बर्णमालाको ‘क’ अक्षर टल्केझैं इतिहास, संस्कृति, पर्यटकीय गन्तव्य, सभ्यता र खस भाषाको खोजी कार्य गर्दा टल्किन्छ कर्नाली । सबैलाई आफु जन्मे/हुर्केको भूभाग उत्तिकै प्रिय हुन्छ । बाल्यकालको सम्झना र कला संस्कृतिले मनमा एक प्रकारको छाल उत्पन्न गरेको हुन्छ । त्यही भावना र समय परिस्थितिको छाल मनमा उर्लिएपछि तानिएको हुँ लेखनमा।
नेपाली साहित्यमा कर्नालीको उपस्थिति जति हुनु पथ्र्यो भएन । खासै भन्नु पर्दा कर्नाली लेखिएकै छैन् । कला संस्कृतिका पाटा जति झल्किनु पथ्र्यो झल्केनन् । बिकृति र बिडम्बनाहरूप्रति जति सचेत तुल्याउनु पथ्र्यो समाजलाई त्यो पनि खासै हुन सकेन । लामो समयसम्म सोचिरहेँ अब केही त लेख्नु प¥यो । हाम्रा कुरा अरुले लेखिदेलान् भनेर बस्नु कदापि उचित हुँदैन । यस्तै कुरा मनमा खेलाएर बिषय छान्न थालेँ । कर्नालीका बिषयलाई एकएक गरी कोट्टयाउन थालें, जुन बिषयको उठान गर्थे । अलि लेख्थेँ । फेरि त्योभन्दा अर्को बिषय देखा पथ्र्यो । फेरि त्यो बिषयमा लेख्न सुरु गर्थेँ । बगैचामा फूल टिप्न गएझै कुन टिपुँ कुन नटिपुँ भैरह्यो । कुनै पनि विषयमा कलम पुरै चल्न सकेन । म निकै अन्योलमा थिएँ । कुन विषय छान्ने र के लेख्ने भनेर मेसो पाउन सकेको थिइनँ।
एकपल्ट घर गएका बेला आफन्तसँग भेटभाट र भलाकुसारी र साथीहरूसँग रमाइलो गर्ने क्रममा पुगेको थिएँ दाने काकाको घरछेउमा । काकाकी छोरी अपांग थिइन् । घिस्रिएर हाम्रो नजिक आइन् । बिस्तारै सोधिन्– दाजु कहिले आईस्यो?
ऐतिहासिक गाथा सुनेँ गाउँघरतिर जसमा मानसरोवर र कैलाश नेपालको हुने थियो तर नैनसिङकी कान्छी रानीले छुई भएका बेला छोएकाले लडाई हारियो, मानसरोवर र कैलाश गुम्यो भनिएको छ । यी सबै कुराले मनमा डेरा जमाएपछि तयार भयो ‘छोट्टी’।
शब्द स्पष्ट थिएनन् तर पनि उनले भनेको मैले बुझेँ । म हिजो आएको–उत्तर दिएँ । यत्तिकैमा काकाले बहिनीलाई भन्नु भो– आमा खोई त ? दाजु आएको छ । अन्नि बनाउनु पर्ने।
बैनीले अड्किँदै भनिन् –आमा त छुईछन् । मैले पनि केही खाएको छैन । भोक लागिसक्यो, खाना पकाईस्यो न।
यस्तै गन्थन गर्दागर्दै काकी देखिनु भो । काकीले टाढैबाट भन्नु भो– हेर भतिज आएका रहेछन् । के गर्नु म छुईछु । अब खान राम्रोसँग बनाउनु । छुईखुल्ला जान ढिलो हुन्छ । उज्यालैमा खाना खाएर जान पाए हुन्थ्यो राती आँखा देख्दिनँ।
छुई भन्ने शब्दले मलाई घच्चघच्यायो । यसकै बारेमा लेख्ने सोच बनाएँ । काका खाना बनाउन थाल्नु भो । साथीहरू चिनियाँ रक्सी खान थाले । म एकछिन टोलाएँ । साथीहरूलाई एकछिन है भन्दै कापी र कलम समातेर बाहिरी कोठामा गएर लेख्न थालेँ।
चार पेज जति लेखेर भित्रको कोठामा पस्दा काकाले खान पकाई सक्नु भाथ्यो । मेरो हातमा कापि देखेपछि जिस्काउँदै भन्नु भो– के लेखिस् पढेर सुना अब।
मैले पढेर सुनाउँदा काकाले निकै मन लगाएर सुन्नु भो । यस्तो श्रोता पनि मैले पहिलो पटक पाएँ । एउटा लेखकलाई असल श्रोता पाउँदा अरु के आश हुन्छ र ! म भित्रैबाट खुसी भएँ । उहाँले मेरो ऊर्जा थप्नु भो । यसैबीच म घेरै दिन साथीहरूसँग छुई खुल्ला गएँ । केटी साथीहरूसँग गफ गरेँ । डेउडा खेल्न गएँ । चाडपर्वमा घुम्न थालेँ त्यही छुई प्रथाको खोजीमा र लेख्न सुरु गरेँ तिनै छोट्टीहरूको पीडा।
लेख्दै जाँदा घेरै कुराको अनुभव गर्न पाएँ, लेख्नका लागी कला सिकेँ, शब्दलाई एकएक गरी केलाउन सिकेँ।
हुम्लामै जन्मेर हुर्केको भए पनि धेरै कुराहरूको नजिक भएर गहिरिएर अधययन गर्न पाएको थिइन । यो पुस्तक तयार पार्दा घेरै कुरा अनुभव भयो । नयाँ कोसेलीझैं, संंस्कारका पाटाहरू बुझ्दै गएँ । सोचेँ संस्कारसँगको पहिलो साक्षी को हुन्छ त ? निचोडमा पुगेँ–यस्तो संस्कारको पहिलो साक्षी स्त्री नै हुन । पहिलो संस्कार स्त्रीले सिक्छन् अनि सिकाउँछन् पनि । स्त्री नै बालकको पहिलो पाठशाला हो । पुरुषले त पछि सिक्छ । यति भएपछि स्त्री नै किन दुःख पाउँछन् त ? मेरो मनमा जिज्ञासा पलाउन थाल्यो।
के धर्मपालक स्त्री नै हुन्छन त ? मनमा खेलेका अनेकौ प्रश्नका माझमा एउटा केटीलाई बनाएँ आख्यानको प्रमुख पात्र । आफैं केटी भएर सोच्न थालेँ । मन र मस्तिकमा नाच्न थाले समाजका बिकृतिहरू, अन्धविश्वासहरू।
एउटी आमाले आफ्नी छोरीसँग कति खुलेर कुरा गर्छिन । कति धेरै संस्कारको पाठ सिकाउँछिन् । तर, बुवाहरूले कहिलै सिकाउँदैनन । छोरी जन्मेपछिका कुराले आमाहरूलाई कति सताउँछ । छोरा पाउने आशाको ढकनीमा बिर्को लाग्छ।
छोरी स्कुलमा पठाउनु कर्तव्य हो कि, अभिसाप ? एकपछि अर्को प्रश्नले घेर्न छाडेनन् । बालकको मनमा कति धेरै जिज्ञासा हुन्छन् र मायामा पनि त्यत्तिकै इमान्दारिता हुन्छ । यति मात्र होइन, बाल्यकालमा परेको गहिरो छापले जिन्दगीभर घच्घचाई रहन्छ।
नेपालको कानूनभन्दा पनि गाउँघरमा देवी देवताका धामीको बाणीको न्यायको भर मान्छन । धनीले गरिबलाई हेपेकै छ जुन नेपालको कानुनमा न्याय पाईंदैन तर त्यही गरिब देवताको शरणमा गएपछि न्याय पाउँछन् रे । यो नै छाप हो । अर्कोतर्फ कुनै पनि क्रान्ति पहिला आफ्नै घरबाट सुरु गर्नु पर्छ । मानबमा शिक्षाको ज्योती आश्यक छ भन्ने बुझ्नु आबश्यक छ।
एउटा केटी क्रान्तिमा सहभागी हुन्छे, मायामा पर्छे तर माया उसका लागि अभिशाप भैदिन्छ, बलात्कृत हुनु पर्छ । जातभातको बारेमा सरकारले कानून तयार पारेको छ । तर पनि दलितलाई तल्लो जात ठानेर पानी नचलाउनेहरू यत्रतत्र छन् । त्योभन्दा तल्लो जात छुई ठानिन्छ यसलाई कुन जात भन्ने हुन् जातीयताका कट्टर ठेकेदारहरूले? महाभारतमा पढिएको द्रोपदीको कथा सत्य हो वा होइन तर आफ्नै आँखाले देखें महाभारतको कथा जस्तै बहुपति प्रथा र भनेको हुँ आफैले आफैंलाई अब तैले लेख्नु पर्छ बियाँलो नगरी।
अर्को कुरा ऐतिहासिक गाथा सुनेँ गाउँघरतिर । जसमा मानसरोवर र कैलाश नेपालको हुने थियो तर नैनसिङकी कान्छी रानीले छुई भएका बेला छोएकाले लडाई हारियो, मानसरोवर र कैलाश गुम्यो भनिएको छ । यी सबै कुराले मनमा डेरा जमाएपछि तयार भएको पाण्डुलिपी।
एउटा केटी आफ्नो जीवनमा कति पटकसम्म छुई हुन्छे । त्यो समयमा के कस्ता समस्या आई लाग्छन् । यहाँ पहिलो पटकको छुईको कथा ब्यथा मात्र छैन । उसको उमेरमा कतिपटक छुई भई कति दुःख कष्ट अनुभव गरी । सबै कुरा पुस्तकमा उतार्ने प्रयत्न गरेको हुँ । कर्नालीका चेलीलाई पढ्न कति अप्ठेरो पर्छ । कति जनाले पढ्न पाउँछन । स्कुलमा सरहरूको ब्यबहार कस्तो हुन्छ । उनीहरू केही गर्न खोज्दा पनि किन सक्दैनन् । यो अहिलेको जल्दोबल्दो समस्या हो।
गैरसरकारी संस्थाले छुईखुल्लो भत्काउन लगाए, संकटकालमा माओबादीले घरभित्र हुले । तर पनि समस्या समधान भएन । आखिर किन ? राज्यले मनन् गर्नु पर्ने गम्भीर समस्या हो यो । त्यहाँको संस्कारको गाँठो कसरी फुकाउने मूलभुत प्रश्न यही हो।
अब त्यसलाई तर्साएर छुईखुल्लोलाई भत्काएर बर्षौं बजेट खर्च गरेर समाधान हुने देखिंदैन् । शिक्षाका माध्यमले चेतनाको तह बढाएर छुइप्रथा हटाउन र छुइखल्लालाई पर्यटकीयस्थलका रुपमा चिनाउँदा परिर्वतन हुन्छ भन्ने मेरो निश्कर्ष छ।
हुम्लाका केही संस्कृतिका कुरा, केही बिकृतिका कुरा, केही प्रेमका पाटा, केही इतिहास अनि द्वन्द्वका बेलाका कुरा समेटेर तयार भयो पाण्डुलिपी । अब पाडुलीपी हेरी दिने कसले भनि आतिएको थिएँ । कसलाई देखाउँ, कसबाट सल्लाह मागुँ यस्तै यस्तै प्रश्न खेलाइरहेको थिएँ मनमा । हुम्लाको भाषा, संस्कृतिका बारेमा जानकारी भएको र लेखनमा लागेको मान्छेको खोजी गर्दै जाँदा एक दिन हेमन्त बिवश गुरुसँग भेट भयो । उहाँ खुसी हुनु भयो, मेरो पान्डुलिपी बोकेर जानु भयो।
उहाँसँगको भेटमा केही न केही थप्न लगाउनु हुन्थ्यो । थप्दै जान्थँे । उहाँले सल्लाह दिइरहनु भयो । मैले विषयबस्तु थप्दै गएँ । यो कार्य एक वर्षसम्म चल्यो । सुरुमा त कहाँ अल्झेँ । कस्तो मान्छे कहाँ पुगेछु । सल्लाह दिने र लिने काम कहिल्यै नटुंगिने हो कि जस्तो पनि लाग्थ्यो । पछि विषयबस्तु थप्दै जाँदा आफैं रमाउन थालेँ । सिंगो कर्नालीका पाटा छुनसम्म सके किं जस्तो लागिरह्यो । अलिकति कुरेर अझै अरु बिषयबस्तु थप्न पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो । लगत्तै अर्को उपन्यास तयार पार्ने सोचका साथ यसलाई प्रकाशनको गोरेटोतिर हिँडाएँ । अन्ततः शिखा बुक्सका पुष्प पौडेल सामु पुग्यो पाण्डुलिपि र छापियो–‘छोट्टी’।
प्रकाशित: १० कार्तिक २०७५ ०२:२१ शनिबार