९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

यतीको दर्शन

नेपाल भुःस्वर्ग हो । हाम्रो हिमाल, पहाड र तराइ सबैतिर पर्यटनको अथाहा संभावना छ । यतिवेला म खुम्बु क्षेत्रको पाङ्बोचे गुम्बा चर्चा गर्दैछु । पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुमा पर्ने गुम्बामा यतीको टाउको दर्शन गर्न पाइन्छ । करिब ६ सय बर्ष पुरानो मानिएको टाउको हेर्न पर्यटक आउँछन्।  

यतीको टाउको भएकाले मात्र यो गुम्बा प्रख्यात भएको होइन । प्राकृतिक हिसाबले समेत यो सुन्दर ठाउँमा छ । गुम्बाबाट उच्च हिमश्रृंखला दृश्यावलोकन गर्न सकिन्छ । गुम्बामा मासिक पूजा हुन्छ । यहाँ याक, नाक, चौंरी, खच्चडका गोठ देख्न पाइन्छ । विभिन्न बहुमूल्य जडीबुटीको भण्डारणका रुपमा यो ठाउँलाई लिइन्छ।

स्वच्छ हावापानी, प्राकृतिक रुपमा फक्रिएका पुष्पहरुको वासना यहाँका विशेषता । सुगन्धवाल, सुनपाती, ठूलो ओखती, पाखनवेद, कुट्की, पाँचऔंले, विखमोह यहाँ पाइने प्रमुख जडीबुटी हुन।

गुम्बामा रहेको यतीको टाउको हेर्नकै लागि भनेर ठुलो संख्यामा विदेशी आउँछन् । विदेशीले २ सय ५० रुपैयाँको टिकट काट्नु पर्छ भने नेपालीले निःशुल्क हेर्न पाउँछन्।

हाम्रो यात्राको मुख्य लक्ष्य ‘यतीको टाउको’ हेर्नु नै थियो । गुम्बामा यतीको टाउको अवलोकनका साथमा लामा गुरुको दर्शन र ध्यान गर्नाले मनमा शान्ति मिल्छ । स्थानीयहरु गुम्बालाई शक्तिका रुपमा पूज्छन् । यतीको टाउकाको इतिहास खास रुपमा गुम्बा व्यवस्थापन र स्थानीयलाई समेत राम्ररी जानकारी थिएन । गुम्बाको मूल ढोका नजिकै यतीको टाउको र हातको पञ्जा सानो बाकसमा सिसाभित्र राखिएको थियो । त्यसलाई हेर्न विदेशीका लागि २ सय ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने गुम्बाको नियम छ । नेपालीले भने पैसा तिर्नु पर्दैन।

हिम मानवका रुपमा चिनिने यतीको टाउकोबारे गहिरो अध्ययन गर्न स्रोतहरुको अभाव थियो । त्यसैले गहिराईमा पुगेर सामाग्री तयार पार्न जोकोहीलाई कठिन थियो । यतीको टाउको बीचमा चोरी भएको थियो तर त्यसबाट चोरीकर्तालाई पीडा दिने, विभिन्न क्षति पु-याउने, विरामी हुने गरेपछि टाउकोलाई पुनः गुम्बामै फिर्ता गरेको भन्ने जनश्रुति पाइन्छ।

यतीको टाउको हेर्न राजधानीबाट १० दिनको समय तय भयो । अनलिमिटेड शेर्पा एक्सपीडिशनका डारेक्टर ङिमा शेर्पासहित इटालियन, वेलायती नागरिकको १५ जनाको जम्बो समूह थियो । यतीको टाउको हेर्ने यात्रा शुरु काठमाडौंबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि तय भए पनि ट्राफिककै कारणले उडान हुन सकेन । विकल्पमा रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि उडान तय गरि राजधानीबाट गाडीको सहायतामा मन्थलीसम्म यात्रा र त्यहाँबाट विमानमार्फत लुक्ला पुग्न संभव भयो । अधिकांश पर्यटन त्रिवि विमानस्थलमा दैनिक ३–४ घण्टा उडानको पर्खाइमा वस्ने र अन्तिम समयमा मन्थलीतिर गाडी चढेर जानुपर्ने वाध्यतामा छन्।

लुक्लाबाट पहिलो क्याम्प फाक्दिङ, दोस्रो दिन नाम्चेबजार र तेस्रो दिन विश्रामका साथमा विश्वकै उच्च ठाउँमा रहेको होटल एभरेष्ट भ्यू, सबै हिमाल देखिने ‘३६० डिग्री भ्यू’ले चिनिने एभरेष्ट शेर्पा रिसोर्टको अवलोकन र विश्वकै अग्लो ठाउँमा रहेको स्याङ्बोचे विमानस्थल अवलोकन गरिन्छ । चौंथो दिन विश्वकै अग्लो ठाउँमा रहेको तेङ्बोचेको दर्शन र त्यसै क्षेत्रमा क्याम्प हुन्छ । पाँचौ दिन विहान पाङबोचे गुम्बा पुग्न सकिन्छ । गुम्बा सधैं खुल्ला हुने भएकाले जुनसुकै बेला ‘यतीको टाउको’ हेर्न पाइन्छ।  

मुख्य उद्देश्य पूरा भए पनि केही त्यहाँबाट सगरमाथा आधारशिविर जान्छन् । केही फर्केर नाम्चे आएर बास वस्छन् र भोलीपल्ट लुक्ला आएपछि तेस्रो दिन हवाई जहाजमार्फत काठमाडौं या मन्थली पुग्न सकिन्छ। 

एउटा कुरा, खुम्बु यात्रा सोचे जस्तो सजिलो छैन । राजधानीबाट यात्रा सुरु गर्दा हवाईजहाजको समस्या हुन्छ । त्यतिमात्रै हैन, लुक्लाबाट यात्रा शुरु गर्दा बीच बाटोमा छिचोल्नुपर्ने साँघुरा गल्ली, गल्छीहरु, जोखिमपूर्ण पुल, साँघुहरुको कथाको फेरिस्त लामै हुन्छ । त्यस्तै, भारी ढुवानीका लागि प्रयोग गर्ने जप्क्यो, याक, खच्चडको भिडलाई ट्राफिक जाममा पर्यटक लामै समय कुर्नपर्ने हुन्छ । राजधानीमा लामो समय ट्राफिक जाम सहेकालाई त्यहाँको बाटोको जाम दुरुस्त तर असमान्य लाग्न सक्छ । त्यसमाथि पनि खच्चड, घोडा, जोप्क्यो, याकको गोबर र पिसाबले यात्रालाई कठिन बनाउँछ नै त्यतिमात्रै कहाँ हो र त्यही नै फोहोर मिसिएको माटोहरुलाई अक्सिजनसँगै ग्रहण गर्दै बस्नुको पीडा असह्य नै हुन्छ । नाक, मुख पुरै वन्द गरेर यात्रा गर्दा एकले अर्कासँग साउती मार्दै हिँड्न सकिन्छ, बोल्न भने सकिँदैन । लुक्लादेखि पाङबोचेसम्म नै यी समस्याहरुले पर्यटकलाई दिक्दार बनाउनु अस्वभाविक होइन।

यात्रामा निश्चित ठाउँमा विश्राम लिनु पर्ने हुन्छ । खुम्बु क्षेत्रमा यतिबेलाको प्रमुख समस्या होटल वास नपाउनु हो । अधिकांश होटलमा खचाखच पर्यटक भरिएको हुन्छ । यस्तो अवस्थामा भरिया र नेपालीका लागि वास पाउनु भनेको ठूलै युद्द जित्नु जस्तै हो । गाइडहरुले सबै प्रबन्ध मिलाउँछन् । नेपालीका लागि वस्ने छुट्टै सामान्य कोठा बल्लतल्ल मिल्छ । भरिया त विचरा नै हुन्छन्, उनीहरुको सुताई खाने कोठामा सामूहिक हुन्छ । गाइड पनि त्यही भिडमा हराउनुपर्ने वाध्यता आइपर्छ ।
यस्तैयस्तैका बीच हामी यतिको टाउको हेर्न धोको पूरा गरेर फर्कियौं।

(लेखक : शेर्पा पत्रकार संघका संस्थापक अध्यक्ष हुन्।)

प्रकाशित: १७ कार्तिक २०७५ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App