१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

साहित्यमा सत्ता र सिन्डिकेट

शिव प्रकाश

बिरालो डरायो भने मुसाले पनि लखेट्छ।

जब एउटा भर्जिन क्यानभासमा दा भिन्चीको सौम्य चेतनाको गाढा रङ पोतिन्छ, मोनालिसाका ओठमा कामुक मुस्कानको फूल फुल्छ। हेर्दाहेर्दै बोल्लाजस्तो मोनालिसाको चित्रको युग थियो, जसलाई ‘भिन्ची इरा' भनिन्थ्यो। १५औँ शताब्दीबाटै सुरु भो ‘भिन्ची इरा।'

धर्तीभरि छरिएका आँखा मात्र होइन, आकाशका जूनतारा पनि मुग्ध हुन्थे, मोनालिसाको सुन्दरता हेरिरहन्थे। संसारभर चित्रकलामा मुस्कानका फूल फुलेका थिए।

१८औँ शताब्दीमा पिकासोका उन्माद चैतन्यले ती फूलमा यौन देखे। आँखामा यौनांग कोरे, यौनांगमा आँखा कोरे। मुस्कान फुलेका ओठमा वासना फुलाए। युवतीका छातीका दुई थुँगालाई निधारमा टाँसे। प्रेमभित्रको भोक, भोग र सम्भोगलाई कुचीले पोते, छर्लंग पारिदिए।

हामी नयाँ लेखेर लेखक हुन डराउँछौँ, तर चोरेर लेखक बन्नुलाई बहादुरी ठान्छौँ। संसारका शासकहरू उज्यालोसँग डराउँछन्, हामी नयाँसँग डराउँछौँ। आफूलाई बिरालो ठान्ने हाम्रो साहित्यको ‘सत्ता र सिन्डिकेट' नयाँलाई मुसो ठान्छ तर त्यही मुसोसँग डराउँछ। बिरालो डरायो भने मुसाले पनि लखेट्छ। नेपाली साहित्यका बिरालालाई मुसा फोबिया भएको छ।

सजिलो थिएन, १८औँ शताब्दीको त्यो समाजमा यौनका रंग पोत्न। कम डरलाग्दो थिएन, मोनालिसाका आँखाले हेरिरहेको त्यो संसारका ती आँखासँग जुध्न, ती लाखौँ आँखामा यौनका इन्द्रेणी कोर्न। साहस गरे, पाब्लो पिकासोले।

कस्तो हुँदो हो १८औं शताब्दीको समाज? तर, पश्चिमाले आफ्ना पिकासोलाई खुसी साथ स्विकारे। उनको कलाको परख गरे, हार्दिकता देखाए। ऐलान गरे, पिकासोले संसारलाई नयाँ रंग दिए। नयाँ अनुहार दिए। नयाँ आकार दिए। १९औँ शताब्दीको बिहानीसँगै चित्रकलामा नयाँ युग सुरु भयो। ब्लु पिरियड, रोज पिरियड र अफ्रिकी मेटाफोरिक युग। समग्रमा पिकासो इरा।

आधुनिक चित्रकलाले संसारलाई नयाँ ढंगले हेर्न बाध्य गरायो। पिकासो इराले साहित्यको पनि आँखा खोल्यो। नयाँ बाटोतिर डोर्‍यायो, साहित्यलाई।

जुर्मुरायो २०औँ शताब्दी। पुरातन शैली र स्वभावमा हिँडिरेको साहित्य २०औँको सुरुवातसँगै रूपान्तरणको राजमार्गमा दौडियो। धेरै प्रयोग भए, प्रयोगसँगै सिद्धान्त बने। यही समयमा जन्मियो, अहिलेसम्मकै सर्वाधिक बिक्री भएको उपन्यास, ‘द लर्ड अफ द रिंग्स'। श्वेत मूलका दक्षिण अफ्रिकी लेखक जेआरआर टोल्किनको शैलीगत भिन्नता र प्रयोगको विविधताले संसारका पाठक तान्यो। कृतिलाई सर्वाधिक साहसिक मानियो।

२०औँ शताब्दीलाई विश्व साहित्यको युग पनि भनियो। यो समयमा जसले गरे, तिनै विख्यात शक्तिका रूपमा स्थापित भए, बाँचे।

हामी अझै अरु हिँडेको सबैभन्दा पुरानो र घुमाउरो गोरेटामा हिँडिरहेका छौँ। अस्ताएको घाम तापिरहेका छौँ। त्यही गोरेटोमा उभिएर, उही चिसो घाम तापेर पुरानै जिब्राले एक–दुई हजार पाठकका मस्तिष्क चाट्न पायौँ भने वर्षामा भ्यागुता कराएजस्तो कराउँछौँ, वर्षैभरि।

पोस्ट मोर्डनिजम् अर्थात् उत्तर आधुनिकता पनि झन्डै ७५ वर्ष पुरानो भइसकेको छ। हामी भर्खर त्यसका पहेँला पातमा आफ्ना रुग्ण अनुहार कोर्दै छौँ। ऐन–केन–प्रकारेण हामीलाई नै चिनाउँदै छौँ, हामीसँग मात्र। कति पछाडि छौँ हामी?

होमरको युटोपियाको संसारबाट पाठकलाई डाइस्टोपियाको संसारमा दौडाएको समयले पनि शताब्दीको नेटो काटिसकेको छ। सन् २०१० दशकमा मात्र यसमा ५०औँ ‘फिक्सनल' प्रयोग भए।

विज्ञान र प्रविधिको विकाससँगै त्यसको दुरुपयोग र व्यहोर्नुपरेको विनाशलाई कथा र उपन्यासले फरक अनुहारमा देखाए। डरलाग्दा सम्भावनालाई औँल्याए। धर्तीमा फैलिएको राक्षसी राज्यको ‘रियालिटी'लाई पाठकको भोक बनाए, लेखकले। भोलि अल्ट्रोपिया नाउँको कुनै जिनिस आयो भने अचम्म मान्नुपर्ने छैन। पश्चिम सधैँ नयाँको खोजीमा छ। नयाँको प्रयोग र मार्केटिङ गर्न खप्पिस छ, पश्चिम।

पछिल्लो समय उपन्यासमा नयाँ प्रयोगकर्ता निस्किए, गेब्रियल ग्रासिया मार्खेज। यिनले संसारलाई फेरि चकित बनाए। ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड'मा नितान्त नयाँ शैली दिए तिनले। जसलाई म्याजिक रियालिजम् भनियो। आफ्नै भूमि अर्जेन्टिनाको हार्दिकताले भौगोलिक सिमाना नाघ्यो। ‘म्याकोन्डो'को कथाले संसारका पाठकको मस्तिष्क चहार्न थाल्यो, चहारिरहेको छ।

कोलम्बियन मूलका यी म्याक्सिकन लेखकले स्पेनिस भाषामा लेखेको ‘द हन्ड्रेड इयर्स इन सोलिच्युड'ले नोबेलको बाजी मात्र मारेन, सिद्धान्त हस्तीलाई घोत्लिन पनि बाध्य बनायो। म्याजिक रियालिजम्को उच्चतम् सुन्दर उपहार भयो, त्यो किताब। साहित्यको सबैभन्दा पछिल्लो शैली पनि म्याजिक रियालिजनम् नै हो।

फोटोग्राफीले जन्माएको म्याजिक रियालिजम्लाई अक्षर–अक्षरमा कुँदेर शब्द–शब्दमा उतारे गेब्रियलले। पश्चिममा कहलिएका, संसारमा चिनिएका लेखक–साहित्यकारलाई पछाडि पारे उनले, किन?

किनभने, उनले नयाँ दिए। पाठक नयाँको खोजीमा छ। नयाँ दिन सकियो भने भाषाले रोक्दैन। जुनसुकै भाषा पनि माध्यम बन्न सक्छ।

अहिलेसम्म एक सय १३ ले नोबलको ताज पहिरिएका छन्। तीमध्ये २७ मात्र मातृभाषा अंग्रेजीमा लेखिए। बाँकी अन्य भाषाबाट अनुवादित किताब हुन्। अनुवादित किताब चर्चित मात्र भएनन्, तिनमा पनि सिद्धान्त बने। बाध्य भए, सिद्धान्तजनकहरू।

नेपालभन्दा झन्डै ८० गुना सानो छ, मौरिसस। जहाँ ५० प्रतिशत भोजपुरी बोलिन्छ। त्यो सानो देशका जेएमली ग्लेजियोले पनि नोबेलको ताज पहिरिए। त्योभन्दा झन् सानो, हामीभन्दा करिब दुई सय ४० गुना सानो देश सेन्ट लुसियाका डेरिक वालकटलाई पनि नोबेलको ताज पहिरन केहीले रोकेन। भाषाजस्तै भूगोल पनि बाधक बनेन यी साधकका लागि।

सन् १९०९ मा स्विडेनकी सेमला लेगरोले नोबेलमा नारी हस्ताक्षरको खाता खोलिन्। युरोपेली र अमेरिकी नारीका शिरमा मात्र आलोपालो गरिरहेको नोबेलको ताजलाई नदिन गोर्डिमरले सिमाना कटाइन्। सन् १९९१ मा दक्षिण अफ्रिका पुर्‍याइन्। इरानमा जन्मिएकी डोरिस लेसिङलाई पनि केहीले रोकेन। सन् २००७ उनका लागि नोबेल वर्ष भयो। सन् २०१५ को नोबेलले पनि नारीलाई रोज्यो। नारी उपस्थितिलाई निरन्तरता दिने पछिल्ली नोबेल क्विन हुन्, रसियाकी स्भेत्लाना एलेस्किभिच।

१४ नारीले नोबेल ताज पहिरिएका छन्। साक्षी छन्, यी नारी, रोकेन यिनलाई नारी र पुरुषबीचको जैविक भिन्नताले।

हाम्रो रोइलो त्यसमा पनि छ। हामी हाम्रो भाषा, भूगोल र लैंगिक विभेद (जुन जैविक हो) लाई दोष दिएर रोइलो गर्छौं तर आफ्नो दोष कहिल्यै देख्दैनौँ। कस्तो छ, हाम्रो व्यहोरा?

लेखनमा आएको नयाँशैली र नयाँ प्रयोग नै नोबेलको ताज तान्ने चुम्बकीय शक्ति हुन्। पराम्परागत लेखनभन्दा फरक उत्रिए ती लेखक। यहाँसम्म आइपुग्दा अध्यात्मदेखि विज्ञान र प्रविधिसम्मका प्रशस्त प्रयोग भए, नयाँ किसिमले भए। ‘फिक्सन' मात्र लेखिएन ‘फिक्सन अफ फिक्सन' पनि धेरै लेखियो।

बंगाली साहित्यलाई रविन्द्रनाथ टैगोरले नोबेलको सूचीमा अंकित गरे। हामी हाम्रा देवकोटालाई पागलको ‘पगरी' पहिराएर क्रूर निर्दयता देखाइरहेका थियौँ, चम्कँदै गरेको हाम्रो एउटा नक्षत्र पुच्छ्रेतारा खसेजस्तो गरी खस्यो। अहिले रोइलो गरिरहेका छौँ, देवकोटा प्रयोगवादी थिए तर तिनको प्रयोगसँग सबै थुर्थुर भयौँ। डरको डरलाग्दो बाइप्रडक्ट हो, इर्ष्या। देवकोटालाई पीडा दिएर मार्नपट्टि लाग्यौँ। कतिले गर्‍यौँ, इर्ष्या शान्त?

कवि मोहन कोइरालामाथि कति उपहास र ज्यादती गर्‍यो नेपाली साहित्यको ‘सोकल्ड सत्ता र सिन्डिकेटले?' कति वर्षसम्म उठ्न दिएन?

कविवर माधव घिमिरेको साधनाको अवमूल्यन कसैले गर्न सक्दैन तर उहाँलाई दिनहुँ प्रशंसाको रथारोहण गराइरहँदा समकालीन मोहन कोइरालालाई साहित्यको पेटीमा उभिन पनि दिएनौँ। कति वर्षसम्म उडायौँ? कति अपमान गर्‍यौँ? कति अन्याय गर्‍यौँ? 

मोहन कोइराला नेपाली कवितामा नयाँ घाम उदाओस् भन्ने चाहनुहुन्थ्यो। खासमा उहाँले नयाँ शैली दिनुभएको होइन, हाम्रा लागि मात्र नयाँ भएको हो। अमेरिकाका सर्वकालीन श्रेष्ठ कवि वाल्ट ह्विट्मेनले सन् १८५५ मै यो शैली प्रयोग गर्नुभएको थियो। उहाँलाई नै ‘फदर अफ फ्रि भर्स' मानिन्छ। जीवनभर एउटा कवितासंग्रह ‘लिभ्स अफ ग्रास'मै काम गर्नु भो। त्यही एउटा कविता एउटा संग्रहले उहाँलाई श्रेष्ठ कवि बनायो। त्यसैमा उहाँले ‘फ्री भर्स' शैली अपनाउनुभयो।

पश्चिममा चलेको करिब एक सय ५० वर्षपछि हामीकहाँ नयाँ हुन्छ। त्यसको प्रयोग गर्न एउटा कवि जुर्मुराउँदा छिःछिः र दूरदूर गरिन्छ। बिरालाले मुसा खेदेजस्तो खेदिन्छ। विश्व साहित्यमा हाम्रो अध्ययन र स्तर कहाँ छ? नेपाली साहित्यको दरभाउ गर्ने र ठेक्कापट्टा मिलाउने ‘सत्ता र सिन्डिकेट'ले बु‰न जरुरी छ, आफू कहाँ छु? 

आज नेपाली कवितामा कोइरालाकै घामको प्रकाश छ तर छन्दलाई कविताको मान्यता दिनै छोड्यौँ। नयाँ पुस्ताले शिलोक भन्ठान्छ, अलिकति पनि बुझ्न चाहँदैन। कति कृपण छौँ, हामी?

पश्चिमा नयाँप्रति उत्सुकता देखाउँछन्। नयाँबाट आफूलाई चिनाउन र फैलाउन खोज्छन्। त्यसैले अरुभन्दा अगाडि हुन्छन्। हामी भने हामीलाई नै अगाडि बढ्न हैन, छिर्नै दिँदैनौँ।

 

हावाको नियम छैन, जता मन लाग्यो उतै बहन्छ। सिर्जनालाई हावाजस्तै निस्पि्कक्री बग्नुपर्छ। तर, आफूले जति बुझेको छ, त्यसको सीमान्त त्यही हो भन्ने डरलाग्दो रोगले ग्रसित छ नेपाली साहित्य। यहाँनेर धिक्कार भन्न मन लाग्छ।

पाठकको मस्तिष्क नै लेखकको बजार हो। यो बजारमा साइन्स फिक्सनले नयाँ पुस्तामाथि अधिपत्य जमाउँदै छ। नयाँ पुस्ता शास्त्रीय साहित्यिक सोचप्रति विमुख हुँदै छ। अहिलेको पाठक ‘अल आस्पेक्ट अफ लाइफ'लाई हेर्छ। साहित्यमा पनि त्यो खोज्छ। अब पूर्वीय ज्ञान–दर्शनलाई विज्ञानसँग फ्युजन जरुरी छ।

अबको साहित्यमा विचार, विज्ञान र प्रविधि हुनुपर्छ। वैचारिक, तार्किक, वैज्ञानिक र प्राविधिक साहित्य भएन भने अगाडिको बाटो तय गर्न सक्दैन। हामीले नयाँ कुरा दिन सकेका छैनौं।

लेखक मात्र होइन, पाठक पनि प्रयोगधर्मिता खोज्छ। हामीले लेखक मात्र होइन, पाठकको पनि वध गरिरहेका छौँ। विश्व साहित्यमा पनि धेरैजसो प्रयोगले नै सिमाना काटेका छन्।

नयाँ पुस्ता किन अंग्रेजी साहित्यतिर आकर्षित हुँदै छ? एकल चेतनाको पुस्ता समाप्त हुँदै छ। स्विकार्नैपर्छ, नयाँ पुस्तामा बहुलचेतना छ। ऊ सबै कुरामा केही नयाँ खोज्छ। विविधता खोज्छ। प्रविधि र सञ्चारले उसलाई सिकाएको छ। त्यो कुरा अंग्रेजी साहित्यले दिइरहेको छ।

चोरी चर्चा बेलाबेला हुने गरेको छ। सबैभन्दा बढी सायद हाम्रै प्राज्ञिक र साहित्यिक पाटोमै हुन्छ, यो।  हामी नयाँ लेखेर लेखक हुन डराउँछौँ तर चोरेर लेखक बन्नुलाई बहादुरी ठान्छौँ। संसारका शासकहरू उज्यालोसँग डराउँछन्, हामी नयाँसँग डराउँछौँ।

आफूलाई बिरालो ठान्ने हाम्रो साहित्यको ‘सत्ता र सिन्डिकेट' नयाँलाई मुसो ठान्छ तर त्यही मुसोसँग डराउँछ। डर विभिन्न खाले हुन्छन्।

सिरानमा भनेको छु, बिरालो डरायो भने मुसाले पनि लखेट्छ। नेपाली साहित्यका बिरालालाई मुसा फोबिया भएको छ। उपचार नभए साहित्यकार होइन, साहित्यविकारको संख्या बढ्दै जान्छ।

प्रकाशित: ९ वैशाख २०७४ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App