गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिले प्राचीन गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपनको काम ५० प्रतिशत सम्पन्न गरेको छ। पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने र लेपनबाट खिया नलाग्ने भएकाले छाना ताम्रपत्रमा स्वर्णलेपन पुनःनिर्माण औपचारिक रूपले गत मंसिरबाट सुरु भएको थियो।
छाना निर्माण तथा सर्वांगिण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले छानाको ५० प्रतिशत काम सम्पन्न भइसकेको बताए। ‘धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन छाना ताम्रपत्रमा स्वर्णलेपन हाल्न लागेका हौँ,’ उनले भने। उनका अनुसार बाहिरी काम ९० प्रतिशत सकिएको छ। मन्दिरको छानोमात्रै हालिने छ। पर्यप्त रकम नभएकाले काममा ढिलाइ भएको उनले बताए। आंशिक रूपले क्षति पु¥याएको मन्दिर आर्थिक अभावका कारण पहिलो चरणमा दोस्रो तलाको मात्रै छाना ताम्रपत्रमा स्वर्णलेपनको काम गरिने उनले बताए।
२०७६ असार–साउनसम्म काम सम्पन्न गर्ने लक्ष्य समितिको छ। ‘दोस्रो तलालाई मात्र छानाको लागि ६ करोड लाग्ने अनुमान छ,’ उनले भने, ‘भूकम्पले क्षति पुगेको मन्दिरको गजुर बनाइसकेका छौँ। खर्च अभावले पहिलो चरणमा दोस्रो तलाको मात्रै छाना हाल्छौँ। खर्च जुटाएपछि फेरी अरु छाना हाल्छौँ।’
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले उक्त मन्दिरको औपचारिक शुभारम्भ गरेका थिए। ‘काम सुरुवात गरे पनि अहिले पानीले गर्दा काम रोकिएको छ,’ उनले भने, ‘तर, अन्य काम भइरहेको छ। छिट्टै खट बानेर बाँकी काम सुरु गछौँ।’ उनका अनुसार उक्त मन्दिरको छाना स्वार्णलेपनको लागि करिब १६ करोड लागत लाग्ने छ। सबै छानोमा २२ तोला सुन खर्च हुने छ। ताम्रपत्रमा स्वर्णलेपन गर्नको लागि पुरातत्व विभागले करिब तीन करोेड, गोकर्णेश्वर नगरपालिकाले एक करोड र स्थानीय, भक्तजनबाट तीन करोड उठेको छ।
उक्त मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन पुनःनिर्माणको लागि सियम कन्ट्रक्सन कम्पनी र एनआर हेन्डिग्राफ्ट दुई कम्पनीलाई ठेक्का पाएको छ। पुरातत्व विभागले टेन्डर गरेको सियम कन्ट्रक्सन कम्पनीले करिब तीन करोडमा सबै मन्दिर तलाको खट बान्ने, झिंगटी निकाल्ने लगायतको काम गर्ने छ। अर्को विकास समन्वय समिति अन्तर्गतको एनआर हेन्डिग्राफ्ट कम्पनीले करिब तीन करोडमा सुनको जलप लगाउने, बुट्टा हाल्ने लगायतको काम गर्नुपर्ने छ। उक्त कम्पनीले दोस्रो तलाको मात्रै काम गर्ने छ।
गोकर्णेश्वर महादेव मन्दिर गुरु योजना निर्माण सल्लाहकार सदस्य सुरेश चन्द भट्टले छानामा ताम्रपत्रमा स्वर्णलेपनकोे लागि भक्तजनलाई सहयोग याचना गर्दे प्रदेश सरकारले समेत यसमा सहयोग गर्नुपर्ने बताए।
नगरपालिका वडा –४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले छानामा ताम्रपत्रमा स्वर्णलेपनको कामलाई ताकेता गरेर भए पनि छिट्टै सक्ने बताए। ‘मन्दिरको छानोको लागि ताकेता गर्दे आएको छु’ उनले भने, ‘समयमै काम सक्न ठेकेदारलाई दबाब दिइरहेको छु।’
प्रकाशित: २ वैशाख २०७६ ०६:०६ सोमबार