देवी नेपाल
कविशिरोमणि लेखनाथ पौड्याल नेपाली कविताका अविस्मरणीय प्रतिभा हुन् । कवि उमेरले होइन, काम, त्याग र योगदानले बाँच्छन् । सिर्जनात्मक योगदान हुँदाहुँदै कतिपय स्रष्टा सम्झनामा भने तल–माथि भइरहेको देखिन्छ ।
नेपाली स्रष्टा सम्झनामा भानुजयन्ती सर्वाधिक लोकप्रिय छ । भानुजयन्तीपछि देवकोटा र मोतीजयन्तीलाई भव्य रूपमा मनाउन थालिएको छ । लेखनाथ जयन्तीबारे भने धेरैलाई थाहा नै छैन ।
नेपाली कवितालाई माध्यमिक कालबाट आधुनिक कालमा अवतरण गराउने, उच्छृंखल शृंगारिकताबाट मुक्त गराएर नैतिक चेतनामूलक सिर्जनशीलतामा रूपान्तरण गर्ने, ‘सूक्तिसिन्धु’ले ल्याएको अश्लीलताबाट सिर्जनालाई जोगाएर आदर्श मार्गमा ल्याइपु¥याउने र जीवन मूल्यका लागि अनुशासन र कर्तव्य पालनाको दिशानिर्देश गर्ने कार्यमा कविता वा आफ्ना कृतिलाई सशक्त हतियारका रूपमा प्रयोग गर्ने पौड्यालबारे आजको पुस्तालाई थाहा नहुनु दुःखद हो ।
पौड्यालको जन्म १९४१ पुस १५ गते अर्थात् पौष शुक्ल एकादशीका दिन कास्कीको अर्घौं अर्चलेमा भएको हो भने मृत्यु २०२२ फागुन ७ गते तनहुँको देवघाटमा । संस्कृतमा मध्यमासम्म पढेका लेखनाथ पण्डित कवि, ऋषिकवि र तपस्वी कविका रूपमा नेपाली साहित्यमा परिचित छन् । कुनै समयमा भीमशमशेरको दरबारमा दरबारिया पण्डित समेत बन्न पुगेका उनी सिर्जना र चरित्र दुवै कुरामा आदर्श र नैतिक मूल्यका पर्याय हुन् ।
अहिले पनि साहित्य क्षेत्रमा नै समर्पित धेरै स्रष्टालाई लेखनाथको जन्मजयन्तीबारे थाहा छैन । यसको कारण, उनको जन्मदिनका विषयमा तथ्यगत एकरूपता नपाइनु हो । उनको जन्मदिन पौष शुक्ल एकादशी भनिएको छ । यसरी तिथिमा जानासाथ मितिगत एकरूपता आउँदैन र अन्योल सिर्जना हुन्छ । मितिमा पनि पूर्ववर्ती कतिपय अध्येताले पुस २६ गते लेखिदिनाले एकथरीले त्यसै दिनलाई लेखनाथ जयन्ती माने तर नेपाली शिक्षा परिषद्ले लेखनाथको जन्मवर्ष १९४१ को पात्रो नै हेरेर पुस १५ गते निर्धारण गरी हरेक वर्ष उक्त दिन लेखनाथ जयन्ती मनाउन थालेपछि भने यस सम्बन्धमा केही भ्रम हटेका छन् ।
१९६२ सालको ‘कविता कल्पद्रुम’मा प्रकाशित ‘शृंगार–पच्चीसी’ र ‘मनसाकर्षिणी’ लेखनाथका प्रथम प्रकाशित रचना हुन् भने २०२२ माघमा लिखित ‘आखिरी कविता’ अन्तिम रचना हो । सिर्जनामा उमेरको प्रत्यक्ष प्रभाव पर्छ भन्ने कुराका एक जीवन्त प्रमाण हुन्, लेखनाथ । वास्तविक जीवनमा सन्त, तपस्वी वा ऋषिजस्ता लाग्ने लेखनाथका प्रथम प्रकाशित दुवै कविता शृंगारिक हुनु उनको २१ वर्षे उमेरको प्रभाव भन्न सकिन्छ ।
यसपछिका ‘सुन्दरी’ (१९६३) पत्रिकामा प्रकाशित ‘वियोगिनी विलाप’ हुँदै ‘सूक्तिसिन्धु’ (१९७४) मा प्रकाशित ‘विरहिणीका उपर सखीको प्रश्न’सम्मका केही कवितामा शृंगारिक लेखनको प्रत्यक्ष उपस्थिति देख्न पाइन्छ । मोतीमण्डलीको व्यापक प्रभावका बेला सिर्जनावागमा देखापरेका लेखनाथको शृंगारिक धाराबाट कवितायात्राको थालनी हुनु स्वाभाविक थियो । उनको सिर्जनामा त्यो प्रवृत्ति लामो समयसम्म टिक्न भने सकेन ।
परिवेशगत भावावेगका कारण शृंगारिक कविता सिर्जना गर्न पुगेका उनले १९६३ मा सिर्जित ‘वैराग्यवल्ली’ कविताबाटै यस प्रवृत्तिबाट टाढिँदै गएर शान्तरसमूलक आध्यात्मिक जीवनबोधको पाटोलाई ग्रहण गर्न थालेको देखिन्छ । नेपाली कवितामा प्रणय वा शृंगारका नाममा बढ्दै गएको अश्लीलता, अराजकता, उद्दण्डता र छाडापनले समाजलाई सही बाटो दिन नसक्ने कुराको ठहर गरी तत्काल नैतिक मूल्यको खोजीका साथ कविता सिर्जना गर्ने कार्यमा लेखनाथको विशिष्ट योगदान रहेको देखिन्छ ।
एकातिर माध्यमिककालीन मूल धाराका रूपमा रहेको शृंगारिक धारा, अर्कातिर प्राथमिककालीन नेपाली कविताको अवशेषका रूपमा रहेका वीरधारा र भक्तिधारा अनि अझै अर्कातिर चन्द्रशमशेरको शासनकालका कारण जन्मिएको शासकस्तुति धारा यी तीनैवटा प्रवृत्तिको द्वन्द्वात्मक अवस्थामा लेखनाथले आफूलाई कतै तिनै प्रवृत्तिभित्र छिराउँदै र कतै मुक्त गराउँदै अगाडि बढाएका थिए ।
लेखनाथमा ३० वर्षको उमेर नकट्दै उच्चकोटिको चेतनाले प्रवेश पाइसकेको थियो । सिर्जनामा छाडापनले प्रवेश पायो भने नयाँ पुस्तामा नैतिक मूल्य समाप्त हुन्छ भन्ने कुराको बोध भएर नै उनले तत्काल समाज सुधारका लागि आत्मअनुशासनलाई जोड दिए । आफ्ना समकालीन कविले कवितालाई स्तुति, प्रशस्ति र भजनमा रूपान्तरण गर्न थालिसकेको परिवेशमा पनि सकेसम्म आफूलाई बचाउने प्रयत्न गरे । यति गर्दागर्दै पनि चन्द्रशमशेरको शासकीय प्रभावको छिटाले उनलाई छुन भ्याइहाल्यो । त्यसैले एकथरीले लेखनाथलाई पनि शासकस्तुति धारामा लागेको आरोप लगाएका हुन् ।
कृतिगत रूपमा हेर्दा मुक्तकदेखि फुटकर कविता, खण्डकाव्य हुँदै नव्यकाव्यसम्मको काव्यसिर्जना र नाट्यसिर्जना गरी डेढ दर्जनजति महत्वपूर्ण कृतिहरूमा लेखनाथको विशिष्ट उपस्थिति देखिन्छ । ‘ऋतुविचार’मा प्राकृतिक जीवनचक्रलाई जोडेर बौद्धिक एवं दार्शनिक कवित्व प्रदान गर्न सक्ने, ‘सत्यकलिसंवाद’मा सामाजिक चेतनामूलक अभिव्यञ्जनाका स्वर उराल्न सक्ने, ‘बुद्धिविनोद’मा बौद्धिक बहसबाट जीवन र जगत्को सूक्ष्म विश्लेषण गर्न सक्ने र ‘अमरज्योतिको सत्यस्मृति’मा त्याग, संकल्प र उदारताप्रतिको सम्मानभाव व्यक्त गर्न सक्ने लेखनाथले आफ्ना काव्यकृतिमार्फत युगीन चेतनाको प्रत्यक्ष प्रक्षेपण गरेका छन् ।
हालको नेपाल प्रज्ञाप्रतिष्ठान (तत्कालीन रोयल नेपाल एकेडेमी)का सदस्य समेत रहेर काम गरेका लेखनाथलाई २००८ सालमा राज्यका तर्फबाट ‘कविशिरोमणि’ पदले विभूषित गरियो भने २०११ मा ऐतिहासिक सार्वजनिक रथयात्रा तथा राष्ट्रिय अभिनन्दन समेत गरियो, जुन रथयात्रामा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले समेत रथ तानेका थिए । यो स्रष्टाहरूका लागि राज्यका तर्फबाट गरिएको पहिलो र सर्वाधिक उच्च सम्मान हो ।
जीवनकालमा मात्र होइन, मरणोपरान्त पनि २०२३ सालमा लेखनाथको चित्रांकित हुलाक टिकटको प्रकाशन गर्नुका साथै २०२६ सालको त्रिभुवन पुरस्कार प्रदान गरेर उनलाई सम्मानित गरिएको थियो । यसपछि भने पाठ्यसामग्रीमार्फत विद्यार्थी र शिक्षकमाझ अनि युगीन महत्व राख्ने कृतिमार्फत बौद्धिक वर्गमा लेखनाथ सदासर्वदा पुगिरहे पनि सर्वसाधारणबाट भने दिन प्रतिदिन टाढिँदै गएका देखिन्छन् ।
कतिपय स्रष्टा जीवनकालमा छायामा हुन्छन् र मृत्युपछि चम्किन थाल्छन् तर लेखनाथका विषयमा भने यसको ठिक उल्टो अवस्था देखिन्छ । अहिले पनि साहित्य क्षेत्रमा नै समर्पित धेरै स्रष्टालाई लेखनाथको जन्मजयन्तीबारे थाहा छैन । यसको कारण उनको जन्मदिनका विषयमा तथ्यगत एकरूपता नपाइनु हो । उनको जन्मदिन पौष शुक्लएकादशी भनिएको छ । यसरी तिथिमा जानासाथ मितिगत एकरूपता आउँदैन र अन्योल सिर्जना हुन्छ ।
मितिमा पनि पूर्ववर्ती कतिपय अध्येताले पुस २६ गते लेखिदिनाले एकथरीले त्यसै दिनलाई लेखनाथ जयन्ती माने तर नेपाली शिक्षा परिषद्ले लेखनाथको जन्मवर्ष १९४१ को पात्रो नै हेरेर पुस १५ गते निर्धारण गरी हरेक वर्ष उक्त दिन लेखनाथ जयन्ती मनाउन थालेपछि भने यस सम्बन्धमा केही भ्रम हटेका छन् । यति हुँदाहुँदै पनि यो कुरा जनस्तरसम्म पुग्न सकेको छैन ।
जब लेखनाथका कविता पढ्ने विद्यार्थीले, पढाउने विद्यालय र विश्वविद्यालयले र तिनका विज्ञ शिक्षक तथा प्राध्यापकले स्रष्टाको जन्मदिनलाई भव्यताका साथ मनाउन थाल्छन्, अनि मात्र सर्वसाधारणले स्रष्टाबारे थाहा पाउँछन् । आजसम्म बौद्धिक वर्गका दृष्टिमा लेखनाथ सर्वोच्च स्थानमा हुँदाहुँदै पनि सर्वसाधारणका तहमा पुग्न नसक्नुको प्रमुख कारण उनको जन्मजयन्तीबारे सबैलाई स्पष्ट जानकारी नहुनु नै हो ।
नेपाली साहित्यको इतिहासमा लेखनाथलाई बिर्सिने हो भने एउटा युग नै समाप्त हुन्छ । उनी आधुनिक नेपाली कविताका जन्मदाता हुन् । हुन त नेपाली कविताको आधुनिक कालको प्रवर्तनका विषयमा पनि केही विवाद नभएका होइनन् । लेखनाथका कविता प्राचीन विचार, पुरातन शैली, आध्यात्मिक चिन्तन र रुढिवादी सोचबाट मुक्त हुन नसकेका कारण लक्ष्मीप्रसाद देवकोटादेखि अथवा गोपालप्रसाद रिमालदेखि मात्र नेपाली कविताको आधुनिक कालको थालनी हुनुपर्छ भन्ने मान्यताका पक्षधर पनि धेरै छन् ।
नेपाली कविताले प्राथमिककालीन अनुवाद, भक्ति र उपदेशात्मकताबाट अगाडि बढ्दै गएर मोतीराम भट्टमार्फत माध्यमिककालीन शृंगारिकतामा अवतरण गरेको देखिन्छ । यसपछि तात्कालिक स्रष्टाका कविताले अँगालेका शृंगारिक, मनोरञ्जनात्मक र उपदेशात्मक प्रवृत्तिलाई उछिन्दै सामाजिक चेतना र जागरणको आवाज कवितामार्फत उठाउन लेखनाथको विशेष भूमिका रहेको नकार्न मिल्दैन । ‘ऋतुविचार’भित्र लेखनाथले समेटेको भावगत विविधता र वैचारिक व्यापकतालाई हेर्ने हो भने उनी युगीन चेतनाको उच्च तहसम्म पुगेका देखिन्छन् । उनले एउटा मात्र विषयलाई प्राथमिकता दिएका छैनन्, प्रकृति, संस्कृति, पुराण, इतिहास, समाज, धर्म, राजनीति, मानवीय संवेदना, नीतिचेतना, दर्शन, जीवनबोध तथा युगबोधजस्ता कुरा विषयवस्तु बनेर आएका हुनाले विषयगत विविधता उनका कविताको विशिष्ट चिनारी हो ।
नैतिक मूल्यमापनका लागि उनले आध्यात्मिकतालाई हतियारका रूपमा प्रयोग गरे पनि युगानुकूल विषय पहिचान, भावगत अभिव्यञ्जनाभित्र लुकेको समाजबोध, कर्तव्यपालनामुखी जीवनबोध र सकारात्मक मार्गनिर्देशनमा उनका कविताले खेलेको भूमिकाका आधारमा लेखनाथ नै आधुनिक नेपाली कविताका प्रवर्तक हुन् भन्न कुनै गाह्रो छैन ।
लेखनाथ नेपाली कवितामा शास्त्रीयतावादी परिष्कारवादी धाराका प्रवर्तक, उन्नायक र नेतृत्वकर्ता पनि हुन् । नेपाली कवितामा देवकोटाको आगमन नभएसम्म सशक्त रूपमा रहेको र त्यसपछि पनि अवान्तर धाराका रूपमा हालसम्म पनि चलिरहेको यस धाराले सिर्जनालाई अनुशासन, भाषिक मर्यादा, निरन्तर परिष्कार, शुद्धीकरण र निर्दोष सिर्जनशीलताका लागि सबैलाई सचेत गराउने काम गरेको छ ।
कविताको बाह्य संरचनाका पक्षमा होस्, वा आन्तरिक सुगठनका पक्षमा होस्, स्रष्टाका लागि निरन्तर साधना, अथक समर्पण, अनवरत लगनशीलता र दृढ संकल्प आवश्यक छ भन्ने मान्यताको स्थापना लेखनाथबाटै भएको हो । सोचीसोची भावनाको अभिव्यक्ति दिनु, व्याकरणिक नियम वा शास्त्रीय मान्यताको अतिक्रमण नगर्नु र सिर्जना पाठकसम्म पुग्दा एउटा कुशल मूर्तिकारको मूर्तिजस्तो सुन्दर, परिष्कृत र पूर्ण बनेर पुग्नुपर्ने सर्वप्रिय मान्यतालाई स्थापित गरेर छाड्नु लेखनाथद्वारा प्रतिपादित शास्त्रीयतावादी परिष्कारवादी धाराका सर्वोच्च प्राप्तिहरू हुन् ।
लेखनाथका कवितामा विधागत सचेतता, अभिव्यक्तिगत संयमितता र सैद्धान्तिक कठोरताको पालना राम्ररी भएको देखिन्छ । उनी निर्दोष भाषिक कला र निर्दोष भाव वा विचार पाठकसम्म पुग्नुपर्ने, उक्त सिर्जना पाठकका लागि गुरु बन्नुपर्ने र सिर्जनात्मक मानकीकरणका कारण कृति नै सिकारुका लागि भरपर्दो पाठशाला बन्नुपर्ने मान्यतामा सदैव प्रतिबद्ध देखिन्छन् । उनी पूर्वीय साहित्य सिद्धान्तको अत्यधिक नजिक रहेर अनुशासित अभिव्यक्ति दिनमा खप्पिस पनि छन् ।
शब्दसौन्दर्य, लयमाधुर्य र भावगाम्भीर्य तीनवटै पक्षलाई एकै ठाउँमा खोज्ने हो भने लेखनाथका कविता एक मात्र नमुना बन्न सक्छन् । सूक्ति सिर्जनामा लेखनाथ नेपाली कविमा अग्रपं्रक्तिमा पर्छन् । कविताको विषयगत सन्दर्भमा मात्र होइन, अन्य सन्दर्भमा पनि सशक्त उदाहरण बन्न सक्ने र कुनै भिन्न प्रसंगमा पनि तत्काल दृष्टान्तका रूपमा उभ्याउन सकिने महत्वपूर्ण भनाइलाई सूक्ति भनिन्छ । सूक्ति कवित्वको सर्वोच्च प्राप्ति हो । सत्यको उद्घाटन हरेक सिर्जनामा हुन्छ, तर सत्यको सूक्तीकरण कवितामा हुन्छ । सत्य सपाट रूपमा पोखियो भने त्यो प्रतिवेदन वा समाचार बन्छ, तर त्यो कलामा उनिएर आयो भने सूक्ति बन्छ । यस दृष्टिले पनि लेखनाथका कविता उच्चकोटिका छन्–
‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ (नैतिक दृष्टान्त)
शाश्वत युगबोध, यथार्थ समाजबोध र सकारात्मक जीवनबोध लेखनाथका कवितामा प्रमुख रूपमा आएका देखिन्छन् । उनले ‘ऋतुविचार’मा यी तीनै कुरालाई एकै ठाउँमा प्रयोग गरेका छन् भने अन्य फुटकर कवितामा पनि यस पक्षमा विशेष ध्यान दिएका छन् । कवि लेखनाथ तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेश र राज्य व्यवस्थाका समेत विज्ञ थिए र उनी तात्कालिक विश्वचेतनालाई वहन गर्न सक्ने शाश्वत युगबोध भएका सिर्जना दिन सक्थे भन्ने कुराको प्रमाण निम्नलिखित श्लोक हो ः
‘वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो
बल–विद्या गुमाएको भारतैसरि देखियो ।’ (ऋतुविचार)
यसरी नै राणाकालीन समाजबोधलाई उनले प्रकृतिसँग जोडेर यसरी हेरेका छन् ः
‘वर्षा जाँगरिली दासी धोई, पोती, लिपी, चली
शरद् मालिकिनीजस्तै गर्न थाली ढलीमली ।’ (ऋतुविचार)
नैतिक मूल्यसहितको सकारात्मक जीवनबोधको सुन्दर अवतरण उनका कविताको अभीष्ट हो । भौतिक सम्पत्ति तथा शरीरको नश्वरता र सत्कर्मको अमरताको सन्देश दिनका लागि उनले धेरै कविताको सिर्जना गरेका छन् । उनको जीवनबोध आध्यात्मिक मूल्यसँग जोडिएर आएको देखिन्छ ः
‘कुनै पल्टेका छन् मलिन मुखलाई रुखमुनि
कुनै रुन्छन् बाटोबीच नमिलि सानू रूख पनि
कुनै भोका शोकाकुल मरिरहेछन् नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक हो तुच्छ घरमा ?’ (गौँथलीको चिरिबिरी)
आस्तिक दर्शन तथा उपदेशात्मकतालाई लेखनाथले आफ्ना कविता सिर्जनाको आधार बनाए । उनी सन्तस्रष्टा तथा कवि ऋषि मानिन्छन् । उनी आध्यात्मिक वा आस्तिक दर्शनका अनुयायी हुन् । त्यसैले उनका काव्यमा शरीरको नश्वरता, सांसारिक अनित्यता, आत्माको अमरता र ईश्वरीय शक्तिको सत्यताका पक्षमा विचार अभिव्यक्त भएका हुन्छन् । लेखनाथ काव्यका माध्यमबाट समाजमा आध्यात्मिक तथा नैतिक चेतना फैलाउन चाहन्छन् । ‘ऋतुविचार’भित्रका कतिपय पद्य यही उद्देश्यअनुसार सिर्जना भएका छन् भने ‘मेरो राम’को केन्द्रीय कथ्य नै आस्तिक दर्शनमा आधारित छ ।
‘सत्यकलि संवाद’ वा ‘बुद्धिविनोद’जस्ता खण्डकाव्यमा र अधिकांश फुटकर कवितामा लेखनाथले आध्यात्मिक दर्शनको केन्द्रीयतामा उपदेशात्मक प्रवृत्तिलाई अँगालेका छन् । आफ्नो ईश्वरीय विश्वास वा आस्थाको पुष्टिका लागि उनले कतै वेदान्त दर्शन, कतै गीताको निष्काम कर्मयोग, कतै सांख्यदर्शन र कतै योग दर्शनको साथ लिएका छन् ।
यो मात्र लेखनाथको चिनारी होइन । उनी एकातिर पुरातन विचारका पक्षधर ऋषिजस्ता देखिन्छन् भने अर्कातिर गरिब वर्गप्रति सहानुभूति राख्ने क्रान्तिकारी समाज सुधारकजस्ता पनि देखिन्छन् । यस कुरालाई ध्यानमा राखेर निम्नलिखित श्लोकलाई हेर्दा उनको कवित्वमा पनि द्वन्द्वात्मक अवस्था देखापर्छ ः
‘यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उस्को रहने घरै हो
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।’
‘उर्लीरहेछ जजिया फिर मालपोत
पुग्दैन खान तर जत्ति जमीन जोत
काडी तरक्क पसिना दिनरात डोको
बोके पनी उदरगर्त रहन्छ भोको ।’
यसरी हेर्दा उनी एकातिर शरीरलाई ईश्वरको वासस्थान मानी अलौकिक शक्ति र परमानन्दको प्राप्तिमा आफूलाई समर्पित गर्नुपर्ने विचार राख्छन् भने अर्कातिर गरिब दुःखी सरकारी करको मारमा परेका, रातदिन पसिना काढेर, डोको बोकेर भरिया जीवन बिताए पनि दुई छाक जोर्न समस्या परेको देखेपछि वर्गीय रूपमा असमान सामाजिक संरचनाप्रति विमतिको स्वर उराल्छन् । यस भनाइले व्यञ्जनात्मक रूपमा सामाजिक क्रान्तिको आवश्यकतातिर संकेत गरेको देखिन्छ । यसबाट लेखनाथ सामाजिक परिवर्तन र मानवीय अधिकार प्राप्तिका पक्षमा थिए भन्ने कुरा स्पष्ट देखिन्छ ।
नेपाली कवितामा लेखनाथ पौड्यालको आगमन भएपछि शास्त्रीय छन्दको प्रयोगमा उत्कर्षता देखाप¥यो । उनले नेपाली कविता वा काव्यमा ल्याएको शास्त्रीयतावादी परिष्कारवादी धारामा छन्द कविताकै वर्चस्व रह्यो । लेखनाथ बद्धलयात्मक कविताका सर्वोच्च स्रष्टा हुन् । उनी शास्त्रीय छन्दका कुशल शिल्पकार मानिन्छन् । उनका कवितामा शब्दलाई छन्दको साँचोमा हालेर सुन्दर मूर्तिजस्तै कुँदिएको हुन्छ, अनि त्यही मूर्तिबाट विश्व मग्मगाउने भावसौरभ प्रसारित भइरहन्छ ।
अहिले पनि नेपाली कविताको बजारमा ‘छन्द कवितामा युग बोल्न सक्दैन’ वा ‘छन्दमा जनचाहना अभिव्यक्त हुन सक्दैनन्’ भन्नेजस्ता आवाज आइरहन्छन् । छन्द कवितामा युगीन आवाजको प्रतिनिधित्व हुन सक्छ कि सक्दैन भन्ने कुराको उत्तरका लागि लेखनाथको ‘तरुण–तपसी’ मात्र कृति पढे पनि पुग्छ । उनले यस कृतिमा एउटा वृक्षलाई पात्र बनाएर मानव जीवन र सामाजिक संरचना वा भोगाइसँग प्रत्यक्ष सरोकार राख्ने जीवन र जगत्का हरेक पक्षलाई गम्भीर वैचारिक एवं दार्शनिक दृष्टिले हेर्ने काम गरेका छन् ।
‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ
म बाँचूँ मै हाँसूँ अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा घस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरिमरी ।’ (तरुण–तपसी)
छन्दको अनुशासन जटिल हुनाले कवि शब्दतिर लाग्दा भाव बिथोलिन्छ र भावतिर लाग्दा छन्दभङ्ग हुन्छ भन्ने अर्कोप्रकारको गुनासो पनि कविमा पाइन्छ । लेखनाथका कुनै पनि कविता पढ्दा कवि छन्दका पछि लागेजस्ता लाग्दैनन् बरु छन्दले कविलाई पछ्याएको देखिन्छ । साधना छन्द कविताका लागि वरदान नै हो । साधना भयो भने छन्द कविता सिलोक हुनबाट बच्छ र सूक्ति हुन थाल्छ । लेखनाथको अविस्मरणीय योगदान भन्नु नै छन्दमा सूक्तिको सिर्जना हो ।
कविता तपस्या हो भन्ने कुराको स्थापनाका लागि लेखनाथका सिर्जनाको ठूलो भूमिका छ ।
वैयक्तिक गन्थन कविता होइन, भावावेग मात्र कविता होइन, आँखाको सक्रियताबाट प्रकटीकरण हुने सपाट दृश्य वर्णन कविता होइन, कवितामा युगचेतना हुनुपर्छ, कवितामा मान्छेलाई हाँस्न, रुन र जागृत गराउन सक्ने शक्ति हुनुपर्छ, कवितामा जीवन र जगत्का उद्देश्यमूलक अनुभूतिको अवतरण हुनुपर्छ भन्ने मान्यताको व्यावहारिक पुष्टि गर्ने काम लेखनाथका कविताले गरेका छन् । उनका कविता एउटा सन्दर्भबाट मात्र अर्थिंदैनन् । ‘पिन्जडाको सुगा’ कवितामा अन्तर्निहित व्यञ्जनाशक्तिभित्र एकातिर पूर्वीय आध्यात्मिक चिन्तनबाट अभिप्रेरित जीवन दर्शन छ भने अर्कातिर तात्कालिक समाज, शासनव्यवस्था, स्वतन्त्रताप्रेम र हरेक क्षेत्रबाट आवश्यक उन्मुक्तिको शङ्खघोष लुकेको छ ।
समग्रमा हेर्दा लेखनाथ भौतिक रूपमा एकासी वर्ष बाँचे र आफ्नो जीवनका साठी वर्षचाहिँ उनले नेपाली भाषा साहित्यको योगदानका लागि समर्पण गरे । यस अवधिमा उनले माध्यमिक कालीन नेपाली कवितालाई आधुनिकतामा रूपान्तरण गरे । कवितालाई शृङ्गारिक गच्छृङ्खलताबाट बचाउने काम गरे । निरुद्देश्य भावावेगबाट सोद्देश्य सिर्जनात्मकतामा परिवर्तन गरे । नैतिक मूल्यलाई सबैभन्दा ठूलो मानवीय मूल्यका रूपमा परिचित गराए ।
कवितालाई भाषिक अनुशासन, व्याकरणिक नियम, स्थापित सिद्धान्त र दोषरहित कवित्वको नमुनाका रूपमा चिनाए । कविताका लघुतम रूपदेखि लघुरूप, मध्यम रूप र बृहत् रूपका मानक सिर्जनाहरू नेपाली साहित्यलाई दिए । नाटक सिर्जनामार्फत कवित्व र अभिनय कला बीचको गहन सम्बन्ध स्थापना गरे । समस्या पूर्ति कविता लेखनलाई सूक्तीकरणको नमुना बनाए । कवितालाई सिलोक परम्पराबाट कविता परम्परामा रूपान्तरण गर्ने काम गरे । हृदयसंवेद्य विषय छनोट र ध्वन्यात्मक एवं व्यञ्जनात्मक भावविधान नै कविताको सर्वोच्च शक्ति हो भन्ने कुरा प्रमाणित गरेरै देखाए ।
पूर्वीय दर्शनभित्र लुकेर बसेका जटिलतालाई व्यावहारिक रूपमा सिर्जनामार्फत सर्वसाधारणसम्म पु¥याउने काम गरे । आध्यात्मिक एवं नैतिक चेतनाको मार्गबाट सामाजिक अनुशासन र सांस्कृतिक जिम्मेवारीको मार्गनिर्देशन गरे । राणा दरबारका पण्डित भएर शासकवर्गसम्म ज्ञानको पहुँच देखाउने र कवित्वशक्ति पु¥याउने काम गरे । सिर्जनामार्ग भनेको त्यागको मार्ग हो, समर्पणको मार्ग हो र साधनाको मार्ग हो भन्ने कुरालाई स्थापित गराए । कविता संवेगका साथै सामाजिक विषय पनि हो र मानवीय चरित्र निर्माणको कारक पनि हो अनि सामाजिक मूल्यनिर्धारणको आधार पनि हो भन्ने कुरालाई नेपाली पाठकमाझ स्थापित गराए ।
वर्तमानका चस्माले हेर्दा लेखनाथको विषय छनोट, जीवन र जगत्लाई हेर्ने दृष्टिकोण, प्रस्तुति र राणाशासकसँगको उनको सम्बन्ध युगसापेक्ष नभएको आरोप उनीमाथि नलागेको होइन । तर, तात्कालिक समाज, चेतनाको स्तर र युगीन मागलाई हेर्दा त्यस युगका लागि यिनै कुराहरू आवश्यक थिए कि भन्ने प्रश्न पनि उठ्ने गर्दछ । लेखनाथजस्तो ऋषिकविबाट क्रान्ति, परिवर्तन र भौतिकवादी दृष्टिकोणसहितका काव्यको सिर्जना त सम्भव थिएन नै त्यसैले उनीबाट यसप्रकारका वैचारिक कुराको अपेक्षा गर्नुभन्दा नेपाली कविताले आजको उचाइ प्राप्त गर्नमा उनको योगदान कति छ भन्ने कोणबाट हेर्दा उनको जीवनकालमा भएका कार्यगत वा सिर्जनागत त्रुटि सबै क्षम्य हुन्छन् ।
‘दबिन्छ गुणीको दोष गुणका रासमा परी’ भन्ने उनकै कवितांशलाई आधार मानेर भन्दा कवि लेखनाथ मूल रूपमा युगीन चेतना र जागरणका संवाहक हुन् भने आंशिक रूपमा परम्पराका पक्षपोषक हुन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । युगीन साधक पौड्यालको जन्मजयन्तीका सन्दर्भमा राज्यको तहबाट, निजी क्षेत्रबाट र शैक्षिक तथा बौद्धिक क्षेत्रबाट उनका योगदानको तार्किक विश्लेषण अनिवार्य हुँदै गएको छ । यसकारण पनि उनको जन्मजयन्तीलाई विशेष कार्यक्रमहरूका साथ मनाउने र उनको योगदानलाई सर्वसाधारणसम्म पु¥याउने कार्यमा सबैको ध्यान जान सके एकजना युग निर्माताप्रति थप सम्मान प्राप्त हुने थियो । यस विषयमा सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।
प्रकाशित: १५ पुस २०७४ ०१:४० शनिबार