हनुमानढोका दरबारसँगै महर्जन बिजनेस एसोसिएसन प्रालिले बनाइरहेको मापदण्डविपरितको भवनको अध्ययन प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थन्केर बसेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, पुरातत्व विभाग, उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र महानगर प्रहरी परिसरका प्रमुखको संयुक्त बैठकले स्थलगत अध्ययन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुरातत्व विभागको संयोजकत्वमा गठित प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसके पनि त्यसको कार्यान्वयनमा सरोकारवाला निकायले ध्यान दिएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार प्रतिवेदन बुझाइसकेपछि जिल्ला प्रशासनले कार्यान्वयन गर्छ । विभागले अघिल्लो साता नै प्रतिवेदन पठाएको हो।
प्रतिवेदन आए पनि व्यस्तताले हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । ‘प्रतिवेदन आइपुगेको छ । तर, व्यस्तताले गर्दा हेर्न पाएको छैन,’ प्रजिअ शर्माले भने, ‘सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदन हेर्नेछु ।’ प्रतिवेदनका आधारमा भवन मापदण्डविपरित भएको पाइएमा सबै निकायसँग छलफल गरी कारबाहीको निर्णय गर्ने उनले बताए । यसै साताभित्र छलफल राखेर विवाद टुंग्याउने उनी बताउँछन्।
प्रतिवेदन आए पनि व्यस्तताले हेर्न नपाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा जानकारी दिए । ‘प्रतिवेदन आइपुगेको छ । तर, व्यस्तताले गर्दा हेर्न पाएको छैन,’ प्रजिअ शर्माले भने, ‘सबै निकायलाई बैठकमा बोलाएर प्रतिवेदन हेर्नेछु ।’
भवन पुरातात्विक मापदण्डविपरित भएको स्थानीयको आरोप छ । पहिले क्रिस्टल होटल रहेको ठाउँमा भवन बनिरहेको छ । पुरातात्विक मापदण्ड अनुसार ३५ फिटभन्दा माथि बनाउन पाइँदैन । भवन ३५ फिटभन्दा माथि भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
अध्ययन प्रतिवेदन अनुसार ४ तलाको भवन स्वीकृति लिएको छ । प्रत्येक तलाको उचाइ ७ फिट ७ इन्च कायम राख्ने नक्सामा उल्लेख छ । तर, हरेक तलाको उचाइ १० फिट ७ इन्च कायम गरिएको छ । तीन तला बनिसक्दै भवनको उचाइ ३२ फिट ९ इन्च पुगेको छ । जबकी पुरातात्विक मापदण्ड अनुपसार ३५ फिटमाथि बनाउन मिल्दैन । भवन अझै एक तला थप्ने तयारी गरेको देखिन्छ।
त्यसैगरी भवनमा ९ फिट ७ इन्चको वेसमेन्ट निर्माण गरिएको छ । विभागको संरक्षित स्मारक क्षेत्रभित्र भवन निर्माणका लागि लागू हुने मापदण्ड २०६४ मा वेसमेन्ट राख्न नपाइने प्रावधान छ।
प्रकाशित: २६ भाद्र २०७४ ०७:३७ सोमबार