गाउँमा सिंहदरबार आउने हल्ला अस्तिदेखि चलेको थियो। सिंहदरबारको नाम मात्रै सुनेका गाउँलेहरू अब सिंहदरबार आफ्नो गाउँमै आउने कुरा सुनेर अत्यन्त खुसी भएका छन्। म खुसी नहुने कुरै भएन। अस्ति भर्खर स्थानीय तहको चुनाव सकियो। त्यो चुनाव सकिनेबित्तिकै गाउँमा सिंहदरबार आउने कुरा थियो। चुनावलगत्तै गाउँपालिकामार्फत गाउँमै सिंहदरबार आउँछ रे भन्थ्यो। गाउँपालिकाको काम पहिले त गाउँपालिकाले नै गर्ने गर्थ्यो। अब सिंहदरबारले गर्छ। गाउँपालिकाको काम पनि सिंहदरबारले नै गर्ने भएपछि हामी गाउँलेलाई के चाहियो?
'पहिले भनेको गाउँपालिका हो। अहिले त सिंहदरबार हो, सिंहदरबारलाई तपाईं गाउँपालिकासँग दाँज्ने? सिंहदरबार र गाउँपालिका एउटै हुन्छ?'
गाउँपालिकामा सिंहदरबार आइरहेका बेला। अब संयोग नै भनौँ, ठ्याक्क यही बेला मेरो पनि छोरोको नागरिकता बनाउने काम टुप्लुक्क आइपर्यो। वाह! भाग्यमानी रहेछ छोरो। गाउँमै बसेर सिंहदरबारबाट नागरिकता बनाउन पाउने भएछ।
छोरोको नागरिकता बनाउन म खुसी–खुसी गाउँपालिका गएँ। गाउँपालिका किन, गाउँको सिंहदरबार गएँ भनौँ न। गाउँपालिका त उही हो। तर बाहिरबाट हेर्दा मलाई त सिंहदरबारै ठिङ्रिङ्ग खडा भएकोजस्तो लाग्यो। दायाँ–बायाँ दुइटा सिंह, बीचमा दरबार। अर्थात् सिंहदरबार।
भित्र पसेँ। कर्मचारी सरहरू चिया खाँदै हुनुहुन्थ्यो। टिफिन टाइम रे। सिंहदरबारमा यस्तो टाइम पनि हुने रहेछ, पहिले थिएन। करिब एक घन्टाजति पर्खेपछि टाइम सकियो। टिफिन टाइम होइन, काम गर्ने
टाइम। काम गर्ने टाइम सकिएकाले सरहरू घर जाने तर्खरमा लागे। तर म अलमलमा परेँ। मैले एकजना सरलाई सोधिहालेँ, 'सर, म त छोराको नागरिकता बनाउन आएको, के गर्नुपर्ला?'
उहाँले यसो घडी हेर्नुभयो। आखिर उहाँ सिंहदरबारको सर पर्नुभयो, थोडै गाउँपालिकाको सर हो र? उहाँले भन्नुभयो, 'आज त टाइमै सकियो नि। यसो गर्नुस् न, आज यो फाराम लिएर जानुस्। घरमा भरेर पर्सि आउनुस्।'
'पर्सि किन सर, भोलि हुन्न?' मैले सोधेँ।
सरले भन्नुभयो, 'भोलि त हुन्छ। तर मचाहिँ हुन्न, त्यही भएर।'
मैले भनेँ, 'भोलि सर नभए पनि अरु सरले गर्दिनुहुन्छ होला नि। किन पर्सिसम्म पर्खने?'
सरले भन्नुभयो, 'कहाँ अरुले गर्छ र भाइ। अब यो गाउँपालिकाले गर्ने काम हो र? यो त सिंहदरबारले गर्ने काम हो। सिंहदरबारले गर्ने काम कहाँ यसलाई, उसलाई अह्राएर जान पाइन्छ।'
म अलमलिएँ। नागरिकता त चाँडै बनाउनु छ। कसोकसो मेरो आँखा कार्यालयको भित्तामा टाँगिएको घडीमा टाँसिन पुग्यो। अरे! अहिले त पाँचै बजेको छैन, भर्खर बज्न लाग्दै छ । मैले झट्ट भनिहालेँ, 'उसो भए आजै गरौँ न सर। मैले फोटोसोटो सबै लिएर आएको पनि छु। एकछिनमा भइहाल्छ। फाराम भरौँ?'
'तपाईंले फाराम भरेर के गर्ने?' उहाँले भन्नुभयो, 'मेरो जाने टाइम भइसक्यो।'
'टाइम भइसक्यो? अहिले त चारै बजेको छैन सर,' मैले रुन्चे स्वर निकालेँ।
'त्यही भएर त अहिले जान लाग्या नि,' उहाँले पुनः भन्नुभयो, 'चार बजे त मिटिङै छ।'
मैले दिक्दार भएर भनेँ, 'खै पहिलेका सरहरू त यसरी चारै बजे हिँड्ने गर्नुहुन्नथ्यो। काम परे ढिलै भए पनि बस्नुहुन्थ्यो।'
'पहिलेको कुरा नगर्नुस् न तपाईं,' सरको स्वरमा थोरै कडापन देखियो, 'पहिले भनेको गाउँपालिका हो। अहिले त सिंहदरबार हो, सिंहदरबारलाई तपाईं गाउँपालिकासँग दाँज्ने? सिंहदरबार र गाउँपालिका एउटै हुन्छ?'
मेरो छातीभित्र केही कुरा सुलुक्क चिप्लेजस्तो लाग्यो। सायद सातो हल्लिएको होला। तैपनि आँट निकालेर भनेँ, 'अब त्यो त हामीलाई के थाहा हजुर। यति जाबो नागरिकताको काम पनि किन पर्सिसम्म पर्खौं भनेर भनेको हुँ।'
'हैन यो आउनेबित्तिकै काम गर्नलाई हिजोको गाउँपालिका हो र भन्या हँ! गाउँपालिका भन्या पो यत्ति सानो हुन्छ, आयो, काम गर्यो, गयो। सिंहदरबार त कहाँ त्यस्तो हुन्छ? काठमाडौंमा सिंहदरबार देख्नुभा'छ? कत्रो छ? अब त्यत्रो ठूलो कार्यालयले कसरी आउनेबित्तिकै काम गर्छ भन्नुस् त। टाइम चाहिएन? बेलाबेला मिटिङ भइरहेको हुन्छ। गोष्ठी भइरहेको हुन्छ, जान परिहाल्यो। अफिसमै बसिरहुँ भनेर कहाँ पाइन्छ? ल म हिँडेँ। पर्सि आउनुस्, म हेर्दिउँला।' यति भन्दै सर फुत्त बाहिर निस्किनुभयो। सर हिँडेपछि अर्को सानो सर पनि स्वात्तै निस्किहाल्नुभयो। अन्तिममा एउटा म्याडम मात्रै बाँकी रहनुभयो। उहाँले चैँ केही बोल्नुभएन। मैले नै गएर बोलेँ, 'म्याडम, सर त पर्सि मात्रै आउने रे। यत्ति काम तपाईं नै गर्दिनुस् न, नसकिने होइन क्या र!'
म्याडमले सुस्तरी बोल्नुभयो, 'मेरो काम त दर्ता–चलानी मात्रै हो। यस्तो फाराम–सारामको काम म कहाँ गर्छु र? तपाईं पर्सि नै आउनुस्।'
मैले भनेँ, 'काम अर्कै भए पनि यसो सहयोग गर्न त मिलिहाल्छ नि। पहिले त हुँदै आएको हो क्या रे।'
'अघि सरले के भन्नुभाथ्यो? पहिलेको कुरा नगर्नु भन्नुभा हैन?' म्यामको स्वर पनि चर्कियो, 'गाउँपालिकामा पो जसले जे काम गरे पनि हुन्छ। अहिले सिंहदरबारमा त्यस्तो जथाभावी गर्न मिल्छ? हामीलाई फसाउने विचार छ कि क्या हो तपाईंको? जानुस्। पर्सि आउनुस्। बरु आउँदा यसो खर्चबर्च पनि लिएर आउनुस्। सिंहदरबारमा के पर्ला के पर्ला!'
अब के भन्नु? केही भनिनँ। बरु सोचेँ, गाउँमा सिंहदरबार चाहिँ साँच्चै पसिसकेकै रहेछ।
प्रकाशित: १४ श्रावण २०७४ ०४:३० शनिबार