रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन्– नाजिर हुसेन । रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई ‘अभिनयको जादुगर’ भनेर टिप्पणीसमेत गर्ने गर्छन् । उनले अभिनय गरेका नाटक ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’, ‘कुरुप हाँस’ रुचाइए । ‘होस्टेल रिटर्न्स’, ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’, ‘राज्जारानी’, ‘तिमीसँग’ आदि फिल्ममा उनको अभिनय छ ।
तपार्इं अभिनेता नबनेको भए के बन्नुहुन्थ्यो ?
सायद म टिचर हुन्थे होला किनभने काठमाडौं आउनु अघि म गाउँ (बारा) कै स्कुलमा पढाउँथे ।
अभिनेता भइसकेपछि के कुरालाई तपार्इंं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
पर्सनल लाइफ त हो नि । पब्लिक फिगर भएकै कारण कहिलेकाहीँ खुलेर प्रस्तुत हुन पाइँदैन, जताततै घुलमिल हुन पाइँदैन ।
तपाईंको पहिलो जागिर र तलब कति थियो ?
टिचिङ गरेर १६ सय पाएको थिएँ ।
जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
मिल्ने भए मेरो आमाको अन्तिम जन्मदिन फेरि मनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । त्यतिबेला एकदमै रमाइलो भएको थियो । मैले आमालाई जबरजस्ती बर्थडे केक काटिदिएको थिएँ । अहिले आमा मसँग हुनुहुन्न, स्वर्गमा बास भैसक्यो ।
मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंंलाई सबैभन्दा बढी मन पर्छ ?
दर्शकलाई रमाइलो गराउन पाइन्छ, खुसी बनाउन पाइन्छ जुन मलाई सबैभन्दा बढी मनपर्छ ।
के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
धेरै फेक मान्छेहरु भेटिँदा चित्त दुख्छ । दोहोरो चरित्र भएको मान्छेहरु बढी भेटिन्छन् । इमानदार मान्छे भेट्न गाह्रो छ यहाँ ।
तपाईंको अगाडि साँच्चिकै भूत प्रकट भयो भने के गर्नुहुन्छ ?
म त एकदमै डरपोक मान्छे हो त्यसैले पक्का भाग्छु ।
कुनै दिन देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
त्यहाँसम्म पुग्ने त मैले सपना पनि देखेको छैन । तर सायद प्रधानमन्त्री भएँ भने सबैभन्दा पहिला देशका सबै जनता खुसी हुने एउटा कुरा पहिल्याउनतिर लाग्थे होला । अनि त्यो पूरा गरेपछि मात्र बाँकी विकासका काममा लाग्थे ।
कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
म स–सानो कुरामा खुसी भइरहेको हुन्छु । लामो समयदेखि भेट नभएको मिल्ने साथी अचानक भेटियो भने खुसी हुन्छु । मनमा जे सोचिरहेको हुन्छ त्यही पूरा भइदियो भने अचाक्ली खुसी लाग्छ । कहिलेकाहीँ यत्तिकै पुस्तक पढिरहँदा पनि रमाइरहेको हुन्छु ।
के देख्दा दुःख लाग्छ ?
मान्छेहरुको गरिबी देख्दा दुःख लाग्छ ।
केटीहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
सुरुसुरुमा त लाज लाग्थ्यो तर अहिले त्यस्तो लाग्दैन । फ्यानहरुले मलाई भन्दा पनि ‘कलाकार नाजिर’लाई मन पराएको भन्ने लाग्छ । त्यसैले ‘आइ लभ यू’ भन्नेलाई ‘आइ लभ यू टु’ भन्दिन्छु ।
तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
म एकदमै घमण्डी छु । केही कुरा मन परेन या केही कुरा चाहियो भने घमण्डी रुप देखा परिहाल्छ । अर्को म भान्सा प्रेमी पनि हो । खान मन लागेको कुरा पकाउन एकदमै जाँगर लाग्छ ।
तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
एकचोटी ठमेलमा हलिउड मुभीको अडिसन थियो तर पाँच मिनेट ढिला हुँदा म त्यहाँ भाग लिन पाइनँ । त्यतिबेला मेरो ‘माथा पञ्चर’ नाटक मञ्चन भइरहेको थियो । मलाई ६ बजेसम्म आइपुग्नु भनिएको थियो । मैले नाटक सकिएपछि ६ बजेर ५ मिनेटमा कल गर्दा ‘टाइम ओभर’ भनियो । एकदमै रुन मन लाग्यो ।
तपार्इंको कमजोरी के हो ?
म मान्छेलाई एकदमै चाँडै विश्वास गर्छु, चाँडै भावुक भइहाल्छु । कहिलेकाहीँ यही कमजोरी भइदिन्छ ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
मभित्रको धैर्यता नै मेरो शक्ति हो । मलाई हतार कहिल्यै हुँदैन ।
आफूलाई नै मन पर्ने आफ्नो बानी ?
देखावटीभन्दा यथार्थमा रमाउने मेरो बानी मलाई मन पर्छ ।
आफ्नो मन नपर्ने बानी ?
कहिलेकाहीँ झनक्क रिसाउँछु जुन राम्रो होइन ।
बिहे कहिले गर्ने त ?
दुलही भेटेको छैन । भेटेपछि गर्ने हो (हाँस्दै)।
हुनेवाला श्रीमती कस्तो होस् भन्ने चाहना छ ?
पर्दामा देखिएको नाजिरलाई भन्दा पनि म रियल नाजिरलाई आत्मसाथ गर्न सक्ने होस् भन्ने लाग्छ ।
नाटक वा फिल्म के गर्दा मज्जा ? किन ?
नाटक गर्दा बढी मज्जा आउँछ । किनभने नाटकले मलाई छुट्टै किसिमको ऊर्जा दिन्छ । आफूले आफूलाई निको पार्न मद्दत गर्छ । अडियन्सको त्यो रिएक्सन, त्यो लाइट, त्यो टिमवर्क ...आइ अलवेज लभ इट !
प्रस्तुति : अनिल यादव
प्रकाशित: १७ असार २०७५ १४:१९ आइतबार