१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

मुखै रसाउने ‘ट्वाक्क अचार’

नेपाली भान्छामा अचार अनिवार्यजस्तै छ। प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो हुने मान्यता छ। खाना खाने समयमा अचार छैन ? अथवा आज केको अचार ? भनेर सोध्नु त स्वभाविकै होे। अचारले खानाको स्वाद दुई गुणा बढाउँछ भन्ने मान्यता पनि यथावत नै छ। अचारको स्वादसँग खाना खादाको अनुभव तपाईँ हामीसँगै पनि छ। अचारबिना खाना नै नखाने पारखीहरू पनि थुप्रै भेटिन्छन्। अचेल बजारमा तरकारीको मात्र अचार पाइँदैन, मासुको समेत विभिन्न परिकारका अचार उपलब्ध छन्। 

केही दिनअघि थरिथरिका अचार बनाउन व्यस्त थिइन्, धोबिघाटकी कल्पना चौधरी। अचेल उनको दैनिकी अचार बनाउँदै बित्ने गरेको छ। सुर्खेतकी कल्पनाले अचार तयार गर्नका लागि आवश्यक सामग्री जुटाउनु, मरमसलाको मात्रा तय गर्नु, ट्वाक्कको स्वाद बनाउनु र ग्राम अनुसार जोखेर डब्बामा प्याक गरी ग्राहककहाँ पुर्याउन निकै व्यस्त छिन्। 

ग्राहकहरूको अर्डर अनुसार तरकारी र मासु गरी धेरै थरीका अचारका परिकारहरू उनी घरमा नै बनाउँछिन्। लसुन, मौसम अनुसारका तरकारी विशेष लप्सी र मासुको अचार बनाएर ग्राहकहरूमा स्वाद चखाउँदै आएकी छन्। उनी भन्छिन्, ‘बजारमा तरकारीको अचारमा लसुनको अचारको राम्रो माग छ, सँगै झिंगे माछाको अचार पनि खानेहरू बढेका छन्।’ माछाको अचार खाने मात्र नभएर कसरी बनाइन्छ, कहाँ पाइन्छ भनी ग्राहकहरू निकै जिज्ञासु भएर बुझ्न खोज्नेहरू धेरै आउने उनी बताउँछिन्। ग्राहकहरूले तरकारीको अचारभन्दा मासुको अचार रुचाएको उनी अनुभव सुनाउँछिन्। मांसाहारी अचारको परिकारमा चिकेन, बफ, झिंगे माछा गरी तीन प्रकारका मासुको अचार बनाउने गरेको उनी बताउँछिन्। कल्पनाले अचार बनाउन सुरु गरेको दुई वर्ष भइसक्यो। ‘ट्वाक्क अचार’ नाम दिइएको अचार प्रायःले रुचाएको उनको दाबी छ। यसको नाम सुन्नेबित्तिकै कतिको मुखै रसाउने गरेको उनको भनाइ छ। उनी भन्छिन्, ‘सुरुमा घरमा बनाएर परिवार, छर–छिमेक, आफन्तलाई चाख्न दिएपछि सबैकोे सल्लाह अनुसार अचार ‘ट्वाक्क’ बनाउने कोसिस गरे, अचारमा सबै पुग्यो भन्ने सुझाव पछि ग्राहकसामु ल्याएकी हुँ।’ 

कल्पनाले बनाएको अचार विभिन्न ठाउँमा प्रदर्शनीमा राखिसकेकी छन्। ‘ग्राहकलाई अचार चाख्न दिएर चित्त बुझेपछि मात्र लैजानुभन्दा धेरै ग्राहकहरू सन्तुष्ठ भएर लैजानुभएको छ,’ उनले भनिन्। एक्लैले सुरुवात गरेकी उनी बिस्तारै अन्य दिदीबहिनीहरूलाई जोडेर सबै ठाउँमा अचार पुर्याउने योजनामा रहेको बताइन्। झिंगे माछा, चिकेन, बफको अचार भए तरकारी समेत नचाहिने प्रतिक्रिया ग्राहकबाट पाएपछि थप ऊर्जा मिलेको उनको अनुभव छ। अचारको स्वाद चाख्न चाहनेहरूले फेसबुकमार्फत् सम्पर्क राखी अर्डर दिन सकिने उनले बताइन्। सामान्यतया लसुनको अचारको मूल्य दुई सय र मासुको अचारको चार सय रूपैयाँ पर्ने उनी बताउँछिन्। मासुको अचारमा बाह्य केमिकल नराखिएको हुँदा घाम र पानीबाट जोगाउनुपर्ने उनी सुझाउँछिन्। उनी भन्छिन्, ‘अचार झिक्न प्रयोग गरिने चम्मा ड्राई प्रयोग गर्नुपर्छ, चम्चालाई अचारकै बट्टामा  राखेर छोड्नु हुँदैन, यति गरेपछि ६ महिनादेखि १ वर्षसम्म केही हुँदैन।’ 

काठमाडौंमा पढ्न बस्ने विद्यार्थीदेखि कामकाजी व्यस्त जीवनशैली बाँच्नेहरूका लागि दैनिक अचारका परिकार बनाउन झन्झटिलो हुन्छ। बजारमा विभिन्न थरीका अचार पाउँदा खुसी भएको बताउँछिन्, लक्ष्मी श्रेष्ठ। पाटन बस्ने उनी भन्छिन्, ‘पहिला–पहिला इन्डियाबाट आउने धेरै चिल्लो राखेको तरकारीको मात्र अचार खाइन्थ्यो, अहिले भने घरमा नै तयार पारिएको ट्वाक्कको अचार खान पाइएको छ।’ तरकारीको अचारभन्दा मासुको अचार मनपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘बच्चा र श्रीमानलाई मनपर्ने भएर प्रायः मासुको अचार किन्ने गर्छु।’ बिहानै अफिस जानुपर्ने भएर अचार तयार गर्न समय लाग्ने भएपछि बजारको होममेड अचार किन्ने गरेको उनले बताइन्। ‘पहिले अचार खान छोडेका थियौ, अहिले भने सजिलो भएको छ,’ उनले भनिन्। 

होममेड अचार बनाउन महिलाहरू लागिरहेका छन्। जता वैद्य, दिक्षा श्रेष्ठ र दिक्षिता वैद्य मिलेर आरम्भ खाद्य उद्योगमार्फत् होममेड अचार उत्पादन गर्दै आएका छन्। एक वर्षको अन्तरालमका धेरै ग्राहकको मन जित्न सफल भएको दिक्षिता वैद्य बताउँछिन्। उनी भन्छिन्, ‘हामीले उत्पादन गरेको अचार हाम्रा ग्राहकले मनपराइदिनुभएको छ, जसले गर्दा अचारका परिकार थप बनाउने विचारमा छौं।’ 

सामान्यतया मौसमी तरकारीकै अचार बनाउने उनले बताइन्। ‘मासुको अचार परिकारमा विशेष चिकेन, बफ, पोर्क र अर्डर अनुसार बँदेलको मासुको समेत अचार तयार गर्छौ।’ मासुको अचार बनाउँला तेलमा डिप फ्राई गरी तयार पार्ने हुँदा पछिसम्म राख्न सकिने उनले बताइन्। मासुको अचारका पारखीहरूको माग दिनानुदिन बढेको उनले बताइन्। ‘मासुको अचार खानासँग नभएर चिउरा, भुजासँग खाजाको रूपमा पनि खान सकिन्छ। 

नेपाली बजारमा साकाहारीभन्दा पनि मांसाहारी अचारप्रतिको आकर्षण बढ्दो रहेको उनी अनुभव सुनाउँछिन्। ‘मासुको अचार लौ कस्तो हुन्छ, भनेर पनि धेरैले चाख्नकै लागि पनि किन्ने गर्छन्,’ उनले भनिन्। साकाहारी अचारको परिकारमा लसुन, लप्सी र टिमुरको छोपको माग पनि राम्रै रहेको उनी बताउँछिन्। तीन महिला कामदार राखी सञ्चालनमा ल्याइएको उद्योग अहिले बजारमा अचार उत्पादन गर्नमा भ्याइनभ्याई छ। सामान्यतया अचारको मूल्य दुई सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन्। अचार बाह्रै महिना रुचाइने र अचारको लागि मौसम र कुनै अवसर हुनु नपर्ने उनी बताउँछिन्। स्वदेशको उत्पादनलाई बिस्तारै विदेशसम्म पुर्याउने योजनामा रहेको उनले बताइन्। उनी भन्छिन्, ‘नेपालबाट विदेश जानेहरूले हाम्रो अचार लिएर जाने गर्नुहुन्छ, जसले गर्दा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूको लागि सहज होस् भनी अचारको परिकारसँगै विदेश निर्यात गर्ने योजनामा छौं।’

प्रकाशित: १० फाल्गुन २०७५ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App