४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

आँखा नअघाउने मुस्ताङ

तस्बिर : अमृत भादगाउँले र खिलक बुढाथोकी

हेम्जा पुग्दा  माछापुच्छ्रे सेताम्मे भएर टल्कियो। मनमनै लाग्यो, ‘मुस्ताङ जान लागेका भनेर स्वागत गरेको होला।’
प्रकृति त्यसरी स्वागत गर्दैैथियो, सडकले भने उल्झन थपिरहेको। विस्तार हुन लागेको रहेछ सडक। कतै निर्माण सामग्रीका थुप्रोले छेक्थ्यो, कतै निर्माण औजारले। यी दुवै नभएको ठाउँमा विपरीत दिशाबाट आएको अर्को सवारीले।
यात्रुलाई त ठीकै थियो। त्यस्तो बेला धित मरुञ्जेल सधैँलाई हिमाल कैद गर्न पाइन्थ्यो, मनमा मात्रै होइन क्यामेरामा पनि। लुम्लेको डाँडोमा पुग्दा झन् नजिक भयोे,  माछापुच्छ्रे। उफ्रिएर छुन जाउँ जस्तोगरी।

पोखरा हुँदै पर्वतको कुस्मा बजार पुग्दा पनि सडकको अवस्था फेरिने सुरसार थिएन।  माछापुच्छ्रे भने घरघरी आफ्नो रंग फेरिरहन्थ्यो। बेहुलीले जसरी कहिले कुहिरोले मुख छोप्थ्यो। कहिले भने पहाडमा गएर लुकामारी गर्दथ्यो। ठीकै हो  माछापुच्छ्रे मात्रै कहाँ अड्काउन सक्थ्यो र हाम्रो यात्रा। पुग्नुथियो, मुस्ताङ। नियाल्नुथियो धित मरुञ्जेल मुस्ताङको सौन्दर्य।

यसैले त  माछापुच्छ्रे भने जस्तो लाग्थ्योे, ‘मुस्ताङ पुगेर आउनु। म यतै हुन्छु।’ कुस्मा पुग्दानपुग्दै घुम्टो ओड्यो  माछापुच्छ्रे मुस्ताङबाट नर्फदासम्म्का लागि। अब अल्झिनु नै के छ र। सरर यात्रा मात्रै। त्यसैले त छिट्टै आएको जस्तो लाग्यो बेनी। म्याग्दीको  सदरमुकाम बेनी सुन्दर बजार छ। सडक भने काठमाडौंकै जस्तो खाल्डाखुल्डी। लाग्यो, देशभर सडकको अवस्था यस्तै रहेछ। जब मुस्ताङतर्फ बढियो, उता त खाल्डाखुल्डी त भेटिन्थ्यो, मुस्ताङमा त त्यही खाल्डा भएको सडक पनि रहेछन्, सबै कच्चि नै कच्चि। द्वन्द्वकालका बेला नेपाल सेनाले खनेका रहेछन् मुस्ताङको सडक। दुई वर्षअघि कालोपत्रेका लागि बजेट त परेछ। बरै हिमालपारिको जिल्ला भनेर ठेकेदारले कहाँ छिटो काम गर्छन् र। जिल्ला पो हिमालपारि। ठेकेदार त यतैका थिए। त्यसैले त ठेकेदारले ढिलासुस्ती गरेछन् कालोपत्रे गर्न।

बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर सडक कालोपत्रेका लागि जम्मा दुईचार वटा डोजर र दुईजना मान्छेलाई राखिएको थियो। यस्तै पाराले काम गर्ने हो भने त दुईचार वर्षपछि आउँदा पनि सडक यस्तै हुनेरहेछ, मनमनै लाग्यो।
मनमा कालीगण्डकीले पनि सुसेली हालिरहेको थियो। उपल्लो मुस्ताङदेखि बगेर आएको कालीगण्डकी कतै नछोडिने रहेछ। त्यसैले त मुस्ताङको सडकलाई कालीगण्डकी करिडोर भनिने रहेछ। यो सडक भने करिडोरमा मात्रै सीमित छैन। साँच्चै भन्ने हो भने मुस्ताङ प्रवेशको मार्ग मात्रै नभएर कुटनीतिक सम्बन्ध विस्तारको आधार पनि हो। किनकि, यो सडक पछ्याउँदै जाँदा कोरला नाका पुगिने रहेछ। चीनसँग जोड्न सडकले भूमिका खेलेको रहेछ।

सडकमा गाडीभन्दा बढी मोेटरसाइकल हुइँकिरहेका थिए। गाडीमा भए मुक्तिनाथसम्म मात्रै पुगिने रहेछ। काठमाडौंबाट सिधै मुक्तिनाथ गाडी चल्ने। मोटरसाइकलमा भए लोमन्थाङ, उपल्लो मुस्ताङसम्मै। अनि ठाउँ–ठाउँमा रोकेर मुस्ताङ कैद गर्न पनि त सकियो। यसैले मुस्ताङ घुम्न जाने विदेशी हुन् वा नेपाली मोटरसाइकलमा हुइँकिरहेका थिए। पोखरामा मोटरसाइकल भाडामा पाइन्छ दैनिक चार हजार तिरेपछि।

तर, मोटरसाइकलको यात्रा सहज भने छैन है। धुलोले पूरै छोप्छ। दुई घण्टा जति दौडिएपछि धुलो नटकटकाए सँगैको साथीले पनि चिन्दैनन्। मुस्ताङ भने चिन्न आँतुर थियो। किनकि, त्यहाँको धुलो काठमाडांैैको जस्तो छैन। शुद्ध अर्गानिक। दिनभर धुलोमा हिँड्दा पनि रुघाले नसमाउने। त्यसैले त्यहाँको धुलो पर्यटन प्रोडक्ट भएको छ। नत्र त त्यस्तो धुलो खाँदै को जाने त्यहाँ।

दाना मुस्ताङ प्रवेशपछिको देखिने सुन्दर ठाउँ। पहिलोपटक पुग्नेले क्या दामी बस्ती भन्न भ्याइहाल्छन्। क्यामेरा तिर्साउन थालिहाल्छन्। पहिला पनि पुगेकाहरु भने यसलाई कैद गरेर माथिका सौन्दर्य भने कहाँ अटाउलान् भनेर जिज्ञासा राख्छन्। हो रहेछ रुप्से झरना, पहाडको ल्याण्डस्केप पेन्टिङमा सेतो रङ सजाएझंै बगिरहेको थियो। प्रकृतिले उसैगरी मुस्कान छोड्थ्यो। हिमाल त छँदैछन्, अन्यन्त्र देखिनेभन्दा फरक बस्ती र खिएर कलात्मक देखिएका पहाड त झन आएकै थिएनन्।लेतेको सुन्दर बस्तीमा त पुगियो। कालोपानीको कालोपानी गेष्ट हाउसको आतिथ्यताले झस्कायो। पर्यटकीय ठाउँमा पनि नेपालीलाई यसरी सम्मान गरिन्छ ?

खुम्बुमा घुम्न गएको मन त्यहाँका होटलवालाले गरेको व्यवहार सम्झिए। मुस्ताङ त फरक रहेछ। जहाँ विदेशीलाई भन्दा नेपालीलाई प्राथमिकता। होटलका सञ्चालक योगेश गौचनको कुराले बढो आन्नद आयो। होटलका वेटर भाइको व्यवहारले दुईचार दिन त्यहीँ होलटमा बसुझैँ भयो।

एकातिर त्यहाँबाट सेताम्मे फेटा बाँधेका चुचुरा टाकुरा देखिन्थे। अर्कोतिर सल्लाघारीबाट आएर निश्चल हावा।
‘दसैंतिहारका बेला भए त कोठा पाउनै गाह्रो हुन्थ्यो,’ वेटर भाइले सुनाए, ‘अहिले होटल खाली छ।’
दसैंको बेला पनि त भरिने नेपालीले नै हो। विदेशी त अलिअलि।
कुनै जमाना थियो मुस्ताङमा पनि विदेशी पर्यटकलाई प्राथमिकता दिने।
जब मुस्ताङी होटलवालाले थाहा पाए, विदेशीभन्दा खर्चालु त नेपाली हुन्छन्।
‘हो, नेपाली त खर्च गर्न डराउँदैन्,’ वेटर भाइले सुनाए, ‘विदेशीले वियर खोल्यो भने, दुई घण्टा लगाएर एउटा खान्छ। नेपालीले दुई घण्टामा कति कार्टुन भयो भनेर गन्न पर्छ। अनि विदेशीलाई भन्दा नेपालीलाई प्राथमिकता नदिएर भयो र।’

कालापानीबाट अगाडि बढेपछि देखिन थाल्छन् स–साना रमाइला बस्ती। प्रकृतिले पनि क्या दिएको। मानव निर्मित बस्तीका घर त हेरिरहुँ जस्तै छन् नै। त्यहाँका खिएर कला भरिएका फाँटहरु हेरेर पनि त कहिले अघाइँदैन। मुस्ताङका स–साना बस्तीमा पनि ढलान घर छन्। काठमाडौंका जस्ता सिमेन्टेट होइनन्, माटोबाट ढलान गरिएका। लाग्छ, मुस्ताङ ऐतिहासिक बस्ती हो। जसरी ओडारमा मान्छे बस्छन्, त्यसैको सिको गरेर बनाएका घरहरु मुस्ताङमा अझै छन्। घर मात्रै होइन, पहाडका ढिस्काहरुमा पनि त त्यस्ता ओडार देखिन्छन्, कलाकारले पेन्टिङ गरेर बनाएका सुन्दर चित्रजस्ता।  तर, ती ओडार ऐतिहासिक हुन्। पुरातत्व विभागले अनुसन्धान गरेर पुरातात्विक महत्वका सामग्रीसमेत फेला पारेको  थियो।

मार्फातिर स्याउका बोट देखिन्छन्। भर्खर दाना टिपेर रहेका पात पनि त हेरिरहुँ जस्तै छन्। जोमसोम मुस्ताङको सदरमुकाम। त्यहाँ छ विमानस्थल। सिधैँ सडकको बाटो प्रयोग नगर्नेका लागि विकल्प हो। त्यसो त बाटो खुल्नुअघि कुनै विकल्प नहुँदा विमानस्थल नै त थियो। कि त हिँडेर जानुपर्दथ्यो दुईचार दिन। जे होस् अहिले सुविधा छ, गाडीबाट जाने कि प्लेनबाट।

जोमसोमपछि पो झनै रमाइला फाँट देखिए। परपर छन् बस्तीहरु। आँखै अघाउँदैनन् जति हेरे पनि। बस्तीहरुमा सिमेन्टेट घर पनि बन्न थालेका छन्। प्रायः होटलहरु त  सिमेन्टेड नै छन्। हावा बेस्कन चलेको छ। कच्ची बाटोमा धुलो उडेको छ। तर, काठमाडौंका जस्ता खाल्डामा पस्ने र उफ्रिने गर्दैन गाडी।

कतैकतै उफ्रिहाले पनि हरेक मिनेटमा फेरिने पहाडको आर्किटेक्चरको सौन्दर्यले भुलाइदिन्छ। सुन्दर  क्यानभासको कक्षामा पुराएको अनुभूत हुन्छ। उत्कृष्ट ल्याण्डस्केप पेन्टिङ सजिएको आर्ट ग्यालरीभित्र रुमलिएको बेला थोरबहुत गाडीको उफ्राइ ख्यालै नहुने। कागबेनी आसपासका फाँट झनै गजबका छन्।

बेनीबाट पहिलोपटक भेटियो कालोपत्रे। ओहा, कालोपत्रे पनि कति सुन्दर। फुस्रो माटोमा देखिएको मुक्तिनाथसम्मको नागबेली १२ किलोमिटर कालोपत्रे सडकमा हुइँकिने गाडी पनि उस्तै थिए। हावा पनि त्यही बेगमा चलिरहेको थियो। कागबेनीबाट अगाडि बढे उपल्लो मुस्ताङ, कोरालासम्मै पुगिन्छ। दायाँ लागेका कालोपत्रे सडकको नागबेली हुँदै मुक्तिनाथ।

बजार छ मुक्तिनाथ, तीन सय रुपैयाँ तिरे घोडाले पुर्याउँछ मन्दिरको गेटमै। नत्र २० मिनेट हिँड्नुपर्छ। ३८ सय उचाइमा पर्छ। त्यसैले हिँड्न त्यति सहज हुँदैन। बिस्तारै जानुपर्छ। मन्दिर पहाडको आडमा छ। देख्दा पनि क्या सुन्दर। मन्दिरबाट उत्तर फर्किए पहाड देखिन्छ। दक्षिण फर्किँदा मुस्ताङका डाँडा तथा खर्कहरु।

सुनेको थिएँ, जीवनमा एकपटक पुग्नुरे मुक्तिनाथ। भगवानको दर्शन गरियो। एक सय आठ धारा छन्, त्यहीँ नुहाइयो। ओहो चिसो। खपिसक्नु थिएन, आँखाको सौन्र्दयले भने रमाइलो दिइरह्यो। अनि कामना गरें, भगवान् मलाई अरु होइन्, पटक–पटक यस ठाउँमा आउने मौका मिलाइदिनु। त्यहाँका भन्दै थिए मुक्तिनाथ त २० प्रतिशत मुस्ताङ पो हो। बाँकी ८० प्रतिशत बाँकी छ। लाग्यो, त्यो ठाउँ घुम्ने मौका चाँडै जुरोस्। मुक्तिनाथले माथिल्लो मुस्ताङको यात्रा जुराइदिऊन्।

प्रकाशित: २ माघ २०७५ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App