२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

पाटनढोकामा अष्टमातृका

पाटनढोकाको नयाँ तस्बिर जसमा अष्टमातृका प्रतिविम्बित भएको छ ।तस्बिर सौजन्य :रबिन महर्जन

पाटनढोका– कुनै पनि प्रवेशद्वारले भित्रका घर वा समग्र बस्तीको पहिचान दिलाउँछ । ललितपुर महानगरपालिकाको पाटनढोकामा राखिएका मूर्ति र चित्रले चाहिँ नेवार वस्तीको झल्को दिन्छ । 

ढोकाको शिरानमा लोकेश्वरको ढलोट मूर्ति छ भने मुन्तिर कुमार र गणेशका तेराकोटाका मूर्ति । ती दुई मूर्ति भन्दा तल अष्टमातृकाका चित्र छन् । शक्ति पिठका रुपमा पूजिने वैष्णवी, कौमारी, बाराही, रुद्रायणी, महाकाली, इन्द्रायणी, ब्रम्हायणी र महालक्ष्मी नै अष्टमातृका हुन्।    

ढोकाका दुबैतिर लोकेश्वर, गणेश र कुमारका मूर्ति छन् । देवीका चित्र भने दुबैतिर चार–चारवटा बनाइएको छ । बिशेषतः प्राचीन नेवार वस्तीका आठै दिशामा सुरक्षा र शक्तिका लागि अष्टमातृका राख्ने चलन छ । त्यसकै प्रतिबिम्ब पाटनढोकामा झल्काइएको हो ।ढोकाको रेखदेख गर्दै आएको स्थानीय शान्ति युवा क्लबले केही महिना अघि पाटन ढोकालाई नयाँ रुपमा सजाएको छ । स्थापित कलाकार लोक चित्रकारको समूहले महिनौं लगाएर ढोकामा अष्टमातृका, छेपु र मकरका चित्र बनाएका हुन् । त्यस अघि ढोकामा सुगा, आँखा र कलशका चित्र थिए । ती ठाउँमा अष्टमातृका बनाइएको हो।

पाटनढोकाको नयाँ चित्रमा सबैका आँखा टाँसिन्छन् । पहिला ढोकामा सुगा, आँखा र कलशका चित्र थिए, अहिले त्यहाँ अष्टमातृका बनाइएको छ ।

‘स्थानीय बासिन्दा, पुरातत्व एवं संस्कृतिका विज्ञहरु र पाटन संयुक्त क्याम्पसका प्राध्यापकहरुको सल्लाह अनुसार हामीले अष्टमातृकाका चित्र बनाएका हौं’, क्लबका अध्यक्ष शेखर डँगोल भन्छन्, ‘ढोकामा हामीले हाम्रो पहिचान झल्काएका छौं ।’  त्यसो त ढोकाका पुराना चित्र (सुगा, आँखा र कलश) पनि शुभ संकेत हुन् । गृह प्रवेश गर्दा, जंको गर्दा नेवार समुदायका ढोकामा कलश, आँखा र सुगा बनाउने चलन छ । क्लबले नेपाल संवत फेरिने बेला बर्सेनी पाटनढोकामा चित्र बनाउने र रंगाउने गर्दै आएको छ।

यसपाली लामो समय टिक्ने गरी नयाँ चित्र बनाइएको हो । ‘घामपानीमा पनि यी चित्र १० वर्षसम्म टिक्छन्’, चित्रकार भन्छन्, ‘तर, बर्सेनी यसमा रंग टच गर्नु पर्छ । बिग्रेको बनाउँदै जानु पर्छ ।’   उनकै अगुवाइमा रबिन महर्जन, लक्ष्मी शाक्य, हनी श्रेष्ठ, सुमन शाक्य, प्रियंका बज्राचार्य, अनिता महर्जन र सम्राट जोशीले चित्र बनाएका हुन् ।उनीहरुको योगदान अतुलनिय रहेको क्लबले जनाएको छ । ‘आफ्नोपनको मायाले हामी खटेका हौं’, कलाकार रबिन भन्छन्, ‘यसबाट आत्मसंतुष्टि कमाएका छौं।’

हाम्रो पहिचान  
शेखर डंगोल
अध्यक्ष, शान्ति युवा क्लब
प्राचीन नगर रक्षा प्रणालीको झल्को दिने हिसाबले हामीले पाटन ढोकामा अष्ट मातृकाका चित्र बनाएका हौं । यो नेवार बस्तीको पहिचान हो । हाम्रो क्लबले ढोकाको संरक्षण गर्दै आएको छ, हामी निरन्तर यसको संरक्षण गरिरहनेछौं । यसको दिगो संरक्षणको पहल ललितपुर महानगरपालिकाको प्राथमिकतामा पनि पर्नुपर्छ ।    

पाटनढोका ललितपुर महानगरपालिकाका दुई वडा ११ र २० को साँधमा पर्छ । क्लबले विभिन्न संस्था र व्यक्तिको सहयोगमा ९ लाख रुपैयाँ भन्दा बढी खर्चेर ढोकाको रुप फेरेको हो । यो काममा एशियन पेन्ट्सले ९३ हजार रुपैयाँ बराबरको रंग निःशुल्क सहयोग गरेको क्लबले जनाएको छ ।  महानगरपालिकाले बर्सेनी सेतो रंग पोत्न पनि नपुग्ने बजेट दिँदै आएको क्लबको गुनासो छ । ‘पाटनढोकाको दिगो संरक्षण महानगरपालिकाको प्राथमिकतामा पर्नु पर्छ’, क्लबका अध्यक्ष डंगोल भन्छन्, ‘हामीले हाम्रा पुरातात्विक महत्वका सबै सम्पदा जर्गेना गर्नु पर्छ।’  

रातीमा पनि ढोकाको सौन्दर्य बढाउन बिजुली बत्ति राख्ने क्लबको योजना छ । त्यसका लागि उसले सरोकारवालासँग छलफल चलाइरहेको छ ।नेवार समुदायले ढोकालाई भैरबको प्रतिक मान्छ । कलाकार रबिनका अनुसार पाटन ढोकामा पहिला सिँघिनी र व्याँगिनीका मूर्ति पनि थिए । नजिकैको नकबहीःमा बर्सेनी अष्टमातृका सहिती तिनको नाच देखाइन्छ जुन एक सातासम्म चल्छ।  
‘पाटनढोकामा ती मूर्ति पनि स्थापना गर्न सके राम्रो हुन्छ’, उनले काष्ठमण्डपसँग भने, ‘कात्तिक नाच भन्दा अगाडि अष्टमातृका, भैरब, सिंघिनी र व्यागिनी नाच देखाइन्छ ।’  ढोकाको अहिलेको स्वरुप विसं १९९० सालको भुइँचालोपछिको हो । भुइँचालोमा ढोका ढलेपछि पुनः निर्माण गरिएको । क्लब अध्यक्ष डँगोलका अनुसार तिनताका ढोकामा सेतो रंग मात्र पोतिन्थ्यो । नेपाल भाषा आन्दोलन उत्कर्षमा पुगेका बेला ०३१ सालतिर ढोकामा कलश, आँखा र सुगाको चित्र बनाइएको हो ।नेवार पहिचान झल्काएर आन्दोलनमा बल पु¥याइएको थियो त्यतिबेला । आज यो ढोकाले नेवार संस्कृतिको चिनारी पस्किरहेको छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०२:५६ शुक्रबार

पाटनढोकामा अष्टमातृका