१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

तीजको खान्की

तीज हिन्दू धर्माबलम्बी महिलाहरूले महत्वपूर्ण चाडको रूपमा मनाउँदै आएको पाइन्छ । पौराणिक मान्यता अनुसार देवी पार्वतीले भगवान शिवको दीर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत राखेकै कारण हिन्दू महिलाहरूले तीज मनाउँदै आएको पाइन्छ । तीजमा माइतीमा गई थरिथरिका परिकार खाएर, बेदनाका गीत गाएर, नाचगान गरी मनाउने चलन छ । समय परिवर्तनसँगै हामीले मनाउने संस्कृतिमा पनि परिवर्तन आएको बताउँछन्, संस्कृतिविद् विनोदराज शर्मा।

आधुनिकतासँगै चाडपर्वमा खाइने परिकारमा पनि निकै फेरबदल आएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेवारी प्रचलन अनुसार चेली, बुहारीलाई श्रीमानको घरबाट खुवाउने चलन रहेको छ।’

तीजको नाममा दर खाने प्रचलनले निकै विकृति लिएको उनी बताउँछन् । तीजको इतिहास धेरै लामो नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘तीजमा खाइने दरको प्रचलनपछि मात्र सुरु भएको हो, सुरुवातमा हरितालिका मनाउने प्रचलन हुँदा दरको त्यति चलन थिएन।’

हरितालिका र तीजलाई एकै पटक मनाउने चलन सुरु भएको उनी बताउँछन् । दुवै पर्वमा भगवान शिवको आराधना गरिने भएकाले एकै पटक मनाउने चलन सुरु भएको उनी बताउँछन् । ‘वरिपरिका ८/१० जना दिदी बहिनी जम्मा भएर भगवान शिवको पूजा, अर्चना गरेर श्रद्धापूर्वक मनाउने गरिन्थ्यो,’ उनी भन्छन्।

हरेक चाडपर्व मनाउने तौरतरिकामा फरक आएको उनले बताए । उनी भन्छन्, ‘हाम्रो चाडपर्व मनाउँदा विदेशी सामाग्रीको भर पर्ने दिन आएको छ, जुन निकै दुःखको कुरो हो ।’ पुरानो चलन अनुसार हाम्रो चाडपर्वमा मनाउन हाम्रै घरबारीमा उव्जाउन सकिने, उपलब्ध हुने फलफूल, सामग्रीको प्रयोग गर्ने चलन रहेको उनी बताउँछन्।

भदौ महिनामा पर्ने तीजमा बिशेष गरेर काक्रोलाई प्रसाद स्वरुप भगवानलाई चढाई त्यहि खाने चलन रहेको उनले बताए । ‘तीजको समयमा काक्रो काटेर भगवानलाई चढाई पुरोहितलाई खुवाउँदा निकै पुन्यको काम मानिन्छ,’ उनले भने । तीजको समयमा बिशेष गरेर दुध, दही, काक्रो, मौसमी फलफूललगायतका चोखो परिकार खाने प्रचलन रहेको उनी बताउँछन्।

नेपाली समाजमा दर खाने सुरुवात सामाजिक रूपमा रोपाइ सकेपछि सुरु भएको उनले बताए । रोपाइँपछिको आरामको समयमा शरीरमा ताकत भर्न गाउँघरमा पाइने खानेकुरा खाएर सुरु गरिएको उनी बताउँछन्।

‘रोपाइँको समयमा महिलाले धेरै शारीरिक श्रम गर्नुपरेकाले कामपछिको आरामको समय मिलाएर छोरी, चेलीलाइ दर खुवाउन सुरु गरिएको हो,’ उनले भने । पञ्चामृत, दही, चिउरा, काक्रोलाई पूजामा प्रयोग गरी प्रसाद रुवरूप खाइने चलन रहेको उनी बताउँछन्।

व्रत बस्नु स्वास्थ्यको हिसाबले निकै राम्रो मानिने पोषणविद् अरूणा उप्रेती बताउँछिन् । महिला मात्र नभएर पुरुष पनि हप्ताको एक दिन व्रत बस्न उनी सुझाउँछिन्।

‘व्रत बस्नु भनेको पानी पनि नपिएर बस्नुपर्छ भन्ने होइन, बिहान खाना खाए बेलुका हल्का खाएर सुत्न सकिन्छ,’ उनले भनिन् । धार्मिकरूपमा भन्दा पनि शारीरिक रूपमा निकै लाभदायी रहेको उनी बताउँछिन् । चाडपर्व, संस्कृतिको नाममा जन्माइएको मानसिकता गलत रहेको उनी बताउँछिन् । ‘मध्यरातको १२ बजेसम्म चिल्लो खाएर भोलिपल्ट भोकै बस्ने प्रचल विकृति नै हो,’ उनले भनिन् । अन्य कुनै शारीरिक समस्या नभएको स्वस्थ महिला वा पुरुष जो कोहि पनि व्रत बस्दा कमजोर हुने, अस्वस्थ हुन्छ भन्ने मान्यता रहेको उनी बताउँछिन्।

तीजको समयमा दरको नाममा खाइने अनावश्यक परिकारले शरीरलाई असर गर्छ भन्ने कुराको ख्याल राख्नुपर्ने उनी बताउँछिन् । तीजको समयमा भोकै बस्दा प्रशस्त पानी पिउनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘शरीरमा खानाको भन्दा पानीको धेरै आवश्यकता पर्छ, तसर्थ दिनभरि भोकै बस्दा शरीरलाई आवश्यक पानीको मात्रा भने पूरा गर्नुपर्छ ।’ एक दिन भोकै बस्दा शारीरिक रूपमा अस्वस्थ भने नहुने उनी बताउँछिन्।

‘व्रत बस्नको लागि तीज नै आउँछ भन्ने पनि छैन, हप्तामा समय मिलाएर बस्न सकिन्छ,’ उनले भनिन् । मोटोपनको समस्या हुने, युरिक एसिडका बिरामीले दिनमा एक छाक खानु स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । व्रर्त बस्नुभन्दा अगाडि शारीरिक अवस्थाबारे ख्याल राख्नुपर्ने उनी सुझाउँछिन् । तीजको व्रत बस्ने ब्रतालु दिदीबहिनीहरूको मानसिकतामा परिवर्तन आएकोमा निकै खुसी लागेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘तीजको व्रतमा पानी पनि पिउन हुँदैन भन्ने मान्यताको अन्त्य भएको छ, जुन निकै राम्रो हो।’

तीजमा खाइने परिकार
खिर
दूध, टाइचिन चामल र चिनीको प्रयोग गरेर तयार गरिने परिकार हो, खिर  । खिरको प्रयोग हिन्दू धर्म अनुसार शुभसाइत, शुभ समयलगायत मिठो खानु परेको खन्डमा विशेष प्रयोग गर्ने चलन निकै पुरानो हो । दुधबाट बनाइएको खिरलाई प्रसादको रूपमा विशेष प्रयोग गरेको पाइन्छ । खिरलाई चोखो खानाको परिकारको रूपमा खाइने चलन रहिआएको छ । पूजाआजा, व्रर्त होस्, बा शुभ कर्म नेपाली हिन्दू समाजमा खिरको प्रयोग गरेको पाइन्छ । खिर चोखो खानाको परिकार मानिने भएकाले तीजका ब्रतालु महिलाहरूले  प्रसादको रूपमा खाने प्रचलन रहेको छ । पुरानो समयमा मिठो मसिनो खानको लागि चाडपर्व नै पर्खिनुपर्ने भएकाले खिरलाई निकै महत्वका साथ लिने गरिन्छ।

खाजा (ढकने र लट्टे)
‘तीजको खाजा मिठो भदौरे तामाले, नरोउ भान्जी लिन आउछु भन्थे मामाले’ गाउँघरमा गाइने निकै प्रचलित तीजको गीत हो यो । यो गितबाट नै स्पष्ट हुन्छ, तीजको खाजाको महत्व निकै रहन्छ । यसमा पनि ढकने र लट्ठे निकै प्रचलित छ । अनधी, टाइचिन, अन्य चामलबाट तयार पारिने खाजामा ध्युको स्वाद पाउन सकिन्छ । खाजा तयार पार्नुभन्दा एक घन्टा अगाडि भिजाएर तयार पारिन्छ । ढकने र लट्टे लाई तीजमा नै खानाको परिकारको रुपमा लिइन्छ।  

सेलरोटी
प्रायः बजारमा सेलरोटीलाई खाजाको रूपमा खाइने भए पनि चाडवाडको समयमा यसको बढी महत्व हुन्छ । यो चामलको पिठोबाट बनाइने रोटीको परिकार हो । हिन्दू धर्म अनुसार सेलरोटीलाई प्रसाद र सगुनको रूपमा प्रयोग गरिन्छ । यो आलु र केराउको अचार, तामाको अचार, करेलाको अचारसँग खाइने गरिनछ । सेलरोटीलाई बिशेष गरी अनधीको चामलबाट तयार गरिन्छ।

फलफूल
भदौको महिनामा पर्ने तीजमा बिशेष गरि भदौरे फलफूल खाने गरिन्छ । सहरमा हरेक मौसममा विभिन्न फलफूल पाइने भएकाले कुन मौसमको फलफूल कुन भनी महत्व कम दिएको पाइन्छ । तीजको समयमा व्रत बस्दा शरीरमा पानीको कमी हुने भएकाले प्रशस्त फलफूल सेवन गर्नुपर्ने पोषणविद् अरूणा उप्रेती बताउँछिन् । कागती पानी, मह पानी, फलफूलको जुस पिउनु शरीरलाई लाभदायक हुन्छ।

प्रकाशित: २२ भाद्र २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App