९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

तीज गीतको तीर

 छोरी जन्मी भनेर रुँदै हिँड्थिन् आमाले  

अहिले गर्व गर्छिन् हाम्रा उच्च कामले  

कोही डाक्टर, कोही पाइलट, कोही शिक्षक भका छौँ  

घर, समाज र देशैभर खुसी ल्याका छौँ।

तीज पर्व अब धार्मिकभन्दा बढी सामाजिक र मनोरञ्जनात्मक बन्न थालेको छ। धार्मिक मान्यताअनुसार माता पार्वतीले देवादिदेव शिवजी पति पाउन कठोर तपस्या गरेको प्रसंग जोडिने तीजमा महिलाले विशेषतः पतिको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि भाद्र शुक्ल तृतीयाका दिन पानीसमेत नपिइ निराहार कठोर व्रत बस्छन्। व्रतको अघिल्लो दिन मध्यरात आडिला तथा पोषिला मिष्ठान्नसहितका परिकार दर खाने र भोलिपल्ट निराहार व्रत बसी शिव पार्वतीको पूजा/आराधना गर्ने परम्परा छ।

शिवलाई पाउन देवी पार्वतीले गरेको कठोर तपस्या सफल भएपछि प्रचलनमा आएको तीज व्रतको महत्त्व विशेषतः महिलाको अटल सौभाग्य र पतिभक्तिसँग जोडेर हेरिने गरिन्छ। हाल यो पर्वबारे अनेकौ टिप्पणी हुन थालेका छन्। एकातिर महिनौअघिदेखि दर खाने र नाचगानमा व्यस्त हुने अनि तीज लैगिक विभेदलाई बढावा दिने चाड हो भन्दै विरोध गर्ने केही महिलावादीको हौवामा कम्युनिस्ट सरकारले गत सालदेखि ऋषि पञ्चमीको सार्वजनिक बिदा कटौती गर्‍यो। महिलाका मासिक धर्मसँग जोडिएको पर्वका रूपमा लिइने ऋषि पञ्चमीमा दतिवन लगाएर ३ सय ६५ दिनको स्मरणमा नुहाउने र सप्तऋषिको पूजा गर्ने परम्परा छ। विज्ञानसम्मत मान्यताका पक्षपाती शिक्षित सचेत महिलालाई यो पर्व अस्वीकार्य लाग्नु स्वाभाविक हो।

हाम्रा कतिपय संस्कारसँग जोडिएका नकारात्मक पक्षलाई विस्तारै सुधार गर्दै जानुपर्नेमा पञ्चमी पर्वकै विशेष महत्ता निमोठ्ने दुष्कार्य भएको देखियो। कम्युनिस्ट सरकारले केही वर्षयता हिन्दु धर्म संस्कार र तिनका नाउँमा दिइने सार्वजनिक बिदा हटाउने कार्य गरेर क्रान्तिकारिता प्रस्तुत गर्‍यो। 

महिनौ अघिदेखि तीज पर्वको उल्लास स्वदेशमा मात्र नभएर विदेशमा समेत बढिरहेको अवस्थामा नेपालका केही महिलावादी यो पर्व नै उखेलेर फ्याँक्नुपर्ने आवाज उठाइरहेछन्। हो हाम्रा कतिपय संस्कार लिंगभेदी छन् र महिलामैत्री छैनन्। त्यसो भन्दैमा त्यसको नराम्रा पक्षमा सुधार गर्नुपर्नेमा त्यसलाई छिमलिहाल्ने हतारोले हाम्रा परम्परागत राष्ट्रिय धरोहर मानिने अनेकौ धर्म संस्कारको सुदूर भविष्य के होला ?

तीज नजिकिएसँगै देशदेखि विदेशसम्म सुरिला स्वरमा चट्टै मन छुने तीज गीतमा छमछम नाच्दै रमाइरहेछन् नेपाली महिला। माया पिरती र हँस्यौली/ठट्यौलीमात्र होइन, विरह, वेदना व्यंग्यमिश्रित तिखा भाकाले तीजका गीतलाई सान्दर्भिक बनाएको छ। तीजमा गीत/संगीत पनि परम्परादेखि अभिन्न अंगका रूपमा रहिआएका भए पनि हाल अश्लीलता, उच्शृंखलता र छाडापन बढ्दै गएको र मौलिकतालाई चुनौती दिएको भन्दै यस्ता गीत बजाउन बन्द गर्नुपर्ने आवाज पनि उठेका छन्।

विगतमा बज्ने तीज गीतका बरी लैको सुरिलो स्वरसँगै हाल लोकगीतका भाका बढी हावी हुँदैछन्। सासूको बुहार्तन र श्रीमान्को अपहेलना तथा घर परिवारले बुहारीलाई गर्ने निकृष्ट व्यवहार र परनिर्भरताबाट उत्पन्न पीडाभावको पोल खोल्ने विगतका तीज गीतका रुन्चे विषय परिवर्तन भएर अब महिला पनि आर्थिक सामाजिक तथा अन्य कुनै पनि क्षेत्रमा पुरुषभन्दा कम छैनन् भन्ने विषय झल्काउने गीतको बोलवाला छ अहिले। मनका तिक्तता र विरहव्यथा ओकल्ने अवसर बनेको छ तीज। 

पछिल्ला दिनमा उहिलेका मन रुवाउने तीज गीत हराउँदै छन्। महिलाका पारिवारिक पीडा र सामाजिक छटपटी गीतमा ओझेल पर्दै समाज परिवर्तन तथा राष्ट्रोन्नतिका गीत बढी गुञ्जन थालेका छन्। आमनागरिकलाई आफ्नो हक हित तथा राष्ट्रोत्थानका लागि जुर्मुराउन प्रेरित गर्नु आधुनिक तीज गीतको बेग्लै वैशिष्ट्य छ। 

समाजमा व्याप्त लैगिक विभेद, सामाजिक कुरीति, कुप्रथा र राजनीतिक विसंगतिविरुद्ध विविध भाव र लयमा गीत गाएर समाजमा शिक्षा, प्रेरणा र सूचना प्रवाह गर्नु तीज गीतको गौरव गर्न लायक पक्ष हो। हाल कोरोना महामारीका समयमा माइत जाने, दिदीबहिनी जम्मा हुने र मन्दिरमा पुगेर नाचगान गर्ने कार्यमा रोकावट आए पनि म्युजिक भिडियोका गीत संगीतमा कोरोना कहर र महामारीविरुद्ध समाज र सरकारलाई घच्घचाउँदै जनचेतना र जागरणका गीत घन्किरहेका छन्।

अहिलेका गीत श्रवणीयभन्दा बढी दर्शनीय छन्। हाल तीजमा खाना र नानामा मात्र होइन, म्युजिक भिडियोमा समेत करोडौं खर्च भइरहेको देखिन्छ। तीज गीतका भिडियोमा देखिने नाचगान तथा पहिरन देख्दा लाग्छ, आमनेपाली महिलालाई तीजको उल्लासले छपक्कै छोएको छ।

हाल जताततै गुन्जिरहेका तीजका कारुणिक गीतले एकातिर कठोर हृदय भएकालाई पनि रुन बाध्य बनाउँछ भने अर्कातिर विरह र वेदनामा तड्पिएका महिलालाई पनि रसिक गीतले छमछम नाच्न र दुःख भुलेर हाँस्न प्रेरित गरेको छ। केही सामाजिक यथार्थता र केही कल्पना मिश्रित सुरिलो संगीतले पुरुष वर्गलाई समेत आकर्षण गरेको छ। तीज गीतमा पुरुष स्वर बढ्न थालेको छ। पुरुष स्वर मिसिएको यस्तै गीत –

यसपालिको तीजमा ससुराली जानी हो  

आफूसँग मैले पनि श्रीमती नि लानी हो  

नाच्दै गाउँदै दरसँगै ह्विस्की पनि खानी हो।

केही दशकअघिसम्म तीजमा महिलाले नाचेको गाएको पुरुषले हेर्नसम्म नहुने मान्यता थियो। हाल तीजका गीतमा महिला र पुरुषका सुरिला स्वर भरिएका दोहोरीका भाका घन्कन थालेका छन्। गीतसंगीतका लय पछ्याउँदै म्युजिक भिडियोमा महिलासँग हातेमालो गर्दै पुरुष छमछम नाचेका र तीजका कार्यक्रममा स्वस्फूर्त सहभागी भएका मनोरञ्जनात्मक दृष्य तीजले परिवर्तनकोे पखेटा फिँजाएको संकेत पनि हो।

वैदेशिक रोजगारीमा जाने पुरुषसँगै महिलाको संख्या पनि बढिरहेको अवस्थामा भाइ लिन नआउँदा कैयौँ चेलीका मन रोएको र बर्सेनि तीजमा माइत आउने दिदी विदेशमा हुँदा माइतीघर नरमाइलो भएका विषयले तीज गीतमा कारुणिकताको भेल छुटेको भान हुन्छ। 

हाल चेलीवेटीका पीडा तथा बुहारीका वर्तन अनि परदेशीको विवशता नेपाली समाजका मन छुने गीतका बोल हुन् भने माया प्रेम तथा व्यंग्य ठट्टाका गीत पनि मनोरञ्जन पस्कने काफी विषय हुन्। साथै नेपाली लोक जीवनका भोगाइ टपक्कै टिपिएका कतिपय कारुणिक गीति लयले तीज पर्व अझ उल्लासमय बन्दै गएको छ। चेतना प्रवाहको सशक्त माध्यम मानिने गीतले समाजको खरो प्रतिविम्ब उतारेको हुन्छ र व्यक्तिका विविध मनोभाव पनि।

पछिल्ला समय नेता नेतृहरूका कार्यक्षमता र वचनवद्धताप्रति व्यंग्य गर्दै राजनीतिक अन्योल, अस्थिरता र अराजकताका कहालीलाग्दा घटनाविरुद्ध सशक्त वकालत भइरहेको छ तीजका गीतमा। माया प्रेम र छोरीचेली तथा बुहारीका पीडा विलौनाका स्वर छाडेर राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रोत्थानका खातिर तीजका गीत मोडिएका छन्। मिलनका सुखात्मक अनुभूतिका गीतले भन्दा वियोग, विरह र वेदनामिश्रित गीत कालजयी हुन्छन्।

गीतसंगीतका बोल हाम्रै  समाजका पोल खोल्ने माध्यम हुन् तापनि अब गीतसंगीतले समाजको यथार्थ उतार्ने मात्र होइन, बदल्नु पनि पर्छ। पुराना मान्यता र संस्कार भत्काएर नयाँ युग आरम्भ गर्ने तागत गीतसंगीतका सुरिला लय र भावमा लुकेको हुनुपर्छ। समाजका कुरीति र कुप्रथाविरुद्ध गीतले सामाजिक विद्रोह छेड्नुपर्छ। वास्तवमा गीतसंगीत मनोरञ्जनका साधन मात्र नभइ शिक्षा र चेतनाको संवाहक अनि स्वतन्त्र अभिव्यक्तिको सशक्त माध्यम पनि हो। 

गीतका बोलले सामाजिक विसंगति र पुरातन व्यवहार बदलिनुपर्छ अब। महिलाका सती प्रथा र वैधव्य व्यथा अब एकादेशका कथा बन्नुपर्छ र लैगिक विभेदजन्य सामाजिक मनोग्रन्थी तथा सांस्कृतिक परम्परालाई आत्मसात गर्ने प्रवृत्ति अन्त्य गर्नैपर्छ। तीज गीतका सुरिला नारी स्वर महिलाका परम्परागत पीडा र आक्रोश पोख्ने माध्यम मात्र नभई लैगिक दृष्टिले सामाजिक परिवर्तन र राष्ट्रिय उत्थानमा आलोक फैलाउने अस्त्र पनि बन्नुपर्छ

प्रकाशित: २४ भाद्र २०७८ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App