१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

तमु ल्होसारका खान्की

तमु ल्होछार गुरुङ समुदायले मनाउने पर्व हो। तमु अर्थात् गुरुङ र ल्होछार अर्थात् नयाँ वर्षको आगमन। नयाँ वर्षको आगमनका रूपमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले यो पर्व सामूहिकरूपमा मनाउँछन्।

तमुहरूको क्यालेन्डर अनुसार वर्षमा १२ महिना हुने बताउँछन्, तमु ह्युल छोँजधिनका केन्द्रीय प्रमुख श्री गुरुङ। उनी भन्छन्, ‘हाम्रो पात्रो नै अरुभन्दा फरक हुन्छ, जनावरको नामबाट महिना राखिएको हुन्छ।’ उनका अनुसार पुस १४ गते राति १२ बजेपछि कुकुरबाट मृग महिनामा परिवर्तन भएपछि नयाँ वर्ष मनाइन्छ। २०६३ सालपछि गुरुङ समुदायहरू टुँडिखेलमा सामूहिकरूपमा तमु ल्होछार मनाउने गरेको उनले जानकारी दिए। यस अवसरमा झाँकी नृत्य प्रदर्शन गरिन्छ।

‘विशेष गरी आफन्त तथा साथीभाइसँग शुभकामना आदानप्रदान गर्ने, विशेष परिकारहरू खाने गरिन्छ,’ उनले भने।
उनका अनुसार तमु ल्होछारमा सेलरोटी, बटुक, अचार तथा मासुका परिकार, रक्सी खाइने गरिएको छ। उनी भन्छन्, ‘पौराणिक मान्यता अनुसार बाँसको टोकरी, तामा अथवा पित्तलको भाँडामा तमु ल्होछारका खानाका परिकारहरू राखेर खाने चलन छ।’

तमु ल्होछारमा खाइने केही परिकारहरू
सेलरोटी :
तमु ल्होछारमा विभिन्न थरीका परिकार खाने चलन छ। गुरुङ समुदायको खानाका परिकारहरूमध्ये सबैभन्दा धेरै सेल रोटी खाइने गरिन्छ। सेल रोटी अर्थात् चामलको पिठोबाट तयार गरिने एक प्रकारको गुलियो रोटी। यसो त सेल रोटी अन्य समुदायमा पनि प्रचलित खान्की नै मानिन्छ। यो चाडपर्वको मुख्य खान्की नै हो। सेल रोटी अचारहरूसँग सेल रोटी खान सकिन्छ।
पाटनकी ममता गुरुङलाई तमु ल्होछारको खानाको परिकारहरूमध्ये सेल रोटी निकै मनपर्छ। उनी तमु ल्होछारमा पिरो अचारसँग सेल रोटी साना रुचाउने बताउँछिन्। ‘सेल रोटी खानलाई ल्होछार नै कुर्न त पर्दैन। तर, तमु ल्होछारमा सेलको मिठास नै छुट्टै हुन्छ, सद्भाव र माया मिसिएर हो कि,’ उनले हाँस्दै भनिन्।ममतालाई सेल रोटी खान मात्र होइन, पकाउन पनि मनपर्छ। आफूलाई सेल रोटी पकाउन निकै रुचि रहेको उनी सुनाउँछिन्। परिवारका सदस्यहरू एक ठाउँमा जम्मा भएर सेल रोटी पकाउने गरेको उनी सुनाउँछिन्। 
अचार : अचार खान मन नपराउने सायदै कोही होला। नेपाली भान्छामा अचार त अनिवार्य जस्तै भैसक्यो। अचारलाई हरेक चाडपर्वको अत्यावश्यक खानाको परिकार मानिन्छ। प्रायः नेपाली भान्छामा आलु, केराउ, करेला, मुला, गाजर, बन्दा, स्वाबिन, टमाटर, लप्सी, तिल लगायतका अचार बनाइन्छ।
अचारमा अमिलो र पिरोको मात्रा बढी भएको बुझिए पनि स्वास्थ्यको ख्याल राखेर खानुपर्ने चिकित्सक सुझाउँछन्। तेलले झाँनेर मेथी र सुकेको रातो खुर्सानी फुराएको अचारले जो कोहीलाई लोभ्याउन सक्छ।

गुन्दु्रकका परिकार : गुरुङ समुदायमा मात्र होइन, नेपालीहरूले रुचाइएको विशेष खान्की हो, गुन्द्रुकका अचार। विशेष पर्वको समयमा मात्र नभएर अन्य समयमा गुन्द्रुकको परिकारलाई पनि विशेष रूपमा खाने गरिन्छ। सहरका होटल तथा रेस्टुराँहरूमा गुन्द्रुकलाई विशेषरूपमा खानेको जमात बढेको पाइन्छ। तमु ल्होछारमा गुन्दु्रकबाट धेरै  थरीका परिकारहरु बनाउने गरिन्छ। पछिल्लो समय गुन्दु्रकको अचार, गुन्द्रुक साँधेको, गुन्द्रुकको सुप लगायतका परिकारहरू खाने चलन छ। तमु ल्होछारमा तयार पारिने परिकारको सूचीमा गुन्द्रुकको परिकार प्राथमिकतामा पर्ने तमु ह्युल छोँजधिन महिला समिति अध्यक्ष धना गुरुङ बताउँछिन्।

बटुक : ल्होछारमा बटुकको निकै महत्व रहेको बताउँछिन्, अध्यक्ष गुरुङ। उनी भन्छिन्, ‘तमु ल्होसारमा बटुकको छुट्टै महत्व हुन्छ, मासको दालबाट तयार गरिने बटुकलाई तमु ल्होछारको मुख्य खान्कीको रूपमा खाइन्छ।’ उनका अनुसार बटुकलाई मासबाट तयार गरिन्छ। बटुकलाई विभिन्न अचारका परिकारसँग खाने प्रचलन रहेको पाइन्छ। गोलो आकारको बटुक हेर्दा आकर्षक देखिन्छ। यो निकै स्वादिलो हुने गरेको पारखीहरू बताउँछन्। तमु ल्होछारमा दालबाट तयार पारिने बटुकको भिन्न महत्व हुने उनले बताइन्।

माने रोटी : माने रोटी चामलको पिठोबाट तयार गरिन्छ। सेल रोटी र माने रोटी पकाउने तरिका एउटै भएको बताउँछिन्, अध्यक्ष गुरुङ।

माने रोटी पनि चामलको पिठोबाट तयार पारिन्छ। यसलाई अचार र तरकारीसँग खान सकिन्छ।

पानी र पिठोको मात्र बराबर राखेर पिठो तयार गरेपछि तातो ताईमा तारेर बनाइने उनले जानकारी दिइन्।

 

मासु : मासु हरेक समुदाय वा चाडमा खाइने मांसाहारीको लोकप्रिय परिकार हो। तमु ल्होछारमा मासुबाट थरीथरीका परिकारहरू बनाएर खाने गरिन्छ।

ल्होछारमा मासु फ्राई, मासुको झोल, पोलेको मासु, सुकुटी, सेकुवा, मासुको अचार लगायत खाइने गरिएको उनी बताउँछिन्।

गुरुङ समुदायमा विशेषगरी लोकल कुखुरा, बुंगुर, खसी लगायतको मासु खाने चलन रहेको उनको भनाइ छ।

मासु खानेहरूको लागि ल्होछारमा मासु बिना पर्व नै अपुरो हुने उनले बताइन्।  

रक्सी : तमु ल्होसारमा रक्सीको विशेष महत्व रहेको बताउँछिन्, अध्यक्ष गुरुङ। ‘हाम्रो चलन अनुसार रक्सी त सगुन हो, खानु नखानु आफ्नो रुचि र इच्छाको कुरा हो। तर, अनिवार्य राख्नुपर्छ।’ बजारमा उपलब्ध बिभिन्न ब्रान्डका भन्दा घरमा नै तयार पारिएको रक्सीको प्रयोग गर्ने उनी बताउँछिन्।

 

रोटी, ढिडो
तमु ल्होछारमा गाउँघरमा उपलब्ध हुने फापर, कोदो लगायतका खाद्यान्नको रोटी, ढिडो खाने प्रचलन रहेको पाइन्छ। चिसो मौसममा शरीरलाई न्यानो बनाउन फापर र कोदोका रोटी र ढिडो खाइने चलन रहेको गुरुङले बताइन्।

यस्तै, शरीरलाई न्यानो राख्न तरुल, सखरखन्ड, कन्दमुल लगायतका परिकार उसिनेर खाने चलन रहेको उनी बताउँछिन्।

प्रकाशित: १३ पुस २०७५ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App