७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

राजनीतिमा क्लेप्टोक्रेसी

भ्रष्टाचार राष्ट्रिय संस्कार बनिसक्दा सबैतिर आक्रोश हुँदा पनि सडक भने क्लेप्टोक्रेसीसामु मौन छ। चिच्याउँदैनन्। मौनता र सरोकारहीनता इतिहासका पानामा कलंक हुन्छन् भने दुर्दिनलाई रातो कार्पेट ओछ्याएर निम्त्याइरहेका हुन्छन्।

चुनाव करेसामा आइसक्यो। भ्रमका खेती सुरु भए। फेरि गाली राजनीतिक ऊर्जा बन्न सुरु गरिसक्यो। राम्रा कुराको श्रेय लिने पनि नराम्राका दोष अरूका थाप्लामा हाल्छन्। राष्ट्रिय गम्भीर विषयमा संसद्मा बहस हुँदैन, सांसद उपस्थित हुँदैनन्। बहसमा हामी ‘समाजवाद’ उन्मुख गणतन्त्रात्मक मुलुकका नागरिक भनिन्छौँ। शासनको रूप र चरित्र हेर्दा भने क्लेप्टोक्रेसी अवस्थामा देखिन्छ। सुन्दर शब्दको नियति र सत्ताचरित्र नाप्ने औजार भनेको ह्वाँङह्वाँङी छ्याँगछयाँग्तीका परिणाम नै हुन। जबसम्म सतहमा देखिँदैन तबसम्म सहज चेतले त्यसलाई ठम्याउन सकिँदैन।

सबै उस्तै, उस्तै  

एकजना वा एकजनाभन्दा बढी भ्रष्टहरूले मुलुकको स्रोत आफू, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समूह, दल वा गुटको निम्ति वैधानिक भ्रष्टाचार गरी फाइदा उठाउने राज्य पद्धतिलाई क्लेप्टोक्रेसी भनिन्छ। क्लेप्टोक्रेसीले राज्य ढुकुटी र स्रोत आफूखुसी फाइदा हुने आर्थिक नीति, कानुन र ट्याक्स नीति बनाँउछ। जनसेवा, सुविधा भित्रभित्र बेचीखाई दुरुस्त पार्छ। तर, झुटो प्रतिवेदन तयारसमेत गरेर सञ्चालित हुनेगर्छ। क्लेप्टोक्रेसीमा संस्थाको वैधानिक शक्ति या सकिन्छ या त व्यक्तिकेद्रित हुन्छ।  

क्लेप्टोक्रेसीलाई सुन्दर पछ्यौरी ओढाउन सुनियोजित कृत्रिम र उत्तेजित बहस सिर्जना गरिन्छन्। मूल मुद्दा विषयान्तर गर्ने खेल खेलिन्छन्। व्यक्ति भ्रष्ट हुँदा रोक्न नीति, नियम कानुन मात्रै हुँदैन, समाजको नैतिक दबाब पनि हुन्छ। जब नीतिनियम नै बनाएर भ्रष्टाचार हुन्छन्, पार्टी नै त्यसको मतियार हुन्छ र सिन्डिकेट बन्छ भने त्यो देशको भयाबह अवस्था हो। जब जनमत भ्रष्टाचारको मौन साक्षी हुन्छ, कार्यकर्ता भ्रष्ट जोगाउने मतियार र खेलाडी बन्छन्, विरोध गरे आफैँ नांगिएला भन्ने अवस्था तब शून्य सहनशीलता आदर्श नाटक बन्ने गर्छन्। सिन्डिकेट सदस्य एकापसमा औँला ठड्याउँदै भन्छन्– म मात्र भ्रष्टाचारी हुँ र? तिमीले टुकुचाको मुहान खोलेका हौ, मैले र मेराले त नुहाएका मात्र हुन्।’ सहमति र समझदारीमा तँै चूप, मै चूप, ऊ चूप, यी चूप। सबै चूप।

हरेक घटनाले पहिलाको बिर्साइदिनु भनेको जनतालाई नै कतै बिर्सने रोग (अल्जाइमर) लागेको त छैन्! जहाँ सत्ता र प्रतिपक्षको अदृश्य सम्झौता हुन्छ, सबैकुरा सेटिङमै चल्छ। आवेगी भीड बनाउन पनि नयाँ र कृत्रिम मुद्दा अघि सारिन्छन्। अन्यत्र मोड्ने खेल र झेल हुन्छ। अभियुक्तलाई सिन्डिकेटले चोख्याउँछ। केहीदिन मिडियामा खुब चर्चा हुन्छ, केहीसमय नबित्दै हराउँछ। मिडिया म्यानेज गरिन्छन्। के यो संयोग हो? कि योजनाबद्ध? मूलधारका मिडिया हुन् या सामाजिक सञ्जालका बहसहरू एकहप्ता पनि टिक्न पाउँदैनन्, सक्दैनन्। कसरी बहस पटलबाट ती एकाएक हराउँछन्। गायब पारिन्छन्। जनता नबनिसकेको भगवान भरोसे भिडको सहजमस्तिष्कले यस्ता विषय पत्तै पाउँदैन्, वास्तै हुँदैन्। एउटा मुद्दाको किनारा लाग्ननपाउदै अर्को मुद्दा उरालिन्छन्, पहिलाको गम्भीर विषय ओझेल पारिने वा दबाइने अदृश्य खेल नै ‘समाजवाद’ उन्मुखभन्दै अभ्यास गरिने क्ल्टोक्रेसीका चाल बन्न पुग्छ।  

अब पार्टीबीच भिन्नता भएन। नाम, झण्डा र नमस्तेका शब्द ध्यान नदिने भए सामाजिक सरोकार र आचरणमा सबै पार्टी समान भए। सामाजिक प्रतिक्रियाको नाडी छाम्न र गम्भीर मुद्दा विषयान्तर गर्न सकिन्छ भन्ने सबैले योजनाबद्ध बहस उरालन्छन्। सङ्गठित अपराधविरुद्ध आन्दोलन बन्न सक्दैन। आचार, विचार र व्यवहारमा भ्रष्टाचारलाई समाजले आफ्नो नियति र पहिचान बनाइसक्यो। जुन उत्साहकासाथ संघीय राज्य व्यवस्थाको कल्पना गरियो तर सिंहदरवार गाउँ पस्दा भ्रष्टाचार संस्कृतिलाई लिएर पस्यो। मौनसमाजमा संवेदनहीन, आक्रोशहीन घृणारहित देश बन्दै गयो। हिजोका आन्दोलन बन्ने नारा र आदर्श सुन्दर बस्त्र मात्रै थिएनन्। जीवन थियो। तर शक्ति उन्मादले शासक समयको पदचाप सुन्दैनन्। इतिहासबाट शिक्षा लिँदैनन्। लम्पट दिमागलाई उन्माद भरेर भ्रष्ट पार्दै भ्रष्टहरू आफ्ना सुरक्षित बंकर खोज्छन्।

मौनता पनि अपराधको मतियार हो

जब सरकार, न्यायालय, नेता, पुलिस प्रशासन, राजनीति र मिडियाप्रति विश्वास हराँउदै जान्छ तब त्यो केही न केही हुँदैछ भन्ने पूर्वसङ्केत हो। संयोगमात्रै हैनन्, प्रतिपक्षसहितको सहभागिता सिन्डिकेट राजनीतिको हिस्सा बन्यो। सदन रमिता र तमासाको थलो बन्यो। सांसदको सदन उपस्थिति र बहसमा सहभागिताको हाजिरी नियाले आँउदो चुनावमा मतको निर्णय गर्न असहज हुँदैन। रणनीतिक भूसंवेदनशील देशलाई नै दीर्घकालीन असर पार्ने एमसिसी र नागरिकता विधेयकमा पार्टीको भूमिकाले सबै निर्वस्त्र भए। युक्रेन र ताइवानले हामीलाई सन्देश दिइसके। थाहा नपाउनु, ध्यान नदिनु हुँदैन। दोहो¥याइरहनै परेन, सङ्केतले चेत्ने, सजग हुने, अवस्थाको आकलन गरेर प्रतिकूलतालाई अनुकूलतामा फेर्ने मानिस हुन्छ भने परिणाम आएपछि ज्या... भन्नु पशुचेत हो।  

नागरिकता र एमसिसीजस्ता विधेयकका संवेदनशील विषयमा पक्ष÷विपक्षमा तर्क हुन सक्छन् र हुनुपर्छ पनि। तर प्रतिनिधिसभाका सबै सांसद हाउसमा किन उपस्थित भएनन्? पार्टी किन निर्देशन गर्दैनन्? यो संयोग मात्रै थिएन र हैन। को, को माननीय सदस्य उपस्थित भए र को को भएनन्? कसले, कस्तो विचार राख्यो? कसरी आफ्ना विचारको वकालत गरे? त्यो आउँदो चुनावमा मत माग्ने र दिने आधार बन्नेछ। सबैलाई नियाल्नु पर्नेछ। नागरिकता विधेयक पारित गर्दा ४५ सदस्य हलमा थिए र २३ सदस्यले यो संवेदनशील बिल पास गरे। प्रतिपक्ष कहाँ थियो? विधेयक सदनमा प्रस्तुतहुने सूची पहिल्लै जानकारीमा हुन्छ। तब किन पार्टीहरू उदासीन हुन्छन्? सांसद सदनमा उपस्थिति नहुनु भनेको मौन समर्थन हुनु हो। क्लेप्टोक्रेसी सत्ताले गरेको अपराध देशले, समाजले र युगले भर्ताल गर्नुपर्छ। कहिलेकाहीँ निरपराधीले समेत भोग्नुपर्छ।  

क्लेप्टोक्रेसीका औजारहरू  

नैतिक पुँजी हुनेसँग इच्छाशक्ति हुन्छ। उसैलेमात्र बादशाहलाई नांगो भन्न सक्छ। पार्न सक्छ। घोडाबाट उतार्न सक्छ। कतिपय छानविन आयोग विषय सार्वजनिक गर्ने, दण्डित सिफारिसकर्ता भन्दा पनि घटना दबाउने माध्यम बन्दैछन्। अख्तियार हजारदेखि लाखसम्म त कारबाही दायरामा पार्छ तर करोड, अर्ब र खर्बको वैधानिकता दिलाउँछ। अपराधको ड्राइ क्लिनर्स बन्दैगएको न्यायालयका ठूला फैसला शंकारहित छँदैछैनन्। कतिपय त पेसीरहित मुद्दामै जीवन गुज्रिसकेको हुन्छ। क्लेप्टोक्रेसी सञ्चालक सिन्डिकेटको अदृश्यहात यति शक्तिशाली छन् कि ऊ नीति र विधिमै हस्तक्षेप गरेर संसद्, अदालत, सिंहदरवार, अख्तियार, बालुवाटार, खुमलटार, मण्डिखाटार र बालकोट म्यानेज गरिदिन्छ।

क्लेप्टोक्रेसीका कारण गणतन्त्रसहितको लोकतन्त्रमाथि अहिले औँला उठ्दैछन्। सडक मौन छ। नागरिक समाज मौन छ। इतिहासको हकवाला त्यही मात्रै हुन सक्छ जसका आचरणले विगतको सान्दर्भिक ठहर्‍याउने अहिले पनि हैसियत राख्छन्। जनयुद्ध र जनआन्दोलनकारीबारे पश्चगामीले प्रश्न त्यसै गरेका हैनन्। राजनीतिलाई व्यवसाय बनाउने हाँस्यकलाकार बन्नुपर्ने हो तर सामाजिक मनोविज्ञान फेरिँदा ‘नायक’ पो बन्दैगएका छन्। नायकका परिभाषाहरू सामाजिक मनोविज्ञानसँगै समय र भूमिकाले फेर्दैलैजान्छ।

क्लेप्टोक्रेसी सत्तासँग कानुन, जेल, प्रहरी, कालाकोटे र खैराकोटे जर्नेल मात्र हुँदैनन्, संविधानका पुस्तक र सरकार मात्र हुँदैन, विषयलाई अन्यत्र मोडेर भीड बनेको जनताको मस्तिष्कमा भुस भरिदिने कला पनि हुन्छ। कृत्रिम आतङ्कको बबण्डर मच्चाएर कुथ्थुर पार्न सक्ने खुबी हुन्छ। हिजोका क्रान्तिकारीलाई खसी पार्ने सनासो हुन्छ। आफ्नै इतिहासलाई बिष्टयाउदै बास्नाका भजनकर्ता लेखनदास जन्माइन्छन्। कैयौँ बुख्याचा ठिंग उभ्याएर चौथोअंगको गौरववोधलाई चुत्थो अंग बनाएर अगाडि सार्न सक्छ। औकात भुलेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सिन्डिकेटको सेयर होल्डर बनेर म्याराथन दौडमा सँगै सामेल हुन्छन्। आस र त्रासका कलाविहीन नाटक गर्छन्। चरम भ्रष्टाचार कुशासन, दिमागी व्यवस्थापन गरी ठूला मुद्दालाई बहसबिना सामान्य उत्तेजनात्मक विषय बनाएर छताछुल्ल पार्दै सचेत जनतालाई भीडमा फेर्नु उसको बाध्यता हो।  

फेरिँदै गएका सोच र मान्यता

क्लेप्टोक्रेसीले आलोचनात्मक चेत राख्ने र आदर्शलाई आन्दोलनमा फेर्नेलाई बिप्लवी ठान्छ। जसले प्रतिरोधी आवाज उठाउँछ, ऊविरोधी ठहरिन्छ। चेतना र कलम हुकुममा हाँकिने फरमान इस् भनिदिने आतङ्ककारी बन्छन्। सहमतिमा हिम्मत र विमतिमा विवेक भएकाले मात्र क्रान्ति उत्तर हैन आफैँ प्रश्न हो भन्ने चिच्याहटको नैतिक पुँजी राख्छन्। जनता लम्पट बने मात्र क्लेप्टोक्रेसी सत्ता रहन्छ। जनयुद्ध र जनआन्दोलनको मर्म काउसो बनेर इतिहास, विचार, र जेलजीवन पृष्ठभूमिका त कुरा गर्छन् तर त्यसैका आदर्श स्वीकारेर जीवनपथ बनाउन भने आतकिंत बन्छ।  

भ्रष्टाचार राष्ट्रिय संस्कार बनिसक्दा सबैतिर आक्रोश हुँदा पनि सडक भने क्लेप्टोक्रेसीसामु मौन छ। चिच्याउँदैनन्। मौनता र सरोकारहीनता इतिहासका पानामा कलंक हुन्छन् भने दुर्दिनलाई रातो कार्पेट ओछ्याएर निम्त्याइरहेका हुन्छन्। समयमै चेत भया। 

प्रकाशित: ८ भाद्र २०७९ ००:३० बुधबार

भ्रष्टाचार