१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

'सहर बैगुन र विरतक्त लाग्दाे बनेकाे छु'

तपार्इंको विचारमा सहर भनेको के ?
मलाई घरहरू टाँसिएको र मनहरू टाढिएको ठाउँ जस्तो लाग्दछ सहर । गाउँमा घर टाढाटाढा हुन्छन् तर मन नजिक हुन्छ । सहर कंक्रिटको जंगल हो । जहाँ  बर्सात्को पानीले निकास पाउँदैन । कोलाहल, धुलोधुवाँ र भीडभाडबाट हैरान भएर सहरबासीहरू ‘फ्रेस’ हुन बाहिर घुमफिरमा जान थालेका छन् । यहाँ सबै एकले अर्कालाई पछार्ने दौडमा छन् तर कोही पनि गन्तव्यमा पुगेका छैनन् ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मेरो परिकल्पनाको सहरमा रोग, चिन्ता र हैरानी खेप्नु नपरोस् । एकापसमा प्रेमिल सम्बन्ध होस् । जताततै सुन्दर र हराभरा होस् ।

तपाईंका विचारमा कसरी कुरूप बन्यो काठमाडौं ?
काठमाडौें अत्यन्तै सुन्दर सहर हो । तर हाम्रै कारणले कुरूप बन्दै गएको छ । हामीले प्रविधिको राम्रो उपयोग गरेका छैनौें । हामीले नदी र सडकलाई ‘डम्पिङ साइट’ बनाएका छौं । कमाउने धूनमा आफ्नो कर्तव्य भुलेका छौं ।

काठमाडौंको मन नपर्ने पक्ष ?
हामीले भूकम्पको बेला एकजुट भएर एकअर्कालाई सहयोग गरेका देख्यौं । त्यसको आधारमा यहाँका मानिसहरूमा मानवता, दया, माया र सहयोगी भावना अझै हराएको छैन भन्न सकिन्छ । तर, यतिबेला सबै आफ्नै धूनमा व्यस्त देखिन्छन् । कोहीमा औपचारिकताबाहेक आत्मीयता देखिँदैन । कसैसित एक आपसमा कुरा गर्ने फुर्सद छैन । कतिपय अवस्थामा सहरी व्यस्तताले यस्तो भएको हुनसक्छ । त्यसैगरी यहाँको मन नपर्ने पक्ष हुन्, धुलोधुवाँ, महँगी, भीडभाड र सवारी जाम ।

तपाईंलाई मन पर्ने सहर ?
मलाई मन पर्ने कुनै एउटा निश्चित सहर छैन । म जहाँ जान्छु त्यहीँको परिवेशमा रमाउने हुँदा मलाई आफू गएको सहर मन पर्छ । प्रत्येक सहरका आफ्नै खाले विशेषता छन् । म जहाँ जान्छु, त्यहीँको संस्कार, संस्कृति र परम्परा बुझ्न खोज्छु ।

तपाई आउँदा कस्तो थियो काठमाडौं?
म दुईतीन वर्षकी हुँदा काठमाडौं आएकी हुँ । मलाई त्यतिबेलाको बिहानीपखको निकै याद आउँछ । बिहानै धुपको हरहर मीठो बास्ना आउँथ्यो । घरभित्रबाटै परेवा उडेको र घुरेको आवाज सुनिन्थ्यो । परैबाट मन्दिरको घन्टी बजेको सुनिन्थ्यो । त्यतिबेला पानी चिसो, बस्ती पातलो र प्रकृति सुन्दर थियो । अस्तव्यस्त थिएन काठमाडौं ।

तपाई कुनकुन ठाउँ घुम्नु भएको छ?
मेरो बुवा दामोदर शर्मा नेपाल विद्युत् प्राधिकरणको इन्जिनियर हुनुहुन्थ्यो । उहाँको सरुवा हुने क्रममा नेपालको धेरै ठाउँ घुम्न पाएँ । त्यसपछि जागिर, पढाइ र फुर्सदको समयमा घुम्ने क्रममा देशविदेशका धेरै ठाउँ घुमेकी छु । इलाम, खोटाङ,  गोर्खा, दाङ, त्रिशुली, बागलुङ, बुटवल, मुगु, पाल्पा, पोखरा, भैरहवा, नुवाकोट, वीरगन्ज, लमजुङ, रामेछाप, नेपालगन्ज, हेटौंडा, सिन्धुपाल्चोकजस्ता नेपालका धेरै ठाउँ घुमेकी छु । आइरल्यान्ड, इन्डिया, डेनमार्र्क, थाइल्यान्ड, बंगलादेश, स्कटल्यान्ड, स्वीडेन जस्ता विदेशका धेरै ठाउँ पनि घुमेकी छु ।

उपत्यकाको मनपर्ने पक्ष ? 
मलाई काठमाडौंको मनपर्ने पक्ष भनेको यहाँको विविधता हो । काठमाडौं धेरैका लागि मोहक र हरेक दृष्टिकोणले केन्द्र बनेको छ ।  यहाँ देशभरिका नागरिकहरू आफ्नो ठाउँको भाषा, संस्कृति, सोच र विचारहरू लिएर आउँछन् । सबैको आफ्नो धर्म र परम्परा छ । जसलाई काठमाडौंले स्थान दिनुको साथै स्वीकारेको पनि छ । त्यस्तै काठमाडौं मौलिक कला, संस्कार र सम्पदाले सम्पन्न छ ।

नेपाल र बाहिरको सहरमा के फरक छ?
विदेशले विकासको हकमा निकै प्रगति गरेको छ । विदेशीहरूले सधैं समयको पालना गर्छन् तर उनीहरूमा व्यक्तिवादी सोच हाबी हुँदै गएको छ । सबै पाएपछि मान्छे निरास हुन्छ । सबैमा पुगिसरी भएपछि संघर्षको अन्त्य हुने रहेछ । जापानको मान्छे नेपाल आउँदा खुसी हुन्छन् । विकासको हकमा गर्नुपर्ने काम धेरै भएको हुँदा यहाँ  संघर्ष गर्नुमा पनि बेग्लै मजा छ । यहाँ जिन्दगीमा प्राप्त गर्न सकिने प्रशस्त सफलताहरू रहेका छन् । यहाँ सानो सफलतामा पनि धेरै खुसी प्राप्त हुन्छ । पुगीसरी भए पनि विदेशी नागरिक प्रफुल्ल नभएको जस्तो देखिन्छ । उनीहरू उत्साहजनक परिवेश र  प्रफुल्लता खोज्न नेपाल जस्तो ठाउँमा घुम्ने गर्छन् ।

सहर सुन्दर बनाउन  केके गर्नुपर्छ ?
काठमाडांै आफैंमा धेरै सुन्दर छ । तर हामीबाट बिगार्ने काम मात्रै भइरहेको छ । हामीले भएकै जोगायौं भने काफी हुन्छ । यहाँ विश्व सम्पदा सूचीमा परेका अमूल्य सम्पदाहरू छन् । पुरानो भत्काएर नयाँ बनाउन लागिरहेका छौं । हामीले  त्यो सुन्दरताको जोगाउने प्रयास गर्नु पर्दछ । हाम्रो भाषा, संस्कृति र सम्पदाहरूको संरक्षण गर्नुपर्दछ ।

तपाईंलाई घुम्न मन लागेको सहर ?
घुम्नका लागि  कति हो कति सहरहरू बाँकी छन् । म फुर्सदिली भए घुमेरै जीवन बिताइदिन्थे । सके अन्तरिक्ष पनि जान्थें हुँला ।

तपाईं बालकथाकार हुनुहुन्छ । सहरका बालबालिकाहरू लागि कस्तो खाले शिक्षा आवश्यक देख्नु हुन्छ?
बालबालिकाका लागि समावेशी शिक्षा आवश्यक छ । समावेशीको अर्थ  एउटा विषयको अर्को विषयसँगको सम्बन्ध र पुरकता हो । उनीहरूको शिक्षामा नैतिकता, संस्कृति, परम्परा, मानवता, मनोरञ्जन आवश्यक छ । हामी बच्चालाई सिकाएअनुसार व्यवहार गर्न सक्षम हुनुपर्छ । हामी उनीहरूका लागि ‘रोलमोडल’ हुनुपर्छ । हामी आफैंमा केके पुगेको छैन र निरासामा बाँचेका छौं भने कसरी बालकलाई सुन्दर संसार बनाइदिन सक्छौं रु बच्चा आफैंमा राम्रो हुन्छ । प्रकृतिले नै उनीहरूलाई सास फेर्न सिकाएको हुन्छ । हामीले उनीहरूलाई अवसर मात्रै दिँदा पनि धेरै राम्रो हुन्छ ।

बालबालिकालाई कस्तो सहर बनाउने भनेर सिकाउने ?
हामीले बालबालिकाहरूलाई सहर बनाउने जिम्मा दिनुभन्दा पनि महत्वपूर्ण कुरा उनीहरूलाई आउने दिनहरूमा कस्तो सहर हस्तान्तरण गर्ने भन्ने हो । हामीले सहरलाई प्राकृतिक रूपले जोगाउने काम मात्रै गरिदिए पुग्छ । हामी बालबालिकाहरूका लागि ‘रोल मोडल’ बन्न सक्नुपर्छ । जसले गर्दा उनीहरूले आफ्नो त्यो विशाल विरासतलाई राम्रोसँग अगाडि बढाउन सकून् । प्रस्तुतिः श्रीराम राई                  

प्रकाशित: १४ माघ २०७५ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App