६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

नगरकोटीको इन्द्रजाल

निर्मल कुमार थापा

 

यो गोलो पृथ्वीमा गोलमटोल कुमार नगरकोटीलाई कोटीकोटी नमन गर्नेहरू छैनन्, किनभने ऊ सफलताको सूत्र लेख्ने वा पेसेवर शब्दबधु होइन । साधुमन लिएर शब्दको छायामा हिँड्ने आवारा हो ऊ । विचारको पाशविक हत्या आफ्ना रचनामा गरिटोपल्छ । चिया पिउँदा रक्सीको मात लाग्छ, अमेरिकानो पिउँदा कालो कोदोको झोलसास्ती आनन्दीभांग कालोकोट टकटकाउँछ । शब्दहरूको नगरीमा ब्ल्याक म्याजिक गर्दै टुनामुना गर्ने वल्र्डली वर्ड अघोरी हो, जो रातभर संगिनीको साथमा शरीर लोटाएर मगजलाई कालो टोकरीमा हाली मसानघाटमा घुमाउँछ ।

सुफियाना उसको सर्वाधिक सुन्दर रचना रे ! गोलो अनुहारमा सल्केका गोला आँखा विश्वगोलामा सूक्ष्म शरीर लिई घुमिरहेका छन् । सामान्य ओठमा चुम्बकीय आकर्षण होइन, त्यसमा लागेको कलेजी रङको बुटपालिसको रङ कलेजोको अन्तरकुन्तरसम्म पुगेको छ, मद्दतका लागि हाजिर छ, गोर्खाली खुकुरी । सायद याददास माधुरीमार्फत दीक्षित भएको हो कि ! दिव्या भारती, हेलेन वा सिल्क स्मिता ।

कालो जादुका लागि उपयुक्त चौबाटामा बसाउँछ, मान्दिरका टुँडालमा हँसाउँछ, गजुरमा कालो फिरफिरे उडाउँछ । उसले धेरैलाई ह्यान्डमेड पस्मिना शब्दका सल उपहार दिएको छ । अँधेरी रातमा कालो रङका कोमल रेशमी सलहरू ओढेर सलबलाउने अतृप्त आत्माहरू उसका शुभचिन्तक हुन् । उनीहरूमाथि आफ्नो अनकन्डिसनल प्रेम खन्याउँछ । उनीहरूलाई दिनसँग परवाह छैन, धुँवाको सर्को धारणकर्ताको रूपमा उभिएको छ । शब्दहरूद्वारा भावनालाई सुताउने दाउमा छ ऊ । रातिमा रतिराग सुँघी हिँड्ने डाका पनि हिँड्छन् तर ऊ तिनीहरूको ग्यालेन लाइनमा छैन, एक्लो सूर्यको साइनो वामपन्थी क्रान्तिकारीले लिएदेखि ऊ आफूलाई विद्रोही भन्ने उत्साहमा छैन । ताराहरूको ताराबाजी लै लै यौवनावस्थामा उफ्रेको फिल्मी मोह पुरानो क्यासेटका रिलहरूमा गाडिएर खुला हावामा फर्फराइरहेका छन् ।

मृत भएर नै होला ऊ मृत छाला गोडामा लगाउन फर्माइस गर्छ, पिंकसिटीमा कालो खराउ किन्ने मालाधारी सुफिसल चौडाबजारमा पनि साँघुरो बनी नहराएका स्मृति छोडाइरहन्छ । ऊ केही खोजिरहेको छ तर त्यो के हो उसलाई नै थाहा छैन वा ऊ भन्ने मुडमा छैन, तपसिलका मूर्खलाई आफ्नो खोजका बारेमा । सबैलाई शब्दको छायामा थुनेर ऊ भाग्ने दाउमा छ । चुरोटहरू बाटो बिराउँदै आश्रय खोज्न उसको गोजीमा आउँछन् । उसलाई उज्यालो मनपर्दैन, सिवाय सलाई । त्यसैले ऊ जहिले पनि आँखा निभाउँछ, जब ऊ चुरोट सल्काउन सलाई कोर्छ । लाग्छ, ऊ कुनै तान्त्रिकले युद्धमा प्रयोग गरेर छोडेको कालो घोडा हो, मालिक संसारमा अलप भएपछि घोडाको चेतमा यस नगरीमा भौँतारिँइरहेको छ । ऊ सबैलाई परिचित ठान्छ, सबै उसलाई परिचित मान्छन्, चिया पिउँछ, चुरोट बाल्छ र चर्चा गर्दैन । धुँवासित बात मार्ने कुमार भर्जिन गँजडीका लागि आठौँ आश्चर्यको सिलिङ हो । मायामोहको सिलिङमा कालो काल सर्प वर्षौंदेखि बेरिएर बसेको छ । मानौँ, ऊ बस्ने घरमा कसैले मृत मानवहस्ती राखिदिएको छ । ऊ सोलो सिंगर हो, जीवन गीत गाउने । थोरै हाँस्ने कालीमाली गाई हो, पहाडी पठारमा दुबो चर्दै गर्दा डेजाबुको सिकारमा आफ्नै जातककथा भट्याउँछ, अन्यथा गीत–संगीत उसले छाडेको तŒव हो, भजन गाउँदागाउँदै भजनमण्डलीको उदेकलाग्दो बात सुनेर तर्सिएको थियो । अवकाशप्राप्त दारुकुमारसँग बैजनी रङका स्मृति छन्, त्यहाँ सबै अटाउँछन्, जो आफ्ना थिए र गाली गर्थे, जो पराई थिए र प्रेम खन्याउँथे । सबैको लीलाचरण गरेको छ उसले । ऊ दारुका पारदर्शी बोतलमा कस्मिक फ्यान्टासी देख्थ्यो, हरिया बोतलभित्र बसेको सेतो झोल पदार्थद्वारा मुख कुल्ला गथ्र्याे । वैद्यबाको सल्लाह थियो, हरेक साँझ सुत्नुपहिले र हरेक बिहान उठ्नुपहिले यो द्रव्यरस लिनुपर्छ, अनिवार्य रूपमा अनि मात्र यो विचारको सन्निपात शान्त हुन्छ । त्यसैलाई अन्तिम सत्य मानी कैयौँ वर्ष गल्लीमा बितायो, जहाँ पियो, ती भट्टीलाई नामुद बनायो र प्यालाका सामान्य अड्डालाई असामान्य बनायो । वैजनी रङको यात्रा सक्यो, शिरको शिराले बिट फे¥यो, त्यसपछि मात्र धुँवाको जंगलमा विचरण गर्न आफैँलाई कनभिन्स गरायो । उसले अरूले नगर भनेका सबै काम ग¥यो, गर भनेका सबै उल्लंघन गरी सबैलाई जिल पा¥यो तर अब आफैँलाई जिल पार्ने चानचुने कुरा थिएन । फेरि पनि डेमोक्रेटिक जन्तुको भेष धारण गरी रोबटलीलामा सरिक हुन तयार भयो ।

जनै लगाएको हातले धेरै अपरिचितका शिरमा आशीर्वाद बर्साएको छ । ती को थिए र किन आशीर्वचन मागे ? यसको समाधान तिनैले जानून््, जसले कुमारको हातको स्पर्श पाए । पहिलो वर्षामा मज्जा लिन भिजिरहेको उसलाई कोही मनकारी आउँछ र भन्छ, ‘हजुरलाई अलि परसम्म छाडिदिन्छु ।’ ऊ भन्छ, ‘कहाँ हो अघि ?’ फेरि पथिक भन्छ, ‘त्यहीँअगाडि हजुरको घरसम्म ।’ त्यो घर, भनौँ भाडाको घर घाट किनारामा हो, तर सहजनले यान्त्रिक घोडामा चाबुक मारेर पाटन लिएर गए र छाडिदिए । जहाँ मन बस्छ, त्यही घर हो, जहाँ शरीर सुत्छ, त्यो घाट हो । स्थायी सुताइको लोभ हुने थोरै चम्किला आँखामध्ये एक जोर उसका आँखा हुन् । उपत्यकाको कालनगरीमा केही खोजिरहेका छन् । लाग्छ, मञ्जुश्रीको तरबारको धारमा कुमारका सुकुमार शब्दाहार अनुष्ठान चलिरहेको छ ।

सररियालिज्म उसका लागि धर्म भयो । त्यसैको धङधङीमा शब्दका राजमार्गमा निस्कियो, स्टेजमा लाइट, साउन्डसहित ओभरकोटमा लुकेको मणियुक्त कब्रस्तान टल्कायो । उसको डायलग डेलिभरि सधैँ अपूरो नै लाग्यो । ऊ एक जग इमोसनलाई बाल्टीबाट उठाउँथ्यो र दर्शकदीर्घातिर छर्किदिन्थ्यो । सोझा दर्शक गउँत मानी थोरै चाख्थे र मुख बिगार्दै टर्रो मुस्कानसहित फालिदिन्थे । भट्किएका आत्माको शान्तिका लागि उसले सिनेमामा रुचिको चम्चा डुबायो । ग्रिककालीन हस्ते सुगरमिलको मालिक चम्चामा चिनी ज्युनार गर्न मजा मानिरहेको छैन । सिनेमा, रङ, आवाज र इफेक्टमा पनि ऊ पर्फेक्ट आन्सर दिन सकिरहेको छैन । सबै प्रयासका बाबजुद पनि केही न केही चेतमासी बाँकी रहेको अनुभूति ऊसँग छ ।

लेखन के हो त?

नगरकोटीसँग नगरिएको एक प्रश्न फेरि पनि उनी उत्तर दिन कस बाँकी राख्दैनन् र भन्छन्,

यो मायावी संसारमा लेख्नुबाहेक अर्को के विकल्प छ मसँग ? कविताले अठ्याउँदै जाँदा अरू विधा पनि पिछा गर्न थाले, अथवा भनौँ मैले तिनको पिछा गर्न थालेँ । सायद त्यहाँ धेरै आनन्द हुन्छ कि प्रसव विचारको वीर्यपात लामा लाइनमा पाउँछु भनी त्यतापट्टि लागेँ तर त्यो पनि होइन रहेछ । त्यसपछि पनि त लेखिरहेको छु । यो जिज्ञासाको प्यान्डोरालाई मेरा अज्ञात पाठक आउनेछन् र फुटाउनेछन्, कारण खोज्नेछन् र उजिल्याउनेछन् मेरा बाँकी शाब्दिक अस्थिपञ्जर इतिश्री ।

बजारमा चाहेका कुरा किन्न पाइन्छन् । कुमारका शब्दको नालीबेलीलाई बाली बनाएर घरमा भिœयाउनेका निजी मत अभिमत छन् । फिक्सन डिजाइनर कुमारले कुमारलाई रुचाएको नाम थियो । धेरैले साहित्यिक आतंकवादी भनेर शब्दको विभत्स हत्या आरोप लगाएका छन् । हिजडालाई हेप्ने समाजमा खजडा बनाइएका कुमार महात्म्य श्रीखण्डे हुन नपाउँदै वागमती किनारमा धुँवा बनेर फुसफुसाइरहेका छन् । शब्दहरूको चीरहरण गर्नमा माहिर कुमारले कैयौँ कुमारी शब्दिकाका रसिलो पोसिलो कुमारित्व भंग पनि गरेका छन् । वृद्ध शब्दहरूको झाङ फाडेर गुँड बसाएकाछन् । सहरका पुलिस पहरेदारहरू कुमार नर्तन देखेर मजा मानिरहेका छन् । हेरेर आनन्द लिनु पनि एक किसिमको आनन्दीवाद हो, कार्ल माक्र्सभन्दा कम खतरनाक वाद, सिफलिस र एचआइभीभन्दा इलिट डिजिज हो यो, जुन एक चम्चा सेतो दारीभित्र झेन स्वरूपमा लुकिबसेको छ । निर्जीव हिमाली डाँकुको गोडामा लोलाएका दोचामा पसेको छ, स्मृतिको गाण्डिवमा धसिएको छ । 

‘मोक्षान्त काठमाडौं फिभर’ प्रिय आत्मा भनौँ कि शरीरको अनाथ उपहार थियो ! पासा गोविन्दले गो भनेर हरियो तौलिया बेरेपछि बाथरुममा साबुनको फिँजसँग उठ्दै फुट्दै गरेका बबल्स थिए । फोसिल नेपालयको बोझिल यात्रा उनन्यन थियो । मेधावी छात्रछात्रा सुस्केरा मार्दै थेसिस लेखिरहेका छन्, गाइड सिन्थेसिसमा घोत्लिएको छ, कुमार परापूर्वकालको सिम्फोनी सुनेर सुस्ताइरहेको छ । ‘अक्षरगन्ज’ गगनगन्जमा बस्ने सुपर चालबाज चार सौ बीस नम्बर टंकन झापाली यातायातको कन्डक्टरको करामत थियो । ‘मिस्टिका’को मिस्टिक यात्रा पनि घमाइलो छ । जाडोमा घाम तापिरहेका बेला कुल्फी बेच्न आउने काबुलीवालाको स्नेहमा कुमार ग्रहण लागेपछि प्रस्फुटित स्फटिकको बसेरा थियो । ‘घाटमाण्डु’को जन्म काठमाण्डुको जिजु हजुरबा काष्ठमण्डपलाई भूकम्पले उठ्नै नसक्ने गरी कमाएपछि भएको थियो, घाटमा जान बाँकीले त्यसलाई गाइडबुकका रूपमा जीवनसेवार्थ अध्ययन गरिरहेका छन् । तातोतातो तागतिलो चूर्णका रूपरंगमा आएको ‘दोचा’ धृतराष्ट्रजस्तो कुरूप काव्य होइन, यो त ब्रह्माण्डीय वृत्तको गुन्जन हो, फगत सर्जकले भनेझैँ यो एक समकालीन इतिहास हो, मस्तीका मायाजाल बुनिएका छन् । गर्भावस्थामै रहेको ‘ज्ञ’ को खैलाबैला मार्केटमा कनिङ कन्डक्टर दीनानाथ दीक्षितको भक्तप्रसाद नामक भ्यागुतोको विश्वव्यापी चर्चाभन्दा धुमधामसँग चलिरहेको छ । अड एन्ड इभानका किस्साका रेखामा कल्ट बनाएर हिँड्ने प्रगतिगामी वामपन्थीको चियाचर्चा पर्फेक्टली चलिरहेको छ । पृथ्वीको इन्द्रसँग धेरै सपना छन्, नगरकोटीका शब्दको स्टिम बाफ लिने अजिब खोज उनमा देखिन्छ । नाम हाल्न बाँकी धेरै कृति व्यापारको डुंगामा बस्ने गरी रमाना भएका छन् । मीनपचास निवासी लर्ड शिवका शिष्य जगल्टाधारी निर्देशकका एकजोड आँखा स्क्रिन सटमा तन्मयतापूर्वक लागिरहेका छन् । राजनको दरबारमा लेखकहरू झ्यालखानामा छन्, लेखिकाहरू जाडोजेथा मुण्डन स्वीकार गर्न मानिरहेका छैनन् । युवराज युरोप हान्ने दाउमा छन्, उनको राज मानसिक तयारीमा बुर्कुसी मारिरहेको छ । सबैका बाबजुद भन्ते कालो भाले काखीमा च्यापेर चन्द्रागिरिको उकालो लाग्नुहुन्छ, चन्द्रेले वन मासेको चिन्ता कसैलाई छैन, वातावरण विनाश गर्ने मन्त्री केवलकारको उद्घाटनमा सपरिवार विराजमान छन् । त्यस्तै वनमन्त्री, प्रधानमन्त्रीइतरका सबै गण चन्द्रेको प्रकृतिहरण अवलोकन गर्न, चन्द्रागिरिमा अवतरण दादागिरी मिश्रित रमिता हेर्न, डबका घोप्टाएर मन हर्ने डाँडामा जम्मा भएका छन् । जाडो निकै छ, कालो कफीले मुख कुल्ला गरेपछि आइसक्रिमले जिब्रो धोएर भन्ते नगरमा फर्कन्छन् । साथमा जेन्टलम्यान र बाबाको बरोबर साथ छ । केवलमा गुड्ने कारहरू कालान्तरमा हावामा उड्नेछन् र सुदूर जगत्को जादुगरी कथामा खुक्स खाँदै खोकिरहेको छ । जीवनमा धेरैबेर जाग्राम बसियो र काम गरियो भने लालपुर्जा निर्धारित समयभन्दा अलि चाँडै हात पर्छ तर ब्रह्माण्डीय चेतको पराग कस्मिक बडिमार्फत हल्लिरहेको छ । सुनगाभा उसको विशुद्ध पेय पदार्थ, आँखामा काजल लाएर हार्लेक्षणामा सुनाइरहेको छ ।

सुफियाना उसको सर्वाधिक सुन्दर रचना रे ! गोलो अनुहारमा सल्केका गोला आँखा विश्वगोलामा सूक्ष्म शरीर लिई घुमिरहेका छन् । सामान्य ओठमा चुम्बकीय आकर्षण होइन, त्यसमा लागेको कलेजी रङको बुटपालिसको रङ कलेजोको अन्तरकुन्तरसम्म पुगेको छ, मद्दतका लागि हाजिर छ, गोर्खाली खुकुरी । सायद याददास माधुरीमार्फत दीक्षित भएको हो कि ! दिव्या भारती, हेलेन वा सिल्क स्मिता । रोमान्टिक एराका ती षोडसीले गोडेको लिलीफूल हृदयको दलिनमा बाल्टीका बाल्टी ज्ञात–अज्ञात सुन्दर ओठहरू फरफराइरहेका छन् । सातौँ वा सत्रौँ दिनमा जनाब वैरिएर आउनुहुन्छ, जिसस फिस खानुहुन्थ्यो । उहाँ खप्परलाई खानदानी बाकसका रूपमा आँत भर्नुहुन्छ । प्रख्यात तालु कहिले कोलम्बियाको नाइट क्लबमा निकी मिनाजको तीघ्रासँग कुस्ती खेलिरहेको छ, कहिले लसभेगसको उज्यालो रातमा किम कार्डसिनको वक्षस्थलमा सिद्धिचरणको मरुस्थल कविता वाचन गरिरहेको छ । चिण्डे तालु सबका लागि अयोग्य उजाड बञ्जर भूमि लागे पनि कथाका सुन्दर प्लटहरू, कविताका सुमिरन खित्काहरू... उठ्न खोजेका केशराशिका कान्लाहरूबाट चियाइरहेका छन् । अतृप्त आत्मकथाहरू संसारी बतासले धनी लेखकद्वारा अन्मन अस्वीकार गरिएपछि गरिब मुसाफिर खानाको कित्लीबाट बाफ बनी खितखिताइरहेका छन् । पाटनको रैथानेले धोबीखोला किनारको मलिलो माटोमा उब्जाएका नगदेबाली पटनाको गंगा किनारामा सुसाइरहेका छन्, जग हँसाइरहेका छन् ।

घोर निन्दा गर्न ना(लायक) भूपू कवि, शब्दहरूको चीरहरण गर्ने, धुन्धुकारी अघोरी नगरकोटी, हालको उमेर ५५, पहिलो रजस्वला भएको उमेर सत्र वर्ष हाँस्न सिकेको उमेर सात वर्ष, त्यसपूर्व ऊ ग्रिकका मिथहरूमा राज गथ्र्यो, अहिले नगरमा वास गर्छ । उसको भट्केको आत्माले कसैको सातो खायो भने त्यसको इहलीला समाप्त हुन्छ । शब्दहरू जन्माउन ओथारो बस्छ, टुनामुना गरेर, तान्त्रिक विधिद्वारा शब्दहरूमा पञ्चामृत छर्की मध्यरातमा चौबाटोमा पुगेर छाडिदिन्छ । वितरागीहरू जन्माउने श्रेय कारखानाको एकल ठेकेदार ऊ, त्राटक गरेर, इन्द्रजालको साधना गरिरहेको छ । आत्मालाई शरीरदान दिइरहेको छ, प्राणमा प्वाँख भरिरहेको छ । सावधान ! पुराना खप्परहरू, सावधान ! राष्ट्रवादी तŒवहरू, सावधान ! नरनारीहरू । शब्दका गुच्छालाई बेहोसीमा ग्रहण नगर । यसपछि आउने परिणामको भागिदार तिमीहरू स्वयं हुनुपर्नेछ, न कि ती हरफहरू, जसको हरकले तिम्रो आँत रसायो र होस उडायो ।

(कुमार नगरकोटीद्वारा लिखित संस्मरण दोचा गत साता सार्वजनिक भएको छ।)  

प्रकाशित: २४ भाद्र २०७४ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App