शिरमा टोपी। झुस्स फुलेका दाह्री। सिन्धुपाल्चोकका ६० वर्षीय महेन्द्र पुरी काँधमा नाम्लो राखेर शनिबार बौद्धमा बसिरहेका भेटिए। उनी भारी बोक्ने कामको पखाईमा थिए। उनले भिडभाडमा हेताउता हेरे। तर, उनलाई कसैले पनि कामका लागि बोलाएनन्। त्यसपछि उनी निरास बने।
‘अहिले मानिसहरू सामान गाडीमा लैजाने गरेका छन्, त्यसैले भारी बोक्ने काम पाउन मुस्किल छ,’ ३० वर्षदेखि भरियाको काम गरिरहेका उनले भने।
अहिले बौद्ध स्तुप वरिपरिकै सामान बोक्ने गरेको उनी सुनाउँछन्। सामान बोक्नका लागि दिनभरि कुरे पनि काम नपाएको उनी बताउँछन्। ‘पहिले प्रशस्तै काम पाइन्थ्यो,’ उनले भने, ‘अहिले त सबैको सवारी साधन हुन्छ। त्यसैमा लोड गरेर सामान लगेको हुन्छ। त्यसैले भारी बोक्नको लागि सामान नै पाइँदैन। कहिले दिनभरी कुरेर बेलुका रित्तो हात फर्किनुपर्छ।’ उनका अनुसार ९ वर्षसम्म इन्डियामा अरुको सामान बोक्ने काम गरेका थिए। गाउँघरको याद आएपछि फेरि नेपाल फर्किए। अहिलेसम्म पनि भरिया नै गरिरहेका छन् उनी। उनका तीन छोरा र एक छोरी गाउँमै खेतीपाती गर्छन्। ‘बुढेसकालमा पुगे पनि एक सय किलोसम्मको भारी बोक्छु। सामान पाउँदा दिनको १२ सय रूपैयाँसम्म कमाई हुन्छ,’ उनले भने, ‘त्यही पैसाले जसोतसो गरेर परिवार पाल्न र मेरो जीविकापार्जन गर्दै आएको छु। कहिले डेरा भाडासमेत तिर्न सकिँदैन। भरियालाई पनि सरकारले भत्ता दिए यति धेरै दुःख गर्न पर्दैनथ्यो।’ अरुको सामान बोक्दाबोक्दै पुरीको शिरको कपाल खुइँलिँदै गएको छ। तर, उनले अझै हरेस खाएका छैनन्। उनका अनुसार बौद्धमा १३ जना भरिया छन्। सामान बोक्न झगडा नभएको उनी बताउँछन्। ‘गाउँमा बसे त परिवारले पाल्छन। तर, मनले मान्दैन,’ उनले भने, ‘आफुले पनि केही कमाउन सकिन्छ भनेर यो पेसामा लागेको हुँ। जति बुढेसकाल लागे पनि लौरा टेकेर भए पनि जीविकोपार्जन गर्नेछु।’
आठ वर्षदेखी बौद्धमै भरियाको काम गर्दै आएका धादिङका ३५ वर्षीय एक युवा पनि कामको पर्खाइमा गेटमै बसिरहेका थिए। उनको पनि उस्तै गुनासो छ– भारी बोक्न सामान पाइँदैन। ‘कहिले काम पाइन्छ त कहिले दिनभर कुर्दा पनि पाइँदैन,’ उनले दुखेसो पोखे। काम पाएको दिन दिनको पाँच हजार रूपैयाँसम्म कमाइ हुने उनले सुनाए। काम नपाएको दिन त छाक चलाउनै मुस्किल हुने उनको दुखेसो छ। उनका अनुसार अहिले प्रायःजसो मानिसहरूले समान गाडीमै पुर्याउने गरेकाले भारी बोक्ने काम पाइन छाडेको हो। ‘फुट्ने सामान भए मात्रै भरियालाई बोलाइन्छ,’ उनले सुनाए। चिनजानकै मान्छेले कामका लागि बोलाउने गरेको उनको भनाइ छ।
भारी बोक्ने काममा कसरी लाग्नुभयो ? उनले बेलिविस्तार लगाए, ‘आर्थिक अवस्था कमजोर भएपछि पढ्न पाईन। त्यसपछि तीन वर्ष साउदी देशमा गए। त्यहाँ राम्रो कमाई नेपाल फर्केर गाउँमा खेतीकिसान गरे। त्यहाँ पनि चित्त बुझेन। र, सहरमा आई भरिया पेसा अँगाले।’
दुरी अनुसार एक सय २० किलो सम्मको भारी बोक्दै आएको उनी बताउँछन्। यही पेसामा खुसी भएको उनले सुनाए। ‘अफिसियल काम गर्नुभन्दा यही काम गर्न मनपर्छ। भारी पुर्याएपछि तुरुन्तै पैसा पाइन्छ,’ उनले भने, ‘भारी बोक्दै गर्दा आफन्तसँग भेट हुँदा लाज हुन्छ। तर, यही मेरो पेसा भनेर सम्झन्छु र काममा अघि बढ्छु।’ यही पेशाबाट कमाएको रकमबाट घरखर्च धानेको र छोराछोरी पढाएको उनले सुनाए।
प्रकाशित: ६ फाल्गुन २०७५ ०६:२८ सोमबार