२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

मासुका लोकप्रिय नेवारी परिकार

सानो गल्ली । गल्ली नजिकै पुरानो घर । घरको ढोकामा झुन्डाइएको थोत्रो पर्दा । यो दृष्य हो पाटनस्थित सुरज नेवारी खाजा घरको । यसका सञ्चालक हुन्, निरज महर्जन ।

निरजले खाजा घर चलाउन थालेको १५ वर्ष भइसक्यो । केही दिनअघि त्यहाँ पुग्दा सञ्चालक महर्जन नेवारी मासुका परिकार बनाउन व्यस्त देखिन्थे । त्यसो त हरेक दिन मासु र माछाका परिकार बनाउनु उनको दिनचर्या नै हो।  

ग्राहकहरू मासुका हरेक परिकारहरू मनपराउने गरेको उनी बताउँछन् । मासु खानेहरूको संख्यामा कमी नआएको उनको भनाइ छ। 

उनको खाजा घर बिहान ९ बजेदेखि राती ८ बजेसम्म खुल्छ । ‘सुरुमा पसल सञ्चालन गर्दा सामान सस्तो थियो, अहिले त निकै महँगो भएको छ,’ उनले भने । नेवारी परिकारमा बफको परिकार विशेष मानिन्छ । यद्यपि, अन्य परिकारका समेत पारखीहरू रहेको उनी बताउँछन् । बच्चादेखि पाका उमेरसम्मका मानिसहरू नेवारी खाजा खान आउने उनी बताउँछन् । टाढा–टाढाबाट पनि ग्राहक नेवारी परिकार खान आउने गरेको उनले बताए। 

पाटन पर्यटकीय हिसावले लोकप्रिय छ । मठ मन्दिर, बस्तीसँगै नेवारी परिकार यहाँका आकर्षण हुन् । पर्यटकहरू मठमन्दिर अवलोकन गर्न मात्र होइन, नेवारी परिकार खान आउने गरेको स्थानीय बताउँछन्। 

भैँसीपाटीका मनयम खड्कालाई नेवारी खाजा निकै मनपर्छ । ‘म हप्ताको तीन पटक नेवारी खाजा खान्छु, त्यसमा पनि पाटनको नेवारी खाजा मलाइ विशेष मनपर्छ,’ उनी भन्छन्, ‘खासमा नेवारी खाजामा मासु हुने भएकाले मन परेको हो।’ 
पुरानो पसलमा पाइने परिकारको स्वाद मनपर्ने उनले बताए । ‘त्यसैले पनि म पुराना खाजा पसलमा खोजी खोजी जान्छु,’ उनले भने । नेवारी खाजा सेट र छोइला खाने गरेको उनले बताए। 

कुमारीपाटीको भित्री गल्लीमा रहेको सानो पुरानो नेवारी खाजाघर १२ वर्षदेखि सञ्चालनमा छ । पुरानो खाजाघरमा कुनै पनि नाम लेखिएको भने छैन । तर, त्यहाँ नेवारी खाजा खान टाढाबाट ग्राहक आउने गरेको व्यापारी मेनुका श्रेष्ठ बताउँछिन् । उनी भन्छन्, ‘अरु समयमा राम्रो व्यापार भए पनि शुक्रबार र शनिबार भने निकै भीड हुने गरेको छ ।’ 
१२ बजेपछि खाजा खान आउनेको भीड लाग्ने गरेको उनी बताउँछिन् । दिउँसो कलेजका विद्यार्थी आउने गरेकोमा साँझ भने सबै उमेरसमूहका ग्राहक आउने उनले बताइन्। 

‘ग्राहकले खाजा मनपराउने गरेको छन्,’ उनले भनिन्, ‘कतिले ‘मिठो छ’ भन्ने प्रतिक्रिया दिन्छन् । ग्राहकको राम्रो प्रतिक्रियाले खुसी बनाउँछ।’ 

मासुका केही नेवारी परिकारहरू 
छोइला 

छोइला नेवारी समुदायमा प्रचलित मासुको परिकार हो । नेवारी समुदायमा बफको धैरै परिकारहरू बनाउने भएकाले बफकै छोइला प्रचलित रहेको महर्जन बताउँछन् । उनका अनुसार छोइला नेवारी भोजमा मात्र नभएर खाजाको रूपमा बढी प्रयोग हुन्छ । नेवारी खाजाको परिकारमा छोइलाको स्वाद पिरो र स्पाइसी हुने गर्छ । नेवारी भाषामा यसलाई ‘हाकु छोइला’ भनिन्छ । पोलेर तयार पारेको छोइला खाँदा मसालेदार स्वाद पाउन सकिन्छ।

सामान्यतया एक प्लेट छोइलाको मूल्य १ सय २० रूपैयाँबाट सुरू हुने महर्जन बताउँछन् । उनी भन्छन्, ‘नेवारी खाजा भन्नेबित्तिकै छोइला अगाडि आउँछ, छोइलालाई नेवारी खाजाको परिकारमध्ये मुख्य परिकारको रूपमा लिने गरिन्छ । पोलेको मासुलाई भुटेको तेलले झानेर तयार पारिने छोइला चिउरासँग खाने गरेको पाइन्छ । छोइलालाई पोलेर र बोइल गरेर तयार पार्न सकिन्छ। 

सपु म्हिचा 
सपु म्हिचा नेवारी मासुको परिकारमा निकै मन पराइने खानाको परिकार हो । मासुको परिकारमा राखिए पनि यो मासीबाट तयार गरिन्छ । बोनम्यारोलाई भैंसीको आन्द्रामा धागोले बाँधेर तयार पारेको परिकारलाई सपु म्हिचा भनिन्छ । सपू म्हिचामा बोनम्यारोको स्वाद लिन सकिन्छ । चिल्लो बढी हुने भएकाले पनि यसको स्वाद अन्य मासुको परिकारभन्दा फरक हुन्छ । सपू म्हिचाको एक पिसको मूल्य ६० रूपैयाँ पर्छ। 

स्वँपुका 
स्वँपुका पनि नेवारी खाजामा निकै परिचित नाम हो । स्वँपुका खसीको फोक्सोलाई फ्राइ गरेर तयार गरिन्छ । खसीको फोक्सोमा थरिथरिका मसला राखी तयार गरिने मिठो परिकार हो स्वँपु । स्वँपुलाई नेवारी खानाको मुख्य मेन्यु मानिन्छ। 

झुकु 
झुकु अर्थात् ब्लडबाट तयार पारिएको परिकार । यसलाई ब्लड ससेस् पनि भनिन्छ । झुकु ससेसलाई तेलमा फ्राई गरेर खान दिइने नेवारी मासुको परिकार हो। 

खाजा पसल सञ्चालक श्रेष्ठ अचेल झुकु कम बनाउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘अन्य मासुको परिकारजस्तै झुकु खाने ग्राहक आउँछन् । तर, पहिलाभन्दा कम बनाउने गरेकी छु । नेवारी भोजमा झुकु अनिवार्य जस्तै हुने उनी बताउँछिन्। 

नेवारी मासुको परिकारमध्ये एक मैन्हं निकै रूचाइएको परिकार हो । पाटनस्थित खाजा घरमा जिब्रो र कानको परिकारको स्वाद चाख्न सकिन्छ। 

भुटन 
भुटन हरेकलाई मनपर्ने मासुको परिकार हो । भुटनलाई खाजाको रूपमा विशेष खाने गरिन्छ । भुटनमा खसी, बफ लगायतको मासुबाट तयार गरिन्छ। 

प्रकाशित: १ भाद्र २०७५ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App