१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

बंकरमाथि उभिएको मन

रञ्जना निरौला
क्रान्तिको सूत्रधार भएको ठाउ । युद्ध, शान्ति र गणतन्त्रको उद्गमस्थल जहाँ बसेर योद्धाले देखे स्वर्णिम सपना र थापे ज्यानको बाजी। क्रान्तिको सर्वनाम र युद्धको बिम्ब बनेको एउटा यस्तो समय जसको नामले त्रास, जोस र युद्धको प्रतिनिधित्व गथ्र्यो। हो त्यो नाम हो–रोल्पा !

रोल्पाको होलेरी जसले परिवर्तनलाई बाध्य बनायो। सफल बनायो क्रान्ति। र, जन्मायो देश हाँक्ने कमाण्डर र समय हाँक्ने विचार। शहीदको रगत कुल्चेर उकालो लागेका सहयात्रीले कुनैबेला यतै बसेर कोरेथे युद्धको खाका। र, सुरु गरेथे बन्दुके यात्रा।

रोल्पा, कुनैबेला थियो त्रासको बिम्ब बनेको थियो। भयको क्षतविक्षत मनस्थितिमा कहिल्यै रोल्पा जाने मन गर्न नसकेका मेरा रहरहरूले एउटा अवसर पाए रोल्पालाई नजिकबाट हेर्ने।

युद्ध सकिएको दशकौँ भैसक्यो तर त्यसको असर कायमै छ। मन घरीघरी अल्झिन्थ्यो युद्ध र शान्तिको मध्यमा। कस्तो होला रोल्पा? फेरी प्रश्न उठिरहन्थे युद्ध र क्रान्तिको बदलामा के पायो होला रोल्पाले !

साहित्यकार, पत्रकार, कवि, कलाकार, बुद्धिजिवी आदिको मिलन केन्द्र बनाइएको अक्षर महोत्सवमा सहभागी हुन पाइयो यसपाला (चैत ७ र ८ गते)। दिनरात खटेर व्यवस्थापनमा दौडिनेहरुको मुहारमा थकाइ भन्दा बढी उत्साह थियो। आफ्नो गाउँप्रतिको प्रेम र उत्तरदायित्वले ऊर्जा थपेको आभास हुन्थ्यो।

रात्रिबसको यात्रा पश्चात बिहान पुगेका थियौं हामी। म कुन भाव र अर्थमा उभिएकी छु भन्ने पत्तो भएन। चिसो हावा अनि लहर मिलेर उभिएका पहाडहरुले प्राकृतिक अभिनन्दन गरे हामीलाई। जता हेरे पनि पहाड, जता हेरे पनि जंगल। अलिक पर सेता हिमाल, अझ माथि नीलो आकास। निर्दोष देखिन्थ्यो होलेरी, सेतो फेटामा हरिया दाँत देखाएर मुस्काइरहेको योगी जस्तै।

कुनै दिन एक भयानक नाउँ प्रतीत हुन्थ्यो रोल्पा। गरिबी, अशिक्षा र शोषणलाई मोर्चाबन्दी गर्दै क्रान्तिमा होमिएका योद्धाहरुको हौसला बनेको रोल्पा निर्दोष देखिन्थ्यो। क्रान्तिले परिवर्तन त ल्यायो तर ओझलमा रहेको होलेरी उसैगरी मुस्कुराइरहेको छ, मुस्कानभरी नमिठो दर्द बोकेर। शरीरभरी गुराँस फुलाएर रक्तिम बनेको होलेरी मौन देखिन्थ्यो। मौनताका धेरै अर्थ हुन्छन्। धेरै भाषा पनि। प्रत्येक आँखाले देख्ने एउटै वस्तुमा फरकफरक दृष्टान्त जस्तै।

रून्टीगढी  गाउँपालिकाले चैत ७ र ८ मा होलेरीमा आयोजना गरेको ‘अक्षर महोत्सव’मा पुग्दा लाग्यो, रोल्पाले भौतिक समृद्धी पाओस र गर्व गरोस् परिवर्तनको नायक भएकामा।  

महोत्सवमा बसेर मनभरी अक्षर खेलाइरहेकी थिएँ म। त्यहाँका युद्धका अवशेषको तर्कनामा घरीघरी बंकरमाथि पो छु कि जस्तो लाग्थ्यो। प्रेम, मिलन, विछोड, क्रान्ति यी विषय कवितामा कहाँ आउनु! होलेरीको काखमा चिसोचिसो बताससँग मन चिस्सिरहेको थियो पटकपटक युद्ध र सहादतका समाचार अतितको रेडियोबाट कानसम्म घन्किँदा। म बिर्सिरहेको थिएँ वर्तमान।

महोत्सवमा गाउँलेको राम्रो उपस्थिति थियो। आफ्नो पालामा मेरा अक्षरले शहीदकै  स्मरण गरे र हलुँगो बनें। सबैका अक्षरले होलेरीलाई ऊर्जा र प्रेम थप्यो। स्मृति  र गुनासो ग-यो। युद्ध परिवर्तनको द्योतक त हो तर यो पीडादायी हुन्छ र छोड्छ असर पछि पछिसम्म।

प्रथम दिवस कविता लगायत चार भागमा सकियो। मध्यान्ह पछि चल्ने चिसो हावाको आफ्नै लय थियो। जेजे होस होलेरीको गर्भमा ऊ आफ्नैपनमा मस्त थियो। समृद्धीको कामना र प्रगतिको आशामा प्रथम दिवसको विट म-यो।

होलेरीलाई चिनाउन आयोजकले सवारी साधनको व्यवस्था गरेका थिए। वरपरका पर्यटकीय स्थल घुमियो। गाडी पुग्ने ठाउँसम्म गाडीमा, अन्यत्र हिँडेरै। लेकतिर जाँदा भएको हो लालिगुराँससँग जम्काभेट। गुराँसका झुप्पाहरुले बाटो छेकेर साटेका थिए स्नेह र रंगाइदिएका थिए तनमन दुवै। नवयौवना झैँ सुन्दरी होलेरी। चुल्ठोमा गुराँस सिउँरेर गुराँसबट्टे फरियामा हरियो पछ्यौरीको सर्को तान्दै मुस्कुराइरहेकी!

त्यो त तपोभूमि हो जहाँ बसेर स्वर्गद्वारी महाप्रभुले ज्ञान पाएका थिए। क्रान्तिकारीहरूले क्रान्तिको कसम पनि त्यहीँ खाएथे। जंगलको बीचमा, गाडीको छेउमा, पहाडका शिरमा  धर्मका प्रतीकसंगै प्रकृतिको आनन्द बिर्सिनसक्नुको थियो। होलेरीका प्रियजनले खुवाएको टिम्बुरे चिया र फलफूलको आतिथ्य अतुलनिय प्रेम थियो। गुराँसको माला, गुराँसको फूल, गुराँसले सजाइएको स्वागतद्वारले गुराँसमय भएको हाम्रो मिलनमा म पनि गुराँसे बनेकी थिएँ।

पहाडको टुप्पोमा पुग्दा झन्डैझन्डै आकास छोएझैं आभास भयो र परपर देखिएका हिमालले छरेको सौन्दर्यको कसरी वर्णन गरुँ? गाउँलेहरूले गाउँपालिकाले बनाएका योजनाका खाका सुनाइरहँदा होलेरी भिरमा फुलेको गुराँस प्रतीत भैरहेको थियो। धेरैधेरै काम गर्न बाँकी भएको आभास हुन्थ्यो बिकासका आयाममा। बाटोभरी चुँडिएका गुराँसले मन चुँडाएका थिए भने रुखमै चढेर फूलसंग जिस्कनुको आनन्द कति मीठो!  पहाडका टुप्पा चढ्यौं, फेदीमा झ-यौं।

महाप्रभुको जन्मस्थान, जन्मघर पुगेर लाग्यो दुर्गम छ जिन्दगी। त्यहाँ पनि मोही र अपुंगोले भोक बिर्साइदियो हाम्रो।

साहित्यमा नलेखिएको र नदेखिएको रोल्पालाई देख्न र लेख्न हामी पुगेका। महाप्रभुको जन्मस्थान, तपस्थान, रुन्टी, गडी, शिव पार्वती गुफा, मुरुलले प्राकृतिक भ्यु क्षेत्र, युद्धताका पहिलो निशाना बनेको प्रहरी चौकीको भग्नावशेष आदिसंग साक्षात्कार गरियो। होलेरीमा पर्यटन र साहित्य प्रवर्धनका लागि आयोजित महोत्सवमा सृजनात्मक बहस, संवाद र कविता वाचन गरिएको थियो।

जंगल सुन्दर, कच्चि बाटो सुन्दर, डाँडा सुन्दर, अफ्ठेरा सुन्दर, सुन्दरै सुन्दरले परिपुर्ण होलेरी प्रकृतिको बरदान लाग्यो। सुन्दरता आनन्द दिने बस्तु हुन्। सुन्दरता एक्लै रहनु अरुबाट बेग्लै रहनुको के मजा? आफैँमा फुलेर आफैँमा झर्नुको के आनन्द होला र गुराँसलाई? सुन्दरताले परेली झिम्क्याउँदा लठ्ठिने नभए कसरी रमाइलो होला र ! यस्तै गुमनाम रोल्पा सौन्दर्य बाँड्न चाहन्छ।

होलेरी घुमिरहँदा हामीले विगतको युद्धलाई पटकपटक सम्झियौँ। हामीलाई घुमाउने भाइले भनिरहे ‘दिदी ती दिनहरु नसम्झाउनुस्। युद्धको पीडा कस्तो हुन्छ हामीलाई मात्र थाहा छ। साँच्चै युद्ध भयानक हुन्छ।’

स्मृतिको खातबाट त्यो दुखद् समय मेटाउन चाहन्छन र जीउन चाहन्छन दुखमेलो किन नहोस तर शान्तीपूर्ण जीवन। होलेरी शान्त देखिन्थ्यो। वर्षौं वितेर हुनसक्छ अतितले यसलाई बनाएको बंकर र बन्दुकका कथा चुपचाप यसको गर्भमा रहेका। तर युद्धको असर अहिलेसम्म दुःखदायी छ। शहीद भएको एउटै छोराको पर्खाइमा मंगलेबाका आँखामा सुकिरहेका आँसुका थोपा। द्वन्द्धको चपेटाले छोडिएका उराठ घर र बाँझा बारीहरु, शहीद भएका ९६९ जनाको झझल्को, वेपत्ता ३३ जना फर्केर आउने आशा, २२३ एकल महिलाको तुषारापात जीवन, टुहुरा बालबालिको अँध्यारो र उजाडिएका कोखहरुको कति हिसाव?

होलेरीले युद्ध देख्यो, भोग्यो, जन्मायो यसमा यसको के दोष ? सुन्दर हुनुमा सुन्दरताको के गल्ति। क्रान्ति क्रान्ति नै थियो सफल भयो। यस्तो लाग्थ्यो यी डाँडाकाँडा भोकभोकै हिँड्ने योद्धाहरुले कसरी बचाइराखे होलान साहस? सुन्दरता भित्रको भौगोलिक बिकट र उपद्रोह भोगेर सुगमसम्म आएका योद्धाहरुका पाउले सम्झिन्छन त त्यो निर्भिक यात्राको बाटो? नभए किन गुमनाम छ होलेरी? 

महोत्सव सकियो, दुई दिनको बसाइमा होलेरीले नसक्नुको माया दियो। अक्षरले कति जति रोल्पालाई बोलाउन सक्यो या लेख्न सक्छ त्यो त आउने दिनमा थाहा हुन्छ। नसोचेको र नदेखेको साक्षात्कारमा मन बिसाउन पाउँदा मलाई चाहिँ हल्का लाग्यो। युद्धका अवशेष बोकेर रोल्पा निर्दोष बाँचिरहेछ, बिकासका पूर्वाधारहरूसँग उठ्दैछ सुस्तसुस्त।

युद्धले सबैलाई छोयो कुनै न कुनै रुपमा। होलेरीसंग सुन्दरता छ, भाषा छ, संस्कृति र परम्परा छ। रोल्पाले भौतिक समृद्धी पाओस र गर्व गरोस् परिवर्तनको नायक भएकोमा। आफ्नै कथा र व्यथा बोकेको रोल्पाको जीवनशैली संस्कृति, सम्पदा, मौलिकता,  स्थानीयताले चिनारी खोजेको छ। राजनैतिक रुपले परिचित होलेरीलाई भौतिक, आर्थिक, सामाजिक, सांस्कतिक बिकासको आवश्यकता रहेछ।

प्राकृतिक काखमा दुई दिन आफैँलाई बिसाएर रोल्पासँग सहवास गर्दागर्दै फर्किने दिन आयो। फर्किदा साँझ पर्न लागेको थियो। पुग्दा झलमल्ल घाम थियो जीन्दगीका दुःखसुख जस्तै। मनभरी हलेरी आँखाभरी गुराँस बोकेर बाटो लाग्यौँ हामी।

माथिबाट झर्दै गरेको रातसंगै होलेरी ओझल पर्दै गयो आँखाबाट। प्रविधी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र विकासका आयामले मात्र समृद्ध र सुखी हुन सकिन्न जबसम्म शान्ति हुन्न। विकासको स्पर्शले सबै अफ्ठेरा नाघेर होलेरीको सुन्दरतामा सुगमता थपियोस। पहिचानमा चिनारी थपियोस, संस्कतिमा रंग थपियोस, भाषामा आफ्नोपन रहोस र हजारौँ आँखाका स्पर्शले व्यापकता बाँड्दै समृद्धीले उन्नत बनोस।  शान्ति यसैगरी छाओस् सधैंभरि।

बस्, रोल्पाली जीवनलाई विश्वले पढोस्। यस्तै कामना गर्दै होलेरी छाडें। गाडीभित्र आँखा चिम्म गरेँ। आँखाभरी गुराँस र युद्ध नै छायो। गुराँसमा युद्धको रंग! युद्ध पनि  गुराँस जस्तो!

प्रकाशित: २३ चैत्र २०७५ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App