असोज २३ गते निर्वाचन आयोगको कार्यक्रमअनुसार मंसिर ४ गते हुने संघीय व्यवस्थापिकाको तल्लो सदनको १ सय ६५ निर्वाचन क्षेत्र र सातै प्रदेशका ३३० जना प्रदेशसभा सदस्यहरूको लागि उम्मेदवारी दर्ता भएको छ। जसअनुसार प्रतिनिधिसभा सदस्यको लागि २५०२ र प्रदेशसभाका लागि ३४३६ जनाको उम्मेदवारी परेको छ।
नामावली पढेपछि आँङ सिरिंग र जीउ झसंग भयो। एमालेको तालमेल र कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारहरूको नामावलीले सपनामा पनि चिमोटिरह्यो। रातभर रनाहा र छटपटी भैरह्यो–के गरौँ गरौँ लागिरह्यो! राजनीतिशास्त्रका एक प्राध्यापकलाई आफनो उकुसमुकुसबारे बताए। उनले कफी पिउन बोलाए। पढ्ने कोठामा लिएर गए। पुस्तकको बीचमा बसेर नेपाली राजनीतिको पछिल्लो विकासक्रम पर्गेल्न थालियो।
सोमबारका पत्रपत्रिकामा प्रकाशित उम्मेदवारहरूको नामावली हेरेपछि उनले पञ्चायतकालको निर्वासन, प्रहरी हिरासत, जेल बसेको प्रसंग कोट्याए। त्यतिखेरका खुँखार मण्डले, कांग्रेस, वामपन्थीहरू बहुदल, लोकतन्त्र र गणतन्त्रमा आइपुग्दाको सन्दर्भ उक्काए। पार्टीका सयौँ नेता÷कार्यकर्ताहरूले मृत्युवरण गरेको, वर्षौैँवर्ष यातना सहेको, जेलनेल खाएको, टाउकाको मोल तोकिएको र तोक्नेहरू शासनसत्तामा पुगेको चर्चा चलाए। देश र जनताको खास गरेर युवाहरूमा बढिरहेको निरासामा केन्द्रित भएर पुलुक्क मुखमा हेरे अनि अहिले विचार नीति कार्यक्रम र सिद्धान्त छाडेर नेताहरू सत्तास्वार्थका लागि सेटिङमा चुनाव लडिरहँदा कस्तो महसुस भैरहेको छ भन्ने प्रतिप्रश्न गरे। उनले सोधे, यो सबबाट दिक्दारी लागिरहेको छ कि ठीकै हो भनेर खुसी भएका छौ?
सुन्दा सहज जस्तो लाग्ने उनको प्रश्नले भित्रभित्रै भाउन्न गरायो। पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्रको तीनदशक लामो यात्रा र ०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदाका दृश्यहरू आँखामा एकपछि अर्को गर्दै आउँदै जाँदैे गरिरहे। टोलाएर अवाक भइयो। शब्द शून्य नै हुनपुगेँ। प्राध्यापक पनि शून्यमा टोलाइरहे!
पाँचवर्षअघि भएको गणतन्त्रको पहिलो आमनिर्वाचन र २०७९ वैशाख–जेठमा सकिएको स्थानीय चुनावपछि मंसिर ४ गते हुने दोस्रो संसदीय र प्रदेश निर्वाचनवारे त्यसपछि बहस केन्द्रित भयो। उनले भने, नेपाल दुई दलीय व्यवस्थातर्फ अगाडि बढिरहेको छ। वाम–लोकतान्त्रिक धारको प्रतिनिधित्व एमालेले तथा दक्षिणपन्थी पुँजीवादीधारको प्रतिनिधित्व कांग्रेसले गरिरहेको छ। तर चुनावमा विचलन देखापरिरहेका छन्। कुन विचार सिद्धान्त र कार्यक्रमको होइन, कसोगर्दा चुनाव जितिन्छ र सत्ता हात पर्छ भन्नेमा मात्र पार्टीहरू केन्द्रित देखिन्छन्। के हो यो? यसलाई कसरी हेर्ने? प्राध्यापकले भने, यतिखेर अवसरवाद पूरै हावी छ। यसैबाट आक्रान्त छ पाँचदलीय गठबन्धन। त्यसलाई चुनौती दिइरहेको एमाले पनि सत्तागठबन्धनको दबाबबाट उत्तेजित बनेर कमल थापालाई आफ्नो चुनाव चिह्नमा लडाउन राजी हुनुले अर्को अनिष्टको संकेत गरेको लाग्छ, उनले भने।
चुनाव भनेको के हो? उनी एकाएक कड्किए। लोकतन्त्रमा केका लागि चुनाव हुन्छ? आफैँ जवाफ दिनथाले, देशलाई अझ स्थायित्व दिन, जनताका समस्या समाधान गर्न, मुलुकलाई समृद्ध बनाउन हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुने होइन? नेता कुहिएर गनायो कि सशक्त छ? आवधिक निर्वाचन त्यसैबारे जनअभिमत बुझ्नका लागि गर्ने हो। त्यसैले हरेक निर्वाचनले देशका समस्या समाधान गर्न ‘भिजनरी’ नेता चुन्छ, चुन्नुपर्छ। यस्ता नेताले मात्र जनतालाई पोस्ने काम गर्नसक्छन्, बासी सडेगलेकाले होइन! निर्वाचनलाई लोकतन्त्रमा त्यत्तिकै राष्ट्रिय पर्व भनिएको होइन।
तर असोज २३ गते उम्मेदवारी दिएकाहरूको नामावली हेर्दा कुन मुसाहरू एकातिरबाट अर्कातिर र कुन बिराला कताबाट कतातिर दौडादौड गरिरहेका छन्? मज्जैले देखियो! देशलाई चाहिएको छ– विचार, सिद्धान्त र निष्ठाको राजनीतिज्ञ जो जनताको सेवाप्रति दत्तचित्त होस्। मुलुकको समस्या बुझेको होस्। देशलाई स्थायित्व दिन कर्मठ होस्। दलका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता देओस्। सरल जीवन जिओस्! आफ्नो कमाइमा बाँचोस्।
प्राध्यापकको कसीमा सत्तासीन गठबन्धनले दिएका उम्मेदवार खह्रा छन् त? अहं पटक्कै त्यस्तो देखिँदैन। जनताबीच लोकप्रिय, सक्षम र स्पष्ट दृष्टिकोण भएको हुनुपर्ने हो तर तलबाट चुनिएको होइन, माथि–माथिबाटै टीका लगाएर उम्मेदवार बनाइएको छ। फगत सत्तामात्र गठबन्धनको आधार बनेको छ। त्यसैले कांग्रेस जस्तो दक्षिणपन्थी, माओवादीजस्तो हिंसाले लतपतिएको र चरमअवसरवादी, जसपा जस्तो अर्को अवसरवादी जो सिट नपाउने बित्तिकै आफैँले दोषारोपण गरेको दलसँग मिल्न पुग्छ, समाजवादीजस्तो आफ्नै पार्टीको सरकार ढाल्न लाग्ने, जनमोर्चा जस्तो भन्ने एकथोक र गर्ने अर्कोथोक जस्ता गँठेमंगलको गठबन्धन पो बनेको छ। अदालतको परमादेशबाट बनेको सरकारको एकसूत्रीय उद्देश्य सत्ता मात्र हो। त्यसैले विद्रोही उम्मेदवारको ताँती लागेको छ। स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पार्टीका भन्दा धेरै देखिएका छन्।
अनि, एमाले? एमाले सिद्धान्त, नीति, कार्यक्रम, योजना र जनपरिचालनको आफ्नै विशिष्टशैलीबाट अगाडि बढे हुँदैन? कमल थापा नै चाहिन्छ? जसरी पनि चुनाव जित्नुपर्ने हुटहुटी सत्ताको चास्नीमा डुब्नका लागि हो? तातै खाउँ, जल्दी मरौँको नीति अपनाएर चास्नीको झिंगा बन्ने कि दृढ इच्छाशक्ति भएको सशक्त, जिम्मेवार र भविष्यमुखी योजना भएको पार्टीको रूपमा जनताबीच स्थापित हुने? ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अगाडि बढ्ने?
लोककथाअनुसार चास्नीमा डुबेर मरेको झिंगोलाई पनि चुसेर लोभी मख्खिचुस मिठास असुल गरेको ठान्छ। ऊ यसमा लाज, सरम, घीन केही मान्दैन। अहिले झण्डै त्यस्तै अवस्थामाप्रमुख प्रतिपक्ष पुगेको हो? समानुपातिकको दुई–चार हजार मत आर्जन गर्न एमालेले बदनाम यथास्थितिवादी महामण्डले कमल थापालाई बिना लाज सरम चुनाव चिह्ननै सुम्पन पुगेको हो? झट्ट हेर्दा चुनावमा यस्तो भैहाल्छ नि भन्ने लाग्न सक्छ तर यो त्यस्तो हलुका विषय होइन। यो सरासर विचारमा विचलन र चरित्रमा धब्बा हो। जनताको विश्वासमाथि कुठाराघात हो।
विचारधारा, चुनाव चिह्न र झण्डामा सानो भन्दा सानो लापरबाही पनि क्षम्य हुँदैन किनभने नेकपा एमालेको नाम, बिचार, इतिहास, चरित्र र व्यवहारलाई चुनाव चिह्नले प्रतिविम्बित गर्छ। कुख्यात कमल थापालाई सूर्य चिह्न दिएर चुनाव लडाउनु अक्षम्य गल्तीमात्र होइन,ठूलो कमजोरीर पतन पनि हो। यसलाई क्षमा याचना गरेर मात्र सच्याउन सकिन्छ।
नेपाली राजनीतिमा कुख्यातिको पर्याय भनिने कमल थापा चिनाइरहनुपर्ने व्यक्ति होइन। पचास वर्ष बढीदेखि उनका सोच, विचार र क्रियाकलाप जनविरोधी छन् त्यसैले वामपन्थी लोकतन्त्रवादीबीच उनी हाँसोका पात्र हुन्। निरंकुशता, हिंसा, बेइमानी, पश्चगामी, धोकाघडी, लोकतन्त्र र जनआन्दोलनविरोधीको विम्ब हुन् उनी।
थापा हार्डलाइनर हुन्। निरंकुश पञ्चायत र ज्ञानेन्द्रप्रतिगमनको गृहमन्त्री हुन्। उनी लोकतान्त्रिक संविधान विरोधी हुन्। संविधान जलाउने व्यक्ति हुन्। यथास्थितिवादी हुन्। यस्ता पश्चगामी कमल थापालाई एमाले नेतृत्वले परिवर्तन र विकासको बाहक सूर्य चिह्न दिएर आगामी चुनावमा आफ्नो उम्मेदवार बनायो भन्ने सुन्ने बित्तिकै राजनीतिक, बौद्धिक र सामाजिक क्षेत्रमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ। एमाले ठट्यौली टिप्पणीको तारो बनेको छ। यसले सामान्य विवेक, विचार र नैतिकआचरण भएकाहरूलाई मर्माहत बनाएको छ। आशा गरिएको सशक्त राजनीतिक पार्टीमा यो हदसम्मको विचलन कसरी भयो? यो पतनले एमाले कता गैरहेको छ भन्ने अहम् सवाल उत्पन्न भएको छ। नेपाली राजनीतिमा देखापरेको यो विकृति, विसंगति र विचलनवारे बेलैमा कठोर प्रतिक्रिया नजनाउने र निन्दा नगर्ने हो भने विचार, सिद्धान्त, संस्कार, मर्यादा र स्वच्छ कार्यशैली समाप्त हुन धेरै समय लाग्दैन। यति टिप्पणी सुनेपछि कमल थापा वृत्तिलाई एमालेमा भित्राउने प्रवृत्तिले भनेछ, यो बबुरो पत्रकारले राजनीति, संगठन र निर्वाचनको विशेषता के थाहा पाओस्? यसलाई राजनीति कसरी गर्नुपर्छ भन्ने कसरी थाहा होस्? कमल थापाले सूर्य चिह्नबाट उम्मेदवारी दिएर एमालेमाथि कत्रो गुन लगाएका छन्! एमालेलाई कति ठूलो फाइदा हुँदैछ? हाम्रो संगठन र छवि यो क्षेत्रमा अब ह्वात्तै बढ्ने छ। लाभ÷हानिका यस्ता कुतर्क गर्नेहरूलाई एउटा मात्र जवाफ दिन सकिन्छ, तिमीहरू जस्ता सर्वज्ञाताले नै एमालेलाई खाल्डामा जाक्दैछौँ। त्यसैले भन्नैपर्छ अहिले कमल थापालाई जसले सूर्य चिह्न दियो र यो गलत कार्यको जसले पक्षपोषण गर्दैछ त्यो विचारहीन, पाषाण, प्रतिक्रियावादी हो। त्यो आफूलाई प्रगतिशील, लोकतान्त्रिक, जनपक्षीय भन्ने प्रत्येक वामपन्थीका लागि कलंक हो।
कलंकको कालो टीका लगाउने एमालेको यो निर्णयको कारणले मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेले चुनाव हारिसकेको छ किनभने त्यहाँ एमालेको वास्तविक उम्मेदवार छैन। एमालेले आफूलाई कमलमा न्यौछावर गरिसकेको छ। थापाले चुनाव जिते पनि त्यो एमालेको निम्ति कालो धब्बा मात्र हुनेछ। यो कति घाँडो हुनेछ, समयले नै बताउनेछ। एमाले नेतृत्वले केको लोभ र शुभलाभमा हो कुन्नि, आफ्नो घाँटीमा निरंकुशकालमा आफ्नै कार्यकर्ता मारेर कंकाल बनाउनेलाई सूर्यचिह्नको माला पहिराएको छ। यो मण्डले कुकृत्यलाई एमालेमा संपदा ठान्ने थालनी हो। कुनै शंका छैन, यसले मकवानपुरको एमाले नेतृत्व र संगठनलाई समाप्त पार्ने छ।
केपीओली जस्ता चतुर नेता यस्तो संवेदनशील कुरामा कसरी चुके? एमाले अध्यक्ष भएकाले उनले यो गलत कार्य तत्कालै रोक्नुपथ्र्यो। हस्तक्षेप गर्नुपथ्र्यो र कमल थापालाई कुनै हालतमा सूर्य चिह्न दिन हुन्नथ्यो। अझै पनि उनले यसबारे जाँचबुझ गर्नुपर्छ। को कसका के कति कारणले एमाले जस्तो देशको ठूलो पार्टी यस्तो सिद्धान्तच्यूत हुने गलत निर्णय गर्न पुग्यो? खोजी गर्नुपर्छ। दोषीलाई दण्ड दिनुुपर्छ। यस्तो विचलन भविष्यमा नहुने ग्यारेन्टी आमनेता कार्यकर्ता शुभचिन्तकलाई गर्नुपर्छ। यो र यस्ता विकृति विचलनलाई रोकेर मात्र एमाले भविष्यमा सफल हुनसक्छ। पार्टीलाई स्वच्छ, आदर्श, मर्यादित र सिद्धान्तनिष्ठ बनाउने कुरामा कुनै संझौता हुन सक्दैन। पार्टीभित्र प्रतिगामी पोस्ने षडयन्त्रको बिउ कस्ले रोपेको हो? गोडमेल र मलजल कसले गरेको हो?अझै पनि समय छ, सूर्यचिह्नलाई प्रतिक्रियावादी, पश्चगामी र जनविरोधी चोख्याउने औजार बन्न नदेऊ। यसलाई भ्रष्टाचारी, तस्कर, बिचौलिया, माफिया, कालाबजारीबाट बचाऊ। चोखो राख। खबरदार, एमालेको जुझारु छवि, जनपक्षीय रूप र गौरवमय इतिहासमाथि कहीँकतैबाट प्रहार नगर। नालीको फोहोरको छिटाबाट यो गौरवमय संगठन जोगियो भने मात्र यसले सुन्दर, शान्त, विशाल नेपाल बनाउन सक्छ! समृद्ध नेपाल, सुखी नेपाली सार्थक हुनसक्छ।
कमल थापालाई सूर्य चिह्न दिएर न देशले स्थिरता पाउछ नत व्यवस्थालाई स्थायित्व दिन सकिन्छ। न एमाले सुदृढ बन्छ नत नेपाल र नेपालीका सुखद दिन सुरु हुन्छन्। कसैले त्यस्तो ठान्छ भने त्यो गलत हो। यसले एमालेलाई ‘क्यारेक्टरलेस’ मात्र बनाउँछ। निष्ठा, आदर्श, सिद्धान्त र जनहितप्रति प्रतिबद्ध नभई एमालेले समृद्ध नेपाल बनाउने अभियानलाई नेतृत्व दिन्छ भन्ने विश्वास गर्न सकिँदैन। कमल थापा प्रवृत्तिलाई प्रवेश दिनु भनेको एमालेलाई अवसरवादी, दलाल, बेइमान र स्वार्थीहरूको कोपभाजनको सिकार बनाउनु हुनेछ। यो सत्ताको खेल मात्र हो। यस्ता क्रियाकलापले विचारमा पतन गराउनेछ। राजनीतिलाई अवमूल्यनसिवाय केही गर्दैन। जनताबीच एमालेको विचार, नीति, कार्यक्रम, अजेन्डा लिएर उसको काविल उम्मेदवार जानुपर्छ। कमल थापा एमालेको चुनाव चिह्न बोकेर प्रतिगमनको गृहमन्त्रीको विचार र कार्यक्रम लिएर चुनावमा गएपछि के हुन्छ? अनि उसलाई एमालेजनले आफ्नो चुनावचिह्नको उम्मेदवार भनेर मतदान गर्ने? यो हुन सक्दैन। भयो भने देश, जनता र स्वयम् एमालेका लागि दुर्भाग्य हुनेछ।
एमालेका ठूला नेताहरू समानुपातिकमा बस्ने, जनताबीच नजाने र कमल थापालाई आफ्नो उम्मेदवार बनाएर अगाडि सार्न थालेपछि त्यसले यसपार्टीमा अकल्पनीय विचलनहरू ल्याउनेछ। यसप्रति एमालेकोे शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म र शुभेच्छुकदेखि सहयोगीसम्मको चेत खुलोस्। सबैलाई चेतना भया– नेतामुखी पार्टी होइन, पार्टीमुखी नेता हुनुपर्छ एमाले!
कमल थापा प्रवृत्तिले एमालेमा स्थान पाउनु भनेकोे सरासर प्रतिक्रियावादीको सफलता हो। प्राध्यापकले भनिरहे, जसरी कांग्रेसले माओवादीलाई बुइचढाएर आफ्नै कार्यकर्ताको खप्परको माला पहिरिएर आफैँलाई ध्वंश पारिरहेको छ। कमल थापा बोक्ने प्रवृत्तिले पनि एमालेमाथि कुठाराघातको सुरुवात गरेको छ र भविष्यमा पनि थप कुठाराघात नै गर्नेछ। एमालेको राष्ट्रव्यापी तेजलाई यो एउटै प्रतिगामी कार्यले निस्तेज पारेको छ। एमालेको स्वच्छता, अग्रगामी क्रान्तिकारिता, परिवर्तनको बाहक, देशभक्त र जनपक्षीयपनमाथि यो डरलाग्दो र अक्षम्य धावा हो। यसले धोइपखाली नै गर्न नसकिने गरी एमालेको सूर्य चिह्नमाथि कालो पोतेको छ। यो ग्रहणको दूरगामी प्रभाव भयानकरूपमा देखिँदै जानेछ। यो सैद्धान्तिक, राजनीतिक र नैतिक विचलनको दुष्प्रभाव एमालेमाथि लामो समयसम्म परिरहनेछ। महामण्डले, बिचौलिया, अपराधीहरूलाई गणतन्त्रमा दलका चुनाव चिह्न? यसैका लागि हो गणतन्त्र ल्याइएको? हजारौँ जनताको बलिदानी भएको? नेताहरूले भन्ने गरेको दशकौँ जेलनेल सहेको, गोलघरमा बसेको? प्राध्यापक एकोहोरो बम्किरहे।
प्रकाशित: २६ आश्विन २०७९ ००:५१ बुधबार