मुलुकका वाणिज्य बैंकहरूको इतिहासमै पहिलो पटक अनुपमा खुन्जेली महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भइन्। निजी क्षेत्रको पछिल्लो वाणिज्य बैंकहरू मध्येको एक मेगाले बिहीबार उनलाई सिइओमा नियुक्त ग-यो। उनी यही बैंकमा करिब चार महिनादेखि कार्यवाहक सिइओका रूपमा कार्यरत थिइन्। मेगा सञ्चालक समितिको बिहीबार बसेको बैठकले खुन्जेलीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनले आइतबारबाट सिइओको जिम्मेवारी सम्हाल्नेछिन्।
‘वाणिज्य बैंकमै पहिलो महिला सिइओ हुँदा उत्साही छु,’ खुन्जेलीले सिइओ नियुक्त भएलगत्तै शुक्रबार नागरिकसँग भनिन्, ‘यसलाई मैले अवसर र चुनौती दुवै तरिकाबाट हेरेकी छु।’ टेलरबाट बैंकिङ करियर सुरु गरेकी खुन्जेलीलाई वाणिज्य बैंकको उच्च पदमा पुग्न २७ वर्ष लाग्यो।
आगामी दिनमा सबै क्षेत्रलाई समेटेर मेगालाई उदाहरणीय बैंकको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताइन्।
सन् १९९१ मा बैंकिङ क्षेत्रमा प्रवेश गरेकी खुन्जेली यस अवधिमा मुलुकका ‘लिडिङ’ बैंकहरूमा काम गर्ने अवसर पाइन्। उनको यात्रा तत्कालीन ग्रिनलेज (हालको स्टान्र्डर्ड चार्टर्ड) बैंकबाट सुरु भयो। त्यहाँ उनले १३ वर्ष काम गरिन्। त्यसपछि नबिल बैंक छिरेकी उनी ६ वर्ष बिताएपछि मेगामा आइपुगिन्। जग हाल्ने बेलादेखि नै सुरु भएको उनको मेगा यात्रा आठ वर्षमा दौडिरहेको छ।
मेगामा उनी तत्कालीन सिइओ अनिल शाहसँगै प्रवेश गरेकी हुन्। यसअघिका सिइओ अनिल शाहले मेगा बैंक छोड्दा खुन्जेली नायब सिइओ (डिसिइओ) पदमा थिइन्।
सन् १९८५ मा सेन्टमेरिजबाट एसएलसी उत्तीर्ण गरेकी खुन्जेलीले भारतको नयाँ दिल्लीको सिएसकेएम पब्लिक स्कुलबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन्। शंकरदेवबाट स्नातक गरेपछि उनको जागिरे जीवन सुरु भएको थियो। एक दशकको जागिरे अनुभवपछि उनले स्नाकोत्तरमा भर्ना भएकी थिइन्। ‘प्रमोसनको बेलामा अध्ययन अनुसारको अंक जोडिने भएपछि एमबिए पनि गर्नुपर्छ भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘मैले जसरी पनि एमबिए सकाउनु पर्छ भनेर सिनामंगलको एस इन्टिच्युट अफ म्यानेजमेन्टमा भर्ना भएँ। ४० वर्षको उमेरमा।’
उनले बैंकिङ करियर सुरु गर्दा जागिर खान धेरै विकल्प थिएन। निजी क्षेत्रका वाणिज्य बैंकहरूमा इन्डोस्वेज, हिमालयन, स्टान्र्डर्ड चार्टर्ड, नबिल बैंक संचालनमा आइसकेका थिए। उनी स्टान्र्डर्ड चार्टर्डमा असिस्टेन्टका रूपमा प्रवेश गरेकी थिइन्।
सुरुका दिनमा उनलाई बैंकसँग परिचित हुन केही संघर्ष गर्नु प¥यो। ‘जागिरको सुरुवातमै ‘पेसिमिस्टिक’ भइसकेकी थिए म त,’ उनले अनुभव सुनाइन्, ‘बढुवा हुन तीन वर्ष लाग्यो। स्थायी हुन १८ महिना।’ त्यतिबेला उनको तलब १ हजार ८ सय थियो।
स्टान्र्डर्ड चार्टर्डमा म्यानेजर तहमा पुगिसकेकी अनुपमा १३ वर्ष काम गरेपछि नबिल बैंकमा पुगिन्। नयाँ बैंकमा केही नयाँ गर्न पाए हुन्थ्यो भन्ने उनको धोको थियो। उनले केही समय नबिल बैंकको कार्य प्रणालीको अध्ययन गरिन्। त्यो बेलासम्म ‘ट्रेजरी युनिट’लाई ‘सपोर्ट युनिट’को रूपमा हेरिँदो रहेछ। उनलाई अध्ययनले सिकाएको थियो ‘ट्रेजेरी म्यानेजमेन्ट’ भनेको ‘इनकम जेनेरेटिङ’ युनिट हो । नबिलमा उनले ‘इनकम जेनेरेटिङ युनिट’ स्थापना गरिन्। उनकै नेतृत्वमा नबिल इन्भेष्ट पनि स्थापना भयो।
नबिलमा ६ वर्ष काम गरेपछि उनी मेगामा आइपुगिन्। उनी मेगा बैंक स्थापना गर्ने क्रममा एक महत्वपूर्ण पदमा आइन्। यस अवधिमा उनले सम्पूर्ण बैंकको संचालन सम्बन्धी कामको अनुभव बटुल्ने अवसर पाइन्। फाइनान्स, एडमिनिस्ट्रेसन, एचआर, शाखाहरूमा काम गर्ने अवसर पाइन्। डिसिइओ भएपछि उनले सम्पूर्ण बैंकिङ सञ्चालन र बिजनेस हेरिन्।
जिम्मेवारी समयमै पूरा गरेकाले बैंकिङ क्षेत्रमा प्रगति गरेको उनको भनाइ छ। ‘बैंक भनेको नम्बरको खेल हो,’ उनी भन्छिन्, ‘यदि तपाईँले राम्रो गर्नु भयो भने राम्रो नम्बर उत्पादन हुन्छ। तपाईँलाई सबैले चिन्छ।’
उच्च पदमा आइपुग्नुमा पहिलो नम्बरमा उनले आफूले काम गर्ने संस्थालाई मान्छिन्। उनी भन्छिन्, ‘तपाईँको व्यक्तिगत सफलताको लागि तपाईँले काम गर्ने संस्था प्रगतिपथमा लम्किरहेको हुनुपर्छ।’ हुन पनि उनलाई त्यस्तै अवसर मिल्दै आएको छ। उनले जुन बैंकमा काम गर्दै आइन्, ति सबै सफल भएका छन्। उनले काम गरेका स्टान्र्डर्ड चार्टर्ड र नबिल सफल बैंक हुन्। मेगालाई पनि ‘नम्बर एक’ बनाउने उनको धोको छ। मेगा बैंकले उक्त बाटोमा लम्किरहेको उनले बताइन्।
‘मेगा बैंकको फाइनान्सियल हेल्थ राम्रो छ,’ उनी भन्छिन्, ‘टुरिजम डेभलपमेन्ट बैंक आउँदै छ। त्यसपछि हामी टप तीन क्यापिटलाइज बैंकभित्र आउँछौं।’ टुरिजम डेभलपमेन्ट बैंक आएपछि मेगाको पूँजी १० अर्बभन्दा माथि जाने खुन्जेलीले बताइन्। मेगा क्यापिटल खोल्न लाइसेन्स दर्ता गरिसकेको उनले जानकारी गराइन्।
कामप्रतिको प्रतिबद्धतालाई उनी सफलताको अर्को महत्वपूर्ण सूचांक मान्छिन्। संस्थाको लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धतामा अडिग रहेर काम गर्ने हो भने सधै अगाडि बढ्न सकिने उनको विश्वास छ। उनको भनाइमा प्रतिवद्धताभित्र लगाव, यथेष्ट समय, इमान्दारितालगायत हुनुपर्छ।
बैंकमा काम गर्नेले धेरै समय दिनुपर्छ। मेहनत निरन्तर चाहिन्छ। ‘म म्यानेजर, डिसिइओ वा सिइओ हुँ भन्दैमा आनन्द भएर बसेर हुँदैन,’ उनको भनाई छ, ‘प्रत्येक पलमा चुनौती छ। एभ्री टाइम यु आर टेस्टेड फ्रम त मार्केट एन्ड अर्गानाइजेसन्।’ अर्थात तपाईंलाई सधैं बजार र संस्थाले परीक्षण गरिरहेको हुन्छ।
बैंकलाई उनले ‘रकेट साइन्स’ त भन्दिनन्। तर, देशको वित्तीय अवस्था हेर्दा यहाँ गर्न सकिने प्रशस्त ठाउँ देखेकी छन्। ‘सेकेन्डरी मार्केट, क्यापिटल मार्केट त हाम्रो देशमा विकास नै भएको छैन। बन्डको ट्रेडिङ नै हुँदैन यहाँ,’ उनी थप्छिन्।
यी सबै हुँदाहुँदै पनि पारिवारिक सहयोगलाई उनले सबैभन्दा माथि राखेकी छन्। उनका अनुसार कुनै पनि पेशामा कहिँ न कतै ‘कम्प्रमाइज’ गर्नै पर्छ। त्यो ‘कम्प्रमाइज’ भनेको परिवारसँग जोडिन पुग्छ । ‘परिवारले सहयोग गरेन भने संस्थालाई समय दिन सकिँदैन,’ उनले भनिन्, ‘यस्तो अवस्थमा आफ्ना कमिटमेन्ट पूरा गर्न सकिँदैन।’ कुनै पनि क्षेत्रमा प्रगति गर्नका लागि परिवारको सहयोग एक ‘ब्याकबोन’ ठान्छिन् उनी।
मुलुकभर सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २७ वटाका प्रमुख कार्यकारी अधिकृत पुरुष छन्। त्यही भीडमा उनी सिइओको रुपमा प्रवेश गरिसकेकी छन्। उनलाई यस माहोलमा काम गर्न कुनै अप्ठ्यारो महसुस भएको छैन।
बैंकिङ क्षेत्रमा २७ वर्ष बिताइसकेकाले पनि यो माहोलमा उनी राम्रोसँग परिचित छिन्। उनले पहिलेदेखि काम गर्दाका साथीहरू नै हालका विभिन्न बैंकका सिइओ छन्। ‘चिनेको माहोल छ,’ उनी भन्छिन्, ‘विभिन्न बैंकमा भएका सिइओहरू मसँगै काम गरेका हुनुहुन्छ।’
उनले महिलाहरूका लागि बैंक एक उपयुक्त पेशा भएको बताउँछिन्। ‘फ्रन्ट डेक्स’मा प्रायः महिलाहरू नै देखिन्छन्। उनलाई अनुभव छ, महिलाले ग्राहकको विश्वास जित्न सक्छन्। ‘बैंक विश्वासको खेती गर्ने ठाउँ हो,’ उनले भनिन्, ‘स्वास्नी मान्छे तुलनात्मक रूपमा स्वच्छ छन्।’
प्रकाशित: १ वैशाख २०७५ ०२:१२ शनिबार