१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

जंगी अड्डाको पुनःनिर्माण ९९ प्रतिशत सकियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण  गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।

‘भूकम्पले क्षतिग्रस्त भएका सेनाका सम्पूर्ण संरचना भूकम्प प्रतिरोधात्मक बनाउन जरुरत छ,’ उनले भने। भूकम्पलगत्तै राहत र उद्धारमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पबाट क्षति भएका नेपाली सेनाका संरचनाको पुनःनिर्माणका लागि प्राधिकरणले आवश्यक सहयोग गर्ने बताए।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जंगी अड्डा लगायतका संरचनाको पुनःनिर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी जंगी अड्डाको पुनःनिर्माण भइरहेको जानकारी दिए। नेपाली सेनाले भविष्यमा निर्माण गर्ने संरचना पनि सुरक्षित र बलियो बनाउने बताउँदै प्रधानसेनापति थापाले गुणस्तर र स्तरीयता कायम गर्न सेना प्रतिबद्ध रहेको  बताए। उनका अनुसार पुनःनिर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाको पुनःनिर्माण सम्पन्न हुनेछ। 

२०७३ पुसदेखि नेपाली सेनाको जंगी अड्डाको पुनःनिर्माण सुरु गरिएको थियो। नेपाली सेनाका अनुसार जंगी अड्डाको पुनःनिर्माण ९९ प्रतिशत सम्पन्न भएको छ। प्रधान कार्यालयमा ४७ वटा कार्यालय रहनेछन्। जंगी अड्डाको पुनःनिर्माण ३ अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्य छ। जंगी अड्डाको निरीक्षण टोलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहित सहसचिवहरू शिवहरि शर्मा, पीताम्बर घिमिरे, सहसचिव तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल लगायतले निरीक्षण गरेका थिए।

 

प्रकाशित: १ चैत्र २०७५ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App