सुग्घर हुन्छ। तर, ठूलो हुँदा भोगेपछि र देखेपछि पो थाहा भयो– सहर त मिश्रित ठाउँ रहेछ। जहाँ अति गरिब र अति धनी मानिस बस्दा रहेछन्। सहरको जनजीवन व्यस्त हुने रहेछ। राज्य प्रशासनले सहरलाई चौबिसै घण्टा निगरानीमा राखेको हुँदोरहेछ।
तपाईको विचारमा सहर कस्तो हुनुपर्ला ?
सहर जनजीवनमैत्री हुनुपर्छ। त्यहाँका रहेका पक्ष सुविधायुक्त हुनुपर्छ। सहरका बस्ती व्यवस्थित र गुजुप्प परेको हुनुपर्छ ताकी विदेशी आउँदा एकनास देखुन्। अर्को कुरा, सहरको जनघनत्व बढी भए पनि त्यहाँका हरेक पक्ष चुस्त पारिएको हुन्छ। सहरी प्रशासनले हरेक पक्षमा निगरानी राखेको हुन्छ। अत्यावश्यकीय र आकस्मिक सेवाको हकमा पनि सहर अग्रपंक्तिमा हुन्छ। यातायात, शिक्षा, स्वास्थ्य, प्रशासनिक कामलगायत धेरै सेवा तथा सुविधा सहरमा पाइन्छ। सहर यस्तै हुनुपर्छ।
हाम्रा सहर यस्तै लाग्छन् ?
नेपालको हकमा कुरा गर्दा रहर र कहर दुवै हिसाबले बसोबास गर्ने ठाउँ मानिन्छ सहर। किनभने कोही आफ्ना रहर र सपना पूरा गर्न कहरले भए पनि सहर पसेका हुन्छन् भने कोही भौतिक स्रोत र साधनले सम्पन्नताले रहर र सुख खोज्दै सहरमा बसेका छन्। आधुनिक सेवा सुविधालाई हेर्ने हो भने हामी एकदमै न्यून विन्दुमा छौं। प्रविधिको प्रयोग नै भएको छैन सहरमा। अर्को कुरा, हाम्रा सहर नीतिगतरूपमा पनि पछि परेका छन्। यहाँ भएका नीति नियम र कानुन कार्यान्वयन भएका छैनन्। देशमा ठुल्ठूला अपराध भइरहँदा पनि राज्य पक्ष जिम्मेवार भएको देखिन्न। सहरमा नेता र राज्यका निकायमा सत्यता भएन। उनीहरूले निष्पक्ष भएर काम गरेनन्। जनताले सधैं दुःखमात्रै पाए।
घुमेकामध्ये मनपरेको सहर ?
मैले धेरै देशका सहर घुमेको छु। त्यसमध्ये हङकङ, सिंगापुर र पेरिस रहर ज्यादै सुन्दर लाग्यो। सबैभन्दा मलाई मन परेको सहर पेरिस निकै सभ्य, सुसंस्कृत र सरल छ।
नेपालभित्र मनपर्ने सहर ?
पोखरा मनपर्छ। यहाँ ताल, हिमाल र अनेकौं पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। कुनै समय काठमाडौं पनि यस्तै व्यवस्थित थियो। पछिल्लो समय नीति नियमको पालना नगर्दा र राज्यले काम नगर्दा सहर बिग्रिएको हो।
काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकि काठमाडौं धेरैं बिग्रिएको छ। पुर्खाले सिर्जेका सम्पत्ति तहसनहस पारिएको छ। यहाँको महत्व बुझ्ने हो भने उपत्यकामा अवसर र राज्यका सेवा सुविधा मात्रै छैनन्, यो प्राकृतिकरूपमा पनि सम्पन्न ठाउँ हो। यहाँको जस्तो हावापानी अन्तका सहरमा विरलै पाइन्छ होला। पुस्ताले पनि उपत्यकालाई कलाको सहर भनेर चिनाइदिएका छन्। यहाँका ऐतिहासिक सम्पदा, कला संस्कृति संसारमै पाइन्न। धेरै पक्षहरू ठिक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँहरू छैनन्। जता गयो भिडभाड मात्रै देखिन्छ। सबैजना राजधानी भन्दै यही आए।
सहर बिग्रनुका कारण के होला ?
सहरमा स्थायी राजनीति भएन। नेताहरूले सपना मात्रै बाँडे, काम गरेनन्, विकास निर्माणका कामलाई निरन्तरता दिएनन्। सरकारैपिच्छे नयाँ नयाँ योजनामात्रै थप गरिए। तिनको पूर्णता हुनुपर्छ भनेर कुनै पनि नेतृत्वले हेक्का राखेन। अहिलेसम्म आइपुग्दा योजनावद्ध विकासको थालनी नै भएन। सहरको नक्सा पनि बनेको छैन। गुगलमा खोज्दा सहरको नक्सै भेटिन्न। नेतृत्व फेरिँदा सहरका योजना र विकासको मोडल पनि फेरियो, जसका कारण सहरमा स्थायी विकास हुन सकेन।
विकास गर्दागर्दै हाम्रो नेतृत्व कहाँनेर चुक्यो भन्ने लाग्छ ?
हामी पाइलैपिच्छे चुकेका छौं। हामीले प्रकृतिले दिएका वरदानलाई पनि चिन्न सकेनौं। पुर्खाले त्यति दुःख गरेर सिर्जेका ऐतिहासिक सम्पदालाई संरक्षण गरेनौं। पहुँचवालाले पुर्खाको सम्पत्तिमाथि राजनीति गरिरहेका छन्। कसैले पनि यसलाई जोगाउनुपर्छ, यो हाम्रो मौलिकता हो भनेर चिन्तन गरेका छैनन्।
नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
केही देशका सहर घुमेको छु। दुबईका सबैजसो सहर पुगेको छु। यससँगै युरोपका सबैजसो देश, मलेसिया, कतार, हङकङ, सिंगापुर, अमेरिकालगायत देशका सहर घुमेको छु।
नेपाल र विदेशका सहरबीच के भिन्नता पाउनुभयो ?
विदेशका सहर बखान गर्न लायक छन्। जता गए पनि सुनौंलो लाग्छ, व्यवस्थित देखिन्छ। नेपालमा केही पनि व्यवस्थित छैन, उदाहरणका लागि ः त्यही एउटा एयरपोर्टलाई लिन सकिन्छ। एयरपोर्ट जस्तो ठाउँ त यति भद्रगोल छ भने अरु ठाउँको त के कुरा गर्नु ! यस्ता ठाउँ त जता पनि छन् नेपालमा। राजधानीजस्तो सहरमा अति नै समस्या छ। जता गयो फोहरै फोहर। अस्तव्यस्त मात्रै। विश्वका अरु सहर हेर्दा हाम्रा सहरलाई सहर भन्नै मिल्दैन। किनकि हामीकहाँ सहरमा हुनेपर्ने मापदण्ड नै छैनन्। सहरमा हुनेपर्ने सुविधा छैनन्। गलत अर्थ नलागोस्, नेपालका सहर अराजक नेतृत्वले बिगारेको छ।
विदेशी सहर कसरी विकास र व्यवस्थित भएका रहेछन् ?
बाहिरी मुलुकले दीर्घकालीन योजना बनाएका छन्। तर, हामीकहाँ दीर्घकालीन योजना भएन। विकास बजेट पनि सही ठाउँमा प्रयोग भएन। अर्को कुरा, विदेशी मुलुकले पनि सडकबाटै सहरको विकास थालनी गरेका थिए। हामीकहाँ सडकका योजनामा ठूलो दलाली भइरहेको छ। ठेकेदार र राजनीतिक नेताका कारण सडक योजनाहरू अलपत्र छन्।
सहरवासी कस्तो लाग्छ ?
सहरमा बस्ने सबै गैरजिम्मेवार भयौं। सहरवासीमा त्यति चेतना छैन। सबैले आफ्नो मात्रै सोचे। आफू बसेको ठाउँलाई सफा राख्छु भन्ने सोच कोहीमा पनि आएन। सहरमा बस्नेहरू सबैजना सहरप्रति सचेत भएको भए सहर अस्तव्यस्त हुने थिएन होला। अर्को कुरा, नागरिकलाई जिम्मेवार बनाउन नसक्नुको राज्यको कमजोरी हो। राज्यले दिनुपर्ने सबै सेवा सुविधा दिएर नीति नियमको परिपालना गरेको भए सहर सुरक्षितसँगै व्यवस्थित पनि हुन्थ्यो।
सहरलाई कसरी सफा राख्न सकिएला ?
सहर सफा राख्न पहिला आफूबाट सुरु गर्नुपर्छ। घरभित्रको फोहर व्यवस्थापन गर्ने, हरेक व्यक्ति जिम्मेवार हुने, तोकिएको स्थानमा फोहर फाल्ने, विकास निर्माणका कामलाई समयमै सक्ने, राज्यमा बस्नेले विकास निर्माणका काममा दुरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।
उपत्यकाको मन नपर्ने पक्ष के हो ?
यहाँको प्रदूषण मन पर्दैन। सबैतिर धुवाँधुलो र मानिसको अस्तव्यस्तता देखिन्छ। सहरमा बस्नेले आफ्नो मात्रै सोच्छन्।
राम्रो लाग्ने पक्ष ?
उपत्यकामा सबैखाले सेवा सुविधा पाइन्छ। राज्यका हरेक निकायका मुख्य कार्यालय यही छन्। प्रकृतिले यहाँको मौसम पनि सदावहार बनाएको छ। यहाँकोे मौसम र हावापानी राम्रो भएकाले पनि विदेशी नेपालमा तानिएका छन्। जहाँ पुराना मठ–मन्दिर, धार्मिक क्षेत्र पनि छन्।
सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ?
योजनाबद्ध विकास थाल्ने, योजनालाई मूर्त रूप दिने, सहर बिग्रनुको मुख्य कारण नै सरकारी निकाय बलियो नभएर हो। नीति नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ।
तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सहरका सबै गल्ली र ठाउँमा सवारीसाधन छिरोस्। स्वच्छ हावा पानी होस्। सडक फराकिला हौंन्। आफू बसेको वरपर सफा होस्। मानिसमा आत्मियता भेटियोस्। हरेक सेवा–सुविधा चुस्त हौन्। हरियाली, फराकिला सडक र चुस्त सरकारी सेवा सहरको विशेषता नै हो।
मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई एकपटक स्वीजरल्याण्ड पुग्ने रहर छ।
प्रकाशित: २ वैशाख २०७६ ०६:१७ सोमबार