५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

‘फोहोरै भए पनि काठमाडौं नै राम्रो लाग्छ’

स्वस्तिमा खड्का, अभिनेत्री
तपाईंलाई कस्तो सहर मनपर्छ ?
सहर प्रदूषणमुक्त र हेर्दै रमाइलो लाग्ने हुनुपर्छ । मलाई पनि यस्तै सहर मन पर्छ । तर, अहिले जे मनपर्दैन काठमाडौंवासीले त्यही भोगिरहेका छन् । जताततै प्रदूषण र फोहोर छ । जिम्मेवार निकायले सहरको प्रदूषण र भद्रगोललाई समाधान गर्न ध्यान दिएका छैनन् । हामीले सास्ती खेपिरहेका छौँ । फोहोर भए पनि मलाई काठमाडौं नै राम्रो लाग्छ । यहाँको हावापानी र मौसम राम्रो छ । 

तपाईं घुमेकामध्ये मनपर्ने सहर कुन हो ? 
मलाई सिंगापुर एकदमै मनपर्छ । त्यहाँको सडक व्यवस्थित छ । ट्राफिक नियम पनि कडा छ । जनता सचेत भएकाले सिंगापुर धेरैको मनपर्ने ठाउँ भएको छ । हामी पनि सबै मिलेर नेपालका सहरलाई त्यस्तै बनाउन आवश्यक छ । 

तपाईंको सपनाको सहर कस्तो होला ?
मेरो सपनाको सहर यस्तो होस्, बाहिर निस्कँदा फोहोर र प्रदूषण देख्न नपरोस् । सडकमा यात्रा गर्दा आनन्दको अनुभूति होस् । सरकारले सार्वजनिक सवारी व्यवस्थित ग¥यो भने धेरैको समस्या समाधान हुन्छ । सम्पन्न ठाउँ नै सहर भएकाले त्यहाँ सबै कुरा व्यवस्थित हुनुपर्छ । मेरो सपनाको सहर काठमाडौं नै हो । जहाँ गए पनि काठमाडौंलाई सम्झन्छु । सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाम लगायतलाई केन्द्रमा राखेर काम गर्ने हो काठमाडौं सफा र सुन्दर हुन समय लाग्दैन । 

काठमाडौंको मनपर्ने पक्ष के हो ? 
पुराना बस्ती र सम्पदा क्षेत्र मनपर्छ । हामीले चाहेका धेरै सुविधा यहाँ सजिलै पाइन्छ । पोखरा र अन्यत्रका सहर जाने हो भने धेरै सुविधा पाइँदैन । घुम्ने ठाउँहरू समेत भएकाले काठमाडौं रमाइलो छ । काठमाडौंको हावापानी र वातावरणले नै मन लोभ्याउँछ । उपत्यकाका मठ–मन्दिर पनि मलाई एकदमै राम्रो लाग्छ ।

फेसन र साथीभाइ भेटघाटमा कत्तिको रुचि राख्नुहुन्छ ? 
मलाई सामान्य खालको फेसन नै मनपर्छ । जुन स्थानमा जाने हो, त्यही स्थानलाई सुहाउने खालको फेसन गर्ने गर्छु । 

सहरवासीको मननपर्ने बानी के हो ? 
सहरमा बस्ने धेरैको मननपर्ने पक्ष अरुको आलोचना गर्नु हो । आलोचना गर्ने समयमा कसैलाई कुनै काममा सघाउने हो भने त्यसले ठूलो फाइदा हुन्छ । तर, आफूले पनि नयाँ काम नगर्ने र अरूको आलोचना गरेर बस्दैमा सहर सप्रिन्न । सहरका समस्या हेर्दा सरकार पनि जिम्मेवार छ जस्तो लाग्छ । 

सहरलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ? 
सहरलाई व्यवस्थित बनाउन सबै मिलेर हातेमालो गर्नुपर्छ । सरकारले ल्याएका योजना कार्यान्वयन गर्नुपर्छ । हाम्रो सरकार नै फितलो छ । नागरिक पनि उत्तरदायी छैनन् । योजनाबद्ध रूपमा काम गरेको भए आज काठमाडौं धेरै राम्रो बन्थ्यो होला । सरकारले गल्ती गरेको ठाउँमा नागरिकले पनि जिम्मेवार भएर खबरदारी गर्न सक्नुपर्छ । 

साथीभाइसँग कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
म उपत्यकाका दरबार क्षेत्र घुम्न जान्छु । दक्षिणकाली, नगरकोट, बूढानीलकण्ठ पनि मलाई मनपर्ने ठाउँ हुन् । यी ठाउँमा गएपछि आनन्द आउँछ । 

काठमाडौंको मनपर्ने खानेकुरा के हो ?
थकाली खाना हो । समय मिल्यो भने कहिलेकाहीँ थकाली खाना खान्छु । हरियो साग, नेवारी खाजा पनि मनपर्छ । 

तपाईं केही समय प्रधानमन्त्री बन्न पाए के गर्नुहुन्थ्यो ?
त्यस्तो अवसर पाए आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै काम गर्थें । सडक निर्माणदेखि सहरवासीका सबैखाले समस्या समाधान गर्नतिर लाग्थेँ । 

प्रकाशित: १३ श्रावण २०७४ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App