१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

पोल्टाभरि आशीर्वाद

म पूर्वी पहाड ताप्लेजुङको ढुंगेसाँघुमा जन्मे÷हुर्केको मान्छे । हाम्रो गाउँ विभिन्न जातजातिको सुन्दर फूलबारी हो । लिम्बु, राई, गुरुङ, तामाङ, मगर, बाहुन र दलितको बसोबास छ त्यहाँ । अचेल धेरैजसो बाहुनहरू मधेशतिर बसाईँ झरिसकेका छन्।  

बाल्यकाल सम्झँदा म सधैं नोस्टाल्जिक बन्छु । चाडपर्वका क्षणहरू सम्झँदै रमाइलो लाग्छ । दशैं आउनु महिना दिन अघिदेखि औंला भाँच्न थाल्थ्यौं हामी । दशैंको ठूलै पर्खाइ हुन्थ्यो त्यतिबेला । स्कुलको छुट्टी हुन्थ्यो, साथीहरुसँग बरालिन पाइन्थ्यो।

दशैंको मौसमै मीठो । बर्खाको जस्तो झरी पनि नहुने र हिउँदको जस्तो हुस्सु पनि नहुने, गज्जबको मौसम ! हाम्रा पुर्खाहरूले कस्तो मिलाएर दशैं मनाउने चलन चलाएका रहेछन्! 

दशैं आशीर्वाद लिने पर्व हो । जसका अगाडि शिर झुकाइन्छ त्यो शत्रु नै भए तापनि त्यतिबेला उसको मनमा नकारात्मक भावना आउँदैन । उसले आशिष दिन्छ । वर्षमा एकै दिन सही अहं, घमण्ड, इष्र्या फ्याँक्ने दिन हो दशैं । जन्म दिने बाबुआमालाई अघिपछि वेवास्ता गर्नेहरु पनि दशैंको टीका थाप्दा उनीहरूका सामु झुक्छन् । पैसा र शक्तिको उन्मादमा चम्केकाहरूलाई पनि दशैंले आफ्नो धरातलमा ल्याइदिन्छ ।


नीलो आकाश, सफा परिवेश। खेतबारीमा पसाउँदै गरेको धानको मीठो बास्ना । त्यो बास्ना सुँघ्दै हिँड्थें म । अहो ! यतिबेला धान र कोदो बालीले गाउँघर झिलिमिलि भैसक्यो होला! दशैंसँग पिङ खेल जोडिएर आउँछ । खुब पिङ खेल्थ्यौं हामी । फूलपाती भन्दा अगाडि नै हाम्रो घर मास्तिर मानेडाँडामा पिङ हालिन्थ्यो । घरबाट ७ मिनेट हिँडे त्यहाँ पुगिन्छ । पिङ हाल्ने पनि होडबाजी चल्थ्यो, कसैले ४ लिंगे, कसैले ८ लिंगे हाल्थे । हामी बिहान, दिउसो र बेलुका जतिबेला पनि पिङ खेल्न जान्थ्यौं। 

तिहार सकिएपछि पिङ झिकिन्थ्यो। म घरमा जिद्धि गर्थें । अभिभावकले मेरा लागि घर नजिकैको गोगनको रुखमा पिङ हालिदिन्थे । मज्जाले खेल्थें। 

हाम्रो पालामा दशैं भन्नेवित्तिकै नयाँ नाना आउँथ्यो । बाबाले बजारबाट किनेर ल्याएको थानको नयाँ कपडाको बासना खुब मीठो लाग्थ्यो । घरीघरी सुँघ्थ्यौं त्यो कपडा । जब दमाई दाई नाम्लोको सहाराले लुगा सिलाउने कल बोेकेर घरमा आउँथे, उनी आँगनमा बसेर सिलाउँथे, हामी रमाउँथ्यौं। 

हामी जुके दमैं भन्थ्यौं तिनलाई । तिनको खास नाउँ के पो थियो कुन्नी ! दमैं दाई साह्रै राम्रो लिम्बु भाषा बोल्थे । हाम्रो गाउँका बाहुन पनि लिम्बु भाषा बोल्न सिपालु थिए । हामीलाई मुजैमुजा परेको जामा सिलाई दिन्थे । एकचोटी लगाएको जामा दशैं लुगा राती सुत्दा पनि फुकाल्दैनथ्यौं । धेरै दिन पछि मात्रै फुकाल्थ्यौं ।  

हाम्रो गाउँमा बाहुनको राम्रै वस्ती छ । हामी फंगवानी खेल्ने भन्दै दशैंमा बाहुनका घरमा जान्थ्यौं । बाहुनले हामीलाई टपरीमा च्यूरा र केराको चाना दिन्थे । घरकै ओखलमा कुटिएको च्यूरा । चिउरामा अलिकति चिनी पनि हुन्थ्यो । त्यसरी खान पाउँदा साह्रै चिज लाग्थ्यो । त्यति मीठो च्यूरा र केरा अन्यत्र कहिल्यै खाइएन ! 
हामीले फंगवानी भनेता पनि सायद त्यो भवानी शब्द हुनु पर्छ । हामीले दुर्गाको प्रसादस्वरुप मागि खाएका थियौं जस्तो लाग्छ अहिले। 

दशैंमा हाम्रो घरमा सुँगुर काटिन्थ्यो । सुँगुरको मासु खुब खाइन्थ्यो । दाजूहरु जाँड खान्थे । अहिले जस्तो गाउँ–गाउँमा कोक फान्टा पुगेको थिएन । हामी केटाकेटी जाँड खाँदैनथ्यौं । 

दशैंमा जमरा राखिन्थ्यो, सेतो टीका लगाइन्थ्यो । तर, अचेल जमरा राख्ने चलन हराई सक्यो । हाम्रो लिम्बु समुदायमा दशैं टीका लगाउने चलन पनि बिस्तारै हराउँदैछ । हाम्रा अगुवाहरूका अनुसार हामीलाई कुनै राजाले दशैं मनाउन बाध्य बनाएका हुन् रे ! त्यसैले डाँडाको मौलोमा गाउँका मुखिया (सुब्बा)ले राँगा काटेर गाउँलेलाई भोज खुवाउँथे । त्यहाँ खसी पनि काटिन्थ्यो । अचेल त्यो चलन पनि हराई सक्यो । हाम्रो समाजमा मासु खाने र याङबेन खाने चलन भने उस्तै छ। 

दशैंको सबैभन्दा ठूलो विशेषताः टीका नै हो। आफन्त र इष्टमित्रका हातबाट टीका थाप्दा माया बढ्छ । घरमा टीका लगाईसकेपछि भोलिपल्ट हामी करिब ४ घन्टा हिँडेर मावली थिंगलाबु जान्थ्यौं । मामा÷माइजुले मीठो–मसिनो खुवाउँथे, दक्षिणा पनि दिन्थे। बरोबर दक्षिणा गन्थ्यौं । हामी आलोपालो मावलीका भान्छामा गएर खान्थ्यौं । 
दशैं–तिहार पछि स्कुलमा हामी दशैंमा कसले कति दक्षिणा पायो भनेर धाक लगाउँथ्यौं। त्यसरी पाएको पैसाले दालमोठ किनेर खान पाउँदा ठूलै उपलब्धि भए झैं लाग्थ्यो । कम्ता रमाइला थिएनन् ती दिनहरु! हामीले भोगेजस्तो रमाइलो अहिलेका केटाकेटीले भोग्न पाएका छैनन् । अहिले न त खानाको मतलव छ न त नानाको । 

हाम्रो गाउँमा दशैंका बेला बाटो फाँड्ने चलन छ । भत्के÷बिग्रेको बाटो मर्मत गर्ने र झाडी सफा गर्ने गरिन्छ । ५ वर्ष अघि गाउँ जाँदा पनि त्यो चलन कायमै थियो । अचेल हामी धरानमा दशैं मनाउँछौं । म आमाको हातबाट टीका थाप्छु । 
संगीतज्ञ अम्बर गुरुङ मेरा गुरू हुन् । म पूर्णिमा अघि काठमाडौं फर्केर उहाँको हातको टीका थाप्थें । दुई वर्ष अघि उहाँ वित्नु भयो । पोहोरदेखि मैले फेरी बेलायती चित्रकार डेबिट डग्लासबाट टीका थाप्न सुरू गरेकी छु।  

अर्को कुरा, दशैंका दिन चाँगे भन्ने गाउँमा मेला लाग्थ्यो । त्यहाँ रोटेपिङ हालिन्थ्यो । त्यहाँसम्म जान मलाई परिवारले कहिल्यै दिएन। जे होस् पुराना दिन सम्झँदा एकदमै रमाइलो लाग्छ।  मलाई दशैं–तिहार जस्ता चाडमा औधि रमाइलो लाग्छ । कहिलेकाहिँ त सोच्छु दुबै चाड नजिकै हुनु भन्दा ६– ६ महिनाको अन्तरमा आउने भइदिए कति जाति हुन्थ्यो!  

हाम्रा सांस्कृतिक पर्वहरुलाई हामीले जाति, राजनीति र धर्म भन्दा माथि राखेर हेर्नु पर्छ । नेपालीले मनाउने हरेक चाड हाम्रा साझा पर्व हुन् । त्यसमा हामी रमाउनु पर्छ । आपसी सद्भाव र आत्मीयता बाँड्नु पर्छ । सद्भाव भड्कने काम कसैले गर्नु हुँदैन। 

दशैंको ठूलो महत्व छ, खासमा यो आशिवार्द लिने पर्व हो । जसका अगाडि शिर झुकाइन्छ त्यो शत्रु नै भए तापनि त्यतिबेला उसको मनमा नकारात्मक भावना आउँदैन । उसले आशिष दिन्छ । वर्षमा एकै दिन सही अहं, घमण्ड, इष्र्या फ्याँक्ने दिन हो दशैं। 

जन्म दिने बाबु आमालाई अघिपछि वेवास्ता गर्नेहरु पनि दशमीका दिन टीका थाप्न उनीहरूका सामु झुक्छन् । पैसा र शक्तिको उन्मादमा चम्केकाहरूलाई पनि दशैंले आफ्नो धरातलमा ल्याइदिन्छ। 

दशैं लगत्तै आउने तिहार मलाई संसारकै रमाइलो चाड जस्तो लाग्छ । त्यतिबेला धेरै दिनसम्म हामी नाचगान गथ्र्यौं । देउसी र भैलो खेल्थ्यौं । हाम्रो गाउँमा कागतिहारको अघिल्लो दिनदेखि नै भैलो सुरु हुन्थ्यो । हार्मोनियम, मादल र सारंगीको तालमा गाउँथ्यौं । भैली गीत, लोकगीत र जनवादी गीत गाउँथ्यौं। 

मलाई सम्झना छ हामीले ‘बसाइँ हिँड्नेको ताँतीले’ र ‘धेरै नै टाढा छ हामी पुग्ने ठाउँ’ बोलका गीत । यस्ता गीत हामी धेरै पटक गाउँथ्यौं । 

भाइटीकाको एकदमै ठूलो महत्व छ । हाम्रो समुदायका कतिपयहरू भाइटीका लगाउनु हुन्न भन्छन् । मलाई त चेली र माइतीबीचको सद्भाव र आत्मीयता झन् कसिलो बनाउने यस्तो टीका लगाउनु पर्छ भन्ने लाग्छ ।


हाम्रो भैली टोलीमा गाउँका बाहुनीहरु पनि हुन्थे, काफ्लेनी भाउज्यू माइली र साइँली भैलिनी गाउन सिपालु थिए । हामी रातभर गाउँथ्यौं । चामल, पैसा र सेल रोटी पाइन्थ्यो । बाँडेर लिन्थ्यौं। 

भाइटीकाको एकदमै ठूलो महत्व छ । हाम्रो समुदायका कतिपयहरू भाइटीका लगाउनु हुन्न भन्छन् । मलाई त चेली र माइतीबीचको सद्भाव र आत्मीयता झन कसिलो बनाउने यस्तो टीका लगाउनु पर्छ भन्ने लाग्छ । एउटा घटना सुनाउँछु–मुग्लानबाट फर्केको ठूला काकाको छोरा अर्थात मेरो दाजूलाई मैले पोहोर भाइटीका लगाइदिएको थिएँ । त्यो नै उनको जीवनको पहिलो र अन्तिम टीका भयो। दुःखको कुरा आज त्यो दाई संसारमा छैनन् । 

एक दशक यता नयाँ संस्कृति सुरू भएको छ हाम्रो गाउँमा । तिहारलाई बिदा गर्ने क्रममा पालाम, हाक्पारेको प्रतिस्पर्धा हुन थालेको छ । यसमा गाउँका बुढापाकालाई पनि सहभागी गराइन्छ । मैले आफ्नै आँखाले हेर्न पाएको छैन, त्यस्ता कार्यक्रमको भिडियो हेरेर आनन्द मानेको छु । यो नयाँ संस्कृति लाइभ हेर्न म यसपाली तिहारमा गाउँ जाँदैछु । 
दशैं–तिहार पहिला जसरी आउँथे आज पनि त्यसैगरि आउँछन् । तर, पहिले जस्तो रौनक देख्दिन अचेल । तुलनात्मक रुपमा हेर्दा शहरमा भन्दा गाउँमा अझै रमाइलो छ । चाडबाडको ठूलो महत्व छ। 

हामीले चाडपर्वको सामाजिक पक्षलाई जोड दिएर मनाउनु पर्छ । आफ्नोपनको चश्माले हेर्दा सबै जातजाति र भाषा भाषीले मनाउने पर्व मेरै हो जस्तो लाग्छ।

(लिम्बु गायिका हुन्)

प्रकाशित: २७ आश्विन २०७५ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App