आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् – यो ईश्वर वल्लभको आधा शताब्दीपहिले लेखिएको कविता कृतिको नाम हो । यो कविता कृतिले २०२९ सालको मदन पुरस्कार पाएको थियो । वल्लभ नेपाली साहित्यमा कविता र गीतका अतिरिक्त कथा र निबन्धमा पनि कलम चलेका प्रसिद्ध लेखक हुन् । मेरी आमाले आत्माहत्या गरेको देश, यो लामो र चर्चित कविता हो उनको।
आगोका फूलहरूको सिर्जना गर्ने यी कविका गीत कविताहरू भने कोमल छन् । त्यतिकै मर्मस्पर्शी छन् । माया–प्रेम, दुःख वा विरहका कथा व्यथामा मन बहलाउने मलमपट्टी जस्ता लाग्छन्, ईश्वर वल्लभका गीत–कविता।
दुइटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ।
भनिन्छ– लातको भूत, बातदेखि डराउँदैन । त्यसैले कविहरूका कविताको स्वर पनि त्यतिकै सशक्त सुनिन थालेको छ, आजभोलि । मानौं कविहरू कलम होइन धारिलो तरवार नचाइरहेछन् । यथास्थिति, बेथिति र विभेदविरुद्ध तिनको विद्रोह पढ्दा र सुन्दा त यस्तो लाग्छ कलम पनि धारिलो कुनै हतियारभन्दा कम कहाँ छ र?
झापाकी सम्पदा रिजाल, मोरङकी सीमा आभास, धादिङकी सुनिता खनाल, काठमाडौंकी उज्वला महर्जन, दोलखाकी शिक्षा शिवाकोटीलगायत केही नवोदित कवयित्रीहरूका कविता पढेर वा सुनेर यती अनुमान गर्न सकिन्छ– हामी असामान्य अवस्थामा छौं अहिले । मानौं यी कवयित्रीहरू अक्षरका कविता होइन कि धातुका गोला वर्षा वा बमहरू प्रहार गरेर यथास्थितिको जालो भत्काएर नयाँ सृष्टि गर्न आतुर छन्।
‘म स्त्री अर्थात् आइमाई’, सीमा आभासको ३८ कविताहरूको सँगालो हो । मञ्जरी पब्लिकेसनद्वारा २०७३ मा प्रकाशित यो कृति मदन पुरस्कारका लागि सिफारिस ७ मध्ये एक पनि हो।
‘म स्त्री अर्थात् आइमाई’ शीर्षकको कवितामा उनले लेखेकी छन् –
यस सृष्टिको भ्रुण म
कालान्तरदेखि बाँचेकै छु ढुंगा बाँचेझैं
आगोमा पनि हिँडेकै छु समुद्रको डुंगाझैं
सीतालाई पनि डढाउन नसकेको अग्निबीज
निलिनै रहेकी छु बालकले दूध पिएझैं।
कविता संगहभित्र ‘चिमाल हुनुभयो हजुरआमा’, ‘योगमायाको काँचो वायु’, ‘सतीसँग अनुरोध’, ‘भानुभक्तकी आमासित’, ‘बयान’, ‘ऊ केही पनि गर्दिन’लगायत ‘आगो ओकल्ने’ कविताहरू छन् । उनका कविताहरू यथार्थमा आधारित त छन् नै यसका अलावा भविष्यका लागि मार्ग निर्देश वा प्रेरणादायी पनि।
‘योगमायाको काँचो वायु’ शीर्षकको कवितामा उनले हुंकार प्रकट गरेकी छन् । लाग्छ– योगमाया अहिले पनि अरूण किनारमा उभिएर यस युगलाई चुनौती दिइरहेकै छिन् –
ख्याल गर्नु, ती हिजो र आजका
श्री ३ र श्री ५ सँग थाप्ने छैन हत्केला
बरु च्यातिदिन्छु, मलाई थिच्ने यो आकाशको टाङ्ग
मेरो मस्तिष्क गिजोल्नेको भाँचिदिन्छु औंला
बन्द गरिदिन्छु, हल्ला र कोलाहल बोक्ने
यो उच्छृंखल बतासको बाटो
अरूण थुनेर फर्काइदिन्छु उँभोतिर
र, डुबाइदिन्छु यो सभ्यता।
परम्परागत मान्यता र आधुनिक आडम्बरका जरै उखेलेर फाल्ने उद्घोष गर्छन्, सीमाका कविताहरूले । शारीरिक हिसाबले आइमाई र गैह्र आइमाईबीच केही फरक त पक्कै छ । तर, यो फरकको तुलना गरिनु जायज नहुने उनको मान्यता छ। दुवै आ–आफ्ना ठाउँमा विशिष्ठ छन् । हाम्रो धारणा वा उदाहरणहरूले परम्परागत मान्यताका विरोधीहरूले आधुनिक आडम्बरकाप्रति आँखा चिम्लने गरेको देखाएको छ । तर, सीमाका कविताहरूले यी दुवै अतिवादविरुद्ध उतिकै आगो ओकल्छन् । र, हामीले कल्पना गरेको समावेशी समाजको मार्ग चित्र पनि प्रस्तुत गर्छन् ।
बयान, सीमाको यो अदालती बयानका रूपमा प्रस्तुत कविताले पुरुषको सोच र व्यवहारमाथि निर्मम प्रहार गरेको छ । छोटो कविताले सिंगो मानव समाजमा पुरुष प्रवृत्ति र विद्यमान कानुनहरूको खिल्ली उडाएको छ । सीमा लेख्छिन्–
लैजानुहोस् बाटुलो नाइटो उक्काएर
मैले सधैं त्रस्त हुनुपर्ने यो सृष्टिको केन्द्रविन्दु
स्तन, योनी र पाठेघर लैजानुहोस्
लैजानुहोस निधार च्यातेर मेरो अस्तु पनि।
काठमाडौं छिरेपछि स्वयम् काठमाडौं बन्न खोज्छ मान्छे । काठमाडौंप्रति, कविताको यो एक लाइनले नेपाली कविता साहित्यका कवि भूषण अर्थात् कृष्णभूषण बलको काठमाडौं एक्लैले देश बोक्न सक्दैनको निरन्तरता दिएको छ । संयोग पनि यही हो कि यी दुवै कविको कर्म क्षेत्र विराटनगर नै हो।
कविताको स्वाद लिन कविता सुन्नै वा पढ्नैपर्छ । तसर्थ सीमाका कविता पठनीय छन् भन्नु बाहेकको धेरै चर्चा गर्नु अन्य धेरै विज्ञ पाठकहरूको स्वादलाई बिटुल्याउनु मात्र हुनसक्छ । सीमाका गद्य कविता (स्मरणीय छ– गुरू भानुभक्त पोख्रेल भन्नुहुन्थ्यो, कविता गद्यमा हुँदैन । कविता गद्य हो वा पद्य पढ्नै पर्दैन, आँखाले नै थाहा पाउँछ । त्यसैले कविता पद्य नै हो । गुरूको यो दाबीमा मेरो पनि भोट छ ।) हरू समकालीन नेपाली कवितामा देखिएको युगिन चेतनाको संवाहक हुन् । सामाजिक सुधारको लागि गरिएको वकालत वा विद्रोह हो।
सीमाका कविता पढ्दा पढ्दै गर्दा एउटा अर्को पाठकीय भोक पनि थपियो–यी कवयत्रीका यिनै कविताका बारेमा कविताकै क्रममा गद्य पनि पढ्न पाए आहा कति स्वादिलो हुँदो हो त ! कविता लेखन ख्याल ख्यालको लहड वा क्षणिक उतेजना वा आवेग मात्र होइन, यो लामो साधना हो भन्ने यहाँ नाम काडिएका कवयत्रीहरूले बुझ्नु भए सुनमा सुगन्ध । एकमुष्ट शुभकामना सबै नव कवयत्रीहरूलाई।
प्रकाशित: २ भाद्र २०७५ ०२:१८ शनिबार