हाम्रो समाजमा सधैं राम्रा कुरा मात्र हुँदैनन्, यहाँ यस्तै एउटा समस्य औंल्याउने प्रयास गरिएको छ । समाजमा हुने नराम्रा घटनाबाट हामीले पाठ सिकी, आउँदा दिनमा त्यस्तो हुनबाट जोगिनु वा जोगाउनु पर्छ ।
अस्ट्रेलियामा राम्रो शिक्षादीक्षा लिएकी वैज्ञानिक बन्न चाहने सुजाता (नाम परिवर्तन)को बिहे अमेरिकामा हुने भयो । नेपालमा रहेको सुजाताको परिवारले अमेरिकामा काम गरिरहेको केटा (रोशन) भन्नेबित्तिकै केही कुरा विचार गरेन । रोशनका कमजोरी सबै ढाकछोप भए । उसको व्यवहार आनीबानी कसैले अध्ययन गरेन । उसको सर्वगुण सम्पन्नता नै अमेरिकामा बस्नु र त्यहाँ काम गर्नु रह्यो । त्यसैले सुजाताको परिवारले दुलाहा पक्षसँग कुरा गर्यो। चाँडै नै कुरा छिनियो र बिहे पनि भयो । त्यसपछि सुजाता र रोशन अमेरिकामै बसोबास थाले ।
नेपालमा ‘म वृत्त’ हुँदैन । आमाबुबाको मार्ग दर्शन, दाजुभाइको अपनत्व, दिदीबहिनी स्नेह आदि धेरै कुराले ‘म वृत्त’ विलिन हुन्छ र ‘हामी वृत्त’मा परिणत हुन्छ । त्यस वृत्तले हाम्रो जीवनमा धेरै प्रभाव पारिरहेको हुन्छ ।
राम्रो शिक्षादीक्षा लिएकी हुनाले सुजाताले चाँडै प्रगति गरिन् । रिसर्च साइन्टिस्टका रुपमा काम गर्न थालिन् । प्रगतिले सधैँ राम्रो गर्छ भन्ने छैन, त्यसले एक किसिमको हानि पनि बोकेर ल्याउँछ । त्यही भइदियो, सुजाताको सन्दर्भमा । रिसर्च साइन्टिस्ट भएका कारण उनले परिवारलाई भनेजस्तो समय दिन सकिनन् । यसबारेमा परिवारमा ठाकठुक पनि भयो होला । काम छोड्न दबाब पनि आयो होला । तर वार्षिक रुपमा राम्रो आम्दानी हुने त्यस्तो काम छोड्नु र बडो दुःखका साथ पढेकै विषयमा काम गर्न पाउनु उनका लागि कम उपलब्धिको कुरा थिएन । त्यसैले उनले काम छाड्न सकिनन् होला ।
पतिपत्नीमा अवश्य पनि भनाभन भएको हुँदो हो । अन्ततः कुरा त्यहाँ मिल्न नसक्दा एक्कै पटकमा पारपाचुकेको खबर सुजाताको माइतीसम्म पुग्यो । रोशन पारपाचुके चाहन्थे, सुजाता पनि रातोदिनको कचकचबाट मुक्त हुन चाहन्थिन् । आखिर कोही किन डिभोर्सजस्तो गम्भीर निर्णयमा पुग्छ ? आखिर किन कोही आफ्ना प्यारा सन्तानसँगको सामीप्य त्यत्तिकै छोड्न चाहन्छ र ?
बिहेको १० वर्षपछि अचानक केटा पक्षले केटी पक्षसँग पारपाचुकेका लागि कुरा अघि बढाएको खबर नेपालस्थित माइतीले पाउँदा परिवारका सबै तीन छक परे । यत्रो वर्षमा कसैले पनि केटा वा केटीबाट दुवै पक्षका बारेमा कुनै नराम्रो कुरा सुनेका थिएनन् । अन्ततः ठूलो बहसपछि केटा र केटी पक्ष पारपाचुकेका लागि तयार भए । एउटा सुन्दर परिवार छिन्नभिन्न भयो ।
अब एक्कैछिन यो घटनालाई नेपालमा राखेर हेरौँ त ! केटा र केटी नेपालको संयुक्त परिवारमा बसेका भए यस्तो हुने सम्भावना कति हुन्थ्यो ? पारपाचुके नै हुँन्थ्यो होला त ? पक्कै पनि यस्तो दुर्घटना हुन पाउँदैनथ्यो होला । केटा र केटीबीच मनमुटाव नै भइहाले पनि सम्हाल्ने, सम्झाउने केटाको परिवारले गथ्र्यो होला । अथवा, केटाको परिवारले नसके केटीको परिवार पनि सम्झाउने र सम्हाल्ने मामिलामा थपिन्थ्यो होला । त्यतिले पनि नभए÷नसके विस्तारित परिवार अर्थात् परिवारभित्रका मावली र अन्य आफन्तसम्मले मिलाउने सक्दो प्रयास गर्थे होलान् ।
१० वर्षसम्म जीवन गुजारेको व्यक्तिसँग किन मन जोडिन सकेन होला त ? किनभने त्यहाँ जोडिदिने व्यक्ति वा परिवारका अन्य सदस्य थिएनन् । त्यहाँ सम्वाद गराइदिने व्यक्ति थिएनन् । समस्याको जरासम्म पुगेर समाधान सुझाइदिने व्यक्ति थिएनन् ।
यहीँनेर हामीलाई परिवार र समाज चाहिने हो । हामीलाई अप्ठेरो पर्दा नै हाम्रो संस्कृति र संस्कार चाहिने हो । ज्यादै अप्ठेरो आनीबानी हुँदा एकअर्कासँग मन नजोडिदा मात्र फरक कुरा हो तर अधिकांश अवस्थामा विदेशमा जोडी वा परिवार टुक्रिनुमा मुख्य कारण सम्वादको अभाव नै हो । एकअर्कामा भएको मनमुटावलाई सामान्यीकरण गरिदिने व्यक्तिको अभावका कारण यस्तो दुर्घटना हुने गर्छ ।
त्यहाँ काममा मान्छे यति मग्न हुन्छ कि ऊ मेसिनजस्तै हुन पुग्छ । यस्तोमा उनीहरु जीवन र जगत्का कुराहरुलाई विभिन्न ‘सेड्स्’मा विश्लेषण गर्न सक्तैनन् । खाली ‘ब्ल्याक एन्ड ह्वाइट’मा मात्र हेर्न खोज्छन् । जीवन सेता वा कालो मात्र हुँदैन, जीवन भनेको सिधा सरल रेखा पनि होइन । परिवार भइसकेपछि एउटा वृहद् वृत्त बन्छ तर विदेशमा आफूलाई मात्र वृत्तमा राख्ने प्रवृत्ति हुन्छ । यस्तो वृत्त अर्थात् ‘म वृत्त’लाई वृहद् बनाउन नसक्दा वा ‘हामीवृत्त’मा ‘म वृत्त’ एकाकार हुन नसक्दा परिवार टुक्रन्छ । ‘हामीवृत्त’को अर्थ एकअर्काको भावना बुझ्ने प्रवृत्ति हो ।
नेपालमा ‘म वृत्त’ हुँदैन । आमाबुबाको मार्ग दर्शन, दाजुभाइको अपनत्व, दिदीबहिनी स्नेह आदि धेरै कुराले ‘म वृत्त’ विलिन हुन्छ र ‘हामी वृत्त’मा परिणत हुन्छ । त्यस वृत्तले हाम्रो जीवनमा धेरै प्रभाव पारिरहेको हुन्छ । मानिस त मानिस हो, ढुङ्गामुडा होइन । उसले माया खोज्छ, स्नेह खोज्छ, इच्छा, आकांक्षा हुन्छन् र त्यसमा साथ खोज्छ अनि दुःख पर्दा भावनात्मक सुरक्षा खोज्छ । यी सबै कुरा विदेशमा पाउन गाह्रो हुन्छ ।
त्यसैले हामी पैसा र विदेश मोहका पछाडि नदौडौँ । काम न काजको घमण्ड छाडौँ । सुजाता नेपालमा भएकी भए सायद उनीहरुको विवाह जोगिन्थ्यो होला । उनीहरुका सन्तानले आफ्ना आमाबाबु दुवै जनाको न्यानोपन पाउँथे होलान् । त्यसैले आफ्ना छोराछोरीलाई विदेशको महŒव बढी नदेखाऊँ । विदेशबाट शैक्षिक योग्यता प्राप्त गरौँ । शिल्प बढाऔँ तर त्यसको प्रयोग स्वदेशमा नै गरौँ । आफ्नै देशमा फर्केर यही माटोको सेवा गरौँ, यहाँ भावना छ, माया छ अनि सुख र दुःखमा साथ दिने परिवार छ । aakriti72@gmail.com
प्रकाशित: १६ जेष्ठ २०७५ ०८:४८ बुधबार