माटोमा बिरुवा, बिरुवाबाट फक्रेको फूलको रंग
सिकाउँछ यसले जीवनको मर्म अनि पार्दछ दंग
पर्व त्यस्तो संस्कृति हो जसले पारिवारिक-सामाजिक एकता कायम गर्न र मिलिजुली खुसी बाँड्न प्रेरणा दिन्छ। दसैँपछिको दोस्रो ठूलो पर्वका रूपमा तिहारलाई मानिन्छ। हुन त दसैँ महत्त्वपूर्ण पर्वका रूपमा सबैले रमाइलो गरी बिदा गरियो तर तिहार केवल पारिवारिक पर्व भएकाले र घरकै परिवार दाजुभाइ दिदीबहिनीको पर्व भएकाले सबैलाई तिहार अरू थप रमाइलो लाग्ने अभिव्यक्ति सुन्न पाइन्छ। त्यसो त तिहारमा गाईतिहारेदेखि लिएर सयपत्री, मखमली ढपक्कै फुल्ने भएकाले पनि फूलैफूलको पर्वका रूपमा मानिन्छ। शरद ऋतु, खुलेको आकाश, हाँसेका हिमाल, स्वच्छ डाँडापाखा, पुतलीको नाच, चराचुरुंगीको चिर्चिराहट संगीत आहा मनमोहक दृश्यले सबैको मनमा उमंग फैलाइरहेको अनुभूति हुन्छ।
त्यसै पनि घरका गमला र करेसाबारीका रंगीचंगी फूलहरूले जीवन सुखद रहेको अनुभूति हुन्छ भने तिहारको मौसम र ढपक्क फुलेका मुसुक्क हाँसेका फूलबारी, ढोकामा फूलका माला, झ्यालमा फूलका माला, घर वरिपरि र गाउँ सहर नै फूलले सजिएको मनमोहक पर्वले सबैलाई चंगा, चिन्तारहित बनाएको हुन्छ। किनकि फूल देखेर दुःख लाग्ने को हुन्छ र? आजकल फूलको खेती र मालाको व्यापार अलि बढी फस्टाउँदै गरेको पनि छ। यो सुखद पक्ष हो। खेर गइरहेको र बाँझो जग्गामा पुष्प खेती गरेर आर्थिक जोहोमा लागेका, रोजगारीमा केही मात्रामा भए पनि सहयोग गर्न खोजेका हातहरूलाई प्रोत्साहन जरुरी छ।
फूल आयात गरेरै अर्बौँ पैसा बाहिर पठाउन बाध्य हामीले सस्तो र आकर्षक अनि हाम्रो पर्व र कर्मकाण्डमा आवश्यक फूलखेती र यसमा आबद्ध सबैलाई प्रोत्साहन गर्न पछि पर्नु नै हुन्न। अनि फूलको जीवन आफ्नै जीवनलाई जोडेर हेर्यो भने पनि त ढपक्क फुलेको फूल पनि समय आएपछि मुर्झाएर झर्नुपर्छ तर झर्नुअघि त उसले सबैलाई सुन्दरता र आकर्षण प्रदान गरिरहेको हुन्छ।
मानव जीवन पनि फूल जस्तै बनाउनुपर्दछ, बाँचुन्जेल सबैको प्रिय र सबैको नजरमा सुन्दर देखिने आचरण र व्यवहारले मन जित्न सक्नुपर्छ। यसपटक त झनै तिहारसँगै चुनाव पनि आएको छ। उम्मेदवार सबैलाई नागरिकको मत पाएर चुनाव जित्ने आशा र भरोशा छ। केही पाउन केही दिन जान्नुपर्छ। मत पाउन मन जित्नु र मत पाएर आश्वासनअनुसारको कर्म गरेर देखाउने प्रतिबद्धता पनि हुनुपर्छ। फूल जस्तै सुन्दर मन र सबैको आकर्षणको केन्द्रविन्दु बन्न आचरण र व्यवहार स्वच्छ हुनुपर्ने न हो।
माटोको दियो
एकातिर फूलको सजावट त्यसमाथि माटाका प्यालामा दियो बत्ती र उज्यालो। यो समिश्रण र आकर्षणले जस्तोसुकै तनाव र दुःख बिर्साएर केवल तिहार पर्वको भावमा बाँधिदिन्छ। ढोकामा दियो, झ्यालमा दियो, मन्दिरमा दियो, बत्तीको पर्वझैँ गाउँ सहर सबैतिर औँसीको रातलाई पनि चुनौती दिँदै प्रज्वलित हुने प्रकाशले मनभित्रका सबै अन्धकार मेटाएर उज्यालो दियोझैँ खुसी हुन प्रेरणा दिइरहेको हुन्छ।
माटोका दियो प्याला अनि आमा हजुरआमाहरूले बनाएका बत्तीलाई दिनभर लगाएर तेलमा भिजाउने र साँझ पर्नासाथ कसैले दियो सल्काउने कसैले बत्ती घरका कुनाकुनामा सजाउने दिन र त्यो माहोल अहिले इलेक्ट्रिक बत्ती र सजावटले विस्थापित गर्न तछाडमछाड गरेको जस्तो लाग्छ। मानिसको स्वभाव न हो, सजिलो र सुविधा पाएसम्म आफ्ना संस्कृति र अभ्यासलाई आयातित बनाउनमा होडबाजी चलिरहेको हुन्छ। घरका भित्ता भित्तामा बिजुली बत्तीले सजाए पनि घरका झ्याल, ढोका र बार्दलीमा माटाका पाला प्रयोग गरेर दियो जलाउने संस्कार कायम राख्यौँ भने हाम्रो तिहार मात्र झलमल्ल हुने होइन, पाला बनाउने हाम्रै आमा, बा र दाजुभाइको पुरानो व्यवसाय र सिपले निरन्तरता र हौसला पाउँछ।
इलेक्ट्रिक बिजुली र सजावटका सामान सुपरमार्केटमा जति पैसाको ट्याग लगाएको हुन्छ हामी नसोधी, बार्गेनिङ नगरी किनेर ल्याउँछौँ। पाँच, दस रुपियाँको माटोको दियोमा हामी कस्सिएर बार्गेनिङ गर्छौ अझै सस्तो गर भन्दै। यहीँ निर्धारण गरिदिएका हुन्छौँ स्वयंले हाम्रो औकात र संस्कार। अनि हाम्रो मानवीयता र अरूलाई कसरी प्रोत्साहन र सहयोग गर्न सकिन्छ भन्ने हेक्का हुँदैन। कसैको सिप र जीवनलाई आफ्नो तर्फबाट सकेको योगदान दिन सके लक्ष्मी माता त्यसै खुसी हुन्छिन् हाम्रो कर्म देखेर।
हाम्रो कर्म नै हाम्रो धर्म हो। हाम्रो पर्व, धर्म र जीवनमा को को जोडिएर आएका हुन्छन् र तिनलाई आफ्नो तर्फबाट के सहयोग दिन सकिन्छ त्यो दान हो। कुनै व्यक्ति विशेष, देवताविशेष, मन्दिरविशेष र जहाँ आफ्नो अहंकारलाई तुष्टि मिल्छ त्यहीँ दान दिएर, चन्दा दिएर गरेको जस्तो देखाउने बानीले हाम्रो अन्तस्करणको दियो बल्न सक्दैन। बाहिर जति उज्यालो भए पनि भित्रको अहंकाररूपी अन्धकारले सधैँ घेरिरहेको हुन्छ। जबसम्म भित्रको दियो अर्थात् दया, करुणा र निरहंकारको प्रकाश जागृत हुँदैन तबसम्म आफू भन्दा कमजोरप्रति दयाभाव देखाउनुको सट्टा बार्गेनिङ र २–४ पैसा भने पनि घटाएर आफूलाई उपल्लो स्तरको व्यक्तित्व प्रमाणित गर्ने अहंकारले घेरेको हुन्छ।
पौराणिक कथामा उल्लेख भएअनुसार भगवान राम १४ वर्षको वनबास सकेर अयोध्या फर्केको खुसियालीमा दीपावली गरिएको प्रसंग उल्लेख छ। त्यसैगरी, भगवान श्रीकृष्णले नराकासुरको बध गरी प्रजाको उद्दार गर्नुभएकाले द्वारकाका प्रजाहरूले दीपावलीको खुसियाली मनाएको प्रसंग उल्लेख छ। सत्य युगमा समुद्र मन्थन हुँदा धनवन्तरी अर्थात् लक्ष्मी प्रकट हुँदा दीपावली गरेर खुसियाली व्यक्त गरिएको प्रसंग पनि उल्लेख छ। प्रसंगमा कति सत्यता छ भन्नु भन्दा पनि दीपावली खुसी र आनन्दको प्रतीक हो। यो खुसियालीमा माटोका दियोलाई पनि प्रोत्साहन गरौँ र सबैको घरलाई दीपावलीले सजाऔँ। हाम्रो दीपावलीले कसैको जीवनमा दीपावली आउँछ भने त्यो भन्दा सुखद कर्म के हुन सक्ला?
प्रज्ञारूपी दियो
दीपावली घर र सहर उज्यालो बनाउने पर्व मात्रै कहाँ हो र? आफूभित्रको ज्ञानको दियो प्रज्वलित भए/नभएको थाहा पाउने अवसर पनि हो। आफ्नो प्रज्ञा, समझ र ज्ञानको दियो प्रज्वलित हुन सक्यो भनेमात्र बाहिरी उज्यालोको अर्थ सार्थक हुनेछ। आफूभित्रको सहयोगी र मानवीय भावना, करुणा र संवेदनशीलता जागृत हुनु वास्तविक जागरण र प्रकाशमय भएको अवस्था हो। भगवान बुद्धले आफ्नो अन्तिम समयमा दिएको सन्देश-अप्प दिपो भवः को अर्थ पनि त्यही हो-तिमी आफू ज्ञान र प्रज्ञारूपी गुणबाट प्रज्वलित बन। बाहिरको उज्यालोले भित्रको अन्धकाररूपी अज्ञानतालाई उज्यालो बनाउन सक्दैन। घरभित्रको अन्धकार हटाउन घरबाहिर झिलिमिली पारेर हुँदैन।
एकपटक सोचौँ-हाम्रा कर्म र परिणामहरूले बाहिरै मात्र झिलिमिली पारेका छन् कि भित्रको शान्ति, सुख र आनन्द अनुभूति हुनेखालका छन्? आन्तरिक शान्ति र आनन्द मिल्ने दियो जलाउन नसक्दासम्म तेल सकिएपछि निभ्ने दियोझैँ हुन्छ जीवन। केही पायो खुसी, भने जस्तो भएन दुःख र गुनासोका कथाहरू सिर्जित भैहाल्छन्। बाहिरको दियो बाहिरी सहयोग पाउँदा, तेल बाँकी हुँदासम्म मात्र बल्छ भने आन्तरिक दीप निरन्तर प्रज्वलित छ। त्यसलाई अनुभूति गर्ने माध्यम केवल ध्यान हो।
सन्तुलित र आदर्श जीवन बाँच्न सिकाउने कला पनि ध्यान नै हो। भौतिकताको चरम सुख र सुविधासँगै भित्रको आध्यात्मिक करूणा स्वभाव जागृत गराउने माध्यम पनि ध्यान नै हो। ध्यानस्थ र जागृत व्यक्तिले मात्र आफूमा आन्तरिक प्रकाशको ज्योति जगाउँदै अरूको मुहारमा उज्यालोका किरण छर्न सक्छ। बहुजन हिताय, बहुजन सुखायको उज्ज्वल गुणवत्ताको विकास गर्न सक्छ। स्व-प्रज्वलन, ज्ञान भन्दा माथिको प्रज्ञारूपी प्रकाशले आफू दीक्षित हुन सके मात्र आफ्नै मनका अन्धकाररूपी रिपुहरू नष्ट भएर जान्छन्।
प्रकाशित: ७ कार्तिक २०७९ ००:२० सोमबार