९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

रमजान रौनक

घण्टाघर नजिक जामे मस्जिदमा हरेक साँझ भीडभाड हुन्छ। घाम अस्ताउन लागेपछि गुञ्जन्छ –'अल्लाह अकबर' र 'बिस्मिल्लाह रहमान रहिम'को धुन। एकै खालको पहिरन र सेतो टोपी लगाएकाको मस्जिद अगाडिको सार्वजनिक धारामा ताँती लाग्छ र हुजु (प्रार्थना अघिको सरसफाइ) गर्न थाल्छन्।

हुजुपछि मस्जिद पसेका पुरुष र महिलाको समूह छुट्टाछुट्टै लहरमा बस्छन् नमाज पढ्न। यस स्थानमा वर्षौदेखि हरेक साँझ दोहोरिन्छ यस्तै दृष्य।

राजधानीको जामे मस्जिद मात्र होइन, अहिले मुुलुकभरका मुसलमान समुदायमा रमजानको रौनक छ। हुन त रमजान अरु धर्मका पर्व जस्तो होइन। यसमा धर्मावलम्बीले त्याग र तपस्या गर्नुपर्छ भने अरु धेरै पर्वमा भोजभतेर र रमाइलो।

गत सातादेखि भने मस्जिदको भीडमा थप मानिस मिसिएका छन्। अनि परिवर्तन भएको छ इमाम (मुसलमान धर्मगुरु)ले गर्ने घोषणाको शैली। उनी अचेल हरेक दिन आकास हेर्छन् र चन्द्रमा उदाएको संकेत पाएपछि घोषणा गर्छन् 'इफ्तर' अर्थात व्रत तोड्ने भोजको।

मुसलमान धर्मावलम्बीका लागि यो नौलो होइन। तर, हिन्दू धर्म मान्ने धेरै भएको मुलुकमा अधिकांशका लागि घण्टाघर नजिकको जामे मस्जिदको दृष्य नौलो हुनसक्छ।

केही वर्षअघिसम्म युनिस मल्ल ठकुरीलाई पनि जामे मस्जिदको दृष्य अनौठो लाग्थ्यो। अहिले भने उनी आफै त्यस दृष्यमा सहभागी हुन थालेका छन्। दिनभरको कष्टकर रोजा (व्रत) पूरा गरेर अरु रमाएझैं साँझ 'इफ्तर'मा रमाउँछन् उनी पनि।

हिन्दू परिवारमा जन्मिएका उनले दुई वर्षअघि मात्र मुसलमान बनेका हुन्। 'मैले कुरान र मुसलमान धर्मबारे अध्ययन गरेपछि त्यसले मलाई आकर्षित गर्‍यो,' ठकुरी भन्छन्। मुसलमान धर्मग्रन्थ अध्ययन गरेपछि उनको अन्तर आत्मालाई अनौठो कुराले छोयो। त्यसपछि उनले परिवर्तन गरे आफ्नो धर्म र बने 'पूर्ण मुसलमान'।

मुसलमान बनेपछि उनको घरमा 'अल्लाह, अकबर' र 'हरहर महादेव' दुवै गुञ्जन थाल्यो। धर्म परिवर्तन गरे पनि उनको परिवारमा कुनै मनमुटाव छैन, सबैले स्वीकारेपछि उनलाई आफ्नो धर्मका आधारमा आराधना गर्न कुनै अफ्ठ्यारो छैन।

चितवनका ठकुरी राजधानीमै बस्छन्। उनले अघिल्लो वर्ष पनि रमजान (अरब क्यालेन्डर अनुसार नवांै महिना) महिनाभर रोजा राखे। घाम उदाउनु पहिलेदेखि अस्ताउने बेलासम्म निराहार बसे। 'यसले मलाई आत्मसन्तुष्टी दिन्छ,' उनी भन्छन्, 'नमाज पढ्दा आनन्द आउँछ।'

धर्म परिवर्तन गरेर मुसलमान भएका उनी मात्र होइन, अरुका लागि पनि रमजान महिनाले विशेष महत्व राख्छ, हिन्दूका लागि दसैं आउने बेला जस्तो।

राजधानीको जामे मस्जिद मात्र होइन, अहिले मुुलुकभरका मुसलमान समुदायमा रमजानको रौनक छ। हुन त रमजान अरु धर्मका पर्व जस्तो होइन। यसमा धर्मावलम्बीले त्याग र तपस्या गर्नुपर्छ भने अरु धेरै पर्वमा भोजभतेर र रमाइलो।

दिनभर निराहार व्रत बस्नुपर्ने भए पनि २२ वर्षीया साहिल अख्तरका लागि रोजा प्रतीक्षाको क्षण हो। तीन कक्षा पढ्दादेखि रोजा बस्दै आएका उनी यसपाली पनि उत्तिकै उत्साहका साथ रोजामा छन्। रमजान नजिकिँदै जाँदा उनको शरीरभर छुट्टै ऊर्जाको सञ्चार हुन्छ। 'अल्लाहको एकदम नजिक पुगेजस्तो लाग्छ,’ अख्तर भन्छन्।

रमजान महिनाभर अख्तर जस्तै मुसलमान धर्मावलम्बी दिनभर निराहार बसेर साँझ चन्द्रमा उदाएपछि 'इफ्तर'मा रमाउँछन्। यसबेला उनीहरू आफन्तसँग भेटघाट गर्ने र रोजा राख्नु पहिलो र पछि मिठा परिकार बनाएर खानेसमेत गर्छन्।

मुसलमान धर्मग्रन्थका अनुसार यो महिनामा अल्लाहका दूत ग्याब्रियलले मोहम्मदलाई पहिलोपल्ट कुरान प्रस्तुत गरेको विश्वास गरिन्छ। अरु बेला नमाज पढ्न अनिवार्य नभए पनि रोजाको बेला भने नमाज दिनको पाँचपटक पढ्नैपर्ने राष्ट्रिय मुस्लिम संघर्ष समिति अध्यक्ष समिम मिया अन्सारी बताउँछन्। 'बिहान सेहरी ३ बजेर ३२ मिनेटमा केही खाइसक्नुपर्छ र त्यसपछि दिनभर केही  खान हुँदैन,' उनी भन्छन्। साँझको 'इफ्तर'मा सबैजनासँगै बसेर मिठा परिकार खाने गर्छन्।

दाङका हसिम खानका लागि रमजान विशेष हो। अरु बेला भन्दा रमजानमा उनको दिनचर्या फरक हुन्छ। दिनको पाँच पटक नमाज पढ्छन्। साँझ 'इफ्तर'मा रमाउँछन्। उनको घरमा पाँच जनाले रोजा राखेका छन्। 'आफन्त पनि साँझ  'इफ्तर'मा सँगै हुँदा रमाइलो लाग्छ,' उनी भन्छन्।

उनकी दिदी आविदा खानलाई रमजानको अन्तिम दिन 'इद उल फित्र' अझ महत्वपूर्ण लाग्छ। एक महिना दिनभर भोकै बस्नु रमजान मनाउनु मात्र नभई अरुलाई केही दिने, खाना, पानी, भोक, प्यास सबै अरुलाई दिएजस्तो महसुस हुने खान बताउँछिन्।

'यो पूरै महिना पवित्र हुन्छ र महिनाभर आँखाले नराम्रो नहेरोस्, नदेखोस्, खुट्टा नराम्रो बाटोमा जान नखोजोस्, मुखले नराम्रो वचन नबोलोस् भन्ने हुन्छ,' उनी भन्छिन्, 'रोजा राख्दा गरिब दुःखीको पीडा र खानाको महत्व बुझ्न सक्छौं।'

वीरगञ्जकी सलमा खातुन रोजा बस्दा दिनभर भोकै बस्नु परे पनि आफूलाई सन्तुष्ट महसुस हुने बताउँछिन्। एक महिनासम्म रोजा राख्दा आनन्द, रमाइलो महसुस हुने मात्र नभई दानको महत्व बुझिने उनी बताउँछिन्। 'यो पवित्र महिना हो। यसबेला सकेसम्म कहिले पनि कसैलाई चोट पुर्‍याउनु नपरोस् भनेर रोजा राख्नेहरू निकै चनाखो हुन्छन्,' उनी भन्छिन्। दिनभर भोकै बस्दा गरिब र पर्याप्त खान नपुग्नेको पीडा अनुभव हुने र खानाको महत्व पनि बुझिने खातुन बताउँछिन्।

रमजान महिनामा धेरैभन्दा दान गर्नुपर्छ। मुसलमान धर्मका पाँच स्तम्भ छन्– नमाज, कलमा, रोजा, जकात र हज। जकातमा आफ्नो वर्षभरिको आम्दानीको साढे दुई प्रतिशत दान गर्ने चलन छ। कतिपय जकात मदरसालाई दिइने र यही जकातको रकमले कति मदरसा वर्षभरि चल्ने गर्छन्।

प्रकाशित: २० जेष्ठ २०७४ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App