देवकी केसी
गाउँका मुखियाको एक्लो छोरा केशरबहादुरकोमा दौलत कमी हुने कुरै भएन। त्यसमाथि पनि पुर्खा देखिकै मुखिया खान्दान। बाउको छहारीमा ओत लागेर दादागिरी गर्न त ऊ सानैदेखि खप्पिस थियो। उमेर परिपक्क हुँदै जाँदा उसको दादागिरीले पनि सिँढी उक्लँदै गयो।
परीक्षामा फेल भएको झोंकमा उसले कयौ पटक मास्टरका हातगोडा भाँचिने गरी कुटेको थियो। गाउँका चेलीबेटीको इजजतमा दाग लगाउनु र लुटपाट मच्चाउनु त केशरेका लागि सामान्य थियो। मुखियाका डरले उसको अन्यायविरुद्ध कोही पनि बोल्ने साहस गर्दैनथे। नक्कली परीक्षार्थीलाई आफ्नो ठाउँमा परीक्षा लेख्न लगाएर केशरबहादुरले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका दिन गाउँमा सिन्दुरे जात्रा गरिएको थियो।
मुखियाकै छोरो त्यसमाथि अरुले परीक्षा लेखिदिएर भए पनि प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मुखिया खान्दानको सान जोगाउन क्याम्पस भर्ना हुन सहर पस्यो ऊ। ऊ सहर पसेपछि गाउँलेहरूले उसको अन्यायबाट त मुक्ति पाए। तर, सहरमा पनि उसको दादागिरीमा रत्ति कमी भएन। उल्टै दादागिरी उचाइतिर उक्लँदै थियो। क्याम्पसे जीवनले उसलाई राजनीति र गुण्डागर्दीको उग्रतातिर लम्काइरहेको थियो।
मुखिया बाउकै छत्रछायामा रहँदा गाउँमै चिनजान भएका केही उद्योगपति र नेतासँग सहरमा आएदेखि केशरबहादुरको घनिष्ठता बढ्न थाल्यो। केशरबहादुरको कर्तुत ओकल्दै जाने हो भने हजार जिब्रा भएका शेष नागको सामथ्र्यले भ्याउँदैन होला ! शिक्षा शब्दको अर्थ र महत्वसँग अनविज्ञ केशरबहादुरले के मात्र गरेन होला क्याम्पसमा। आफ्नै साथी र शिक्षकलाई खुकुरी प्रहार गरेर घाइते बनाउनुका साथै शिक्षा आर्जन गर्न क्याम्पस छिरेकालाई भड्काएर राजनीतिक संगठनमा संलग्न हुन समेत बाध्य बनायो।
केशरेको गन र धनसँग राज्य मौन थियो, किनकि राज्यका हरेक उच्च तहका व्यक्तिका मुखमा उसको कालो धनको पेरुङ्गो लागेको थियो। धन र गन भएपछि खराब मान्छे पनि समाजसेवी, राजनीतिज्ञ, धर्मको संरक्षक भनेर पुजिने समाजमा केशरेलाई ‘भगवान’ ठान्थे नेताहरू, जसले उसको आडमा चुनाव जितेका थिए।
ऊ संलग्न नभएको कुनै त्यस्तो अपराध थिएन। तर, दुःखलाग्दो कुरा बहालवाला मन्त्रीदेखि ठूला नेतासम्म उसको मजबुत साँठगाँठकै कारण ऊ कहिल्यै पनि अपराधीको सूचीमा पर्न सकेन। अपराधीको सूचीमा परोस् पनि कसरी, तिनै मन्त्री र नेतालाई चुनावमा बुथ क्याप्चर गरेर जिताउने आँटिलो पात्र केशरे नै थियो। उनीहरूका लागि केशरे पक्राउ पर्नु भनेको आफ्नो दायाँ हात भाँचिनु हो।
क्याम्पसलाई गुण्डागर्दी र राजनीतिक थलोका रूपमा प्रयोग गरेको केशरेलाई सबैले युवा तथा जोश भएका नेताको उपनाम दिन्थे। उसको खुलेआम प्रंशसा गर्ने तिनै नेता हुन्थे, जसका लागि केशरेले चुनावका बेला बुथ क्याप्चर गरेर गुन लगाउँथ्यो।
सबैमाझ एउटा भिजन भएका युवा राजनीतिज्ञका रूपमा उसको खुब बखान हुन्थ्यो। तर, ऊ कस्तो भिजन भएको मान्छे हो भन्ने उसको बाहिरी संसार मात्रै बुझ्नेलाई के थाहा ? आठ–दस वटा हात्ती भएका नोट फाालिदिएपछि उसको सक्कली रूप कोट्याउने कसले ? हुन पनि ऊ साँच्चै भिजन भएको मान्छे थियो। तर, विकासका पूर्वाधारका कुरामा चाहिँ भिजन भएको होइन कि ! बैंक लुट्ने, मूर्ति चोर्ने, लागुऔषध तस्करी गर्ने आदि अपराधिक क्रियाकलापमा भने भिजन भएको मान्छे हो केशरे !
सहर पसेको छोटो अवधिमै उसले कालोधन लुकाउन विदेशी बैंकसम्म पुर्यायो। केशरबहादुरबाट केशरे डनका नामले परिचित उसका अघिपछि लाग्ने अंगरक्षक नै १० जना हुन्थे। केशरेको नाम सुन्दा सहर डरले काँप्थ्यो। उसँग डनको उपाधि, गन र धन सबै थियो। धन, गन र डन जे भए पनि मन निश्चल हुनुपर्छ। मनै निश्चल नभएपछि डन, धन र गन सबै बेकम्मा हुन्छन् भन्ने कहिल्यै नसोचेको केशरे आफूलाई ‘जंगलको शेर’ सम्झन्थ्यो।
कालो धनलाई सेतो बनाउने अभ्यासमा समाजसेवीको अभिनय गर्न पनि पछि हटेन ऊ। फरक यति मात्र हो, उसको अभिनयलाई अभिनय मात्र नसोची वास्तविक समाजसेवीकै रूपमा देख्न थालेका थिए, सरल हृदय भएकाहरूले। समाजसेवी बन्न सडक बालबालिकालाई आश्रय दिने अनाथालय खोल्ने केशरको कर्तुत कसले जानुन र ? उसको अनाथालय मानव अंग तस्कर वा मृगौला तस्करको अखडा हो भन्ने बाहिरी संसारलाई के थाहा !
थाहा पाउने तिनै मन्त्री र नेता नै उसको तस्कर धन्दाको राम्रा बिजनेस पार्टनर बनेका थिए। समाजसेवीको बर्दी पहिरिएर सुरुवात गरेको उसको घिनलाग्दो व्यापार देख्दा यस्तो लाग्थ्यो– उसलाई मान्छेको दर्जा दिने कुनै ठाउँ छैन। ऊ त गल्लीको भुस्याहा कुकुरसँग पनि तुलना गर्नलायक छैन। तर के गर्नु ? उसको त्यही व्यापार उसलाई मात्र नभएर मन्त्री र नेताका लागि समेत फलिफाप सावित भएको थियो।
मन्दिर संरक्षणका नाउँमा बेलाबेलामा केही लाख रूपैयाँ चन्दा दिएर आफूलाई आध्यात्मिक भनाउँथ्यो केशरे। धर्मको अनुयायीको भेष पछाडि लुकेको उसको सक्कली रूप कसलाई थाहा र ? थोरैलाई मात्र उसको असली चरित्र थाहा थियो। ति सबैका मुख केशरे डनको धन र गनको डरले बन्द थियो। विचरा सरल धर्मका अनुयायीहरू धर्मको संरक्षणमा योगदान दिएबापत भन्दै उसको खोजी खोजी सम्मान गर्थे।
गुण्डागर्दी, मादकपदार्थ, अनेकौ युवतीसँगको उठबस बिना त केशरेको जीवन अपूर्णझैं लाग्थ्यो। सहरका एक–दुई वटा भव्य महल तिनै गरिबीको आगोमा जलेका युवतीलाई प्रयोग गर्ने प्रयोगशालाका रूपमा संचालित थियो। उनका निकटस्थ पनि समयसमयमा त्यस प्रयोगशालामा डुब्न आउँथे।
यस्ता कयौ कुकर्मलाई समाजसेवीको रङ पोतेर हिँड्ने केशरेको गन र धनसँग राज्य मौन थियो किनकि राज्यका हरेक उच्च तहका व्यक्तिका मुखमा उसको कालो धनको पेरुङ्गो लागेको थियो। धन र गन भएपछि एउटा खराब मान्छे पनि समाजसेवी, युवा राजनीतिज्ञ, धर्मको संरक्षक सबै भनेर पुजिने यो समाजमा केशरेलाई भगवान ठान्थे नेताहरू, जसले उसको आडमा चुनाव जितेका थिए।
बुथ क्याप्चर गरेर बिजेता बनाएका तिनै नेताहरूले केशरबहादुरको गुन सम्झेर चुनावको टिकट पनि मिलाइदिएका थिए। केशरबहादुरले चुनाव जित्ने पक्का थियो, किनकि उसको धन र गनको शक्तिमा लुगलुग गोडा कमाउँदै जनता उसैलाई भोट हाल्न बाध्य थिए।
एउटा गुण्डा नाइके जालझेलले भए पनि चुनावमा सफल भएर माननीयको रूपमा शपथ ग्रहणसमेत लिइसकेको थियो केशरेले। उसको शपथ ग्रहणले कति खुसी थिए वा कति दुखी थिए, त्यो थाहा छैन। तर, एउटा भुस्याहा कुकुरको जति पनि दर्जा दिन नमिल्ने मान्छे यो देशको माननीयका रूपमा देख्दा पीडित मनहरू झन् पीडित अनुभव गर्थे।
सत्तामा पुगेपछि शान्ति सुरक्षामा जोड दिने बहानामा धमाधम आसेपासे डनहरूलाई सिध्याउने योजना बुन्न थाल्यो ऊ। जसले गर्दा आफ्ना कर्तुत थाहा पाउनेहरू पनि सकियोस् र आफूलाई भविष्यमा पर्ने खतराको बीउको पनि निर्मुल पार्न सकियोस् भन्ने चाल थियो केशरेको।
आसेपासे गुण्डा साथीमाथि राज्यको निगरानी बढाएर खोजीखोजी इन्काउन्टर गर्न लगायो केशरेले। यसैक्रममा आफ्ना लागि खतरा साबित भएको चेलो गजबहादुर अर्थात् गंंगटो डनलाई पनि इन्काउन्टर गर्न लगाएर सिध्यायो उसले।
‘केही वर्षयता राजधानीलाई केन्द्रविन्दु बनाएर विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जनताको शान्ति सुरक्षामा खलबल पुर्याउने गंगटो डन भनिने मुख्य गुण्डा नाइके गजबहादुरको आज दिउँसो इन्काउन्टर गरियो।’ संचार माध्यमले गंगटो डनको खबर यसरी फैलाउँदा केशरे महँगो मदिरा चियर्स गर्दै थियो।
भुरा माछा समातेर ठूलै माछो पासोमा पारे भनेर प्रचार गर्ने संचार माध्यम र सुरक्षा निकायलाई मुख्य डन त अझै देशको नेतृत्व तहमा पुगेर कालो धन्दा चलाउने योजना बनाउँदै छन् भन्ने के थाहा ? थाह पाएर पनि के गर्नु सबैतिरको रिमोट तिनै डनका हातमा जो छ। भुरा माछाहरूलाई इन्काउन्टर गरेर जनताले शान्ति पाए भनेर सोच्ने राज्यमा हाम्रा माननीय केशरबहादुर अर्थात् केशरे डनको जय होस् भन्न बाध्य थिए जनता।
प्रकाशित: २५ फाल्गुन २०७५ ०५:३२ शनिबार