१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

अद्भुत तिवारी

भुवनहरि सिग्देल 

मानबहादुर तिवारी अहिले ९० वर्षका भए। उनी भालुबाङको सोतैया गाउँमा बस्छन्। मैले पहिलोपटक ०६८ सालमा भेटेको थिएँ। ०७५ मंसिर २६ गते उनलाई भेट्न म फेरि भालुबाङ गएँ। 
उनी र उनकी श्रीमती आँगनमा घाम तापिरहेका थिए। उनका अगाडि गएर हात जोडें, ‘दाजु आराम नै हुनुहुन्छ नि ?’
हाँसेर रमाइलो उत्तर दिए, ‘आ राम ! भनेको छैन। आफुखुसी आउँदै होला।’
पहिलो सम्वादै उनले ध्वनीमा गरे। म उनी अगाडिको मेचमा बसें। भने, ‘चिन्नु भएन होला। म सात वर्षअघि रतन पाण्डेसँग आएको थिएँ।’
‘हो त। एकरात हामी सँगै बसेर कुरा गरेका। मैले भुलेको छैन।’
‘शरीर कस्तो छ अहिले ?’
‘यी यही हो। खास रोग छैन।’
‘पुरानो रक्सी खाने रोग नि ?’
उनी हाँसे। आँखा चिम्म पारेर भने, ‘अँ, अहिले पनि छ त्यो त।’ 
‘दैनिक सोह्र बोतल नै हो कि अलि घट्यो ?’
‘घट्नुपर्ने किन र ?’
‘हैन, यो उमेर भयो। अलि कम गरे होला नि ?’
‘त्यो कम गरे मेरो उमेर पनि कम हुन्छ भाइ।’
‘भनेपछि त्यसले हजुरलाई कुनै हानि गरेको छैन त ?’
‘अहँ छैन।’ 
‘हिँडडुल गर्न समस्या छ कि ?’
‘छैन। किन समस्या हुनु ? अलि दिनअघि इलाहावाद गएर आएँ।’
‘किन, केही काम थियो कि ?’
‘त्यहाँ निरहङ्कारीको समागम थियो।’
‘ए, त्यसमा पनि सक्रिय नै हुनुहुन्छ ?’
‘छु त।’ 

उसको बेथा नै लिंग–नलीमा थियो। छामेरै मैले एउटा सुम्लो फेला पारें। एक इन्चजति थियो। ब्लेड झिकेर चिरिदिएँ। गिलगिल्याएँ। कालो रगत आयो। पिसाबको धारै लाग्यो। छ्याछ्या ! मेरो मुखमै पर्‍यो।


यो वार्तालाप छोरा सन्तोष, उनकी श्रीमती र बुहारी अनिता पनि सुन्दै थिए। मैले सोधें, ‘उमेरका कारणले आँखा, दाँत, कान, पेट कमजोर भए कि ?

बीचमा अनिताले भनिन्, ‘छैन हजुर। हामीलाई ब्व्राइलरको हड्डी चपाउन गाह्रो हुन्छ। पिताजीले लोकल कुखुराको हड्डी पनि मर्‍याङमर्‍याङ चपाइदिनुहुन्छ। उहाँका हात काठ जत्तिकै दह्रा छन्।’ 
‘ए, मासु पनि खानुहुन्छ ?’

‘खानुहुन्छ हजुर। अहिले पनि एक किलो मासु दैनिक खानुहुन्छ। उमेरमा कति खानुहुन्थ्यो रे पिताजी ?’
बुहारीको प्रश्नमा उनले भने, ‘चार किलो मासु र चौबिस बोतल रक्सी खान्थें।’

‘पहिला नीमको तरकारी खाएर चिनीको समस्या हटाएको कुरा गर्नुहुन्थ्यो। अहिले त्यो समस्या छ कि छैन ?’ मैले सोधें।
‘त्यो समस्या पनि छैन। घाउ खटिरा मेरो शरीरमा आउनै सक्दैनन्।’
‘किन आउन नसक्ने ?’

उनी हाँसे मात्र। उनकी श्रीमतीले भन्नुभो, ‘उहाँ आफ्नो उपचार आफैं गर्नुहुन्छ। अलि मुख्र्याइँ गर्नुहुन्छ क्या। घाउ भयो भने त अगुल्टाले पोलिदिनुहुन्छ।’

म डराएँ। सोधें, ‘आफ्नै शरीरमा कि ?’
बुहारी अनिताले भनिन्, ‘हो त हजुर। घाउमा सोझै अगुल्टो झोसिदिने। दुई दिनपछि सबै सफा।’ 
‘के अचम्म हो हजुर यो ?’
‘भाइ म आर्मीको मान्छे। यस्ता सबै उपचार हामीलाई सिकाएको हुन्छ। घाउ लाग्यो भने के गर्ने ? हतियारले काट्यो भने के गर्ने ? गोली लाग्यो भने के गर्ने ? हातगोडा भाँचिए भने कसरी जोड्ने ? छाला सिउने सियो धागोसमेत साथमा हुन्छ’ उनले भने।
‘गज्जब ! के चिरफार पनि गर्नुहुन्छ ?’
‘हेर्नोस् आगोको डाहाभन्दा बढी अरू दुखाइ हुँदैन। गोली शरीरमा गड्यो भने छुरी तताएर घाउलाई पोल्ने। त्यसैले गोली निकाल्ने हो’ उनका उपचार पद्धति सुनाए।

‘दाजुले यस्ता उपचार आफ्नो ज्यानको मात्र गर्नुभएको होला नि ?’
थोरै मुस्कुराएर भने, ‘नाइँ भाइ, मैले आर्मीमा धेरैको उपचार गरेको छु।’ 
‘कस्ता उपचार ? केही सुनूँ न’ म उत्सुक थिएँ।
‘हामी ब्यारेकमै थियौं। रातको समय थियो। कोठासँगै जोरिएको साथीको कोठा थियो। एक रात ढोका ढकढक्याएर ऊ करायो, ’मानबहादुर ! म त मर्न लागें। ‘मैले उसको समस्या सोधें। उसले असह्य कोखो दुख्यो, भन्यो। ऊ पहिले पनि कोखो दुख्छ भन्थ्यो। मैले उसले देखाएको ठाउँमा छामें। औंला गाडेर दुखाइको ठीक ठाउँ पत्ता लगाएँ। ब्लेडले दुई अमलजति छाला चिरिदिएँ। गिलगिल्याएर रगत झारें। त्यसपछि आरामले सियोधागो झिकेर चिरेको छाला सिइदिएँ। बाहिरबाट औषधी लगाएँ। पट्टीले बाँधिदिएँ। खेलै खत्तम।’
‘तिवारी दाइ ! यो त समस्यामाथि समस्या भएन र ?’
‘कहाँ हुन्छ ? त्यसपछि उसको कोखो दुख्ने व्यथा कहिल्यै भएन।’
‘हैट ! तपाईं अद्भुत मानिस।’ 
‘अर्को घटना सुन्नुहुन्छ ?’
‘अँ, भनौं न।’

‘ब्यारेककै अर्को साथीको समस्या थियो। उसको लिंग दुख्थ्यो। पिसाब खुल्दैनथ्यो। समस्याले हैरान पार्‍यो। डाक्टरलाई जँचाएर ओखती पनि खायो। ओखती खाउन्जेल नदुख्ने। ओखती सकियो, दुख्न सुरु। एक दिन मैले उसका सबै समस्या बुझें। उसको बेथा नै लिंग–नलीमा थियो। छामेरै मैले एउटा सुम्लो फेला पारें। एक इन्चजति थियो। ब्लेड झिकेर चिरिदिएँ। गिलगिल्याएँ। कालो रगत आयो। पिसाबको धारै लाग्यो। छ्या ! छ्या ! मेरो मुखमै पर्‍यो। त्यसपछि मिलाएर सिइदिएँ। उसले सधैंका लागि मुक्ति पायो। यस्ता उपचार त कति गरें कति’, यी अद्भुतले अद्भुत कुरा गरे।
चित्लाङका भरिया 
मैले अजंगको मानिस देखें। त्यो वेला म ६ कक्षामा पढ्थें। चौध वर्षको थिएँ। ०२२ सालको कुरो, थानकोटको मंगलोदय स्कुलमा पढ्थें। दिउँसो एक बजेको घण्टी लाग्यो। एक घण्टा खाजा खाने समय हुन्थ्यो। पानीको प्यास लाग्यो। सडकको दक्षिणपट्टि ठूलो पीपलको रूखनिरको धारोमा पुगें। एक जना अजंगको मान्छेले धारामा पखालिएको रायोको ठूलै मुठो साग हातमा लिएर पीपलको फेदतिर गयो। भोटो र कछाड लगाएको त्यो मानिसका पछिल्ला पिँडौला देखेपछि म हेरेको हेर्‍यै भएँ।
पीपलको रूख बढ्दै गएपछि वरिपरि लगाएको ढुंगाको चौतारो पनि जरैजराले बेरेको हुन्छ नि ! हो त्यस्तै। पिँडुलाका मसल कसिएर डल्लाडल्ला परेका। थामजस्ता तिघ्रा। दुवै घुँडाका भाग अलि साना। पिँडुला झन्डै तिघ्रासरह। मलाई अचम्म लाग्यो, बाफ रे बाफ ! यो कस्तो मानिस हो ?
उसले भत्किसकेको चौतारोको बगलमा ठूलो ढाकर कसेर अड्याएको। त्यो मानिस ढाकरसँगैको ढुंगामा गएर बस्यो। रुमालको पोको फोयो। हातमा काँचो चामलको फाँको उठायो र मुखमा हाल्यो। चपायो । सागको मुठो उठायो। करम्म टोक्यो।
 म आश्चर्यले रन्थनिएँ, हैन गोरुले घाँसको मुठो बुझो हालेझैं यसले के गरेको यो ?

अनायास मेरा पैताला पीपलको फेदतिर तानिए। देखें रुमालमा भिजाएको चामल रहेछ। ऊ त्यही चामल चपाउँदै सागको बुझो हाल्दै छ। मानिसले काँचो साग र चामल चपाएको नदेखेको, नसुनेको भएर होला, निकै जिज्ञासा लाग्यो। सोधें ‘दाइ दाइ ! यो काँचो सागले भुँडी दुख्दैन ?’
त्यो भरियाले बल्ल मतिर पिर्लिक्क हेर्‍यो। काँचो सागले हरिया बनेका दाँत देखाएर फिस्स हाँस्दा म डराएँ। उसले भन्यो ‘खै त, दुख्दैन नानी !’
‘तपाईं सधैं यस्तै खाने हो ?’

‘हो नानी ! धेरै वर्ष भयो। पकाएको मीठो लाग्दैन।’
‘अनि, घर कहाँ हो नि ?’
‘चित्लाङ हो। म बलामी हुँ। यही चन्द्रागिरिको ओरालोउकालोमा सधैं भारी बोक्छु।’
मैले अनिमेष उसलाई हेरें। उसका पौंजा, औंला र नाडी पनि त्यही पीपलका जराजस्ता अरठ्ठा थिए।
फुलेबूढा 
सेतै फुलेका हुनाले सबैले उनलाई फुलेबूढा नै भन्थे। हाम्रो घर दहचोकको गैह्रीगाउँमा थियो। त्यसैको बेंसीमा उनको बसोवास थियो। यही बेंसीसँग गाँसिएको अर्को नाम पनि थियो उनको, बेसीघरे फुलेबूढा।
उनी हाम्रै तेह्र दिने दाजुभाइ, सिग्देल। उनको ज्यान ढब्बु थियो। मूलथामजस्ता तिघ्रा र पिँडुला। उनको पहिरन घरबुनाको दौरा र ठाडो लँगौटीबाहेक अरू कपडा लगाएको कहिल्यै देखिएन। पटपटी चिरिएका पैताला र कुर्कुच्चा थिए। जुत्ताको बेग्लै कथा छ उनको।

फुलेबूढाले जवानी बितिसक्दा पनि बिहे गर्न केटी पाएनछन्। बाहुनी केटी कतै मिल्न नसकेकाले छिमेककै वाग्ले जैसीकी छोरी भित्र्याउने भएछन्। दुलही लिन जाँदा त जुत्ता लगाउनुपर्छ भनेर जुत्ताको खोजी गर्न थालेछन्। बाहुनी केटी पाउनुभन्दा पनि उनका लागि मिल्ने जुत्ता दुर्लभ भएछ। काँचो छालाको सिलाउनुपर्‍यो भनेर जुत्ता सिउनेका घरघर डुलेछन्। अहँ, उनका गोडालाई मिल्ने साँचो कतै फेला परेनन्। उनी हारभुक्त भए। जुत्ताकै कारणले हात लागेकी दुलही छोड्ने कुरै भएन। उनले विना जुत्ता दुलही भित्र्याएछन्।
म सानै थिएँ, एघार बाह्र वर्षको। त्यो वेला त मेरै दौंतरीजस्ता उनका दुइटी छोरी पनि थिए।
फुलेबूढाका ससुरालीले उनलाई श्राद्धको निम्ता दिए। चामलको अलि महत्व थियो त्यो वेला । वाग्लेहरूको बारी थियो तर धानखेत थिएन। ज्याला बोनी गरेर परिवार पाल्नुपर्ने जमाना। श्राद्धको लागि पाँच माना चामलको जोहो वाग्लेबूढाले गरेका रहेछन्। श्राद्ध गराइदिने पुरोहितलाई त्यो श्राद्ध सकेर अर्को काममा जानुपर्ने रहेछ। उनले छिट्टै आएर श्राद्ध गराउन थालेपछि फुलेबूढा ससुराल पुगे। त्यहाँ ससुराले भने, ‘लौ ज्वाइँ ! पण्डितबा यता भान्सा नगर्ने रे ! तपाईं आपैंm भान्सा बनाउनोस् ! तपाईंले खाएर भान्सा छोड्नू ! अनि हामी  आएर खाऔंला।’
पण्डितले श्राद्ध सके। उनी सिदा बोकेर हिँडे। फुलेबूढाले भात, दाल, तरकारी पकाए। आपूmले खाए। त्यसपछि वाग्लेका परिवार भान्छामा गए। ला खाइस् ! छैन ताउलामा भात ! वाग्लेबूढाले ज्वाइँलाई सोधे, ‘ए ज्वाइँ ! भात त .....?’
फुलेबूढाले अनकनाउँदै भने, ‘अँ के ससुराबा ! आफैंले बनाएको भान्सा ! औधी मीठो अचार पनि रहेछ। खरिएको पेट ! भसभस भात गएको पत्तै भएन। सासूआमाले फेरि ताउलो बसाले हुन्छ।’
भएन के फसाद ? घरमा चामल भए पो ताउलो बसाल्नु ? तै पिठो रहेछ। वाग्लेका परिवारले रोटी बनाएर खाए छन्।
राजदलका भीमे 
फेरि अर्कोपल्ट मैले रत्नपार्कमा भीमेलाई देखें। घाम डुबिसकेका। साँझ पर्ने वेला थियो। ट्याक्सी चालकसँग उनी झगडा गर्दै थिए। चालक भीमेलाई हात जोरेर भन्दै थियो, ‘हेर्नोस् साँझ पर्ने वेला भो। गाडीको स्प्रिङ कमजोर छ। चक्का पनि कमजोर छन्। म सुन्दरीजलसम्म जानै सक्दिनँ।‘
भीमबहादुर रिसाए, ‘अन्तिम बस पनि गइसकेछ र पो भन्या। साला ! जुन ट्याक्सीलाई भने पनि चक्का कमजोर छ मात्र भन्छ। खै छोड् सालेको ट्याक्सी उचालेर पछारिदिन्छु अनि के कम्जोर रहेछ, हेर्छु।’
नभन्दै भीमबहादुरले त अगाडिको च्यासिसमुनि हात घुसारेर जुरुक्कै उचाले। तमासेको भीड जम्मा भयो। घुँडाको हाराहारीसम्म उचालेपछि भने, ‘भन् साला ! लान्छस् कि पछारूँ !’
नीलोकालो मुख पार्दै चालकले फेरि हात जोर्‍यो, ‘भयो दाइ ! राखिदिनोस्, लान्छु।’
भीमबहादुरले बिस्तारै भुइँमा राखे। पछाडिको ढोका खोलेर जसरी हात्ती साँघुरो ओढारभित्र पस्छ, त्यसैगरी पसे। उनी भित्र पस्दा ट्याक्सी लचक्कै भयो। बिचरालाई सिटमा बस्न नमिल्ने रहेछ। उनी त गुँडुल्किएर सिटमा सुते। एक जनाको कुस्त भारी लिएर हर लेच्याउँदै ट्याक्सी हिँड्यो।
(सिग्देलको संस्मरण पुस्तक ‘अद्भूत तिवारी’ शनिबार काठमाडौंमा लोकापर्ण हुँदैछ।) 

प्रकाशित: १२ माघ २०७५ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App