काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगम पुगेका नेकपा माओवादी केन्द्र निकटका विद्यार्थीसँग निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले दुःखेसो पोखेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिरकारी)ले बिहीबार मूल्य घटाउन ज्ञापनपत्र बुझाएपछि खड्काले गुनासो गर्दै भने, ‘म माथि अब कुनै आरोप लाग्न बाँकी छैन। तर, निगमको सुधारमा प्रयत्नशील छु।’
भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थको खरिदमा निजी कम्पनीलाई अनुमति दिँदा, ग्यास बुटेल, ट्यांकर खरिद अनुमतिलगायतका विषयमा विवादमा तानिएका खड्काले आफूले राम्रो काम गर्न खोजे पनि आरोप खेप्नु परेको बताए। ‘निगमको सुधार गर्न भनेर आएको हुँ,’ खड्काले भने, ‘म आएपछि निगमको ३६ अर्ब रुपैयाँ ऋण तिरें।’ उनले निगमको सुधार गर्न आफू प्रयत्नशील रहेको बताउँदै चाडबाडको बेलामा मूल्य घटबढ नगर्ने प्रतिबद्धता जनाए।
क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएका विद्यार्थीको टोलीले खड्कालाई पाँच बुँदे माग पेश गर्दै इन्धनको मूल्य समायोजन गरेर जनतालाई राहात दिन आग्रह गरे। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्नुपर्ने, ग्यास, डिजेल, पेट्रोलमा सहुलियत दिनुपर्ने, चाडपर्वमा इन्धन संकट हुन नदिन पर्यात व्यवस्था गर्ने, नेपाल र भारतको सीमा क्षेत्रमा हुने पेट्रोलियम पदार्थको गैरकानुनी कारोबार रोक्नुपर्ने, आपूर्ति व्यवस्था सहज र वितरण प्रणाली चुस्त बनाउन क्रान्तिकारीले माग गरेको छ।
प्रकाशित: २३ भाद्र २०७३ ११:५८ बिहीबार