कृष्ण यही साल चार बर्षका भए । यसपालिदेखि उनी विद्यालय पनि जान थालेका छन् । खासमा उनको नाम कृष्ण पनि हैन । यसपटकको कृष्णअष्टमीका दिन पहेँलो धोती र गन्जीमा सजिएर हातमा बाँसुरी बोकेपछि उसलाई सबैले कृष्ण भन्न थालेका हुन् । मोही पार्ने काठको ठेकीमा राखिएको नौनी खाँदै गरेको आफ्नै तस्बिर देखेपछि रमाएर ‘म त कृष्ण’ भन्दै कुद्थ्यो।
फूलपातीको अघिल्लो दिन हजुरबाले कालो खसी डो-याएर ल्याए । हजुरबाले खसी ल्याएपछि कृष्ण झनै खुसी भए । खसी ल्याएकै दिन उसले खसीको कान समाउँदै म्वाई खाएको थियो । ऊ कानलाई पनि तोतेबोलीमा तान भन्थ्यो।
ऊ खसीसँगै दिनभर खेल्थ्यो । खसीको खुट्टामा बाँधेको डोरी फुकाएर सागबारीमा छाड्दिन्थ्यो । खसीले साग अनि बाली खान थालेपछि आमैले खसी डो-याएर बाँध्थिन् । कृष्ण भने फेरि फुकाइदिन्थ्यो । हजुरआमा र नातीको खसी बाँध्ने र फुकाउने दोहोरीले छिमेकीसमेत दङ्ग हुन्थे।
‘मेरो खसी खै ? खसी खै ?’ भन्दै ऊ रुन थाल्यो। दुई दिनमै खसीसँग पलाएको मित्रता आँगनमा टुक्राटुक्रा भएको उसले सहन सकेन । उ भक्कानियो।
दुई दिनमा कृष्ण र कालो खसीबीच औधी माया बस्यो । कृष्ण नदेख्दा खसी ‘म्या...’ गरी कराउँथ्यो । खसी नदेख्दा कृष्ण कराउँथ्यो । ‘खै खसी’ भन्दै ऊ पिँढीको थाम र करेसाबारीमा कुद्थ्यो । खसी र नातीको मित्रता देखेर बुढा हजुरबुबा समेत रमाउँथे।
अष्टमीका दिन खसी काटिने भयो । हजुरबा त्यसको तयारीमा लागे । कृष्णलाई भने उसको प्यारो कालो खसी काटिँदैछ भन्ने पत्तो थिएन । खसी आफूलाई खेल्न ल्याएको उसले ठानेको थियो । ऊ हजुरआमालाई सोध्थ्यो, ‘मसँग खेल्नलाई खसी ल्याउनुभएको हो आमा ?’ ‘हो बाबा ! खसी र तिमी मिलेर खेल है ?’ हजुरआमा भन्थिन्।
अष्टमीको बिहान आँगनमा ठूलो डेक्चीमा पानी तताएको देखाएर ऊ हजुरबालाई सोध्यो, ‘यति धेरै पानी किन तताउनुभएको बाबा ?’ हजुरबाले भने, ‘खसीलाई नुहाइदिन हो ।’ परिवारका मान्छेले खसी नुहाइदिने भनेपछि ऊ खुसीले आँगनमा फुरुकफुरुक उफ्रियो । ‘आमा ! खसीलाई म साबुन लगाइदिन्छु है?’
पानी तात्यो । काट्ने हतियार लिएर छिमेकी आइपुगे । खसी काट्ने तयारी भयो । केटाकेटीलाई काटमार भएको देखाउन हुन्न भन्दै परिवारका सदस्यले ‘बाबु पापा खान हिँड’ भनेर करेसापछाडीको किराना पसलमा लगे । कृष्ण चकलेटमा रमायो । यता खसीलाई छिनालेर काटकुट गर्न थालियो।
नातीले देख्ला भनेर हजुरबुबाले खसीको सबै भुत्ला लुकाए । कालो खसी खुत्याएपछि सेतो भयो । त्यसमा बेसार दलेपछि पहेँलै भयो । कृष्णले नचिनोस् भन्दै कालो जति सबै लुकाउन थाले । खसीका चार वटा खु्ट्टामा रहेको रौँ उखेल्न भने सबैलाई धौधौ प-यो । कृष्ण आउला भनेर हतारमा त्यो रौँ पनि उक्काउन खोजियो । तर सकिएन । परिवारका मान्छेले खुट्टा लुकाए।
कृष्ण चकलेटले मुख मिठ्याउँदै आँगनमा आइपुग्यो । खसी देखेन । ‘खै खसी ?’ उसले सोध्यो । सबैले भने ‘खसी त फुुुकेर गयो ।’ फुकेर गएको खसी फर्केर आउनेछ भन्दै हजुरआमाले कृष्णलाई सम्झाउने प्रयास गरिन् । उसले अध्याँरो मुख लगायो । यताउता हे-यो । खसी देखेन । आँगनमा मासुका भाग थिए तर ऊ कालो खसी खोजिरह्यो । निकै समयपछि उसको आँखा हजुरबुबाको हातमा प-यो । त्यहाँ कालो केही देख्यो । त्यो त खसीको खु्ट्टा रहेछ । उसले बल्ल सम्झ्यो खसी काटेछन् भन्ने।
‘मेरो खसी खै ? खसी खै ?’ भन्दै ऊ रुन थाल्यो । दुई दिनमै खसीसँग पलाएको मित्रता आँगनमा टुक्राटुक्रा भएको उसले सहन सकेन । उ भक्कानियो । उसले खसी काट्ने मान्छे देखेन तर हजुरबुबाको हातमा खसीको खु्टटा देखेपछि उसले हजुरबुबालाई अध्याँरो अनुहार लगाएर हे-यो । ‘अब म तपार्इंसँग बोल्दिनँ ।’ आँखाभरि आँसु पार्दै उसले भन्यो।
आफूले निकै माया गर्ने नाती एक्कासी आफुसँग रिसाएको चाल पाए हजुरबुबाले । कृष्णले मन दुखाएको देखेर हजुरबुबा पनि निराश भए । हजुरबुबाले कृष्णलाई सम्झाउने भने, ‘मैले काटेको हैन कृष्ण ।’ तर कृष्णले हजुरबुबाको कुरा पत्याएन, ‘तपाईँले नै हो ।’ कसैको कुरा सुन्न मानेन । ऊ आँखा टिल्पिलाउँदै झोक्राइरह्यो।
घरमा भान्सा तयार भयो । यसअघि कृष्ण पकाएको मासु खान्थ्यो । तर यसपटक भान्सामा मग्मगाइरहेको मासु उसको कालो खसीको हो भन्ने उसलाई थाहा थियो । त्यसैले उसले मासु खान्न भन्यो । रिसाउँदै भन्यो, ‘यो भात पनि खान्न ।’ कृष्णको खसीप्रतिको प्रेम देखेर हजुरबुबा र हजुरआमाको मन पनि खिन्न भयो।
उसको बुबा र ममीले फकाएर दालभात त खुवाए तर उसलाई खुसी बनाउन सकेनन् । ऊ दिनभर अध्याँरो अनुहार लगाएर बस्यो । हजुरबुबालाई देख्नेबित्तिकै रिसाउँथ्यो र गाली गथ्र्यो । ऊ रुँदै हजुरबुबालाई घरिघरि प्रश्न गथ्र्याे, ‘मेरो साथीलाई किन काट्नुभयो ?’ हजुरबुबा कृष्णको अगाडि नाजवाफ हुन्थे।
नातीको जिद्दी देखेर हजुरबुबा पनि दुखी भए । के गर्ने के नगर्ने उनलाई फसाद प-यो । जति सम्झाए पनि कृष्णले मानेन । खसी काटिएको कुरा उसले बिर्सनै सकेन । उनीहरूको दसैँ नै उदास बन्यो।
नातीको जिद्दीबाट हारेपछि हजुरबुबाले आफ्नो गल्ती भएको स्वीकार्दै ‘सरी’ भने । कृष्णले हजुरबुबाको अनुहार तर्फ हेर्दा पनि हेरेन । ‘म उठबस गर्छु,’ भनेर हजुरबुबाले ‘एक दुई’ गन्दै उठबस गरे । कृष्ण अझै खुसी भएन । हजुरबुबा झनै दुखी भए । उनले चारैतिर आँखा नियाले । उनलाई सबैतिर नरमाइलो महसुस भयो।
अन्त्यमा हजुरबुबाले दुखी हुदै भने, ‘बाबु म अब कहिल्यै खसी काट्दिनँ । बलि दिनुपर्ने चलन हो भने घिरौलाको दिन्छु तर खसी ल्याएर काटमार गर्ने छैन ।’ बल्ल कृष्णले हजुरबुबाको अनुहारमा हे-यो । उसको अनुहारमा अलिकति उज्यालो छायो । हजुरबुबाले, ‘हो बाबु, अब म कहिल्यै खसी काट्दिनँ ।’ भन्दै नातीलाई अँगालो हाले । कृष्णको ओठ मुस्कुरायो । उसले हजुरबुबालाई नियाल्यो र भन्यो, ‘थ्याक्यू बाबा!’
प्रकाशित: १० कार्तिक २०७५ ०५:१३ शनिबार