२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मेलम्ची पूर्वाधार तयार गर्न ६० दिनको काम बाँकी

कपन बस्ने रश्मी दाहालले बुधबार फेसबुकमा स्ट्याटस लेखिन्, ‘रहर मध्येका रहर। काठमाडौंमै बसेर मेलम्चीको पानीले मुख धुने।’

यो उनको मात्रै होइन, उपत्यकामा बस्ने लाखौंको रहर हो। यही रहर सरोकारवाला निकायले पूरा गर्ने भन्दै पटक–पटक मिति तय गर्छन्। तर, मिति गुज्रिएको वर्षौ पुग्दा पनि काठमाडौंमा मेलम्चीको पानी ल्याउने वाचा अधुरो रहन्छ।

पछिल्लो समयमा सरकारले दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता गरेको थियो। दसैंमा त मेलम्ची आएन नै। भाका नाघेको महिनाभन्दा बढी समय घर्किँदा पनि मेलम्चीको पानी काठमाडौं आउने सुरसार छैन। ‘मेलम्चीको पानी आउने सुरसार होइन, अन्तिम चरणमा छ,’ मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्याकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘तर, कहिलेसम्म भनेर मिति भने तय गर्नेवाला छैनौं।’

‘काम अन्तिम चरणमा पुगेको छ। त्यही अनुसार मूल्यांकन गर्दा अब ६० दिनमा काम सकिन्छ, यसको मतलब अबको ६० दिनमा काठमाडौंमा पानी आउँछ भन्ने होइन, ६० दिनको काम सम्पन्नपछि पानी आउँछ भन्ने हो।’

यसअघि पटक–पटकको मिति गुजारेर आलोचना खेपिरहेकाले गर्दा पछिल्लो समयमा आयोजनाले मिति तोक्ने आँटसम्म गरेको छैन।

तर, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर भने काम गरेको दिन गनेर अबको ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्छन्।

‘काम अन्तिम चरणमा पुगेको छ। त्यही अनुसार मूल्यांकन गर्दा अब ६० दिनमा काम सकिन्छ,’ उनले भने, ‘यसको मतलब अबको ६० दिनमा काठमाडौंमा पानी आउँछ भन्ने होइन, ६० दिनको काम सम्पन्नपछि पानी आउँछ भन्ने हो।’

सचिव ठाकुरका अनुसार २५ हजार ९ सय २० मिटर टनेल मध्ये २२ हजार ९ सय ७७ मिटर टनेलको फिनिसिङ सम्पन्न भइसकेको छ। बाँकी २९ सय ३४ मिटर टनेलको पनि फिनिसिङ जारी छ।

‘दैनिक सरदर १ सय ५० मिटर हारहारीमा टनेलको फिनिसिङ भइरहेको छ,’ उनले भने, ‘यसलाई आधार मान्दा अबको २० दिनमा टनेल फिनिसिङ सकिन्छ।’

टनेल फिनिसिङसँगै टनेल खन्न खोलिएका ७ प्रवेशद्वार टाल्ने काम पनि भइरहेको छ। इन्टेकमा एक, अम्बाथानमा तीन, ग्याल्थुममा एक, सिन्धुमा एक र सुन्दरीजलमा एक वटा प्रवेशद्वार छन्।

तीमध्ये इन्टेक र अम्बाथानको दुई प्रवेशद्वार टाल्ने काम भइरहेको छ। ती प्रवेशद्वार टाल्न १५ दिन लाग्छ। अम्बाथानमा रहेको बाँकी एउटा प्रवेशद्धार भने हावा फाल्न प्रयोग गरिनेछ। टनेलको काम सकिएपछि टालिने उक्त प्रवेशद्वार टाल्न ७ दिन लाग्नेछ।

बाँकी ग्याल्थुम, सिन्धु र सुन्दरीजलको तीन प्रवेशद्वार टाल्न भने टनेलको काम नसकि मिल्दैन। टनेलको काम २० दिनमा सकिएको खण्डमा थप २८ दिनमा तीन वटै प्रवेशद्वार टालेर सकिनेछ।

टनेल खन्न २० दिन र त्यसपछि प्रवेशद्वार टाल्ने २८ गरेर ४८ दिन लाग्छ। त्यसपछिको कार्य भने क्यामेरा फिटदेखि टनेलको अन्तिम फिनिसिङको अन्तिम निरीक्षण गर्दा दुई– चार दिन लाग्छ। योबाहेक हावा फ्याँक्ने पाइप (एअरभान्ट) पाइप टाल्न केही दिन लाग्छ।

सचिव ठाकुरका अनुसार टनेलको पूर्ण काम सक्न करिब ६० दिन लाग्छ। ‘६० दिनमा हामीले पूर्वाधार तयारीको सबै काम सम्पन्न गर्नेछौं,’ उनले भने, ‘त्यसपछि मुहानबाट पानी छोड्छौं। टनेल भरिएर काठमाडौं पानी आउन केही दिन लाग्छ।’ त्यसपछि भने अहिलेसम्म मेलम्चीको पानी पिउने सपना बोकेका सर्वसाधारणले वास्ताविकतामै मेलम्चीको पानी पिउने उनले बताए।

‘यसअघिको तालिका फरक परे पनि अबको यो तालिका भने फरक पर्दैन,’ उनले भने। आफूले सचिवको कुर्सीमा बसेर सर्वसाधारणलाई झुक्याउन भनेको नभएर कामको तालिका अनुसार ६० दिनको कामपछि पानी आउने दाबी गरेको सचिव ठाकुरले बताए।

‘दसैंमा पानी आउँछ भनेर पनि मैले नै भनेको थिएँ,’ उनले भने, ‘तालिका अनुसार काम नभइदिँदा दसैंको मिति गुज्रियो।’ मिति तोकेर पानी ल्याउन नसकेकोमा क्षमा याचना गर्दै अबको तालिकामा भने फरक नपर्ने उनले दाबी गरे। तर, ६० दिनलाई मिति नसम्झेर कार्य तालिका सम्झिन अनुरोध गर्दै उनले भने, ‘मेलम्चीको काम ६० दिनभन्दा एक दिनलाई पनि बढी छैन, कुरा यति हो हामीले ६० दिन काम गर्न पाउनुप-यो, त्यसपछि मेलम्चीको पानी उपत्यकामा आउने निश्चित छ।’

प्रकाशित: १० मंसिर २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App