९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सञ्जालभर अप्रिल फुल

‘भर्खरै प्राप्त समाचारअनुसार पश्चिमी सागरमा सिर्जित न्यून चापका कारण आज राति नेपालभर ठूलो वर्षाको सम्भावना । साथै, काठमाडौंलगायत केही पहाडी जिल्लामा केही हिमपातको सम्भावना।’

समीरमणि दीक्षितको आइतबारको ट्विट हो यो । दीक्षितजस्तै अन्य ट्विटर प्रयोगकर्ताले पनि आइतबार यस्तै–यस्तै खालका आकस्मिक र अनपेक्षित खालका ट्विट गरे ।आइतबार, अंग्रेजी महिनाको अप्रिल १ तारिख अर्थात् अप्रिल फुल्स डे ।

अप्रिल फुलको दिन आइतबार सामाजिक सञ्जालमा ह्यासट्याग अप्रिल फुल्स डे चलिरह्यो । संसारभर यो ह्यासट्याग प्रयोग गरेर ट्विट पोस्ट गर्ने हजारौँ भए । ट्विटरमा मात्र नभएर फेसबुकबाट पनि मान्छेले एक–अर्कालाई झुक्याउन कुनै कसर बाँकी राखेनन् । कोही युरोप, कोही अमेरिका पुगेको भन्दै फेसबुकमा चेक इन गरे भने कसैले कुनै ठूलै उपलब्धि हासिल गरेको भन्दै ट्विट गरे।

कलाकार केकी अधिकारीको आगामी महिना रिलिज हुन लागेको चलचित्र कोहलपुर एक्सप्रेसलाई विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेसीको मेसी फाउन्डेसनले प्रवद्र्धन गर्न लागेको खबर पनि ट्विटरबाट फैलियो।

‘केकी र मेसीबीच यस्तो सम्झौता...’ भन्ने समाचार सेयर गर्दै अधिकारीले ट्विट गरिन्, ‘मेसी फाउन्डेसन र संलग्न सबैलाई धन्यवाद ।’अर्का कलाकार मनोज गजुरेलले ट्विटर र फेसबुकमा सीताराम कट्टेल अर्थात् धुर्मुसलाई केपी ओलीले पुनर्निर्माण मन्त्री बनाउन लागेको भन्दै समाचार पोस्ट गरे । ‘भारतबाट फर्किएपछि झन्डा हल्लाउने व्यवस्था गर्नेछु’ भनेर प्रधानमन्त्रीले भनेको कुरालाई पोस्ट गर्दै उनले विभिन्न नेता र कलाकारको भनाइ समेटेर समाचार पनि पोस्ट गरे।

अप्रिल फुल अर्थात् मुर्ख दिवस संसारभर एक–अर्कालाई झुक्याउने दिनका रूपमा लिइन्छ । पत्याउने खालका कथा बनाएर र भ्रम फैलाएर केही क्षणका लागि हाँसो र मनोरञ्जनका लागि यो दिवस युरोपियन र अमेरिकी मुलुकमा मनाइन्छ । विभिन्न मुलुकमा केही पत्रपत्रिका र अनलाइन मिडियाले पनि यो दिनमा केही भ्रामक समाचार पोस्ट गरेर पाठकलाई झुक्याउने गर्छन् र समाचारको अन्तमा ह्याप्पी अप्रिल फूल लेख्छन्।

यो दिवस संसारभर १९औँ शताब्दीदेखि चर्चित छ । भारतमा पनि अप्रिल फुलको दिन सिनेमा र चर्चित साहित्यमा पनि झुक्याइन्छ । त्यस्तै, नेपालमा पनि यो दिनमा झुट बोल्ने, मानिसलाई झुक्याउने गरिन्छ र यसैअनुसार सामाजिक सञ्जालमा पनि अप्रिल फुलका दिन मानिसलाई झुक्याउने खालका पोस्ट पर्याप्त मात्रामा देखिन्छन्।

प्रकाशित: १९ चैत्र २०७४ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App