मौलिक संस्कृतिमा आधारित रहेर पूर्वी पहाडको नामाकरण गरिएको पाइन्छ। यस्तै एउटा नाम हो–वासुम खोला। पाँचथरको उत्तरी याङवरक गाँउपालिकामा पर्ने खोलामा पुगेपछि हाम्रो जिपलाई उकालो चढ्न कठिन भयो। कारण–सडकमा थुप्रिएको हिउँ।
हामीले हिँउमाथि केही किलोमिटर यात्रा पार गरिसकेका थियौं। बल्ल ओर्लियौ र ठेल्न थाल्यौं। गाडी निस्कियो, हामी हिउँमा रम्न थाल्यौं। मानौ हिमाल सामुन्ने उभिएको छ ! रुखका पातलाई छोपेको हिउँका दृष्य कलात्मक लाग्थ्यो। बाटोभरी हिउँ नै हिउँ। हामी हिउँमाथि दौडियौँ। अनि फेरी गाडी चढ्यौँ। हिउँमाथि जिप चिप्लिँदै अघि बढ्यो, हामी भने गाडीभित्र ‘हिउँ पर्यो फुरुरु’ गीत गाउन थाल्यौं। हाम्रो यात्राका मियो थिए सविना वानियाँ। सहयात्री थियौँ पत्रकारहरु आनन्द गौतम, सन्तोष पुकुर्टी र भीमकुमार बाँस्कोटा। हिउँ र प्रकृतिको कोलाज प्रिय मात्र लागेन, कतिले त प्रेमिकाको नाम लेखेर पिपलका पात समेत बनाए।
हामी चिवा भञ्याङ पुग्दा हावाको झोंक्काले स–साना पोथ्रा र रुखलाई हल्लाई रहेकै थियो। हिउँले सेताम्मे थिए ती। हिमाल झैं देखिएका डाँडा। गुराँस फूल्दा फरक देखिने चिवाभञ्याङ हिउँसँग मुस्कुराएको थियो। छेउमै रहेको कालपोखरी हिउँले ढपक्कै देखिन्थ्यो। यो ठाँउ नेपाल–भारतको सिमामा पर्छ। सिमा स्तम्भमा उभिएर राष्ट्रियताको भावनाले ओतप्रोत भएर तस्बिर खिच्यौं।
हामी चिवा भञ्याङ पुग्दा हावाको झोंक्काले पोथ्रा र स–साना रुखलाई हल्लाई रहेकै थियो। गुराँस फूल्दा राताम्मे देखिने चिवा भञ्याङ हिउँसँग मुस्कुराएको थियो।
पूर्व–पश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमस्थल भएकाले पनि यहाँको चर्चा बढेको छ। नजिकको सिमा क्षेत्र भएकाले यहाँ घुम्न आउनेको संख्या उलेख्य हुन्छ। सिक्किम र नेपालका पहाडी जिल्लामा पारिवारिक साइनो हुन्छ। उनीहरु यहि बाटो भएर वारीपारी गर्छन्। भारतमा रहेको सुरक्षा चौकिमा गएर हामीले चिया पियौँ। नेपालमा भने कुनै संरचना छैन। च्याङ्थापुको साँगाडाँड कटेपछि चिया पिउन समेत कठिन हुन्छ। भारततर्फ पनि सडक बन्दै छ। सिक्कमका उत्तरेबाट ल्याईदै गरेको सडक देखिने ठाउँमा आइपुगेको छ। पदयात्रामा निस्कने पर्यटक चिवा भएर उकालिन्छन्। नेपाल भन्दा भारततिरबाट विदेसी धेरै आउँछन् भने नेपालबाट स्वदेसी।
हरेक बर्ष हिउँले ढाक्छ यहाँ। १० हजार ३ फिट उचाइमा रहेको यो ठाउँमा हिउँमा रमाउनेको भिड लाग्यो। हिउँमा सुतेर, उफ्रेर हिउँ खेल्नेका भिड थियो। हिउँका आफ्नै विशेषता छन्। हिउँ पर्ने ठाँउका बासिन्दाले सास्ती खेप्छन् भने हिउँ नपर्ने ठाँउकाहरु हिउँमा रमाउँछन्।
उच्च पहाडी क्षेत्रमा पर्ने तथा कम वस्ती भएको यस्तो ठाउँमा विरलैमात्र पुग्ने सन्दर्भ जुट्छ तर बाक्लो संख्यामा घुमन्ते पुग्ने गरेका छन। सिमा नाका तथा फराकिलो भुवनोट भएको चिवाभञ्याङ मेरा लागि नयाँ थिएन। हिउँले थप नयाँ बनाई दियो। चिवाभञ्याङमा हिउँसँग रमाउँदै, फूलहरु, सिमास्तम्भ, टाढा टाढा देखिने नेपाल र भारतका गाउँहरु, भौगोलिक अबस्था, पोखरीका तस्बिर खिच्न आतुर देखिन्थे। सिमानाको माटो उठाएर राष्ट्रियताप्रति अद्भुत सद्भाव देखाइँदै गरेको देख्न पाइन्थ्यो।
अग्ला डाँडा विभिन्न आकृति बोकेर रमाएका छन्। फागुन–चैतमा गुराँस फूल्दा वनक्षेत्र थप आर्कषक बन्छन्। च्याङ्थापु, तिमतिम्बु, साँघा डाँडा, चित्रे जस्ता ठाउँ छिचोलेर हामी चिवा पुगेका। लेकाली भुवनौट, नीलो आकास, चिमाल, गुराँस, चाँप लगायत वनस्पती, वेलावेला भेटिएका चौरीले यात्रालाई रोमाञ्चक बनाइरह्यो।
उत्तरी च्याङथापु र फलैंचा ग्रामीण पर्यटनका आकर्षक गन्तव्य हुन्। च्याङ्थापुमा राणाकाली समयदेखि बजार लाग्छ। यि क्षेत्रमा किरात लिम्बु जातिसंग जोडिएका इतिहास छन। गुराँसे वनले छोपेको तिम्बुपोखरी–लामापोखरी–फलोट क्षेत्र यहीँ पर्छ। सिमावर्ती अनगिन्ति डाँडा, बस्ती छन् जसले मन लोभ्याउँछ। आकर्षक घर बनाइएका छन्। सुकेडाँपमा नयाँ वर्षका अवसरमा मेला लाग्छ। फराकिलो ठाउँ। अनगिन्ती पोखरी छन। चिवाभञ्याङमा पनि नयाँ वर्षमै मेला लाग्छ।
लेकाली क्षेत्रमा गोठ छन। वन क्षेत्रमा रेडपाण्डा लगायत वन्यजन्तु पाइन्छ। होचाहोचा डाँडा लोभलाग्दा छन। वस्ती आर्कषक छन् भने स्थानीय परिकार जिब्रोमै झुण्डिन्छ। सडकलाई छिटो गुणस्तरिय बनाएर सहजता प्रदान गर्न आवश्यक छ। नेपालतर्फ सुरक्षाकर्मी, होटल लगायत पूर्वाधार चाहिन्छ। सिजन अनुसार सुन्दरतामा रमाउन पूर्वाधार अवाश्यक छ। लेकमा गोठमा, भित्रि क्षेत्रमा गाउँलेका घरमा र ग्रामीण बजारमा होटलमा बस्न पाइन्छ। पाँचथर सदरमुकाम फिदिमबाट च्याङथापुसम्म नियमित गाडी चल्छन्। यहाँदेखि २० किलोमिटर माथिसम्म रिर्जभमा गाडी लैजानु पर्छ। फिदिमबाट विभिन्न वस्ति छिचोल्दै फलैचा–च्याङथापु पुगिन्छ। च्याङथापु पुग्न चार घन्टा लाग्छ। गाउँ गाउँमा सडक पुगेको छ। तर, पैदल यात्राको छुट्टै मज्जा हुन्छ।
प्रकाशित: १९ माघ २०७५ ०४:५८ शनिबार