करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।
आमिर खानले बनाएको चलचित्रमा इन्सुलाई पुरातनवादी पिताले गीत गाउन दिँदैनन् । तर, संगीतप्रतिको लगाव पूरा गर्न इन्सुले बुर्कामै गीत गाउँछिन् । त्यसको भिडियो बनाएर युट्युबमा अपलोड गर्छिन्, ‘सेक्रेट सुपरस्टार’ नामबाट । बुर्का लगाएर इन्सुले गाएको गीत रातारात हिट हुन्छ । उनले जताततै वाहवाही पाउँछिन् ।
यो त भयो ‘रिल लाइफ’को कथा, ‘रियल लाइफ’मै पनि धेरैले इन्सुको जस्तै वाहवाही पाइसकेका छन्, १३ वर्षअघि सुरु भएको युट्युबमार्फत । युट्युबलाई कतिले आफ्नो ‘इनर इन्टेलिजेन्स’ उजागर गर्ने माध्यम बनाएका छन् भने कतिले ‘इन्कम जेनेरेट’को आधार ।
आफ्नो प्रतिभा उजागर गर्न, पैसा कमाउन र सोख पूरा गर्नका लागि हालसम्म संसारभरबाट करौडौँले इन्सुलेझैँ भिडियो अपलोड गरिसकेका छन् । उनीहरूले अपलोड गरेका भिडियोको संख्या करिब पाँच अर्ब पुगिसकेको छ ।कुनै बेला भिडियो हेर्न टेलिभिजन वा सिनेमा हल पुग्नुपथ्र्यो भने अहिले इन्टरनेट हुनेबित्तिकै इच्छा अनुसारका भिडियो हेर्न सकिन्छ । अहिलेको पुस्तालाई युट्युबले मन लागेको बेला आफ्नो इच्छा अनुसारको भिडियो बनाएर अपलोड गर्ने सुविधा दिएको छ ।
गुगलले चलाएको युट्युबमा हरेक खाले भिडियो अपलोड भएको पाइन्छ । यसरी भिडियो अपलोड गर्नेमा नेपाली पनि कम छैनन् । युट्युबमा नेपालीले पनि ‘कभर सङ’, ‘सर्ट फिल्म’, फिल्म मात्र होइन, निजी भिडियोसमेत अपलोड गरिरहेका छन् ।युट्युबले अपलोड गरिएका भिडियोमा विज्ञापन देखाएबापत अपलोड गर्नेलाई पैसा दिने भएकाले यसप्रति अझ आकर्षण बढेको छ । सन् २००७ डिसेम्बरमा ‘युट्युब पार्टनर प्रोग्राम’ गर्दै गुगलले प्रयोगकर्तालाई पनि पैसा दिन थालेको थियो । त्यसपछि युट्युबमा भिडियो अपलोड गर्ने र पैसा कमाउनका लागि ‘मोनिटाइजेसन’ गर्ने क्रम बढेको छ ।
नेपाली युट्युबरहरूले पनि मासिक रूपमा युट्युबबाटै रकम प्राप्त गर्ने गर्छन् । हरेक महिना गुगलले कायम गरेको थ्रेसहोल्ड एक सय अमेरिकी डलरदेखि हजारौँ अमेरिकी डलरसम्म प्राप्त गर्ने नेपाली प्रयोगकर्ता समेत छन् । युट्युबबाट रकम बुझ्नेमा ‘कभर सङ’ गाउने नेपालीदेखि म्युजिक कम्पनी, सञ्चार संस्था र अन्य खाले भिडियो अपलोड गर्ने समेत छन् ।
धेरैले युट्युबबाट आम्दानी गरे पनि कसले कति आम्दानी गर्छन् भन्ने तथ्यांक भने कसैसँग छैन । ठूलो रकम कमाउने नेपाली युट्युबरले समेत विभिन्न माध्यम अपनाउँदै रकम बुझ्ने गर्दा कतिपय त करको दायरा बाहिर समेत छन् । सरकारी निकायलाई समेत प्राविधिक ज्ञान नहुँदा धेरैले ठूलो आम्दानी गरे पनि आयकर समेत तिर्दैनन् ।
युट्युबबाट रकम बुझ्नेहरू आफूले प्राप्त गर्ने रकम खुलाउन चाहँदैनन् । नेपालमा कतिपयले रेमिट कम्पनीमार्फत रकम बुझ्ने गरेका छन् भने कतिपयले पेपाललगायतका अकाउन्ट खोली त्यसैमा जम्मा गराउँछन् ।
नेपाली च्यानलमध्ये धेरै भिडियो र सब्स्क्राइबर भएको हाइलाइट्स नेपाल हो । मे २०१३ मा सुरु भएको हाइलाइट्स नेपालको युट्युब च्यानलमा अहिलेसम्म १३ लाखभन्दा धेरै सब्सक्राइबर र आठ हजारभन्दा धेरै भिडियो छन् ।
गत वर्ष युट्युबमा धेरैपटक हेरिएको ‘दुई रुपैयाँ’ चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत रिलिज गर्ने हाइलाइट्स नेपालका ६ वटा गीतलाई एक करोडभन्दा धेरैपटक हेरिएको छ । लुट– २ चलचित्रको ‘ठमेल बजार’, छक्कापन्जा चलचित्रको ‘पूर्व–पश्चिम रेल’ जस्ता चर्चित गीत हाइलाइट्स नेपालले नै सुरुमा अपलोड गरेको हो ।हाइलाइट्स नेपालका सञ्चालक जनक तामाङलाई सुरुमा च्यानल चलाउन सजिलो भने थिएन । उनलाई ‘युट्युब कन्टेन्ट म्यानेजमेन्ट सिस्टम’ बारेमा धेरै जानकारी नै थिएन । युट्युबको प्रतिलिपि अधिकार अर्थात् कपिराइट बारेमा पनि उनी अनभिज्ञ जस्तै थिए ।
‘त्यो बेलादेखि निरन्तर रूपमा हामीले भिडियो अपलोड गर्दै आइरहेका छौँ, अहिले हामीले पैसा कमाउनेभन्दा पनि नेपाली भिडियोलाई प्रवद्र्धन गर्न लागिपरेका छौँ,’ तामाङ भन्छन् । प्राविधिक कारण सुरुमा उनीहरूले भारतको गुडगाँवबाट गीत रिलिज गर्ने गरेका थिए ।
अचेल स्वतन्त्र म्युजिक भिडियो मात्र नभई चलचित्रका गीत पनि सबैभन्दा पहिले युट्युबमा रिलिज हुन्छन् । अनि अन्य सामाजिक सञ्जालमा सेयर हुन्छन् । यसरी हेरिएका म्युजिक भिडियोबाट अपलोड गर्नेले पैसा कमाइरहेका छन् । पहिले–पहिले क्यासेट र सिडी बेचेर पैसा कमाउने कलाकार अहिले युट्युबाट हुने ‘मोनिटाइजेसन’ प्रति आकर्षित छन् । रिलिज भएको केही समयपछि नेपाली चलचित्र पनि युट्युबमा आधिकारिक रूपमै अपलोड हुन थालेका छन् ।
‘टलकजंग भर्सेस टुल्के’, ‘जेरी’, ‘गाजलु’, ‘प्रेमगीत’ जस्ता नेपाली चलचित्र युट्युबबाट सार्वजनिक गरेको ओएआर डिजिटलको च्यानलका पाँच लाखभन्दा धेरै सब्स्क्राइबर छन् । करिब एक हजार भिडियो अपलोड गरेको यो च्यानलका भिडिया करिब २५ करोडपटक हेरिएका छन् । करिब डेढ करोडले हेरेको ‘हाउ फन्नी’ चलचित्रको ‘शिरैमा शिरबन्दी’ बोलको गीत यो च्यानलको सबैभन्दा धेरै हेरिएको भिडियो हो ।
सन् २०१५ मा सुरु गरिए पनि त्यसै वर्षको भूकम्पपछि यो च्यानल राम्रोसँग चलाउन नसकिएको ओएसआर डिजिटलका रुपेन्द्र खड्गी बताउँछन् । ‘सन् २०१५ को अन्तदेखि भने आक्रामक रूपमा बजार विस्तारमा लागेका छौँ,’ उनले भने । धेरै हेरिएका भिडियोको ‘रेभेन्यु’ राम्रो आउने उनी बताउँछन् । यसका लागि भने अपलोड गरिएका भिडियो गुणस्तरीय हुनुपर्नेमा उनी जोड दिन्छन् ।
युट्युबबाट पैसा कमाउन सजिलो भने छैन । अझ नेपालबाट अपलोड गरिएका भिडियोले तुलनात्मक रूपमा कम ‘रेभेन्यु’ पाउँछन् । गुगलको कडा विज्ञापन र प्रतिलिपि अधिकार नीतिका कारण पनि युट्युबमा आम्दानी कायम गरिराख्न चुनौती छ । हालै मात्र युट्युबले ल्याएको नयाँ थ्रेसहोल्ड नीतिले पनि नयाँ युट्युबरलाई पैसा कमाइहाल्न चुनौती थपेको छ । नयाँ नीतिले युट्युब च्यानल ‘मोनिटाइजेसन’का लागि पछिल्लो एक वर्षमा युट्युब च्यानलको भिडियो चार हजार घन्टा हेरिएको हुनुपर्ने र कम्तीमा एक हजार सब्स्क्राइबर हुनुपर्ने बाध्यता थपेको छ ।
अहिले अनलाइनबाट पैसा कमाउने विभिन्न उपाय भएको तामाङ बताउँछन् । ‘युट्युब लगायत अन्य अनलाइनका माध्यमबाट पैसा कमाउने योजना बनाउँदा दीर्घकालीन योजना बनाउनुपर्छ,’ उनी बताउँछन् । यसका लागि आफ्नो विषयवस्तुको खास लक्षित समूह को हो ? भनेर पनि निर्धारण गर्नुपर्नेमा उनी जोड दिन्छन् ।खड्गी पनि ‘ट्यालेन्ट’ र प्रविधिसँग अभ्यस्त व्यक्तिले अरुको नचोरी आफ्नो मौलिक सामग्री सिर्जना गरेर अपलोड गरे सम्भावना राम्रो भएको बताउँछन् ।
प्रकाशित: २९ माघ २०७४ ०६:३९ सोमबार