सरकारले ठूला विकासका योजनाको ‘रूट’ ललितपुरको खोकनालाई बनाएपछि अहिले सर्वत्र प्रश्न उठ्न थालेको छ– कतै प्राचीन बस्तीको मौलिक साख गुम्ने त होइन ? ‘ठूला योजनाले थिचेपछि बस्तीको रूप कस्तो होला ?,’ स्थानीय अड्कलबाजी गर्न थालेका छन्। यसबारे सरोकारवाला निकाय, संस्कृतिविद् र नागरिक समाजको भिन्न–भिन्न मत छ।
फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण यो बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने देखिएको छ। यो क्षेत्रमा धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिखली जात्रा हुने स्थल कुदेश, १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा छन्। फास्ट ट्रयाकको रूट परिवर्तन नभए यी सबै सम्पदा भत्कन्छन्।
सरोकारवाला निकायले मिलाएर अघि बढ्ने भने पनि स्थानीय आक्रोसित छन्। उनीहरू कला संस्कृति मासिने र उचित मुआब्जा नआउने भएपछि आन्दोलित भएका हुन्। खोकनाको संस्कृति संरक्षणमा अग्रणि भूमिका निभाउँदै आएको नेपा भ्याली संस्थाका संयोजक सुरज महर्जनले संस्कृति थिचेर ठूला योजना संञ्चालन गर्न नहुने बताए। उनले सडक विभागले स्थानीयलाई डेढ लाख मुआब्जा दिएर फास्ट ट्रयाक खन्न लागेकाले त्यसमा सबैले विरोध गरेको जानकारी दिए। ‘अहिले डेढ लाखमा केही आउँदैन, चार÷पाँच आना जग्गा हुने व्यक्ति १० लाख मुआब्जाले कहाँ गएर घर बनाउनु ?,’ उनले भने, ‘स्थानीयलाई धक्का परेको त छ नै संस्कृति पनि भत्काउन थालियो, यसमा हामी असन्तुष्ट छौं।’
फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण यो बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने देखिएको छ। यो क्षेत्रमा धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिखली जात्रा हुने स्थल कुदेश, १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा छन्। फास्ट ट्रयाकको रूट परिवर्तन नभए यी सबै सम्पदा भत्कन्छन्।
उनले यस क्षेत्रमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको टोली पुगे पनि संस्कृति नासिने विषयमा खासै चासो नदिएको बताए। स्थानीयले फास्ट ट्रयाकको रूटमा करिब १३ सय वर्षपहिलेको इनार भेटाएका छन्। त्यो क्षेत्रमा कुनै पनि हालतमा डोजर चलाउन नदिने महर्जनको भनाइ छ। इनारको अनुसन्धान जापनिज आर्कियोलोजिस्टले पनि गरिसकेका छन्। तर, हाम्रो पुरातत्व विभागले यसबारे चासो दिएको छैन। फास्ट ट्रयाककै कारण अर्को ३० हजार वर्षअगाडि बनेको कटुवाल दह पनि मिचिने देखिन्छ। यसलाई बचाउन स्थानीयले सरोकारवाला निकायसमक्ष अनुरोध गरिसकेका छन्। तर, सरोकारवाला निकायले त्यसतर्फ खासै चासो दिएको छैन।
संस्कृतिविद् सत्यमोहन जोशीले खोकना अति प्राचीन कला–संस्कृति बोकेको सहर भएकाले त्यसतर्फ सोच्नुपर्ने बताए। ‘खोकना र बुङमति आफैमा जिउँदा कला संस्कृति हो, यहाँ उपत्यकामै फरक नाच र ऐतिहासिक मन्दिरहरू छन्, तिनको संरक्षण हुनुपर्छ,’ उनले भने, ‘विकास गर्दा ध्यान पुर्याइएन भने संस्कृति मासिन्छन्, त्यो हाम्रै लागि ठूलो घाटा हुनेछ।’
योजना अनुसार आइइ र इआइए रिपोर्टविपरित खोकनामा फास्ट ट्रयाक सडकको रुट पारिएको छ। जसका कारण सिकाली (शिखली) जात्रा हुने कुदेश (बस्तीको तल्लो भाग) मिचिने भएको छ। त्यही ठाउँमा १५ दिनअघि १३ सय वर्षअघिको इनार पनि फेला परेको छ। त्यसलगत्तै पुरातत्व विभागका प्रतिनिधि, स्थानीय, रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिविद् लगायतका व्यक्ति त्यस क्षेत्रमा पुगेका थिए। तर, इनार र कुदेश तर्काएर लग्ने कि नलग्ने भन्ने विषयमा अझै कुनै छलफल भएको छैन।
ललितपुर महानगरपालिका–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जनले फास्ट ट्रयाकको विषय अझै मिलिनसकेको जानकारी दिए। उनले माथिल्लो निकायसँग छलफल भइरहेको जानकारी दिए। ‘यसबारे माथिल्लो निकायसँग कुराकानी पनि भइसकेको छ,’ उनले भने, ‘ऐतिहासिक पक्ष बचाएर काम गर्ने सल्लाह गर्छौं, सम्पदा मासिन कुनै हालतमा दिन्नौं, स्थानीयलाई उचित मु–आब्जा दिने विषयमा पनि छलफल भइरहेको छ।’ खोकना संरक्षणको माग राखि लागि केही दिनअघि आन्दोलित बनेका स्थानीयवासी।
प्रकाशित: १६ पुस २०७५ ०५:४३ सोमबार