२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सोह्रखुट्टे सत्तलको पुनर्निर्माण सुरु

सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।

ऐतिहासिक सोह्रखुट्टे सत्तलसित धेरैको सम्झना जोडिएको छ । स्थानीय रामप्रसाद श्रेष्ठले भने, ‘यो पाटीसँग जोडिएका धेरै सम्झनाहरू छन् । पाटी भत्काएपछि मलाई खानै रुचेन । त्यतिबेला म धेरै रोएँ । ढिलै भए पनि सोह्रखुट्टे सत्तल बन्ने कुराले म धेरै खुसी छु।’ 

स्थानीय दुर्गादेवी गुरुङले पाटीको नामबाटै त्यो ठाउँको नाम सोह्रखुट्टे रहेको बताइन् । उनले भनिन्, ‘पाटीमा १६ ओटा ठुल्ठूला काठको खम्बा थियो । यसलाई पहिल्यै नभत्काउनुपथ्र्याे । विभिन्न कामले काठमाडौं आउनेहरू यहीँ ठाउँमा बिसाएर  खाजा खान्थे, पानी पिउँथे र रात पनि कटाउँथे । नजिकै ढुंगेधारा र पोखरी पनि थियो । उनले भनिन्, ‘यो ठाउँ निकै रमाइलो थियोे । ढिलै भए पनि पाटी बन्ने कुराले खुसी छु।’

स्थानीय घनश्याम श्रेष्ठले भत्काएर केही कुरा पनि पहिलेकै रूपमा बनाउन नसकिने बताए । ‘भत्काएपछि त्यसै नै मौलिक रूप हराएर जान्छ,’ उनले गुनासो गरे, ‘अब सोह्रखुट्टे पाटी कहाँ जस्ताको त्यस्तै बनाउन सकिन्छ र । यो पाटीबाटै ठाउँको नाउँ सोह्रखुट्टे रह्यो । तर, खोई अहिले सोह्रखुट्टे पाटी ?’

यो पाटी एउटा राम्रो स्टेसन जस्तै भएको स्थानीय रामचन्द्र श्रेष्ठले बताए । ‘यहाँ नजिकै इन्डियन आर्मीहरूको पेन्सन क्याम्प थियो । त्यसैले यहाँ मेचीदेखि महाकालीका मान्छेहरू आउँथे र उनीहरू यहाँ एकचोटि नबिसाई जाँदैन थिए । बाल्यकाल बिताएको यो पाटीमाथि अहिले सवारी साधन गुड्दै छ । सरकारले मठमन्दिर र पाटीपौवालाई जोगाउनुपर्ने हो कि मास्नुपर्ने हो! ’

सेभ नेवा भ्याल्ली मुभमेन्टका कोरटिम मेम्बर सुरज महर्जनले  ऐतिहासिक सम्पदा सोह्रखुट्टे सत्तल पुनर्निर्माण कार्यमा चासो दिएको बताए । उनका अनुसार व्यापारीहरूले नेपाल–तिब्बत युद्घमा घाइते भएको भोटु पाँडेलाई काठमाडौंमा ल्याई बचाएको र उनले त्यही गुन तिर्न सोह्रखुट्टे पाटी बनाएका हुन् । उनले भने, ‘त्यसैले यो सत्तल इतिहाससित जोडिएको छ।’ 

वडा अध्यक्ष मुकुन्द रिजालले सत्तल कहाँ र कसरी बनाउने भन्ने विवादले पुनर्निर्माणमा ढिलाइ भएको बताए । ‘जगको ढुंगा हाल्ने काम भएको छ  । काठको काम मात्रै बाँकी छ । असार मसान्तले काम रोकिएको हो,’ उनले भने, ‘सत्तल पुनर्निर्माणका लागि हामीले महानगरपालिका, पुरातत्व विभाग, सडक विभाग र स्थानीयबीच व्यापक छलफल गरेका छौं । सडक विभागको लगानीमा ठेकेदार अनन्त अधिकारीले ३० लाख रूपैयाँमा काम पूरा गर्ने भएको छ।’  

सत्तलमा आधुनिक सामग्री प्रयोग नगर्ने वडा अध्यक्ष रिजालले बताए । ‘पुरानै शैलीमा सत्तल बन्ने भएको छ,’ उनले भने, ‘सम्पदा जोगाउनु हाम्रो दायित्व हो । हामीले कुनै पनि आधुनिक सामग्री प्रयोग नगर्ने निर्णय गरेका छौं।’

पुरातात्व विभागअन्तर्गतको स्मारक संरक्षण शाखाका प्रमुख सन्दीप खनालले दुई सय सात वर्ष पुरानो ऐतिहासिक सत्तल पुरातात्व विभागको ड्रइङ डिजाइनमा पुनर्निर्माण भइरहेको बताए । ‘सत्तल भत्काउने कुरा स्थानीयवासीबाट जानकारी पाएका थियौं,’ उनले भने, ‘हामीले सडक विभागलाई काम रोक्न पत्र पनि पठाएका थियौं । तर, पत्र अनुसार काम–कारबाही भएन।’

 

प्रकाशित: १५ भाद्र २०७५ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App