२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

निकाह कबुल!

बारा जिल्लाको सिमरा विमानस्थलबाट अलि पर गएपछि कासिम मियाँको घर आइपुग्छ। उनी स्थानीयबीच निकै लोकप्रिय छन्। कासिम राजनीतिज्ञ होइनन् न त कुनै व्यापारी वा उद्योगी। उनको उदार सोचाइ अनि सद्भाव नै हो जसले उनको परिचय परिवार र सम्प्रदायबाहिर पनि फैलाएको छ। तिनै कासिमको घरमा गएसाता बिहे थियो– छोरी सबनमको।

बिहेमा रमझम हुनु स्वाभाविकै हो। तर, इस्लामधर्मी कासिमको घरमा दुलहालाई स्वागत गर्ने मुस्लिम मात्र थिएनन्, हिन्दू पनि सराबरी थिए।

०००

कासिमलाई दुई छोरापछि छोरीको औधी रहर थियो। लगातार दुई छोरा भएपछि उनलाई कसैले सुझाव दियो, ‘तिमीलाई दक्षिणकाली माताले छोरी दिनेछिन्, जाऊ भाकल गर।’ कासिम तत्काल दक्षिणकाली पीठ पुगे, कालो भाले चढाए।

एउटा इस्लाम धर्मावलम्बीका लागि हिन्दू मन्दिर गएर भाकल गर्नु सामान्य थिएन। तर, कासिमले यसलाई सामान्य ठाने। यही नै उनको विशेषता हो, पृथक्ता हो। धेरैले कुरा नकाटेका होइनन् तर उनले वास्ता गरेनन्। नभन्दै उनको घरमा छोरी नै जन्मिइन्– सबनम।

छोरीको आगमनले उनको जीवनमा खुसी ल्यायो। परिवार पूर्ण भएको अनुभूति गरे। त्यसो त कासिमको दक्षिणकाली गमन हठात् थिएन। उनको सोचाइ नै फराकिलो छ जसले आफ्नो धर्मलाई अन्तरात्मादेखि आदर गर्छ। अनि अरू धर्मलाई पनि आत्माको त्यही गहिराइबाट सम्मान दर्साउँछ। मान्छेलाई उसको धर्मले होइन, मानवीय दृष्टिले हेर्छ।

कासिमको घरमा विभिन्न अवसरमा सरिक हुन मुम्बईदेखि एक महिला आउँछिन्। कासिम उनलाई 'दिदी' मान्छन् जो हिन्दू धर्मावलम्बी हुन्। दिदीलाई बिहान–बिहान पूजा गर्न सजिलो होस् भनेर उनले घरको एउटा कुनामा मठ नै बनाइदिन्छन्। दिदी उनलाई भन्छिन्, ‘मेरा लागि मठ बनाइराख्नुपर्दैन किनभने भगवान् मठमा होइन, मनमा हुन्छन्।’ तर, कासिमले मुम्बईमा रहँदा देखेका थिए, हरेक बिहान पूजा नगरी दिदीको मन मान्दैन। एउटा मुस्लिमको घरमा आएकै कारण उनको दैनिकी खलबलिनु हुँदैन भन्ने मान्यताका कारण कासिमले मठ बनाइछाडे।

कासिम यस क्षेत्रका समजसेवी हुन्। खेलकुदलगायत अन्य सामाजिक क्षेत्रको विकासमा उनले अन्य शुभेच्छुकको सहयोगमा राम्रै भूमिका खेलेका छन्। उनी जति समाजसेवाका लागि चर्चित छन् धार्मिक सद्भावका कारण पनि उत्तिकै चिनिन्छन्। मस्जिद त जान्छन् नै मन्दिर पनि पुग्छन्। मस्जिद बनाउन चन्दा दिनु स्वाभाविकै हो, मन्दिर बनाउन पनि उत्तिकै हात खोल्छन्। उनी रोजा त बस्छन् नै दसैं पनि मान्छन्। आफ्ना बुबालाई हज गर्न मक्का पठाउँछन्, आफूचाहिँ जोडी परेवा बोकेर गढीमाईतिर लाग्छन्। उनलाई सबै धर्मप्रति आस्था  छ। अरू सद्भावका कुरा मात्र गर्छन्, उनले चाहिँ त्यसलाई जीवनशैली बनाएका छन्।

०००

कासिमसँगको मेरो मित्रता झन्डै दशक पुरानो हो। म उनलाई कासिम दाइ भन्छु। त्यसैले पनि सिमरा छाडेर आएको वषर्ौं बित्दासमेत हामी बारम्बार सम्पर्कमा रह्यौँ। पछिल्लोपटक उनले मलाई सबनमको बिहेमा निम्त्याए। दक्षिणकालीमा भाकल गरेपछि जन्मेकी सबनम मलाई धार्मिक सद्भावकी प्रतिमूर्ति लाग्छिन्। त्यसैले उनको निकाहमा पाहुना बन्ने अवसर गुमाउन चाहिनँ।

म पत्रकारका रूपमा सिमरामा काम गर्दा सबनम सानै थिइन्। उनी मलाई अंकल भनेर बोलाउँथिन्। ती चेलीको बिहेमा मूल ढोकामा बसेर पाहुनाको स्वागतमा जुटेँ।

अघिल्लो शनिबार बिहान जन्तीलाई स्वागत गर्न मुस्लिम धर्मावलम्बीसँगै घरगाउँलेको लाइनमा हिन्दूको पनि सहभागिता रह्यो। मियाँ, अन्सारीसँगै भट्टराई, तिवारी, क्षत्री, लामा, श्रेष्ठसहित म लामिछाने पनि मिसिएँ। सबैका हातमा सुगन्धित मालाका चाङ थिए। वीरगन्जबाट आएका जन्तीलाई एक–एक गरी अरूले जस्तै मैले पनि माला लगाइदिएँ। मुस्लिम समुदायको गलामा सद्भावको माला पहिर्‍याइदिन पाउँदा म निकै हर्षित भएँ।

...

यसअघि हपहपी गर्मीले सेकिएका जन्तीलाई बीचबाटो परवानीपुरमै चिसो सर्बत पिलाइयो। त्यहाँ जन्तीको सत्कारमा खटिएका थिए, दीपक श्रेष्ठ। दीपक र कासिम आत्मीय साथी हुन्। उनी सबनमलाई आफ्नै छोरीजस्तो मान्छन्। बिहेको पूरै व्यवस्थापन उनै श्रेष्ठले जिम्मा लिए। 'हामी एकै परिवारजस्तो छौं,' उनले भने, 'एकअर्काको दुःखसुखमा भर दिन्छौं।'

सबनमको बिहे मुस्लिम परम्पराअनुसार नै भयो। तर, उनको सफल दाम्पत्य कामना हिन्दू–मुस्लिम मिलेर गरे। सद्भावको यही अद्भुत माहोलबीच उनको 'निकाह कबुल' भयो। सबनम सानैदेखि घरमा धार्मिक सद्भावको माहोलमा हुर्किइन्। त्यो आँगन बिरानो पार्नुपर्दा उनका आँखाबाट भल छुटिरहेको थियो। छोरीको बिदाइमा कासिम दाइको परिवार मात्र होइन, सबैका आँखा रसाए। त्यो आँसु छुट्ट्याउन सकिन्नथ्यो– कुन मुस्लिमको? कुन हिन्दूको?

प्रकाशित: ८ श्रावण २०७३ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App