तिमीलाई जे कुराले नारी बनाउँछ, त्यो उसलाई देऊ
लामो कपाल र दुई स्तनको बीचको पसिनाको सुगन्ध
महिनावारी हुने रगतको न्यानो झट्का र,
तिम्रो सबै अन्त्यहीन नारी भोकहरू... 'दि लुकिङ ग्लास'
यो दक्षिणी भारतमा जन्मेकी चर्चित साहित्यकार कमला दासले उनको दोस्रो कवितासंग्रह 'दि डिसेन्डेन्ट्स'मा उनले महिलालाई स्वच्छन्दताका लागि आग्रह गरेको कविताका केही अनुदित हरफ हुन्। उनका सिर्जनाहरू रोमान्टिक साहित्यका लागि चर्चित छन् र यौन स्वच्छन्दताका विषयमा लेखिएका हुन्छन्।
यौन! अझै पनि हाम्रो समाजमा सकेसम्म बोल्नै नहुने, बोल्नैपरे पनि बिस्तारै बोल्नुपर्ने विषय। अझै पनि देशका धेरै ठाउँमा यौन र यससँग सम्बन्धित विषयमा खुलेर कुरा गर्नुलाई सामान्य मानिँदैन। हाम्रो समाजमा यसबारे कुरा गर्ने व्यक्तिलाई कि त बिग्रेको मानिन्छ कि त अपराधीजस्तो व्यवहार गरिन्छ। देखावटीरूपमा यौनलाई अनैतिक कार्य मानिए पनि भित्रभित्रै यही क्रियाकलापमा अभ्यस्त धेरै छन्। कतिपय सेलिब्रिटी तथा राजनीतिकर्मी 'सेक्स स्क्यान्डल'का कारण बदनाम भएका छन्। राजनीतिकर्मीले चुनाव हारेका छन् भने लेखक–कलाकार समाज तथा परिवारबाट बहिष्करणमा परेका छन्।
सबैको रूचि भएको, तर कसैले पनि बोल्न नचाहने वा सामाजिक 'ट्याबुज' का रूपमा लिइने यौनलाई साहित्यको विषय बनाएर लेख्न भने केही सर्जकले आँट गरेका छन्। १९७४ सालमा 'सुक्तिसिन्धू' नामको यौन कविताहरूको संकलन प्रकाशित भयो। राणाहरूले आफ्नो मनोरञ्जनका लागि विभिन्न २३ जना कविलाई यौन विषयमा कविता लेख्न लगाए। सम्भवतः नेपाली साहित्यमा यौन विषयमा लेखिएको पहिलो पुस्तक त्यही नै हो। त्यसबखत उक्त संकलन सर्वसाधारणले पढ्न पाएनन्। यौन र यससँग सम्बन्धित विषयमा कथा, कविता र उपन्यास लेख्ने सर्जक यसलाई प्रेमको एक अभिन्न अंग मान्छन्। यौनलाई सभ्य तरिकाले प्रस्तुत गर्दा त्यो अश्लील नहुने उनीहरूको तर्क छ। प्रेम र यौनलाई सृष्टिको स्वरूप सम्झनुपर्ने कथाकार परशु प्रधान बताउँछन्। प्रेम र यौनका विषयमा धेरै कथा लेखेका उनी जसरी नारी र पुरुषबिना सृष्टि चल्दैन भन्ने स्वीकार गरिएको छ, त्यसरी नै प्रेम र यौनलाई पनि प्राकृतिक विषय मान्नुपर्ने बताउँछन्।
यौन कथाकारकै रूपमा समेत परिचय बनाएका ७० वर्षे प्रधानको पहिलो कथा त्यतिबेलाको चर्चित पत्रिका 'रूपरेखा'को १९ औँ अंकमा प्रकाशित भएको थियो। 'मेरो कोठाको आँखाबाट' शीर्षकमा लेखिएको त्यो कथामा यौनलाई विषय बनाइएको थियो। 'मैले पछि अरु विषयमा पनि लेख्न थालेँ। देश र जनताले भोग्नुपरेका अन्य समस्याबारे लेख्न थालेँ,' उनी सम्भि्कन्छन्, 'जतिबेला मैले प्रेम र यौनबारे कथा लेख्थेँ, त्यतिबेला समाज अहिलेको जस्तो स्वतन्त्र थिएन।' अहिलेजस्तो स्वतन्त्र र स्वच्छन्द समाज नभए पनि आफूले त्यतिबेला आँटेरै यौनका विषयमा कथा लेख्ने गरेको उनी बताउँछन्।
नेपाली साहित्यमा यौनिक लेखन भर्खरमात्र भित्रिएको भने होइन। विश्वेश्वरप्रसाद कोइराला, पुष्कर शमशेर, गोविन्दबहादुर मल्ल गोठाले, पारिजात, भवानी भिक्षु, पोषण पाण्डे, पुष्कर लोहनी, सीता पाण्डेलगागतका सिर्जनामा मनोविज्ञानको रूपमा यौनका प्रसंग प्रशस्त आएका छन्। सीता पाण्डेको 'यौन र अनुभूति', 'ज्वरो' नामक पुस्तकमा सेक्सबारे खुल्ला सन्दर्भ रहेकै कारण निकै चर्चित रह्यो। पारिजातको 'शिरीषको फूल' र 'मैले नजन्माएको छोरो'मा यौनमनोविज्ञान छताछुल्ल छ। कोइरालाको 'सुम्निमा' र 'तीन घुम्ती' उपन्यास यौनमनोविज्ञानमा आधारित छ भने विजय मल्लको 'अनुराधा' मा यस्ता प्रसंग निकै आउँछन्।
लेखक हरि अधिकारी साहित्यमा यौनको बढी–घटी प्रयोगभन्दा पनि यो अपरिहार्य तत्व भएको बताउँछन्। त्यसैले पनि कवितामा यौनिक सन्दर्भ आउनु नितान्त स्वाभाविक लाग्छ उनलाई। यसलाई पाठक र समालोचकले सहजरूपमा लिनुपर्ने उनको धारणा छ। 'मानव जीवनको महत्वपूर्ण पक्षलाई बेवास्ता गरेर कसरी साहित्य लेख्न सकिन्छ? प्रेम र यौनका साहित्य स्वाभाविक छन्,' अधिकारी भन्छन्। नारी–पुरुषको सम्बन्ध वर्णन गर्न शरीरको पार्टपूर्जा वर्णन गर्नुनपर्ने उनी बताउँछन्।
नेपालमा यौन र यससँग सम्बन्धित विषयवस्तु भएका साहित्य धेरैअघिदेखि पढिँदै आएको छ। युधीर थापा, प्रकाश कोविद, सुवासजस्ता लेखकका यौनका रसिला उपन्यास तीसको दशकका युवापुस्ताको सिरानीमुनि भेटिने गरेको तथ्य स्मरणीय छ। साहित्यमा जुन प्रेम र यौनबारे लेखिन्छ, यथार्थमा ठ्याक्कै त्यस्तो नभएको अंग्रेजी साहित्यका प्राध्यापक अभि सुवेदीको तर्क छ। त्यो अनुकृतिमात्रै भएको उनी बताउँछन्। 'मेरो एकजना भारतीय साथीले प्रेम र यौनका कथा लेख्छ, तर उसले अहिलेसम्म महिलाको शरीर देखेको छैन,' उनी भन्छन्। पछिल्लो समय इन्टरनेटमा प्राप्त सामग्रीहरू जोडजाड गरेर लेख्ने प्रवृत्ति बढ्दै गइरहेको उनी बताउँछन्। साहित्य लेखन फेसन बन्दै गएको र साहित्यको नाममा अंग र अवस्थाको बयान हुने प्रवृत्ति बढेकोमा उनी चिन्तित छन्।
साहित्यकारले आफूले भोगेकै समाज लेख्छन्। सिर्जनाका लागि जीवन र जगत् नै प्रमुख प्रेरणा भएकाले यौनलाई विषयवस्तु बनाएर साहित्य लेखिएको कवि उषा शेरचनको अनुभव छ। साहित्य सिर्जनामा जीवनमा हुने अनेक घटना, देखिने कुराले प्रभाव पार्ने हुनाले यौन पनि यस्तै विषयवस्तुमा पर्ने उनी बताउँछिन्। 'यो सबैले देखेका हुन्छन्, भोगेका हुन्छन् तर लेख्ने क्षमता हुँदैन,' उनी भन्छिन्। सुरुमा कविता र गीत लेखेर साहित्यमा प्रवेश गरेेकी उनी समाजले भोगिरहेको, देखिरहेको तर वास्ता नगरेको विषयमा 'तेस्रो रंग' कथा लेखेको बताउँछिन्। अहिले उनी यौन हिंसाबारे उपन्यास लेखिरहेकी छन्।
लेखकको नजरमा प्रेम र यौन
कवि मोमिला प्रेम गरेको मान्छेसँग यौन सम्बन्ध हुन आवश्यक नभए पनि यौनसम्बन्धले प्रेमलाई घनिष्ट बनाउने बताउँछिन्। तर, यो प्रेम गर्ने मानिसमा भर पर्ने उनको बुझाइ छ। 'भौतिकवादी दृष्टिकोण छ भने ऊ प्रेममा यौन चाहन्छ, तर आत्मिकरूपमा रमाउने मान्छे छ भने ऊ प्रेम गरिरहन्छ, उसलाई यौनको मतलव हुँदैन,' उनी भन्छिन्। प्रेम भनेको उच्च मानवीय तथा विशिष्ट संवेदना र यौन भनेको जैविक आवश्यकता भएको उनको विचार छ। प्रेमसँग यौन जोडिँदा घनिष्ट र सुन्दर भए पनि यो सधैँ सँगै जोडिनैपर्छ भन्ने आवश्यकता नभएको उनी बताउँछिन्। यौन भनेको छुट्टै पाटो भएकाले यसलाई प्रेमसँग मात्र जोडेर सम्पूर्णरूपमा व्याख्या गर्न नहुने उनको जिकिर छ।
डा. बेन्जु शर्माको मत भने फरक छ। यौन र प्रेमलाई अलगअलग राखेर हेर्न नमिल्ने उनको बुझाइ छ। 'प्रेम भएपछि मात्र यौन हुन्छ। नत्र यौनमात्र भयो भने त्यो बलात्कारजस्तो हुन्छ,' उनी भन्छिन्। अझै पनि समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उनको गुनासो छ। 'एक्लै स्वास्नीमान्छे कहाँ जान्छे? के गर्छे भनेर समाजले गुप्तचरको आँखाले हेर्ने गर्छ,' उनी भन्छिन्। घरमा बैठक वा कुराकानीका लागि पत्रकार, लेखक आउँदा साँघुरो सोच लिएर झ्यालहरूबाट हेर्ने प्रवृत्ति हाम्रो समाजमा नहटेको शर्मा बताउँछिन्।
प्रेमका विषयमा धेरै लेखिरहने साहित्यकार सरुभक्त प्रेमलाई व्याख्या गर्न रूचाउँदैनन्। यो नितान्त अनुभूतिको कुरा भएकाले व्याख्या गर्नुको अर्थ नहुने उनको धारणा छ। 'प्रेमले मान्छे देवता पनि बन्न सक्छ र राक्षस पनि बन्न सक्छ। कसैले प्रेमद्वारा विचलित भएर हत्या, बलात्कार र चेलिबेटि बेचबिखनजस्ता अपराध पनि गरेको देखिन्छ,' उनी भन्छन्। त्यसैले मान्छेको चरित्र जति महान् हुन्छ, त्यति नै प्रेम पनि महान् हुने उनको बुझाइ छ।
प्रेमका धेरै आयाम हुन्छन्। युवायुवतीको प्रेमका सन्दर्भमा धेरै कथा, कविता, उपन्यास, गीत लेखिन्छन् तर पनि आयाम सकिँदैन। पारिवारिक, सामाजिक प्रेम पनि यही आयाममा पर्छन्। कतिका लागि प्रेम भनेको जीवनको महान् संवेदना र भावना हो भने कतिले त्यसलाई गलत प्रयोग पनि गरेका छन्। तर, अहिले मानिस धेरै शारीरिक हुन थालेका छन्। अहिले मान्छेको स्मार्टनेस वा सुन्दरताको बखान गर्नुभन्दा 'तिमी कत्ति सेक्सी' भन्ने चलन बढेको सरुभक्त बताउँछन्। अहिले बजारमा यौनजन्य विषयवस्तु बढी बिक्री हुने भएकाले पनि यस्ताखालका सामग्री धेरै उत्पादन भएको हुन सक्ने उनको धारणा छ। त्यसो त, उनको अनुभवमा जीवन भनेको हिमाल आरोहणजस्तो हो। जीवनमा प्रेमयात्रा गर्न चाहने हो भने बेसक्याम्प यौन भावना हुन सक्ने उनको तर्क छ। 'तपाईं बेसक्याम्प हुँदै शिखरमा पुग्दासम्म यौन त बेसक्याम्पमै छुटिसक्छ। तपाईं प्रेमको शिखरमा पुग्नुहुन्छ र जब तल हेर्नुहुन्छ दिव्य र महान् अनुभूति गर्नुुहुन्छ,' उनी भन्छन्। जैविकरूपमा भावना विकसित नभएसम्म कतिलाई प्रेम भन्ने अनुभूति नहुने भएकाले यौन प्रेम महसुस गराउने एउटा आधार भएको उनी बताउँछन्।
प्रा. सुवेदी प्रेम गहन विषय र यौन सीमित विषय भएको तर्क गर्छन्। उनको विचारमा प्रेम र यौनको पुरानो सम्बन्ध भए पनि उमंग आउने प्रेम गर्दा कन्भिनेन्सन क्लाइमेक्स यौन हो। तर, कतिपय मान्छेले प्रेमलाई शरीरसँग नलगेर मनसँग लगेर, भावमा लगेर प्लेटोनिक प्रेम गर्ने उनी बताउँछन्। 'त्यस्तो अवस्थामा मान्छेको तरंग, भावना हुन्छ तर यौन हुँदैन,' उनी भन्छन्।
यौनका विषयमा विवादमा आएका साहित्यकार मोदनाथ प्रश्रितको विचारमा यौन भनेको सृष्टिको एउटा मलिलो सृजना हो। खेतमा धान–मकै रोपेजस्तो त्यो गर्भाशयभित्र बीजको रोपण हुने गरेको भएकाले यौन संसारको विकास प्रक्रियाको अत्यावश्यक र अनिवार्य प्रक्रिया भएको उनको विचार छ। 'यौनबिना यो सृष्टि स्थापित पनि भएन र विकास पनि हुँदैन। त्यसलाई सदुपयोग गर्नु उज्ज्वल पक्ष हो,' उनी भन्छन्। साहित्यमा पनि पारस्परिक सम्बन्ध, यौनका सवाल स्वाभाविकरूपमा आउनुपर्नेमा उनी जोड दिन्छन्।
शेरचनका विचारमा प्रेम हामी सबैलाई गर्न सक्छौँ। त्यस्तै, यौन जैविक आवश्यकता हो जसका विभिन्न रूप हुन्छन्। दुवैका आफ्नै मानमर्यादा हुन्छ। 'बासनामा प्रेम हुँदैन तर प्रेममा यौन हुन सक्छ। दुवै कुरा एउटैजस्तो लागे पनि यी फरक हुन्,' उनी भन्छिन्। यौनका विषय लेख्दा मर्यादाभित्र रहेर लेख्न जरुरी हुने उनको भनाइ छ। कवि कुन्ता शर्मा प्रेममा अटल विश्वास राख्छिन्। उनको विचारमा मनदेखि गरेको प्रेम अजरअमर र शाश्वत हुन्छ। परिवार, आमा–छोराछोरीको प्रेम आफैमा महान् छ। तर, कहिलेकाहीँ जीवनमा आउने कैयौँ कुपात्रले प्रेम शब्दलाई बदनाम गराइदिन सक्ने उनी बताउँछिन्। 'प्रेम वा यौन एकजनासँग मात्र हुनुपर्छ भन्ने म मान्दिनँ। कोहीको साथ छुटोस् वा मरेर गएको छ भने अर्को साथी खोज्दा समाजसँग डराउनुपर्ने कुनै आवश्यकता छैन,' शर्मा भन्छिन्। 'मैले जीवनमा प्रेमविवाह गरेकी थिइनँ। एकतर्फी प्रेम गरेर मेरो पछि लागेको थियो,' आफ्नै व्यक्तिगत जीवनलाई जोड्दै उनी भन्छिन्, 'आत्महत्याको धम्की दिएपछि मैले प्रस्ताव स्वीकार गरेँ। तर, उसका केही स्वार्थ थिए पूरा भएनन् र साथ छोडेर गयो।' उनलाई अहिले सम्झँदा आफू जवान हुँदा गरेको त्यही एउटा गल्ती थियो। 'मैले जवानीमा राम्रो पात्र छान्न सकिनँ। म तिमीबिना मर्छुभन्दा मर भन्न सकिनँ, तर मर्ने मान्छे त होइन रहेछ। मैले 'ल मर' भनेर आफ्नो बाटो हिँड्न सकिन त्यो गल्ती भयो,' उनी भन्छिन्। उनको विचारमा पनि यौन जैविक आवश्यकता हो। तर, साहित्यलाई भने यौनको बाहक बनाएर लाने पक्षमा उनी छैनन्। भन्छिन्, 'समाज स्वस्थ हुनुपर्छ। भल्गर साहित्य मलाई मन पर्दैन।'
बदनाम साहित्यकार
यौनलाई नै मूल विषय मानेर सिर्जना गर्ने साहित्यकारहरू प्रायः विवादमा पर्ने गरेका छन्। उनीहरूले लेख्ने साहित्यजस्तै व्यक्तिगत जीवन पनि रंगीन हुने गरेको आरोप लाग्ने गरेको छ। कहिले कोसँग त कहिले कोसँग नाम जोडेर तिनका बारेमा बजारमा हल्ला हुने गर्छ। यौनका विषयमा लेख्ने साहित्यकारलाई 'बदनाम साहित्यकार' भनेर बिल्लासमेत भिराउने गरिन्छ।
यौन तथा यौनमनोविज्ञानमा 'सीताहरू' शीर्षकमा शृंखलावद्ध कथोपन्यास लेखेका प्रधानका कथाजस्तै व्यक्तिगत जीवन पनि रसिलो छ। पूर्णतः यौनस्वच्छन्तता अपनाएका समाजका नारी पात्रहरूमाथि केन्द्रित यो कथोपन्यासमात्र नभई उनको अर्को कथोपन्यास 'घर' मा पनि यौनका प्रसंग प्रशस्त छन्। किशोरावस्थामै कथा लेख्न सुरु गरेका उनी युवावस्थाका आफ्ना प्रेमसम्बन्धले पनि कथा लेख्न ऊर्जा दिने गरेको स्वीकार्छन्। 'जिन्दगीको रस पनि थियो त्यतिबेला, एउटा निचोड थियो प्रेम। प्रेमिल यौनकथा लेख्दा आनन्द महसुस हुथ्यो,' उनी भन्छन्।
खरो समीक्षकको परिचय बनाएका कवि अधिकारी बेलाबखत यौन र मदिराका विषयमा विवादमा आउने गर्छन्। तर, उनी भने यसलाई नकार्छन्। 'म बहुस्त्रीगामी पनि होइन। जसले त्यस्तो भन्छ मेरो चरित्रहत्या भएको हो,' उनी स्पष्ट पार्छन्। यौन मानवजीवनको अपरिहार्य वस्तु भएकोले आफ्ना साहित्यमा त्यसको प्रसंग उल्लेख भएको उनको जिकिर छ। 'रक्सी जसले पनि खान्छन्, बदनाम भने साहित्यकारमात्र हुन्छन्। त्यस्तै यौनका बारेमा कुरा जसले पनि गर्छ, तर साहित्यमा त्यसलाई विषय बनाउँदा बदनाम हुन्छन्,' अधिकारी आश्चर्य प्रकट गर्छन्। यौनबाट मानिस टाढा नरहने र रहन्छु भनेर दाबी गर्नु पाखण्ड हुने उनी बताउँछन्।
कुनै पनि मान्छेको गुण उसको सामाजिक योगदान र मानवीय संवेदनाको स्तर कस्तो छ भनेर नाप्नुपर्नेमा व्यक्तिगत जीवनलाई लिएर गरिने टिप्पणी मोमिलालाई मन पर्दैन। जैविक आवश्यकतालाई कमजोरी ठानेर व्यक्तिको जीवनमा प्रहार गर्नु अनुचित भएको उनको टिप्पणी छ। 'नारीलाई चरित्रहीन भन्ने पुरुष नारीको गुणवत्तामाथि प्रश्नचिह्न उठाउन पाएन भने उसको चरित्रमाथि प्रहार गर्ने र मानसिक हत्या गर्ने प्रयास गर्छ,' उनी तीतो पोख्छिन्। यसरी महिलाको संवेदनाको हत्या गरिने र यस्तै व्यवहार गर्ने पुरुषलाई समाजले वीर भन्ने गरेकोमा उनको असहमति छ।
साहित्यकार बदनाम हुन्छ भन्ने मान्यतासँग प्रा. सुवेदी भने सहमत छैनन्। कसले साहित्य कसरी लेख्न सक्छ मुख्य कुरा त्यही हुने उनी बताउँछन्। 'तर, जे पायो त्यही लेख्छ भने उसको उपेक्षा हुन्छ। साहित्यमा यौनका विषयमा लेखेर उपेक्षा गर्ने मान्छे पनि दुई किसिमका हुन्छन्,' उनी भन्छन्। तर, यसमा लेख्नेको दायित्व पनि हुनेमा उनी जोड दिन्छन्। यौन साहित्य पढ्न पनि हुँदैन र लेख्न पनि हुँदैन भन्ने मान्छे 'कन्जरभेटिभ' पाठक भएको उनको ठहर छ। त्यस्तो अवस्थामा राम्रै लेखिएको भए पनि स्वीकृत नहुन सक्ने पनि उनी बताउँछन्। हिजोआज स्तरीय यौन साहित्य र कमजोर यौन साहित्यको कित्ता छुट्टिनु सकारात्मक भएको उनको बुझाइ छ।
शारदा भुषालले आफ्नो आत्मकथा 'धरातल' मा प्रश्रितले आफूलाई नाबालक हुँदा पटकपटक बलात्कार गरेको आरोप लगाएकी छन्। उनले किटेरै प्रश्रितको नाम उल्लेख गरेकी छन्। प्रश्रित भने त्यसलाई बरालेर, सस्तो साहित्य लेखेर बिकाउ बनाएको आरोप लगाउँछन्। आफूले भुषाललाई पागलपन र यौनरोगबाट जोगाउन सहयोग गरे पनि उनले चरित्रहत्या गरेको उनको आरोप छ। 'यो अक्षरको दुरूपयोग हो। चरित्रहत्या गर्नु झन् गम्भीर अपराध हो। यस्तो अपराध शारदा भुषालबाट भएको छ,' उनी भन्छन्।
डा. शर्मा यौन मिसाउँदैमा बदनाम साहित्यकार भइन्छ भन्ने तर्कसँग असहमत छिन्। तर, लेखनको स्तर हेरेर सिर्जना श्लील र अश्लील हुने उनको धारणा छ। बिकाउनका लागि मसला थपेर लेखिएका सिर्जनालाई राम्रो भन्न नसकिने उनी बताउँछिन्। 'मनोवैज्ञानिक दृष्टिकोण राखेर लेख्न सकेका खण्डमा र शालीन शैली तथा बिम्ब प्रयोग गरेमा त्यो अश्लील हुँदैन,' उनी भन्छिन्, 'नत्र बजारमा पाइने अनेक किसिमका पुस्तक लेख्नेलाई साहित्यकार भने भइहाल्यो नि!'
यौन भर्सेज अश्लीलता
पछिल्लो समय नेपाली साहित्यमा यौनजन्य विषयवस्तु निकै आउन थालेका छन्। लेखकले बजार मागअनुरूप पुस्तकमा यौनलाई टेको बनाउन थालेका छन्। नयाँ पुस्ताले बजारमा ल्याएका कतिपय कथा र उपन्यासमा बिम्बको रूपमा मात्र नभई भद्दा ढंगमै यौन प्रयोग गरेको देखिन्छ। कतिपय पुस्तकमा अहिले पनि हाम्रो समाजमा अश्लील मानिने शब्दहरूको ठाडो प्रयोग भएको पनि पाइन्छ।
कथाकार प्रधान अहिले साहित्यमा केही लेखकले धेरै अश्लील लेख्न थालेको बताउँछन्। 'जुन साहित्य हामी घरमा बसेर पढ्न सक्दैनौँ, एक्लै वा लुकेर पढ्नुपर्छ। मेरो विचारमा त्यो साहित्य होइन,' उनी भन्छन्। यौनलाई पनि अप्रत्यक्षरूपमा भावनात्मक–बिम्बात्मक शैलीबाट प्रस्तुत गर्न सकिने भएकाले अश्लीलता मिसाउन नहुनेमा उनी जोड दिन्छन्।
यौन पचाउन गाह्रो भएकाले पनि यो कलात्मक हुनु जरुरी भएको शेरचन बताउँछिन्। यौन साहित्यमा सुन्दर कला र बिम्ब हुनु जरुरी भएको उनको भनाइ छ। 'नांगो डाँडाभन्दा हरियो डाँडा हेर्दा मन जसरी रोमाञ्चित हुन्छ, यौन साहित्य पनि त्यस्तै हो। कलात्मकता हनुपर्छ, अश्लील हुनुहुँदैन,' उनी भन्छिन्। अश्लील साहित्य र यौन साहित्यको तुलना गर्न नमिल्ने भन्दै उनले जुनसुकै कुरा प्रस्तुत गर्दा कलात्मक हुनुपर्नेमा उनी जोड दिन्छिन्।
सरुभक्तले प्रेम र यौनका बारेमा धेरै लेखेका छन्। यौन मानव अभिरूचिको विषय भएकाले यौन साहित्यप्रति मान्छेको बढी चासो र चर्चा हुने उनी बताउँछन्। साहित्यमा चर्चा हुनु भनेको महत्व हुनु हो। यौन र पारिवारिक सम्बन्धका विषयमा 'तरुनी खेती' लेखेका यी साहित्यकार आफूलाई भने प्रेमिल साहित्यकार नै मान्छन्। कतिपय साहित्यकारको चासो यौनको विषयवस्तुमा हुने भए पनि ती शिष्ट र संयम हुनुपर्नेमा उनी जोड दिन्छन्। 'विश्वेश्वरप्रसाद कोइरालाका साहित्यमा बढी यौनवादी चिन्तन र विश्लेषण पाइन्छन्, तर त्यसमा शीष्टता र संयमता छ,' उनी भन्छन्। यौन जीवनको अभिन्न अंग भएकाले यो स्वस्थरूपमा लेखिनुपर्नेमा उनी जोड दिन्छन्। 'तर, कतिपय साहित्यकारले पुस्तकलाई बजारमा हातहातै बिक्ने वस्तुजस्तो बनाएर विकृतरूपमा प्रस्तुत गरेर मान्छेमा भएको आदिम प्रवृत्तिलाई सम्बोधन गरेर लेख्ने गरेका छन्,' उनी असहमति प्रकट गर्दै भन्छन्। छाडारूपमा लेखिसकेपछि धेरैको चासो हुने र बिक्री पनि हुन्छ भन्ने निहित स्वार्थबस लेख्नेहरूप्रति उनको तीव्र असहमति छ। तर, असल साहित्यकारलेे चाहे प्रेमका विषयमा लेखोस्, चाहे यौनका विषयमा, शीष्ट संयमित भाषाशैलीमा लेखोस् भन्ने आफूलाई लाग्ने सरुभक्त बताउँछन्।
प्रकाशित: २२ श्रावण २०७३ ०५:२१ शनिबार