रुपन्देहीका रामजी कुशवाडिया (२२) ले काठमाडौं आई ढुंगामा छिनो चलाउन थालेको एक दशक भइसक्यो।
सानै उमेरमा अभिभावकको पछि लागेर ढुंगाका सामग्री बेच्न हिँड्ने उनी अहिले आफैँ सडकपेटीमा बसेर पुख्र्यौली पेसा धानिरहेका छन् ।मसला पिँध्न प्रयोग हुने सिलौटा बेच्ने उनी पछिल्लो समय आयस्तर केही सुध्रेको बताउँछन् । सिलौटा बेचेर पनि मसला किन्न नसक्ने जीवनस्तरबाट अहिले भने माथि उठ्न सकेको उनले जानकारी दिए ।
‘पहिले हाम्रो तरकारीमा मसला हुँदैनथ्यो,’ उनले भने, ‘अहिले स्थिति फेरिएको छ ।’ सिलौटा बेचेको आम्दानीबाटै उनले आफ्नी छोरीलाई निजी विद्यालयमा पढाउँदै छन् । सानो छोरालाई पनि निजी विद्यालयमै पढाउने तयारीमा छन् उनी।रुपन्देही देवीनगरका १९ वर्षीय घनश्याम कुशवाडियाको कथा पनि रामजीको भन्दा फरक छैन । आठ वर्षको उमेरदेखि नै घन र छिनो चलाउन थालेका उनी बाल्यकालमा धेरैपटक औँलामा चोट लागेको सुनाउँछन् । ‘यही चोटले हामीलाई सिकाउँदै लगेको छ,’ उनले भने, ‘पहिले औँलामा बढी चोट लाग्थ्यो,’ उनले भने, ‘अहिले ढुंगालाई बढी चोट लाग्छ ।’राजधानीका ढुंगा गोदामबाट आवश्यक ढुंगा छानेर ल्याई उनीहरू तिनलाई सिलौटा, जाँतो, लोहोरो, ओखललगायत सामग्रीमा ढाल्ने गर्छन् । राजधानीवासी नै उनीहरूका मुख्य ग्राहक हुन्।
चावहिल क्षेत्रमा सिलौटा व्यापार गर्दै आएका रामजी र घनश्यामको वरपर अन्य ६-७ जनाले पनि यस्तै व्यवसाय सुरु गरेका छन् । यसबाहेक चक्रपथका अन्य क्षेत्रमा पनि यस्ता काम गर्ने प्रशस्त भेटिन्छन् । चाडपर्वका बेला सिलौटा, लोहोरोलगायत सामानको व्यापार बढी हुने गरेको व्यवसायी बताउँछन्।
ढुंगाको गुणस्तर अनुसार सिलौटालगायतको मूल्य तय हुने घनश्याम बताउँछन् । एउटा सिलौटाको पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म पर्ने उनी बताउँछन् । त्यस्तै, जाँतोको एक हजार, ओखलको एक हजार दुई सय रुपैयाँ पर्ने उनले बताए । ‘ढुंगाको मात्र होइन, यसमा छिनो परेपछिको मोल हो यो,’ उनले भने, ‘छिनोको चोटले ढुंगाको मोल बढ्छ ।’
प्रकाशित: २१ फाल्गुन २०७४ ०७:३४ सोमबार