नागरिक परिवारकाे ‘कभर’का लागि अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसीको फोटो सुट गर्नु थियो । बुबालाई सुटका लागि ड्रेस छान्न सघाउन आएका अनमोललाई बुबा भुवन केसीले प्रश्न गरे, ‘तैँले के–के लगाउने भइस् ?’ जवाफमा अनमोलले भने, ‘तपाईँ आफूलाई दामी देख्ने लुगा लगाउनु न !’ छोराको प्रेमले पुलकित भएका भुवनले भने, ‘म त दामी लुगा लगाइहाल्छु नि ! तर तँ मभन्दा दामी देखिन पर्यो !’
अघिल्लो पुस्ताका स्टार भुवन केसी र अहिलेका पुस्ताका स्टार अनमोल केसीको यही कुराकानीले दुवैको सम्बन्धको गहिराई बताउँछ । जसरी एउटा सानो फोटो सुटका लागि दुवै एक–अर्कालाई राम्रो देखिऊन् भन्न चाहान्थे, तपाईंहरू नै कल्पना गर्नुस्, बाँकी कुरामा कसरी उनीहरू एकअर्कालाई प्रेरित गर्छन् । अनमोल आफ्ना बुबालाई राम्रो देखिन उत्प्रेरित गरिरहेका थिए भने भुवनको इच्छा थियो, अनमोल आफूभन्दा राम्रो देखियोस् । जब बाबुआमा सन्तानका लागि सजिलै हार्न तयार हुन्छन्, त्यहाँ बुझ्न पर्छ, सन्तान र आमाबुबाको सम्बन्धमा हार्दिकता छ । दुवैको सम्बन्धले ‘इगो’ पचाइसकेको छ र दुवैको बीचमा ‘प्लेटोनिक’ सम्बन्ध मात्र बाँकी छ– पिता भुवन केसी र पुत्र अनमोल केसीको जस्तो ।
एउटा म्यानमा दुइटा तरबार अटाउँदैनन् तर एउटै घरमा दुई फिल्म स्टार मज्जाले अटाउँछन् । भुवन केसी र अनमोल केसी यसको सबैभन्दा पुख्ता उदाहरण हो । ५० वर्षे लामो नेपाली फिल्मको इतिहासमा एउटै घरमा दुइटा ‘स्टार’ जन्मिएको पहिलो उदाहरण हो । त्यसो त फिल्मसँग जोडिएका थुप्रै व्यक्तिको दोस्रो पुस्ता नेपाली फिल्ममा सक्रिय छ तर अनमोल केसीको जुन उचाई छ, त्यो त्यसको छेउछाउमा कुनै पनि कलाकारको दोस्रो पुस्ता पुग्न सकेको छैन । भुवन केसीले आफ्नो समयमा जति लोकप्रियता र चर्चा कमाएका थिए, अनमोल त्यो मामलामा पिताभन्दा कैयौं गुना अगाडि छन् ।
एउटा म्यानमा दुइटा तरबार अटाउँदैनन् तर एउटै घरमा दुई फिल्म स्टार मज्जाले अटाउँछन् । भुवन केसी र अनमोल केसी यसको सबैभन्दा पुख्ता उदाहरण हो । ५० वर्षे लामो नेपाली फिल्मको इतिहासमा एउटै घरमा दुइटा स्टार जन्मिएको पहिलो उदाहरण हो ।
पिता–पुत्र प्रेम
अनमोल सायद ५ वर्षका थिए । सानोमा अलि धेरै चकचके र बदमास हुनु स्वाभाविक थियो । भुवन केसी सिनामंगलमा सगोलको घरमा बस्थे । एक दिन अनमोल रुँदै भुवनअगाडि हाजिर भए । जब भुवनले रुनुको कारण सोधे, उनले हजुरबुबाले कुटेको बताए । अनमोलको आँशुले उनलाई यति द्रवित तुल्यायो कि त्यसको केही दिनमै भुवन केसीले धुम्बाराहीमा घर किनेर बेग्लै बस्न थाले ।
‘उसको हजुरबाले उसलाई चकचक गरेकै कारण पिटेका थिए जुन नाजायज थिएन तर मलाई उसको आँशुले यति पिरोल्यो कि मैले सगोलमा नबस्ने निर्णय गरेँ,’ हाल अनमोलसँग सिनामंगलमा बस्दै आएका भुवनले पुत्रप्रेमको सानो किस्सा सुनाए, ‘त्यसयता हामी निरन्तर सुखका दिनमा होस् वा दुःखका दिनमा सँगै बस्दै आएका छौँ ।’ भुवनसँग यस्ता धेरै किस्सा छन् दुनियाँलाई सुनाउन तर भुवनले आफैं नभने पनि अनमोलको सफलताले देखाइसकेको छ, उनको पुत्रप्रेम नै हो जसले अनमोललाई ‘अभूतपूर्व लोकप्रिय कलाकार’को श्रेणीमा उभ्याउन सफल भएको छ ।
अनमोल ५ वर्षको हुँदा दुवैको जिन्दगीमा यस्तो मोड आयो, जहाँ अनमोलले आमाको साथ छाड्न पर्ने दिन आयो र भुवन केसीले श्रीमती । भुवन केसी र सुष्मिता बमजनबीच पारपाचुके हुँदाका बखत अनमोल ५ वर्षका मात्र थिए । जब अदालतमा बच्चा कसले राख्ने भन्ने प्रश्न उठ्यो, आमा सुष्मिताले बच्चा बाबुसँग रहोस् भनेपछि ५ वर्षको उमेरदेखि बाबु छोरासँग बस्न थाले । धर्मराउँदो करिअर बीचैमा टुटेको परिवार र दिक्दारीका बीच भुवन र अनमोलसँगै हुर्किए । ‘यो समयमा अनमोल मात्र हुर्किएन, म पनि आफूलाई हुर्किएको महसुस गरिरहेको थिएँ किनभने हिजोका दिनमा म बुबा मात्र थिएँ, त्यसयता आमाको पनि कर्तव्य निर्वाह गरेँ । मलाई थाहा छ, कुनै पनि बुबाले आमाको ठाउँ लिन सक्दैन । तर मलाई लाग्छ, मैले त्यो प्रयास कहिल्यै छाडिनँ,’ भुवनले भने, ‘आज अनमोल ठूलो स्टार भएको छ तर मेरो बाबु र आमा दुवै बन्ने जिम्मेवारी सकिएको छैन ।’
भुवनका जेठी श्रीमती विजयाबाट पनि दुई सन्तान छन्, विवेक र काजल । काजलको नाममा त भुवनले फिल्म निर्माण कम्पनी नै बनाएका छन् । भुवनलाई माया त तीन जना सन्तानको उत्तिकै लाग्छ तर तराजुमा जोख्ने हो भने थोरै बढी माया अनमोलको लाग्छ । ‘किनभने विवेक र काजल उनीहरूकी आमा (विजया)सँग हुर्के,’ उनले भने, ‘अनमोलले सधैँ त्यो ममता पाएन । यसका लागि म पनि जिम्मेवार हुँला तर यही कारण उसको अलि बढी चिन्ता लाग्छ ।’
भुवन अनमोलको यत्ति चिन्ता गर्छन् कि ‘पोजेसिभ फादर’को उपमा दिन प¥यो भने निर्धक्क उनको नाम सबैभन्दा अगाडि आउँछ । फिल्म खेलिरहेको बखत होस् वा खाली समय, भुवनको ध्यान अनमोलको ब्रान्डिङ गर्नमा खर्च भइरहेको हुन्छ । अनमोलप्रति भुवनको चिन्ता देखेर केही समयअघि एक फिल्मकर्मीले फेसबुकमा लेखेकै थिइन्, ‘छोराका लागि यति धेरै चिन्तित पिता अर्को कोही देखेकै थिइनँ ।’
अनमोलको नजरबाट पनि पिताको यो मिहिनेत लुकेको छैन । त्यसैले आज पनि कुनै कुराको निर्णय गर्नुअघि अनमोलले पितासँग सुझाव लिन्छन् ।
‘समग्रमा मेरो फिल्म यात्रा ३५ वर्षको हो,’ उनले विद्वत् टिप्पणी गरे, ‘बाबाको ३० वर्ष र मेरो ५ वर्ष ।’ यही कारण अनमोलले पिता भुवन केसीबाटै फिल्मको गुण अवगुण परख गर्ने र फेसनका मामलामा स्टाइलिस हुने गुण ग्रहण गरेका छन् । अनमोल स्वयंलाई पनि यसको हेक्का छ । ‘धेरैले मेरो फेसन सेन्सको पनि तारिफ गर्ने गर्नुभएको छ । यसको पनि क्रेडिट बाबालाई नै जान्छ । १४–१५ वर्षको उमेरदेखि नै मैले बाबाको लुगा लगाउँथे । १० वर्षको उमेरमा नै मैले १०–१५ वटा देश घुमिसकेको थिएँ । मलाई एयरपोर्टमा कसरी हिँड्नेदेखि फिल्म नखेल्दै पनि कसरी अन्तर्वार्ता दिने भनेर सिकाउनु हुन्थ्यो । त्यसैले अनमोल ५ वर्षमा मात्र बनेको होइन । बाबाको वर्ष पनि यसमा जोडिन्छ ।’
भुवन केसीले लामो समय लगाएर जुन लोकप्रियता हासिल गरे, त्यसको तुलनामा अनमोलको लोकप्रियता आश्चर्यजनक हो । डेढ लाख पारिश्रमिक लिएर फिल्ममा काम गर्न सुरु गरेका अनमोलको पारिश्रमिक पाँच वर्षकै अन्तरालमा ५० लाख पुगेको छ । यति मात्र होइन, उनको क्रेज पनि उसैगरी अकासिएको छ । भुवन अनमोलको यस्तो लोकप्रियतामा अनमोलकै हात रहेको बताउँछन् ।
‘मैले मेरो जीवनमा थुप्रै गल्तीहरू गरेँ,’ भुवन आत्मालोचना गर्छन्, ‘जब अनमोलले फिल्म खेल्ने निर्णय ग¥यो, त्यो बेला मैले एउटा कुरा भनेको थिएँ । असल मान्छे त्यो हो, जसले आफ्नो गल्तीबाट सिक्छ, बुद्धिमान व्यक्ति त्यो हो, जसले लडिसकेकाबाट सिक्छ । उसलाई केवल एउटा कुरा भनेको थिएँ– मलाई हेर, मैले जे–जे गल्ती गरेँ त्यो नगर, तँलाई स्टार बन्नबाट कसैले रोक्न सक्दैन । यो अवस्थामा मान्छे बिग्रने भनेको पैसाको लोभले हो । अनमोलको अहिलेको सबैभन्दा ठूलो गुण यही हो, उसलाई पैसाको पर्वाह छैन । पैसाका लागि न उसले फिल्म खेल्छ न कुनै ब्रान्ड इन्डोर्समेन्ट गर्छ । त्यसैले मलाई ऊ लामो रेसको घोडा हो जस्तो लाग्छ ।’
बाबु–छोराको आदर्श सम्बन्धको छनक पर्दा बाहिरको जीवनमा पनि देखिन्छ । त्यो भनेको दुवैको व्यक्तिगत जीवन प्रतिको सम्मान हो । अनमोलले पनि बाबुको व्यक्तिगत जीवनका निणर्यलाई हार्दिकताका साथ स्वीकार्ने गरेका छन् भने भुवनले पनि छोराको व्यक्तिगत निर्णयमा कहिलै पनि दख्खल दिँदैनन् । त्यसैले पनि भुवन र अनमोलको सम्बन्ध बाबु छोराको मात्र छैन, एउटा असल साथीको पनि छ । बाबुको मर्म छोरोले बुझेको छ र छोराको मर्म बाबुले ।
अनमोलको फिल्म यात्रा
अनमोलको स्कुलको सर्टिफिकेट हेरेपछि भुवन केसीले सधैँ अनमोललाई दाजु विवेकसँग तुलना गरेर गाली गर्ने गरेका थिए । दार्जिलिङको नर्थ प्वाइन्टमा पढेका विवेक जिल्लाभरिमा सबैभन्दा राम्रो अंक ल्याएर दुर्लभ ‘ह्वाइट कोट’ पाउने विद्यार्थी थिए तर विवेकको तुलनामा अनमोल पढाइमा कमजोर थिए । अनमोलको स्कुले सर्टिफिकेटको अंक देखेपछि भुवन अनमोललाई सधैँ भन्थे, ‘हेर, तेरो दाजु विवेक पढाइमा यस्तो थियो । तर तँ ?’ सधैंको कचकचबाट वाक्क भएका अनमोलले एक दिन सोधे, ‘बाबा मैले के गरँे भने विवेक दादालाई जित्छु ।’ कहीँ न कहीँ भित्री मनमा अनमोल अभिनयमा आएर आफ्नो विरासत थेगे हुन्थ्यो भन्ने सोचेका भुवनले अनमोलको प्रश्नमा भनेका थिए, ‘तँ फिल्म खेलेर टपको हिरो भइस् भने बल्ल तैँले विवेकलाई जित्छस् ।’ ‘त्यसो भए म हिरो हुन्छु,’ अनमोलको जवाफ थियो । करिब १३–१४ वर्षको उमेरमा भएको बाबु–छोराको वार्तालाप छोटो समयमै यथार्थमा प्रमाणित भयो ।
नेपाली फिल्ममा अनमोलको यात्रा ‘एक्सटेन्डेड क्यामियो’को रुपमा पिता भुवन केसीले नै निर्माण गरेको फिल्म ‘साथी म तिम्रो’बाट सुरु भएको थियो । कक्षा ९ मा पढिरहेका अनमोल त्यतिबेला त्यो अफर पाउँदा दंगदास थिए । ‘कन्सर्टमा गीत गाउने भूमिका थियो, जुन मेरो वास्तविक जीवनसँग नजिक थियो,’ अनमोलले भूमिकालाई लिएर उत्साहित हुने कारण बताए, ‘स्कुलमा हाम्रो सांगीतिक ब्यान्ड थियो र त्यसमा म लिड भोकलिस्ट थिएँ । यही कारण पनि यो फिल्ममा क्यामियो गर्न उत्साहित भएको थिएँ ।’
अनमोल अहिलेको स्टारडम हेर्दा उनले पहिलेदेखि यो क्षेत्रमा आउन तयारी गरिरहे जस्तो लाग्छ तर भुवन र अनमोल दुवैले अनमोलको फिल्म यात्राका बारेमा गहिरिएर सोचेका थिएनन् ।
‘हरेक आमा–बुबालाई आफूले जे पेसा अँगाल्यो त्यही पेसा छोराले पनि अपनाओस् भन्ने चाहना हुन्छ तर मैले अनमोललाई कहिलै पनि अभिनयमा आउन फोर्स गरिनँ । तर, पछि उसको रुचि फिल्मतिर बढ्यो भने कोरा नलागोस् भनेर थाहै नपाई उसलाई यो क्षेत्रमा आउनलाई चाहिने कुरा सिकाउने गरेको थिएँ,’ भुवनले भने । अनमोल अभिनयमा आउन सक्छ भन्ने लागेर नै सानो छँदा नै पाँच पटक कपाल मुडुलो बनाइदिएको भुवनले बताए । योसँगै उनले अनमोललाई स्विमिङ, हर्स राइडिङ आदि कुरामा पोख्त पारेका थिए । अनमोल भने आफू ‘एक्सिडेन्टली’ फिल्म उद्योगमा आएको बताउँछन् ।
‘खासमा मलाई ६ वर्षको उमेरसम्म पनि बाबा कलाकार हो भन्ने थाहा थिएन,’ अनमोल भन्छन्, ‘बाबा–ममी दुवै जना फिल्म क्षेत्रको भएकाले सँगै फिल्म हेर्न लैजानु हुन्थ्यो । त्यो बेला फिल्ममा बाबाले कुटाई खाएको र मरेको देख्दा दुःख लाग्थ्यो । बाबाले अरु हिरोइनसँग नाचेको देखेपछि अरे यो त मेरो ममी होइन त भन्ने लाग्थ्यो ! पछि स्कुलमा साथी तथा टिचरले भुवन केसीको छोरा भनेर ‘स्पेसल ट्रिट’ गरेपछि बल्ल फिल्मको बारेमा थाहा पाएको हुँ । अलि धेरै बुझ्ने भएपछि पनि मेरो रुचि अभिनयमा भन्दा गायनमा थियो । बाबाले पनि गायनबाटै अभिनय करिअर सुरु गरेकाले मलाई पनि संगीतमै केही गर्न सक्छु कि जस्तो लागेको थियो ।’
अनमोलले सन् २००७ मा स्कुले साथीहरूसँग मिलेर ‘एमटिओ सेभेन’ शीर्षकको सांगीतिक ब्यान्ड खोलेका थिए, जसमा अनमोलले रिदम गितार र लिड भोकलिस्टको जिम्मेवारी लिएका थिए ।
प्लस टु नसकिँदै हेमराज बिसी र सुनिल रावल ‘होस्टल’ फिल्मको अफर लिएर आए । सायदबाट निर्देशक नारायण पुरीका छोरा संयम पुरीलाई डेब्यु गराएका सुनिल रावल दोस्रो फिल्ममा पनि कुनै स्टार–किडलाई लन्च गर्न चाहन्थे । अनमोलको बारेमा सुनेका रावल अनमोललाई लन्च गर्ने सुरमा निर्देशक बिसीलाई समेत लिएर घरसम्म पुगेका थिए । भुवन केसी अहिले पनि अनमोललाई फिल्मको अफर लिएर आउनेलाई सकभर अनमोललाई नै कथा सुनाएर कन्भिन्स गर्न भन्छन् । ‘होस्टल’को कथा लिएर आएका हेमराज र सुनिललाई पनि भुवनले अनमोलले चित्त बुझेर गर्छु भन्यो भने मलाई आपत्ति छैन भनेपछि दुवैले अनमोललाई कथा सुनाए । सारा जीवन एउटा होस्टलदेखि अर्को होस्टल चहार्दै बसेका अनमोलाई फिल्मको कथाले पहिलो भेटमै लोभ्यायो । उनले ‘होस्टल’बाट डेब्यु गर्ने निर्णय गरे । फिल्ममा थप दुई कलाकार, टीका पहारी र शोभित बस्नेतका छोरा गौरव पहारी र सलोन बस्नेत पनि थिए तर जब फिल्म रिलिज भयो, चर्चा अनमोलको मात्र भयो । त्यसयता उनले एक फिल्मपछि अर्को सफलता चुम्दै गए । ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, हुँदै ‘कृ’सम्म आइपुग्दा उनको लोकप्रियता कल्पनातीत बनेको छ । उनलाई फिल्ममा लिनेदेखि फिल्ममा हेर्न चाहनेसम्मको भिड पत्याइनसक्नु छ तर धेरैलाई थाहा छैन, ‘होस्टल’ खेलेसँगै उनले नेपाली फिल्मबाट छोरालाई अलग्याउने निर्णय भुवनले लिइसकेका थिए । यो मोडमा आएर भने पिता केसीले हस्तक्षेप गरेको अनमोल सम्झन्छन् । ‘मलाई मेरा फिल्मले कति कमाए भन्ने आज पनि राम्ररी थाहा हुन्न, मेरो सूचनाको स्रोत बाबा नै हो । होस्टल राम्रो भयो भन्ने सुनेको थिएँ तर त्यसका बावजुद पनि नढाँटीभन्दा मलाई नेपाली फिल्ममा भविष्य सुरक्षित हुन्छ जस्तो लागेको थिएन । म फेरि पढाइलाई निरन्तरता दिन चाहन्थेँ तर बाबाले मलाई तेरो भविष्य नेपाली फिल्ममै छ भनेर कन्भिन्स गर्नु भयो ।’
सामाजिक संरचना अनुसार नेपालमा सर्टिफिकेटलाई नै प्राथमिकतामा राखिन्छ । पिता भुवनलाई पनि छोराले पहिला पढाइ नै सकाओस् अनि रुचिको काम गरोस् भन्ने थियो तर तुलनात्मक रुपमा अनमोलको पढाइ कमजोर रहेकाले उनले थाहा नपाउने गरी फिल्म क्षेत्रका लागि अनमोललाई तयार गरिरहेका थिए । जब पहिलो फिल्म हिट भएर बजारमा अनमोलको चर्चा सुने, भुवनलाई भने अनमोलको गन्तव्य फिल्म नै हो भन्ने थाहा पाउन समय लागेन । ट्युसन गरेर पढाइलाई जारी राख्छु भन्न आएका अनमोललाई भुवनले सम्झाए, ‘तैँले पढेर खाँदैनस् भन्ने मलाई थाहा भइसक्यो । तँलाई भगवानले रुप–रङ दिएका छन् । यसलाई उपयोग गर् । फिल्ममा तँलाई दर्शकले रुचाउनु भएको छ, यसैमा राम्रो गर्ने प्रयास गर ।’ तर योभन्दा अगाडि नै अनमोललाई भुवनले एउटा सत्य बताइदिएका थिए, जसले उनको मनमा आफ्नो गन्तव्य कहीँ न कहीँ फिल्म नै भन्ने लागेको थियो ।
पढाइ कि अभिनय भन्ने दुई अवसरमध्ये अनमोलले पनि फिल्ममै भविष्य बनाउनु ठीक सम्झिएका थिए । त्यसयताको कहानी सबैलाई थाहा छ ।
सफलताको रहस्य
अनमोलको अकल्पनीय सफलताका पछाडि उनका हिट फिल्मको मात्र योगदान छैन, उनको गुणी व्यवहारको पनि उत्तिकै भूमिका छ । उनलाई भेट्ने जो कोही पनि उनको भद्रता र नम्र व्यवहारको प्रशंसक नभइरहन सक्दैन ।
‘सफलतालाई उसले आफ्नो टाउकोमा चढ्न दिएको छैन,’ भुवन भन्छन्, ‘अरुका बारेमा कुरा नगर्ने उसको बानी मलाई अचम्मले राम्रो लाग्छ । दुश्मनको पनि कुरा काट्दैन ।’
उनलाई नजिकबाट चिन्नेहरु पनि अनमोलको यो बानीको कायल छन् । अति आवश्यक कुरा मात्र बोल्ने र बोल्नै परे, अकाट्य बोल्ने उनको बानी सफलतामा कारक रहेको धेरैको ठम्याई छ । अनमोललाई सधैँ एउटै खालको भूमिका गरेको आरोप थियो । उनले अभिनय गरेका ‘होस्टल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’मा एउटै खालको भूमिका गरेको धेरैको टिप्पणी थियो तर अनमोलले पाँचौं फिल्म ‘कृ’मा त्यो आरोप चिर्ने प्रयास मात्र गरेनन्, त्यसका लागि अथक् मिहिनेत गरेर आफू लामो रेसको घोडा बन्न तयार भएको संकेत दिए । सधैँ ‘लभर ब्वाई’ इमेजमा देखिँदैआएका अनमोलले ‘कृ’मा रिसाहा युवाको भूमिका पनि उत्तिकै कुशलतापूर्वक निर्वाह गरे । फिल्मले प्रस्तुतिमा धेरथोर गाली खायो तर अनमोलको मिहिनेतमा कसैले औंला उठाउन सकेनन् । यही भूमिकाका लागि आफूलाई तयार पार्न उनले ८ घन्टासम्म निरन्तर मिहिनेत गर्ने गरेका थिए । नयाँ फिल्ममा फुटबलरको रुपमा देखिन लागेका अनमोलले यस फिल्मका लागि पनि एन्फा ग्राउन्डमै गएर दिनको चार घण्टा खेलअभ्यास गरिरहेका छन् ।
‘दर्शक र फिल्म उद्योगको अपेक्षा मैले बुझेको छु तर सबैलाई थाहा छ, फिल्म भनेको टिम वर्क हो,’ अनमोल भन्छन्, ‘म एक्लैले मात्र फिल्म राम्रो बनाउन सक्ने होइन, त्यसका बाबजुद म सिकिरहेको छु र म संलग्न भएको टिमले दर्शक–समीक्षक सबैलाई चित्त बुझ्ने फिल्म दिन सकियोस् भन्ने प्रयास छु ।’ त्यसैले उनले अभिनय, आवाज र नृत्य शैलीमा आएका टिप्पणीलाई सकारात्मक रुपमा लिएका छन् ।
‘मेरो अभिनय वा नृत्यलाई लिएर ज–जसले आलोचना गर्नु भएको छ, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु,’ उनी भन्छन्, ‘मेरो आवाज असुहाउँदिलो भनेर पनि धेरैले भन्ने गर्नु भएको छ, मैले त्यसमा पनि काम गरिरहेको छु । मलाई विश्वास छ, केही वर्षमा मलाई दर्शकले सोचेजस्तै अवस्थामा देख्न सक्नु हुनेछ ।’
आन्तरिक शान्तिको खोजी
सार्वजनिक जीवनमा बिरलै देखिने अनमोललाई धेरैको प्रश्न हुन्छ, ‘दिनभर तिमी के गर्छौ ?’ अनमोललाई न कुनै डान्स पार्टीमा देखिन्छ न कुनै क्लब वा बारमा । ‘आखिर अनमोल जान्छन् कहाँ ?’
‘म ज्यादाजसो समय घरमै हुन्छु,’ जवाफमा उनी दैनिकी खुलाउँछन्, ‘मलाई एकान्त मन पर्छ । घरमा भएको बेला गितार बजाउँछु, फिल्म हेर्छु । घरमै प्ले स्टेसन छ । गेम पनि खेल्छु । साथीहरूको सानो सर्कल छ । उनीहरूसँग पनि हुन्छु तर घरमै । पछिल्लो समय लुँडो खेल्न मज्जा लाग्छ । साथीहरू भेला भएर लुँडो पनि खेल्छौँ ।’
युवाहरूको लेट नाइट दैनिकीको ठीक उल्टो अनमोल १० बजेसम्म सुतिसक्छन् । बिहान ६ देखि ७ बजेसम्ममा उठिसक्ने अनमोल विगत एक दुई वर्षदेखि बिहानै उठेर ध्यान गर्छन् ।
‘कृ’कै तयारीको बेलामा मैले कृष्ण कन्ससनेसको एक हप्ते प्रशिक्षण लिएका थिए । त्यसले धेरै सकारात्मक प्रभाव पारेको महसुस उनले गरेका छन् । त्यसयता दिनको एक घन्टा ध्यानमा बस्छन् उनी । यसले उनको रिसाउने बानी र दिक्क हुने कुरा नियन्त्रणमा राख्न मद्दत गरेको महसुस गर्ने गरेका छन् । विगत दुई वर्षयता अनमोलले माछा–मासु पनि खाएका छैनन् । ‘कृ’को तयारीका बेला पनि प्रशस्त अभ्यास गरेर ‘हेभी डाइट’ खानु पर्ने बेलामा पनि उनले माछा–मासु खाएनन् । पहिलादेखि नै आफूलाई माछा–मासुको रुचि नभएको अनमोलले बताए ।
‘मलाई पहिलादेखि नै मासु खान मन लाग्दैनथ्यो । जति पाकेको भए पनि काँचै लाग्थ्यो । मेडिटेसनबाट फर्केपछि त जनावरको पनि माया लाग्छ । सायद फेरि खान सक्छु जस्तो लाग्दैन,’ अनमोलले भने । पछिल्लो समय अनमोल बुढानीलकण्ठको एक कृष्ण मन्दिरमा फुर्सद भयो कि पुगिहाल्छन् । आफूलाई फाइट सिकाउने गुरु सुरजको आग्रहमा बुढानीलकण्ठको इस्कन टेम्पल पुगेका उनलाई पहिलाचोटि छिर्दा नै सकारात्मक भाइब आएको फिल भयो । त्यसयता अनमोल विभिन्न अवसरमा मन्दिरमा जाने र ध्यान गरेर फर्कने गरेका छन् । ‘इनर पिस’का लागि अनमोल हालसालै मात्र पनि भारतको बनारस पुगेका थिए । उनले त्यहाँका मन्दिरमा पनि सोही कुरा अनुभूत गरे । ‘ठाउँ त फोहोर रै’छ,’ उनले भने, ‘तर मन्दिरको भाइब पावरफुल लाग्यो ।’
नेपाली फिल्म उद्योगमा अनमोल यस्तो नाम बनेका छन्, जसको चर्चाबिना उद्योगको इतिहास पूरा हुन्न । उनको सफलताको गति कायम रहे, नेपाली फिल्म पनि के हेर्नु ? भनेर नाक खुम्च्याउने पुस्तालाई नेपाली फिल्म हेर्न हलसम्म ल्याउने जस उनलाई नै जान्छ । तर पनि धेरैले चिन्ता गरेझैं अनमोललाई यो क्षेत्रमा टिकाइराख्न गतिलो फिल्मको जरुरी छ जहाँ फिल्म उनको मात्र भरमा नहोस् । कथा र प्रस्तुतिले उनको काँध हलुका बनाओस् ।
तस्बिरहरु: अर्जुन शाह, मेकअप: सगीता लामतारी मगर, फेसन डिजाइनर: आकाश श्रेष्ठ, तेन्जिङ छिरिङ भुटिया (स्वर्णिम स्टुडियो)
प्रकाशित: १२ चैत्र २०७४ १०:३२ सोमबार