२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

साढे तीन वर्षमा १ सय ८५ सम्पदा पुनर्निर्माण

भूकम्प गएको ४० महिनाको अवधिमा एक सय ८५ वटा मात्रै  ऐतिहासिक सम्पदा पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले  उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो । भूकम्पबाट २० जिल्लामा १ हजार ५ सय ९५ सम्पदा भत्किएका थिए । तर, भूकम्प गएको  तीन वर्ष चार महिना बितिसक्दा हालसम्म  १ सय ८५ अर्थात (११. ५९) प्रतिशत मात्रै सम्पदा पुनर्निर्माण सम्पन्न भएको हो ।

भूकम्पले ढालेका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण पाँच वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेपनि अपेक्षाकृत ढंगले पुनर्निर्माण हुन सकेको छैन । उपत्यकामा ४ सय ६० वटा सम्पदामा क्षति भएको थियो । तिमध्ये हालसम्म करिब एक सय सम्पदा पुननिर्माण सकिएको छ । काठमाडौं उपत्यकाका महत्वपूर्ण सम्पदामध्ये धरहरा, काष्ठमण्डप, रानीपोखरी लगायतका ४९ वटा सम्पदा पुनर्निर्माणको सुरसारै  गरेको छैन्।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल सम्पदा पुनर्निर्माण निकै खर्चिलो र झन्झटिलो भएकाले गति लिन नसकेको बताउँछन् । ‘सम्पदा निर्माण जनताको घर निर्माण  गरे जस्तो हँुदैन,’ उनले भने,‘ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै काम गर्नुपर्ने हुन्छ । त्यसैले अपेक्षाकृत गति लिन नसकेको हो ।’ चालु आवमा १ सय ५० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विभाग लगायत अन्य बैदेशिक तथा सरोकारवाला संघसंस्थाबाट ४ सय ९४  वटा सम्पदा संरक्षण कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ  ।  ‘आव २०७९/८० सम्म १ हजार १ सय ४ वटा सम्पदा  निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ उनले भने,‘पुरातत्व विभाग, दातृनिकाय, स्थानीय तहलगायतका विभिन्न निकायको सहकार्यमा सम्पदा पुनर्निर्माण भइरहेको छ।’

विश्वसम्पदा क्षेत्रका ४३ सम्पदाको पुनर्निर्माण सकियो
विश्व सम्पदा क्षेत्रमा रहेका ६५ वटा भत्किएका  पुरातात्विक सम्पदामध्ये हालसम्म ४३ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । पुरातत्व विभागले सम्पदा क्षेत्रमा ३२ मध्ये ११ वटाको पुनर्निर्माण सम्पन्न  गरेको जनाएको छ । त्यसै गरी स्थानीय निकाय, विभिन्न संघसंस्थाबाट संरक्षण तथा पुनःनिर्माण कार्य सञ्चालन भएका कार्यक्रम संख्या जम्मा ३३ मध्ये ३२ सम्पन्न भएका छन्। ‘पुरातात्विक सम्पदा पुनर्निर्माणमा दक्ष कालीगढदेखि मौलिक कलाकृति, काठ, माटो, इँटाजस्ता निर्माण सामग्रीको अभावले निर्माणमा समस्या देखिएको छ,’ उनले भने,‘सम्पदा संरक्षणका सम्बन्धमा सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई हालसम्म  पनि उपयुक्त रुपमा सम्वोधन हुने गरी संशोधन नहुँदा अप्ठेरो भइरहेको छ।’

उनका अनुसार सम्पदा निर्माणमा  पिक्यु सिस्टम लागु नहुँदा सम्पदा संरक्षणमा जो काही ठेकेदार कम्पनीको प्रवेशले सम्पदा निर्माणमा असर परेको,  परम्परागत निर्माण सामाग्री सहज रुपमा उपलब्ध हुन नसक्दा संरक्षण तथा पुनःनिर्माण कार्यमा ढिलाइ भएको, सम्पदा संरक्षणका लागि आउने जोकोही ईच्छुक संस्था, दातृनिकायलाई सहज प्रकृयाको निदेर्शिका गर्न नसकेको लगायतका कारणले पुनर्निर्माण कार्यले अपेक्षाकृत लक्ष्य हात पार्न नसकेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा महाशाखाका प्रमुख राजुमान शाक्यले पुरातत्व विभागले ससाना सम्पदा निर्माण गरेपनि ठूला सम्पदा पुननिर्माणमा आलटाल गरिरहेको बताउँछन् ।‘काठमाडौं उपत्यकामा सानातिना सम्पदा निर्माण भइरहेका छन् । तर, रानीपोखरी, काष्ठमण्डप, धराहरा जस्ता ठूला सम्पदाको पुनर्निर्माणको सुरसारै भएको छैन ।’ उनका अनुसार काठमाडौं उपत्यकामा ठूला सम्पदा पुनर्निर्माणमा  सबै निकाय समन्वय गरेर निर्माण गर्नुपर्ने  देखिन्छ।

उपत्यकामा सय सम्पदा पुनर्निर्माण
पुरातत्व विभागका अनुसार काठमाडौं उपत्यकामा रहेका करिब एक सय सम्पदा पुननिर्माण सम्पन्न भएका छन् । काठमाडौं उपत्यकामा रहेका त्रिपुरेश्वर महादेव मन्दिरको चार कुनाको मन्दिर सत्तल संरक्षण, काठमाडौ नागर्जुन नगरपालिकास्थित जमाचोस्थित पाटी , ईचंगुनारायण सत्तल संरक्षण गरिएको छ । त्यस्तै गरी लोंहदेग मन्दिर संरक्षण गर्ने, किर्तिपुर  शरण भस्मेश्वर  महादेव मन्दिर संरक्षण इचंगुनारायण गोकर्णस्थित  सरस्वती १ तथा भिमसेन मन्दिर पुनः निर्माण , ललितुर जिल्लास्थित बज्रबाराही मन्दिर संरक्षण, हनुमानढोकास्थित ताना देवी मन्दिर , साँखुस्थित कृष्ण मन्दिर, खोकनास्थित रुद्रायणी सत्तल. शंखमुलस्थित आगोताप्ने पाटी, कीर्तिपुरस्थित याक फल्चा पुनःनिर्माण,कीर्तिपुरस्थित चिलंचो चैत्यकीर्तिपुरस्थित गुत्पौ पाटी, गोपीनाथ मन्दिर संरक्षण, भक्तपुर दरवार स्वायर, चाँगुनारायण मन्दिर परिसरको सरस्वती मन्दिर ,हनुमानढोका दरवार परिसरमा रहेको तलेजु मन्दिर संरक्षण गर्ने, पुलिस हाउस संरक्षण गर्ने भक्तपुर दरवार स्वायर पुनर्निर्माण गर्ने  काम सम्पन्न भएका छन्।  

ललिपुरको तलेजु र मुलचोकको छाना, मंगलबजार मंगहिटीस्थित सोह्रखुट्टे पाटी ,पाटन दरवार परिसरको सुन्दरीचोकको पूर्वीलंगको संरक्षण, पाटन भिमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, पाटन दरवार अगाडिको योगनरेन्द्र मल्लको शालिक, पाटन मंगलबजारस्थित मन्त्रिमण्डप निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै गरी  काठमाडौंको तलेजु मन्दिरको पश्चिमतर्फको शिव मन्दिर, सरस्वती मन्दिर, कालभैरव तर्फको लक्ष्मीनारायण मन्दिर निर्माण गरिएको छ।

अमेरिकन एम्व्यासडर फन्डबाट २ वटा संरक्षण कार्य सम्पन्न भएका छन् जसमध्ये  हनुमानढोका दरवार परिसरको मोहनकालीचोकको पश्चिमी मोहडा निर्माण एक हो । श्रीलंकन सरकारको सहयोगबाट सञ्चालन गरेको २ वटा कार्यक्रम अन्तर्गत बुंगमतिस्थित रातो मच्छेन्द्रनाथ मन्दिर संरक्षण कार्य भइरहेको छ । स्वयंम्भुको आनन्दकुटी विहारको पुनःनिर्माण कार्य  भएको छ । हनुमानढोका दरबारको लौहचोक निर्माण गरिएको छ । त्यस्तै गरी मियामोतो रिलिफबाट हनुमानढोकास्थित गद्धी बैठकको संरक्षण कार्य सम्पन्न भएको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०७:१० सोमबार

भूकम्प पुनर्निर्माण