१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘शान्त भूमिलाई भयाभह पारियो’

माधव घिमिरे, राष्ट्रकवि

तपाईँको बुझाईमा सहर के हो?
मौलिकता, संस्कार–संस्कृतियुक्त, शान्त र सुविधायुक्त ठाउँ सहर हो । सहरमा हिजोको मौलिक कला अडिएको हुन्छ । त्यसलाई कुनै न कुनै किसिमबाट जिवितै राखिएको हुन्छ।

तपाईँ सानो छँदा देखेको/भोगेकोे सहरलाई कसरी स्मरण गर्नुहुन्छ?
पहिलेको सहर र अहिलेको सहरमा आकाश–जमिनकोे फरक छ । जनसंख्या दशौं÷बिसौं गुणा बढेको छ । सहरीकरणले सहर छोपिएको छ । अग्ला–अग्ला कंक्रिट भवनले हरियाली र हिमाल छेकिएको छ । आधुनिकताको नाममा मौलिकता निमिट्यान्न पारिँदै छ । यहाँ बिनासका काम धेरै र विकासका काम थोरै भएका छन् । जनसंख्याले थेग्नै नसक्ने भएको छ, उपत्यकामा । यस्तो अवस्थामा पनि राजनीतिककर्मीहरूमा चेतना आएन । सहरलाई सुर्धानेतर्फ नजर पुगेन । त्यसकारण पनि पहिलेको सहरको सौन्दर्य अर्कै भइसकेको छ।

तपाईँको चाहना र परिकल्पनामा सहर कस्तो हुनुपर्छ?
सुनको जलप लगाएका मन्दिर र गुनकेशरी फूल लगाएर पँधेरोमा पानी लिन जाने महिलाहरू कविले गरेको सहरको वर्णन हो । अहिले सबै सहर धुवाँधुलोले खाइसक्यो । जता गयो फोहरै–फोहर, अस्तव्यस्त मात्रै छ । पानीको देशका जनताहरू मेलम्ची तिर्खाएर बसेका छन् । उनीहरू तिर्खाएको २४/२५ वर्ष भयो । अझै पनि मेलम्ची कहिले आउने हो पत्तो छैन । यस्तै गतिमा काम हुने भने काठमाडौंवासीको तिर्खा मेटिन अझै वर्षाै लाग्न सक्छ । संसारमा विज्ञान र प्रविधिले चमत्कार ल्याए पनि नेपालमा त्यति परिवर्तन आएको छैन । विकृति फैलाउन कुरामा मात्रै विज्ञानको प्रयोग भएको छ । विकासका काममा प्रविधिको प्रयोग न्यून छ।

शान्त र सुन्दर सहर कसरी बिग्रियो?
अहिले जनतालाई सरकारी निकायले टारेको टा-यै छ । समयका विकास निर्माणका काम भएका छैनन् । पहिले र अहिलेमा धेरै परिवर्तन भयो । पहिले सहरी निकै शान्त थियो । तर, अहिले सहरमा चोर–डाका मौलाए । बच्चा पनि अपहरणमा पर्न थाले । पैसाको निम्ति मान्छे मार्ने जस्ता विकृति अहिले आए । यी कुरा पहिले थिएनन् । यी भयानक कुराहरू अर्को देशबाट भित्रिएका हुन् । हामीले चिताउनै नसक्ने गरी बाहिरी मानिसहरू हाम्रो देशमा हुलियो । शान्त सहर र देशमा अशान्ति फैलाइयो । नत्र यो सहर र यो देश निकै शान्त हो । प्रकृतिले पनि शान्त बनाएको छ । अरुलाई भन्दा शान्ति दिएको छ । तर, अहिले कुनै बेला शान्त सुन्दर ठाउँ टेकीनसक्नु भयो । संसारमा मानिस यही भरिए । खाली जग्गा भरियो । मानिसलाई घर बनाएर बस्ने ठाउँ छैन । टाउको सिरफूल लगाएर र गोडामा पाउजु लगाएर माइत जान हिँडेकी नारीको गहना लुटिदिन्छन् । मान्छे नै मारिदिन्छन् । मधेश त पहिले नै बिग्रियो । हुँदाहुँदा पहाड पनि बिग्रिएको छ । टेलिभिजन आएपछि पहाड झनै बिग्रियो । सबैले खर्च गरेर टिभी किन्न थाले । सबै पैसाको मोहमा फस्न थाले । त्यसपछि युवाहरू विदेश लाग्ने क्रम बढ्यो । अहिले गाउँमा मान्छे छैनन् । दिनमा एक जना मरेको मान्छे भित्रिन्छ । यस्तो स्थिति सिर्जना गराउने अरू कोही नभएर हामै्र देशका नेता हुन्।

तपाईँको बुझाईमा नेपाल कस्तो देश हो?
प्रकृतिको माझमा अत्यन्तै सुन्दर देश । पहाडमा मान्छे अत्यन्तै इमान्दार । उनीहरू कुनै छलकपट नभएका । त्यसैले पनि नेपाललाई शान्त भूमि भनिएको हो । उहिलेको त्यस्तो शान्त र गर्व गर्न लायक भूमि अहिले त्यसको उल्टो बन्न थालेको छ ।  सवारी भित्रिएका छन् । रक्सी भित्रिएका छन् । कैयौं महँगा महँगा चिजहरू भित्रिएका छन् । तीनको प्रभाव बलियो छ । हाम्रै मुलुकमा भएका चिजहरूको महत्व कम मानिएको छ । यसलाई चिनाउनुपर्छ भनेर लाग्नेहरू कोही भएनन्।

सहरमा कसरी अराजकता बढ्यो?
पहिलेको अल्कापुरी कान्तिपुरीले लेख्ने गरेको ठाउँ हो । कान्तिपुरीमा कविहरू बस्थे । सिर्जना गर्थे । अहिले त्यही ठाउँ विविधता भएको छ । चित्रकार पनि त्यो ठाउँमा बस्छन्, अरु थुपै व्यवसाय गर्ने मानिस बन्छन् । तर, दुःखको कुरा कान्तिपुरी नगरमा चोर डाका बस्न थाले । उनीहरू कान्तिपुर नगरी असुरक्षित बनाइयो।

काठमाडौं कसरी टेक्नुभयो?
पहाडको एकजना पण्डित काठमाडौं आउजाउ गर्थे । त्यो बेला काठमाडौंमा नयाँ स्कुल भर्खर–भर्खर खुलेको रहेछ । ती पण्डितले मलाई सबै कुरा सुनाएका थिए । उनी काठमाडौंमै पढ्दा रहेछन् । त्यही पढेर उनी पण्डित भएका रहेछन् । ती पण्डितका भाई पनि काठमाडौंको छात्रवासमै बसेर पढ्दा रहेछन् । त्यहाँ पढ्न आउनेलाई खाने सुविधा पनि दिँदा रहेछन् । त्यो थाहा पाएपछि मलाई पनि काठमाडौं जाउँ–जाउँ लाग्यो । त्यसपछि म भागेर काठमाडौं छिरेको थिएँ । यहाँ पाएपछि पढाईलाई निरन्तरता दिएँ।

काठमाडौंमा जनसंख्या बढ्नुको कारण के होला?
१० वर्षको द्वन्द्वकालको बेला उपत्यका बाहिरमा सहर र ठाउँहरूमा आगो बल्यो । मानिसहरू उत्पीडनमा परे । कैयौं सोझा र इमान्दार मान्छे मारिए । दुस्मनहरू गाउँसम्मै पुगेर गोली ठोक्न तयार भएन । सोझो गाउँलेलाई गाउँमा बस्नै नसक्ने भयाभह स्थिति सिर्जना गराए । आफू बसेको सुन्दर गाउँमा दुस्मनको बास र अराजकता चल्न थालेपछि सुरक्षा खोज्दै उपत्यका बाहिरबाट सुरक्षित हुनुको लागि सहरमा आए । त्यसपछि सहर भरियो÷बिग्रियो । पहिले–पहिले काठमाडौं एकरात काट्न पाए पनि मन कति खुसी हुन्थ्यो अहिले एक रात पनि कहाँ बिताउँ भन्ने भएको छ । विश्वका अनेक नयाँ चिजहरू यहाँ आए । तर, त्यसको सही प्रयोग भएन । सहरमा खाली विकृति चलिरह्यो । सरकारी निकायले पनि यसलाई सुधार्ने बल गरेन । जे छ त्यस्तैलाई टालटुल गरेर विकास गरेका छौं भन्ने मानसिकता सरकारी निकायमा हुनेले राखे।

सहरको विकास गर्दैगर्दा कहाँनिर गल्ती गरियो?
सहर विकासमा अहिले मात्रै गल्ती भएको होइन, पञ्चायत कालमै गल्ती भएको थियो । पञ्चायतमा आफ्नो सत्ता कायम राख्न विकासका काम भए । मुलुकले के चाहेको छ भनेर हेक्का राखिएन । सबै दलीय स्वार्थमा लागे । कसैले पनि यो मुलुकको उन्नतिको लागि काम गर्नुपर्छ भनेर लागेनन् । नत्र काठमाडौंका विकासमा पहिल्यै ध्यान दिएको भए अहिले सहर सबैतिर हराभर हुन्थ्यो । यस्ता कुरूप र मौलिकता खोस्ने भवन बन्ने थिएनन्।

सहर र देश सुरक्षित नहुनुको कारण के होला?
अहिले नेपाली भूभाग विस्तारै मिचिन थालेको छ । सीमाना मिचिएको देख्दा मन कुडिन्छ । देशको परिधि साँघुरिँदै गएको छ । भारतीय नाकाबाट सहरी भूभाग खोसिँदै छ । हाम्रो राजनीतिक ध्यान त्यता गएन । हुनेखाने भरी काठमाडौंमै केन्द्रित भए । सिमानाको कठिनतालाई कसैले हेक्का राखेका छैनन् । नेताहरू हिजोको साखमा राजनीति गरेका छन् । आफूले देशलाई केही दिनतर्फ लागेका छैनन् । हिजो यस्तो मुलुकको हो भनेर विदेशीसँग फूर्ति लगाइरहेका छन् । तर, अबको सहर कस्तो हुन्छ भनेर भविष्य सोच्न सकिरहेका छैनन् । अझै पनि मुलुक राजनीतिक किचातानी र भागबण्डामै अड्किएको छ ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २९ भाद्र २०७५ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App