१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

उपनामको उपद्रो

भीडबाट आफूलाई अलग देखाउन खोज्नुलाई मान्छेको सामान्य मनोविज्ञान मानिन्छ। अस्तित्व रक्षा वा स्थापित बन्ने लोभमा पनि मान्छेहरू उपनाम राख्न खोज्छन्। आफ्नो नाममा अर्को कुनै नयाँ उपनाम वा फुँदा जोड्नुको आशय नै अरुभन्दा फरक देखाउने चेष्टा हो। उपनाम अर्थात् आफ्नो वास्तविक नाममा अर्को नाम थपेर वा नामकै सट्टामा नयाँ प्रयोग गर्ने नाम। जीवनको कुनै न कुनै समयमा धेरै मानिसले राख्ने यस्ता नामले साहित्यकारहरू सबैभन्दा बढी छोइएका पाइन्छन्। कतिपय पत्रकार, कलाकारले पनि उपनाम जोडेर आफ्नो नामलाई अलग देखाउने चेष्टा गरेको देखिन्छ। जेसुकै भए पनि यसरी नेपालका साहित्यकार मात्र होइन, विश्वसाहित्यमा जमेका थुप्रै लेखकले पनि उपनाम अर्थात् 'पेन नेम' प्रयोग गरेर साहित्य सिर्जना गरेका छन्। अझ कतिपय महिला साहित्यकारले पुरुषको नाममा समेत आफ्ना कृति प्रकाशित गरेको समेत भेटिन्छ। अद्भूत सिर्जना क्षमता भएका लक्ष्मीप्रसाद देवकोटालाई कुनै उपनामको आवश्यकताबोध भएन। अत्यन्तै सामान्य नाममै रमाएका उनी नेपाली साहित्यका 'महाकवि' बन्न पुगे। उता, विलक्षण सिर्जना शक्ति भएकी विष्णुकुमारी वाइबालाई उपनाम नभई भएन। उनले आफ्नो कलम परिचित गराउन एउटा फूलको नाम 'पारिजात' चयन गरिन्। र, नेपाली साहित्यमा अमर बनिन्। कतिपय लेखकले आफ्नो नाम मात्र होइन थर नै पनि परिवर्तन गरेर लेखेको पाइन्छ। राजनीतिकर्मी तथा लेखक प्रदीप नेपाल कुनै समय सन्जय थापा नाममा रचना लेख्थे। अहिले उनी त्यो नाममा लेख्दैनन्, वास्तविक नाममै लेख्छन्। नेपाली साहित्य दुनियाँमा यस्ता थुप्रै घटना छन्। 

आफ्नो नाममा अर्को कुनै नयाँ उपनाम वा फुँदा जोड्नुको आशय अरुभन्दा फरक देखाउने चेष्टा हो। उपनाम अर्थात् आफ्नो वास्तविक नाममा अर्को नाम थपेर वा नामकै सट्टामा नयाँ प्रयोग गर्ने नाम। जीवनको कुनै न कुनै समयमा धेरै मानिसले राख्ने यस्ता नामले साहित्यकारहरू सबैभन्दा बढी छोइएका पाइन्छन्। कतिपय पत्रकार, कलाकारले पनि उपनाम जोडेर आफ्नो नामलाई अलग देखाउने चेष्टा गरेको देखिन्छ।

अन्तर्राष्ट्रिय अनुभव

ह्यारी पोर्टर सिरिजकी लेखिका जे. के. रोलिङले आफ्नो नामको पहिलो अक्षरलाई छोटकरीमा जे. बनाइन् र के. थपिन्। उनले आफ्नो जासूसीखालको कृति 'दि कुकुज कलिङ'मा रोबर्ट गलब्रेथ नाम प्रयोग गरिन्। विज्ञान आख्यान (साइन्स फिक्सन) लेख्ने विश्वविख्यात लेखखक आइज्याक आसिमोभले एउटा विज्ञान सम्बन्धी आख्यान 'लक्की स्टार एन्ड दि बिग सन अफ मर्करी' मा आफ्नो नाम पल फ्रेन्च भनेर प्रयोग गरेका छन्।

'दि एड्भेन्चर्स अफ टम सायर' र 'दि एड्भेन्चर्स अफ हकलबेरी फिन' का लेखक मार्क टि्वनको खास नाम यो होइन। यो नामबाटै चर्चित भएका उनको खास नाम भने स्यामुअल लंगर्न क्लेमेन्स हो।

यसरी विश्वविख्यात साहित्यकारले समेत उपनाम राख्ने चलनबाट नेपाली साहित्यकार कहाँ अछुतो रहन सक्छन् र! उपनाम राख्ने चलन नेपालमा पनि नौलो होइन। विशेषगरी तन्नेरी हुँदा उपनाम राख्ने व्यक्ति धेरै भए पनि त्यसैलाई जीवनभर निरन्तरता दिने भने कमै हुन्छन्। कतिपय साहित्यकार आफ्नो वास्तविक नामभन्दा उपनामबाटै स्थापित भएका पनि छन्। कतिपयलाई आफैले राखेको उपनाम कालान्तरमा घाँडो बन्न पुग्छ र त्यसलाई परिवर्तन गरिदिन्छन्। युवावय वा लहडबाजीमा उपनाम राख्ने व्यक्तिका हकमा यस्तो अवस्था आएको देखिन्छ। मान्छेका नाम वा नाम र थर नै पनि जुध्नु सामान्य घटना हो। यसरी जुध्नाले परिचय स्थापनामा अप्ठेरो पर्न सक्ने देखेर पनि लेखकहरूले उपनाम राख्न चाहेको देखिन्छ। लेखनजस्तो सामाजिक जीवनमा आएर ख्याति कमाउने आकांक्षा पाल्नेका निम्ति नाम महŒवपूर्ण हुने नै भयो। 

पछिल्लो समयका चर्चित उपन्यासकार नयनराज पाण्डे कुनै समय उपनाम 'पीयूष' राखेर लेख्थे भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। उनको पाला (चालीसको दशकतिर) मा पनि स्कुल पढ्दाताका साथीहरूको अटोग्राफ भर्ने र उनीहरूलाई आफ्नो अटोग्राफ भराउने चलन खुबै मौलाएको थियो। त्यस समयदेखि नै उनले तुफान, विद्रोहजस्ता टाइटल पनि राखेका थिए। एकदिन उनलाई पढाउने मिसले उनको टाइटल सुनेर कक्षामै ठट्टामा उडाइन्। त्यसपछि उनले त्यस्तो उपनाम हटाए।

'तर, एसएसलसी पास गरिसकेपछि बिस्तारै मेरा कविता छापिन थाले। अनि मलाई आफ्नो नाम अलिक सामान्य लाग्न थाल्यो,' आख्यानकार नयनराज पाण्डे भन्छन्, 'आफ्नो नामलाई असामान्य र अरुभन्दा फरक बनाउन मैले पीयूष उपनाम राखेको थिएँ।' उनी तन्नेरी हुँदाको समयताका वैरागी काइँला, भूपि शेरचन, धच गोतामे, मन्जुल, मन्जु काँचुली, ताना शर्मालगायतले आफ्नो वास्तविक नामभन्दा अलिक फरक नाम राखेका हुन् भन्ने उनले थाहा पाएका थिए। आफूभन्दा अग्रजले त गरेका रहेछन्, मैले गर्दा फरक पर्दैन भन्ने सोचले पनि आफ्नो उपनाम राखेको हुन सक्ने उनी बताउँछन्।

यो तीन दशकभन्दा अघिको कुरा हो। त्यतिबेला पञ्चायतकाल थियो र पञ्चायतमा कतिपय लेखकले पुलिस–प्रशासनबाट जोगिन पनि आफ्नो उपनाम प्रयोग गर्ने गरेका थिए। लेखनमा अलि बढी क्रान्तिकारिता वा प्रगतिशीलताको धार पक्रने लेखकले उपनाम प्रयोग गर्नुलाई स्वाभाविक मान्न सकिन्छ। तर, पाण्डेले भने पुलिस प्रशासनबाट जोगिन नभई आफ्नै रहरले उपनाम राखेका थिए। पीयूष उपनाममा उनका केही कथा र कविता पनि छापिए।

फरक देखिने मोह

त्यसो त उपनाम राखेर साहित्यमा चिनिने वा स्थापित हुने भन्ने होइन अनि नराखेर नचिनिने पनि होइन। तर, किशोरावस्थामा आफूलाई फरक देखाउन चाहना हुने भएकाले पनि उपनामको प्रयोग गर्ने धेरै छन्। म अरुभन्दा अलग हुँ है भनेर देखाउनका लागि पनि उपनाम प्रयोग गरिने मनोविज्ञान मान्छेमा हुन सक्ने पाण्डे बताउँछन्। अरुभन्दा फरक हुने बहानामा एलएलसी दिएको समयमा उपनाम राखेका उनी अहिले फरक हुनका लागि सिर्जना र सोच नै फरक हुनुपर्नेमा जोड दिन्छन्।

'कलिलो उमेरमा चाहिँ सिर्जनाबाट अरुभन्दा फरक हुनुपर्छ भन्ने धारणा बनिनसकेको हुँदो रहेछ। त्यतिबेला नामबाट भए पनि पृथक देखिने चाहना हुँदोरहेछ। यही मनोविज्ञानले मैले आफ्नो उपनाम राखेको थिएँ,' उनी भन्छन् 'तर, बिस्तारै मलाई सिर्जनाको क्षेत्रमा फरक नामले हैन, फरक लेखनले चिनिनुपर्छ भन्ने बोध हुँदै गयो र मैले आफ्नो उपनाम हटाएँ।' लेखन आफ्ना कुराप्रति अरुको ध्यान आकृष्ट गर्ने एउटा कला भएको र हरेक लेखक अरुभन्दा फरक बन्न चाहने उनको बुझाइ छ।

कुनै समय थियो, पत्रकार किशोर नेपाल आफ्नो नामका पछाडि 'झुत्रे' उपनाम झुन्ड्याउँथे। अहिले धेरै वर्ष भइसक्यो उनले त्यो उपनाम हटाइसकेका छन् र अन्य कुनै उपनाम पनि राखेका छैनन्।  बच्चा बेलामा अरुको लहलहैमा लागेर उक्त उपनाम राखेको उनी बताउँछन्।

'मैले बुझेर त्यो नाम राखेको होइन, त्यतिबेला उपनाम राख्ने चलन व्यापक थियो, त्यसबाट प्रभावित भएर मैले झुत्रे उपमान झुण्ड्याएको हु,' उनी भन्छन्। करिब ४०/५० वर्षपहिले आफूले उपनाम राखेकाले अहिले त्यतिबेलाको परिवेश आफूले बिर्सिसकेको पनि उनको भनाइ छ।

एक वर्षजति मात्र नामका पछाडि 'झुत्रे' उपनाम राखेको नेपाल बताउँछन्। एक पटक भानु पत्रिकाका सम्पादक स्वर्गीय भवानी घिमिरेले यस्तो पनि नाम हुन्छ भनेर उनको नामका पछाडि रहेको झुत्रे उपनाम हटाइदिएपछि उनले फेरि दोहोर्‍याएर उक्त नाम प्रयोग गरेनन्। उनको उपनामका बारेमा निकै कम मानिसलाई मात्र जानकारी छ। उनी भन्छन, 'मेरो उपनामका बारेमा साथीभाइ तथा परिवारलाई समेत राम्रोसँग थाहा थिएन, त्यसैले उपनामले मलाई खासै फरक पारेन।' त्यतिबेला चलेको ट्रेन्डलाई पछ्याएर उपनाम राखेका उनी त्यसले आफ्नो मनोविज्ञानमा कुनै फरक नपारेको बताउँछन्।

बद्रीप्रसाद पोखरेलले २०३९ सालमा आफ्नो खास नामलाई छोट्याएर उपनाम थपे। उनको उपनाम बद्री 'भिखारी' भयो। उनले पोखरेल थर हटाइदिए। अहिले जिल्ला प्रशासन कार्यालयमा कार्यरत उनी उपनाम राख्ने बेला २३ वर्षका थिए।

त्यतिबेला पञ्चायती शासन चलिरहेको थियो। २०३६ सालको जनमतसंग्रहमा सुधारिएको पञ्चायतले जितेपछि राजनीतिक दलहरूमाथि प्रतिबन्ध झनै कडा हुन पुग्यो। पञ्चायती व्यवस्थामा आफ्नो खास नाम लुकाएर प्रहरीको नजरबाट बच्न सकिन्थ्यो। पोखरेलले भने एकखालको प्रेमसँग सम्बधित समस्या र तत्कालीन एउटा घटनासँग सम्बन्धित भएर भिखारी उपनाम राखेका थिए। तर, उनले सधैँभर त्यो उपनामलाई निरन्तरता दिन सकेनन्। त्यो नामले उनलाई अलिअलि त चिनायो, तर भिखारी, माग्ने, पागल भन्दाभन्दा आफ्नो प्रवृत्ति पनि त्यस्तै होला कि भन्ने डर पैदा हुँदै गयो।

पोखरेलले भिखारी उपनामसहित 'हत्केलाभरिका रेखा' मुक्तकसंग्रह निकाले। त्यस्तै, यही उपनाम नै राखेर 'माड्साबको झोला' नामक कवितासंग्रह पनि प्रकाशित गरे। २०२६ सालमा बीपी पोखरेल, बद्रीप्रसाद पोखरेल नाममा गीत पनि निकाले। उनले आफ्नो नामलाई फरकफरक हिसाबले पनि प्रयोग गरिरहे। 'कहिले बद्रीप्रसाद भिखारी लेखेँ, बद्री भिखारी लेखेँ, भवनाथ शर्मा, बुलन्द चौधरीबाट स्तम्भ पनि लेखेँ,' उनी सुनाउँछन्। अहिले फेरि उनी फर्केर वास्तविक नाम बद्री  पोखरेल भएका छन्।

उपनामबाट मुक्ति पाएर मात्र पनि पुगेको छैन। भिखारी उपनामको ब्रान्ड बनाइसकेका यी सर्जकलाई सबैभन्दा ठूलो संकट अहिले प्रकाशकले पार्न थालेका छन्। 'पोखरेल भयो भने छाप्दैनौँ भन्ने जस्ता पनि कुरा गर्न थालेका छन्। साहित्य लेख्नेको लागि चिनारीको एकदम ठूलो महŒव हुँदो रहेछ,' उनी भन्छन्। उपनाम अर्थात् टाइटलले पनि पाठक आकर्षित हुने उनको अनुभव छ। उनका कविता पुरानै भिखारीले लेखेको भनेर मन पराइ पढ्नेको जमात पनि ठूलै रहेको उनी दंग पर्दै सुनाउँछन्। खास नाम जे भए पनि सबैभन्दा प्रिय नाम उपनाम हुने पोखरेलको अनुभव छ। 'सबैले  चिन्ने, माया गर्ने र सम्मान गर्ने नाम उपनाम नै हँुदो रहेछ,' उनी भन्छन्। लामो समय भिखारी उपनामबाट ख्याति कमाएको लेखक भएर प्रकाशकले कवितासंग्रह छाप्ने तयारी गरेकोमा अहिले आएर उपनाम हटाउँदा कुनै नयाँ कविजस्तो हुने भएकाले गाह्रो परेको उनी बताउँछन्।

२०१० कै दशकमा साहित्य सिर्जनामा जुटेका प्रा. डा. दयाराम श्रेष्ठको उपनाम 'सम्भव' हो। मदन पुरस्कार विजेता समेत रहेका धनकुटामा जन्मेहुर्केका उनले २०१८ सालमा कविता लेख्न थाल्दै गर्दा 'सम्भव' उपनाम राखे। यो उपनाम राख्नुको पछाडि दुई वटा कारण भएको उनी बताउँछन्। 'एउटा हरेक कुरा सम्भव छ भन्ने अर्थमा यो राखेको हुँ। जिन्दगीमा केही गर्न सक्छु भन्ने अर्थमा मैले सम्भव उपनाम राखँे,' उनी भन्छन्। २०१८ सालमा उनले कविता लेख्दै गर्दा उपनाम राख्ने एकखालको फेसन पनि थियो। कविता लेख्नेहरूले टाइटल राख्नुपर्ने र आफ्नो अवस्थाअनुसारको उपनाममा लागेर जीवनको एउटा महŒवाकांक्षा योजना बनाएर त्यसलाई साकार पार्नका निम्ति 'सम्भव' उपनाम राखेका थिए उनले।

श्रेष्ठले २०३० सालमा कलेज पढाउँथे। त्यहाँबाट सरुवा भएर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग कीर्तिपुर आए। काठमाडौँ आएपछि उनको ध्येय प्राध्यापक बन्ने र विद्यावारिधि गर्ने थियो, त्यो पनि उनले पूरा गरे। विभागीय प्रमुख हुने उनको आकांक्षा थियो, त्यो पनि सफल भयो। प्राध्यापन क्षेत्रलाई निरन्तरता दिँदै गर्दा साहित्य सिर्जनामा मदन पुरस्कार पनि उनले पाए। 

उनले जे जे गरे त्यो सबैमा सम्भव टाइटलको देन थियो। सबै सकिएपछि दयाराम श्रेष्ठ मात्रै लेख्छु, तर पनि अरुले सम्भव लेखिदिए आपत्ति भने गर्दिनँ भन्ने उनलाई लागिरहेको थियो। 'त्यसपछि पनि 'सम्भव' उपनामसहित कथा, कविता, समालोचना लेख्दै गएँ,' उनी भन्छन्, 'जीवनमा मैले चाहेका र मेरा महŒवाकांक्षा पूरा भएपछि यो उपनाम हटाउँछु भन्ने योजना नै थियो।' अहिले आफूले सबै चिज पाइसकेकोले उनी आफै भने सम्भव लेख्दैनन्। तर पनि उनलाई धेरैले 'सम्भव' भनेर नै चिन्छन्। उनको उपनामलाई धेरैले सकारात्मक रूपमै लिएका थिए, अहिले पनि लिन्छन्। करिब ५५ वर्षअघि राखेको सम्भव उपनामले अहिलेसम्म आफूलाई स्थापित गराएको उनको अनुभव छ।

श्रेष्ठसँग उपनामसँग सम्बन्धित एउटा गज्जबको अनुभव पनि छ। २०३८ सालमा उनी एउटा गाउँमा प्रधानाध्यापक भएर जाने भएछन्। उनी पुग्नुअघि नै उनको नाम दयाराम सम्भव भनेर भनिएको रहेछ। 'दयाराम सम्भव मात्रै नाम देखेर त्यहाँका अभिभावक, विद्यार्थीलगायत गाउँका मान्छेले मलाई अधवैँशे बाहुन भनेर सोचेका रहेछन्। जब म पुगेँ उनीहरू अचम्ममा परे,' उनी हाँस्दै सुनाउँछन्। त्यसपछि उनले आफ्नो थरसहित नै उपनाम जोडेर दयाराम श्रेष्ठ 'सम्भव' लेख्न थाले।

घाँडो उपनाम

सामान्यतयाः उपनाम थरको सट्टामा वा पूरै नामको सट्टामा राख्ने गरिन्छ। उपनामको उपद्रोमा केही समय रमाए पनि कसैकसैलाई समय बित्दै गएपछि त्यो घाँडो लाग्न थाल्छ। तर, चंकी श्रेष्ठले भने आफ्नो नाम चित्त नबुझेर आफ्नो नामको सट्टामा उपनाम राखे। स्तम्भकार, सञ्चारकर्मी तथा साहित्यकार श्रेष्ठका तीन वटा फरकफरक नाम छन्। उनी कहिले सानुबाबु श्रेष्ठ, कहिले चंकी श्रेष्ठ त कहिले अभय श्रेष्ठ भनेर छाइरहन्छन्। छोटो समयका लागि त उनले 'चंकी श्रेष्ठ अभय' पनि लेखे।

श्रेष्ठ आफूलाई नामप्रति अलि असन्तुष्टि भएर उपनाम राखेको बताउँछन्। भक्तपुर जिल्लाको गुण्डुमा जन्मिएका उनी चंकी आफ्नो गाउँको नाम भएको बताउँछन्। 'पहिलापहिला कविता–गजल लेख्दा मान्छेले त्यही नाम प्रयोग गरिदिए। बिस्तारै युज्ड टु भयो,' उनी भन्छन्। त्यही नाम राखेर उनले धेरै रचना लेखे, पुस्तक निकाले। त्यो नाम समाजमा पचिसकेको र स्थापित पनि हुँदै गएको थियो, तर उनले त्यसलाई परिवर्तन गरे। यसको कारण प्रष्ट्याउँदै उनी भन्छन् 'किनभने, त्यो एउटा लेखकको उपनाम जस्तो छँदै थिएन।'

२०४८ सालताका श्रेष्ठको नाम चंकी भएको थियो। त्यो नाम भने ०५१/५२ सालतिर पत्रिकामा छापिन थालेपछि चर्चित हुन थालेको हो। उनको नाम झट्ट सुन्दा मान्छेले उनलाई महिला समेत ठान्थे। कतिले उनका रचना छाप्न पनि मान्दैनथे। 'लेखकको जस्तो भएन भनेर, २०६८ सालमा तेश्रो किनारा नामक कथासंग्रह छापिँदा जोखिम नै मोलेर अभय श्रेष्ठ भनेर नाम राखेँ। अगाडिदेखि नै चंकी श्रेष्ठ अभय भनेर राख्थेँ तर बिस्तारै चंकीलाई हटाएर अभय श्रेष्ठ राखेँ,' उनी भन्छन्। उनले चंकी श्रेष्ठ नाममा 'कायाकल्प' नामक कवितासंग्रह र 'फूलबिनाको शाखा' गजलसंग्रह प्रकाशित गरेका छन्।

उनले उपनाम प्रयोग गर्न थालेपछि नामप्रति साथी र नजिकका मान्छेबाट फरकफरक प्रतिक्रिया पाए। उनीहरूले अनेक खालका प्रतिक्रिया दिन्थे। केहीले चंकी नाम के राखेको भन्थे, तर उनीहरूले नै यो नाम प्रयोग गर्न छोडेपछि त्यो नाम राम्रो थियो, सेक्सी थियो भन्न थाले। 'म कुरा सबैको सुन्छु, तर निर्णय आफै गर्छु। मैले आफ्नो नामले लेख्न थालेको नि आफ्नै इच्छाले हो, छोडेको पनि आफ्नै इच्छाले हो,' श्रेष्ठ भन्छन्।

श्रेष्ठलाई उपनाम शक्तिशाली लाग्छ। यसले सामान्य मानिसभन्दा लेखक र साहित्यकार फरक छन् भन्ने देखाउने उनको बुझाइ छ। 'हामी जनरल पिपलभन्दा फरक हौँ' भन्ने एउटा साहित्यकारको मनोविज्ञान हुन्छ होला सायद। आफ्नो पहिलो वास्तविक नाम जे थियो, त्यसले कताकता दुःख दिइरहेको लागेकोले नाम परिवर्तन गरेर अभय श्रेष्ठ राखेको उनी बताउँछन्।

प्रकाशित: २३ वैशाख २०७४ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App