नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ। लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा पार्टीप्रति युवा आकर्षण बढेपछि नयाँ ऊर्जा पनि थपिएको छ। यसले भविष्यमा कांग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास गर्न सकिन्छ। यही गतिमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासतमा ठूलो टेवा पुग्नेछ।
अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ। किनकि युवा आकर्षण कांग्रेसमा हुन सक्दैन भन्ने कम्युनिस्ट भ्रम चिर्नु पनि नेतृत्वको जिम्मेवारी हो। तर त्यसो भनेर आउँदै गरेको क्षेत्रीय, प्रादेशिक, जिल्ला र केन्द्रीय महाधिवेशनमा पनि त्यो लहरलाई निरन्तरता दिन नेतृत्वको त्याग, तपस्या र भूमिका अझै अपेक्षित छ। आशा गरौँ, नेतृत्व तहमा रहेका व्यक्तिले गुट, उपगुट र सहगुटको भावना त्यागेर नेतृत्वको फैसला गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिलाई दिनेछन्।
अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।
यसो भन्दै गर्दा पार्टीलाई आजको अवस्थासम्म ल्याइपुर्याउन भूमिका खेलेको अहिलेको नेतृत्व पुस्ताको योगदान पनि कम छैन। बिपी कोइरालाको पहिलो जननिर्वाचित, ऐतिहासिक र समावेशी सरकार अपदस्थ गरेसँगै मुलुकमा २०१७ साल पुसबाट लादिएको निर्दलीय व्यवस्थाको विरोधमा कालो झन्डासहित प्रदर्शनमा उत्रिएको अहिलेको नेतृत्व पुस्ताले पनि पार्टी निर्माणमा ठूलो भूमिका निर्वाह गरेको छ। राजा महेन्द्रलाई कालो झन्डा देखाएर विरोध जनाउने साहसी र निडर महिला नेतृ शैलजा आचार्यको पनि यहाँनेर स्मरण गर्नुपर्छ।
हो, हामीले कांग्रेस मुलुकको पुरानो लोकतान्त्रिक पार्टी भनेर गौरवबोध गर्दै आएका छौँ। तर त्यो इतिहास जोगाउनेतर्फ भने कुनै चिन्तन हुन सकेको छैन। लोकतान्त्रिक पार्टीलाई जीवन्त राख्न समयसापेक्ष सिद्धान्तको पुनव्र्याख्या र संगठनको पुनर्निर्माण जरुरी हुन्छ। पार्टीको नियमित महाधिवेशनसमेत गर्न नसक्दा लोकतान्त्रिक पार्टीको ऐतिहासिक परिचयसमेत मेटिन लागेका तर्कहरू विविध कोणबाट उठे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत। त्यही दबाबकै कारण क्रियाशील विवादको निरूपणसहित यही भदौ १८ गतेबाट महाधिवेशन प्रक्रिया सुरु भयो। धेरैले अझै पनि महाधिवेशन होला र भन्ने प्रश्न पनि गरिरहेका छन्।
यही वर्षभित्र स्थानीय निर्वाचन र आगामी वर्ष संघीय संसद्को निर्वाचन हुने भएकाले पार्टीभित्र तिक्तता बढाउनुहुन्न भन्ने तर्क पनि नआएका होइनन्। एउटा लोकतान्त्रिक पार्टीले यस्ता तर्कलाई आधार बनाउनुहुन्न। स्वच्छ प्रतिस्पर्धाका आधारमा इमानदार कांग्रेस छान्नका लागि हुने महाधिवेशनले निर्वाचनलाई कुनै असर पुर्याउँदैन, पुर्याउन दिनु हुँदैन पनि। त्यसैले नेतृत्व तहमा रहेका व्यक्तिको परीक्षाको घडी पनि हो यो। कुनै व्यक्तिविशेष वा गुटविशेषको व्यक्तिको उन्नतिका लागि पार्टीको लोकतान्त्रिक र ऐतिहासिक छवि बन्धकी राख्ने बाटोमा नलाग्ने हो भने महाधिवेशनले स्थानीय तह र संघीय संसद् निर्वाचनलाई असर पुर्याउँदैन।
सहमतिमा तय भएको मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णयमा कहीँ कतैबाट कुनै वहानामा अवरोध पुग्दैन भन्नेतर्फ इमानदार कार्यकर्ता विश्वस्त देखिन्छन्। स्थानीय तहमा देखिएको पार्टीप्रतिको उत्साहले पनि यही देखाउँछ। त्यो उत्साहलाई पार्टीको केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित नहुँदासम्म कायम राख्न सकियो भने स्थानीय तह र संघीय संसद्को निर्वाचनमा कांग्रेसको विजय सानदार हुनेछ। त्यसका लागि हामीले दबाब र प्रभावमा नेतृत्व हात पार्न खोज्ने पुरानो शैली भने त्याग्नुपर्छ।
आमनागरिकमा सामाजिक न्यायको सिद्धान्त स्थापित गर्न पार्टी स्थापना कालदेखि पूर्वजहरूले जीवन उत्सर्गमात्र गरेका छैनन्, बिपी, गणेशमान कृष्णप्रसाद र गिरिजाप्रसादले कठोर यातनासहित ठूलो संघर्ष गरेका छन्। पार्टीको उन्नतिका लागि लाखौँ कार्यकर्ताको रगत/पसिना हिजो पनि बग्यो र अहिले पनि बगिरहेको छ। पार्टीको पहिचान जोगाउन रगत/पसिना बगाएका निष्ठावान कांग्रेसको ऐतिहासिक विरासत कायम राख्न पनि हामीले ससाना विवाद भन्दा माथि उठेर महाधिवेशन सम्पन्न गर्न आवश्यक छ। जसले अब क्रमशः हुँदै जाने निर्वाचनलाई ऊर्जा प्रदान गरोस्, अन्य पार्टीलाई पनि मार्गनिर्देश बनोस्।
पछिल्लो समय कम्युनिस्टको विवादका कारण बाध्यताले आइलागेको सत्ताको समेत नेतृत्व गरिरहेको पार्टी भएकाले पनि नेतृत्वको परीक्षामा पास हुने वातावरण निर्माण गरौँ। जसको प्रारम्भ विन्दु पार्टीको महाधिवेशनलाई बनाऔँ। महाधिवेशनमा कार्यकर्ताले निर्वाध नेतृत्व चुन्ने सुअवसर पाए भने त्यो सबै भन्दा ठूलो बल ऊर्जा हुनेछ, सँगसँगै निष्ठावान कार्यकर्ताको जित पनि।
सरकार गठन/विघटन र विस्तार भन्दा पनि आमकांग्रेसजनमा यतिबेला पार्टीप्रति बढी चासो र चिन्ता देखिन्छ। नेतृत्व तहमा बस्ने व्यक्तिले कार्यकर्ताको भावना बुझ्नुपर्छ। लोकतान्त्रिक चरित्र अनुशरण गरेको पार्टीका कार्यकर्तामा कम्युनिस्टको जस्तो तिक्तता हुँदैन। भोलि गतिलो परिणाम नआउला भनेर आफ्नो लोकतान्त्रिक पहिचानमा दाग लगाउने दिशामा अग्रसर हुनुहुँदैन। पार्टी मजबुत बनाउन सके सरकार त भोलि–भोलि पनि चलाउन पाइनेछ। कोरोना महामारी, लकडाउनले लोकतान्त्रिक पार्टीको भविष्यसँग कुनै अर्थ राख्दैन।
पार्टीका इमानदार कांग्रेसका लागि जीवन्त पार्टी बनोस् भन्ने कामना एकातिर छ भने अर्कोतिर सरकारको नेतृत्वमा रहेकाले आमनागरिकको पनि इच्छा र आकांक्षा त्यत्तिकै छन्। हरेक कोणबाट यो कठिन घडी हो। निष्पक्षरूपमा पार्टीको महाधिवेशन सम्पन्न गरेर सिंगो पार्टीको सहयोग लिन सक्यो भने सरकार सञ्चालनमा पनि त्यसले महत्वपूर्ण ऊर्जा दिनेछ। अरू पार्टीलाई चित्त बुझाउने नाममा आफ्नो पार्टीको भविष्य दाउमा राख्ने काम कोही कसैबाट पनि नहोस् भन्ने निष्ठावान कार्यकर्ताको आग्रह हो। पार्टीको आगामी नेतृत्व कसले गर्ने वा नगर्ने भन्दा पनि ऐतिहासिक छवि कसरी जोगाउन सकिन्छ भन्नेतिर नेतृत्व तहमा बस्नेको ध्यान जानुपर्छ। सरकारमा कसले मन्त्री खाने वा नखाने भन्ने विषयलाई गौण मानेर पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै एकजुट हुनु अहिलेको आवश्यकता हो। कसले जित्यो वा हार्यो भन्दा पनि कांग्रेसले जित्नुपर्छ भन्ने मान्यता स्थापित भयो भने त्यसले पार्टीलाई फाइदा पुर्याउँछ।
विदेशिन चाहने युवालाई स्वदेशमै रोक्ने र विदेशिएका युवालाई स्वदेश फर्काउने हो। यसबारे पार्टीको स्पष्ट दृष्टिकोणको खाँचो छ। युवाले आर्जन गरेको शिक्षा, ज्ञान, श्रम र सिप स्वदेशमा उपयोग गर्न कस्तो नीति बनाउने र युवालाई स्वदेशमै खुसी हुने बनाउन कस्तो कार्यक्रम ल्याउने भन्नेबारे मात्र स्पष्ट हुन सकियो भने भावी पुस्तालाई कांग्रेसका नाममा राजनीति गर्ने मैदान फराकिलो हुँदै जानेछ।
कांग्रेस कठिन परिस्थितिमा सरकारको नेतृत्व गर्न पुगेको छ। पाँच वर्षका लागि प्रतिपक्षको म्यान्डेट पाएको पार्टी डेढ वर्ष बाँकी छँदैमा सरकारमा जान बाध्य भएको छ। यो अवधिमा सकारात्मक काम हुन सकेन भने एक वर्षपछि हुने स्थानीय तह र झन्डै डेढ वर्षपछि हुने संघीय संसद्को निर्वाचनमा ठूलो प्रभाव पर्नेछ। चौधौँ महाधिवेशन कांग्रेसका लागि ठूलो अवसर र चुनौतीका रूपमा खडा छ। योजना, साहस र समर्पण भएको ऊर्जावान् कांग्रेसले मात्र विद्यमान चुनौती सामना गर्न सक्छ। महाधिवेशनमा व्यक्तिगत र गुटगत स्वार्थ छाडेर विचार, पद्धति र नीतिमा बहस नगरी नेतृत्व, सत्तालिप्सा र पार्टी कब्जाको संस्कृतिमात्र हावी भयो भने त्यसले कांग्रेस त सकिने नै छ, इतिहासले पनि माफी दिने छैन। वडा तहमा बढेको युवा आकर्षणले गहन र महत्वपूर्ण पाठ सिकाएको छ। यसको निरन्तरता हुँदै जाओस्। बढ्दो युवा आकर्षण र निष्ठावान कांग्रेसले त्यो ऐतिहासिक विरासतको अवश्य जगेर्ना गर्नेछन्। त्यसैले पनि व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिमा बहस गरौँ। त्यसले लोकतान्त्रिक पार्टीको छवि उचो बनाउने काम गर्नेछ।
(कांग्रेस नेतृ)
प्रकाशित: २७ भाद्र २०७८ ०३:१२ आइतबार