तपाईँको बुझाईमा सहर भनेको के हो ?
सहरका विभिन्न पक्ष छन्। उहिले एकपल्ट जर्मनको एउटा जिटिजेट भन्ने संस्थाले साहित्य गोष्ठी आयोजना गरेको थियो। यो सहर कस्तो हो भन्ने ? भनेर जर्मनका कविले कविता लेखेका थिए। त्यो कविता निकै सान्दर्भिक र लामो थियो। त्यसको अनुवाद नेपालीमा पनि छ। त्यतिबेलै त्यहीँ विषयमै विभिन्न कविहरूले सहरको विषयमा कविता लेखेका थिए। मैले सहर भन्नेबित्तिकै त्यसलाई सम्झिएँ। अर्को कुरा, सहरका बारेमा राम्रा–नराम्रा दुवै प्रतिक्रिया हुन्छन्। मेरो विचारमा सहर भनेको विकासको प्रतीक हो। हरेक विकासका चरण र अवधारणा सहरबाटै प्रारम्भ हुन्छन्। जति पनि समाजको सभ्यता छ त्यो सबै सहरबाट भएको हो। राज्यसत्ताले जे निर्धारण गर्यो त्यसैबमोजिम सहर बनेको हुन्छ। सहर राज्यसत्ताको केन्द्र पनि हो। देशका हरेक सुविधा सहरमा हुन्छन्। सहरको इतिहास हेर्दा पनि त्यही नै देखिन्छ।
यहाँकोे सभ्यता बोकेका सहर उपत्यका तीन जिल्लाका सहर छन्। पहिले उपत्यकालाई देश भन्थे, अहिले सहर भए। जोडिएका सहर अलग–अलग भए। अहिलेको अवस्थामा पनि तीन जिल्लाको संस्कृति अलग–अलग नै छ। उपत्यकामा अनेक कला संस्कृृति छन्। तिनै पक्षहरूले भरिएको सुन्दर ठाउँ नै काठमाडौं हो। अहिले हामीले विभिन्न पर्व संस्कृति मान्छौं। ति पनि सहरबाट सुरु भएर गाउँ–गाउँसम्म पुगेका हुन्। त्यसकारण सहरबाट हरेक पक्षको विकास भएको मानिन्छ। सहरमा धेरै जनसंख्या हुन्छ, विद्रोह हुन्छ र पनि राज्यसत्ताले तुरुन्त समाधान गर्नुपर्छ। सहरी इलाकाको प्रशासनमा तागत र सामथ्र्य हुनुपर्छ।
हाम्रा सहरले आधुनिक र परम्परागत सर्तहरू पूरा गरेको छन् कि छैनन् ?
आधुनिक सर्त पूरा नगरे पनि परम्परागत सर्तहरू पूरा भएको मानिन्छ। यहाँ संसारमै नभएका ऐतिहासिक ठाउँहरू छन्। त्यहीँ सहरी सभ्यताले पनि हाम्रो मौलिकता जोगाएको देख्न सकिन्छ। तर, आधुनिक र सहरी सुविधाको हिसाबले अरु मुलुकभन्दा हामी धेरै नै पछि परेका छौं। आधुनिक सहरका न्यूनतम् सर्त पनि हाम्रा सहरले पूरा गरेका छैनन्। सहरको भौगोलिक बनावट पनि त्यही किसिमको हुनुपर्छ। सहरको योजनाले सबैलाई सम्बोधन गरेको हुनुपर्छ र विकास निर्माणको कामले कोशौं टाढासम्मको समयलाई कभर गरेको हुनुपर्छ ताकि आजको विकासले भोलिलाई विनास नगरोस्। यसको मतलब दूरदृष्टि राखेर सहरमा विकासका काम भएका हुन्छन्। राज्यसत्ताले कहाँ बिरुवा रोप्ने, कहाँ उद्योग खोल्ने, कहाँ पार्क बनाउने, कहाँ अस्पताल र विद्यालय सञ्चालन गर्ने भन्नेजस्ता कुरामा योजना बनाएर सहरलाई सुसंस्कृत गरेको हुनुपर्छ। तर, हाम्रोमा योजनाबद्ध विकास भएन। सहरलाई विकास निर्माण गर्दा त्यसको मौलिकता र चिनारी पक्षलाई नै तहसनहस पारिएको छ। पूर्वाधार विकासमा पनि एकरुपता भएन। पौराणिकरूपमा राम्रो मानिए तापनि सहरको शैली सहरी प्रशासनले बिगारेको छ। ७० वर्ष त हाम्रो विकास गर्ने नारा र अभियानमा मात्रै खेर गयो। अझै पनि सहर विकासको सही प्रारूप खडा भएको छैन। एउटा मानिस त्यहीँ सहर परिवर्तन गर्न लड्दालड्दै मर्छ। तर, उसले चाहेको सहर बन्दैन। हामी त्यस्तो देशका नागरिक भएका छौं। अहिले सत्तामा पुगेका नेतामा पुरानो मानसिकता छ। ६०–७० वर्षको बूढो नेताले सहरलाई डोर्याउनै सक्दैन। त्यसकारण सहरको विकासको लागि ‘भिजन’ भएको नेतृत्वको खाँचो छ।
सहर विकास गर्दैगर्दा हामी कहाँनेर चुक्यौं ?
यसलाई मैले चुकेको भन्दिनँ। जो–जो क्रान्तिको बाटोमा हिँडे, उनीहरू सधैं एकोहोरो भए। क्रान्तिका लागि मात्रै लडे। उनीहरूमा विकासको ‘मोडल’ र चेत भएन। बल्ल अस्ति २०७२ सालमा संविधान आयो। क्रान्तिका लागि लडेका नेताहरूले त्यसपछि मात्रै लामो सास फेरेका छन्। त्यसपछि २०७४ सालमा मुलुकी ऐन आयो। त्यसपछि बल्ल कानुनीरूपमा केही विकास हुन लाग्यो। यसलाई हेर्दाखेरी हामीकहाँ बल्ल विकासको चरण सुरु हुँदैछ भन्ने लाग्छ। अब बल्ल गुरूयोजना अघि बढ्छन्। सहरको रूप जस्तो हुनुपर्ने हो त्यस्तै हुन्छ भन्ने लाग्छ।
तपाईँले गुरुयोजनाको कुरा गर्नुभयो, सहरी भूभाग क्रंकिटले भरिएको छ, नयाँ सहरी संरचना बनाउन र सहरको छनक दिन चाहिने खुला ठाउँ छैनन्, यस्तो अवस्थामा कसरी बन्छ नयाँ सहर ?
भारतको दिल्ली पनि पहिले काठमाडौं जस्तै थियो। पछि विकासित र व्यवस्थित भएपछि नयाँ दिल्ली राखियो। त्यसकारण हामीकहाँ हुँदै हुन्न भन्ने छैन। ठाउँ नभएको होइन, सोच र भिजन नभएको होइन, यसलाई पनि केही ‘मोडीफाई’ गरेर नयाँ सहर बनाउन सकिन्छ। मैले युरोप र अमेरिकका केही सहर घुमेको थिएँ। त्यहाँका सहरमा घर बनाउनु पहिले सडक, ढल, पार्क, बिजुली, पानी सबै व्यवस्थित बनाएपछि मात्रै घर बनाउनतिर लागिन्छ। हााम्रोमा त्यसको विपरितमा काम भएको छ। अहिले मुलुकी संघीय सरकारमा गएको छ। स्थानीय सरकार भनेको कर्मचारी हुन्। त्यो संयन्त्रलाई मिलाउने र भिजन ल्याउने काम नेताले गर्ने हो। हामीकहाँ राजनीतितन्त्र एकातिर, कर्मचारीतन्त्र अर्कातिर भयो। त्यसकारण पनि सहरको विकास हुन सकेन। अनेक चेनता बोकेर राजनीतिक परिवर्तनमा लागेका नेताहरूले देशको विकास गर्न सकेनन्।
काठमाडौंलाई व्यवस्थित र सुसंस्कृत सहर कसरी बनाउन सकिएला ?
हामीले कर्णालीलाई छाउपडी बनाउँछौं। यो विषयमा कर्णालीले नै गाली खान्छ। माओवादी आन्दोलन पनि कर्णालीबाटै सुरु भयो। रोल्पाबाट राजनीतिक ‘सुरुङ’ खनेका कर्णालीका नेताहरू १० वर्षमा सिंहदरबार छिरे। तर, उनीहरूमा चेतनाको स्तर मिलेन। १० वर्षको माओवादी आन्दोलनले पनि रोल्पाको अन्याय कम भएन। कुप्रथा हटेनन्। यस्ता प्रथा र धार्मिक कुरा गर्दा अहिले प्रचण्डजी पनि आरती गरेर हिँड्नुभयो, भैँसी पुज्नुभयो। जिन्दगी नै माक्र्सवादमा बिताएका नेताले आरती गर्न थालेपछि उनीहरूले बनाएको समाज कस्तो होला। जनताको चित्त बुझाउन प्रचण्डले आरती गर्न पाइँदैन, उनी कम्युनिस्ट हुन्। उनले पुराण लगाउन, पूजापाठ गर्न, रामायण जप्न मिल्दैन। मत भन्छु यस्तै–यस्तै कारणले देश बिग्रियो। नेतृत्वमा चेत भएन। सोच भएन। राजनीतिका लागि लडेका नेताले देश विकास गरेनन् र आफू पनि परिवर्तन भएनन्। ठूलाले जे गरे पनि सर्वसहमत हुन्छ भन्ने मान्यता हामीकहाँ छ। यो सामन्ती संस्कृति नै हो। त्यसकारण सहर विकासको लागि सही भिजन र दिशानिर्देश गर्ने नेतत्व चाहिन्छ। सहरका सबै पक्षलाई हेरेर विकास गरियो भने सुसंस्कृत उपत्यका बन्न सक्छ।
तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
पहिले कुरा त सहर सफा सुग्घर होस्। यातायातको सुगमता होस्। त्यहाँ कहिल्यै पनि ननिभ्ने बिजुली होस्। खानेपानी र सहज स्वास्थ्य सेवा होस्। ठाउँठाउँमा हराभरा पार्कहरू हौंन। धुलो, धुवाँ र प्रदुषण कतै नदेखियोस्। सहर सबै किसिमले सुरक्षित होस्। यति भयो भने बल्ल सहरमा बसेको छु भन्ने हुन्छ होला।
घुमेकामध्ये मनपर्ने सहर ?
नेपालमा पाल्पा र इलाम हुन्। त्यहाँको सडक र प्राकृतिक सौन्र्दयता मलाई मनपर्छ। पाल्पा राणाहरूले बनाएको सहर हो। यसको सभ्यता पनि पुरानो छ।
काठमाडौंको मन नपर्ने पक्ष ?
फोहर धुलोधुवाँ मनपर्दैन। यहाँ प्रदूषण बढेको छ। यसले मानव स्वास्थ्यलाई असर पारेको छ। काठमाडौंमा प्रशस्त पानी भएको भए यस्तो हुँदैनथ्यो होला।
मन भएर पनि घुम्न नपाएको सहर ?
त्यतिधेरै घुम्ने मन छैन। मलाई पुराना ऐतिहासिक ठाउँहरु घुम्न मनपर्छ। सबै पक्षलाई हेर्दा मलाई मिश्रको पिरामिड हेर्ने धोको छ। हेरौं त्यो इच्छा पनि पूरा होला।
मनपर्ने पक्ष ?
उपत्यका कलैकलाको सहर हो। यहाँका चिनारीहरू धेरै छन्। यहाँको मौसम पनि सहरलाई लोभ्याउने किसिमको छ। तर, मानवीय तवरबाट भएका कामकाज राम्रो भएनन्।
काठमाडौं छिरेको कति भयो ?
म २०६४ सालमा काठमाडौं छिरेको थिएँ। त्यतिबेला जागिर सरुवा भएपछि मात्रै यहाँ आएको हुँ। त्यसअघि म झापा बसेँ। म काठमाडौं छिर्दा अहिलेजस्तो कोलाहल र अस्तव्यस्त थिएन।
प्रस्तुतिः शिवहरि घिमिरे
प्रकाशित: ६ पुस २०७५ ०४:३५ शुक्रबार